English

फलफूलमा यसरी बन्न सकिन्छ आत्मनिर्भर



फलफूल, हरेक पक्षबाट लाभदायी । अझ भनौँ हरेकले स्वास्थ्यका लागि उपभोग गर्नैपर्ने । मौसमअनुसार नेपालमै थरीथरीका फलफूल बाह्रैमास उत्पादन गर्न सकिने । तर, भारत, चीन, टर्की, कुवेत लगायत राष्ट्रमा फलफूलका लागि निर्भर छ । फलफूलमा मात्रै वर्षेनि २० अर्बभन्दा बढी खर्च हुँदै आएको छ । यसरी अबौँ रुपियाँको फलफूल आयात गर्नुभन्दा यही उत्पादन गर्नका लागि लगानी गरेमा फलफूलमा निर्भर बन्न सकिने विज्ञहरू बताउँछन् ।

सिजनमा उत्पादन भएका फलफूल भण्डारणको व्यवस्था नरहेकाले निर्यात भएका फलफूल अफ सिजन खरिद गरी उपभोग गर्न बाध्य रहेको बागवानी विज्ञ मोहनबहादुर थापा बताउँछन् ।

नेपालमा आयात हुने फलफूल उपभोगका लागि मात्र नरही औद्योगिक प्रयोजनका लागि पनि रहेको बागवानी विज्ञ गोपाल प्रसाद श्रेष्ठ बताउँछन् । उनका अनुसार आयातित फलफूलको जुस विदेश निर्यात गरिन्छ । ‘जुसको लागि आयात हुने फलफूल नेपालमै उत्पादन गर्न सकिन्छ,’ उनको ठम्याइ छ ।

पाँच वर्षमा ८६ अर्ब ६ करोड फलफूल आयात

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार विगत ५ वर्षमा ८६ अर्ब ६ करोड रुपियाँ बराबरको फलफूल आयात भएको छ । ०७३–०७४ मा ११ अर्ब ३३ करोड रुपियाँको फलफूल भित्र्याइएको छ । यसैगरी, ०७४–०७५ र ०७५–०७६ मा क्रमशः १४ अर्ब ५३ करोड र १८ अर्ब ११ करोड रुपियाँ बराबरको फलफूल आयात गरिएकोे छ । ०७६–०७७ मा २० अर्ब ७५ करोड र ०७७–०७८ मा २१ अर्ब ३४ करोड रुपियाँ फलफूल आयातमा मात्रै खर्च भएको थियो ।


२ लाख ८० हजार टन खाँचो

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार २०७६–०७७ मा २ लाख ८० हजार टन फलफूल आयात भएको थियो । यतिको मात्रामा फलफूल नेपालमै उत्पादन गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
का अनुसार नेपालमा एक लाख भन्दा बढी क्षेत्रफल जमिनमा वर्षेनि फलफूल खेती गरिन्छ । यसबाट करिब साढे १२ लाख टन उत्पादन भएको छ । तर, यति उत्पादन अपुग भएर वर्षेनि अर्बौंको फलफूल आयात गरिएकोे छ ।

व्यावसायिक फलफूल खेती गर्न चाहने किसानलाई उत्पादन नहुँदासम्म रोजगारी, आर्थिक सहयोग वा अन्य कुनै विकल्पको बाटो सिर्जना गर्नुपर्छ ।

भैरव राज कैनी
बागवानी विज्ञ

मन्त्रालयका अनुसार ०७४–०७५ मा एक लाख १२ हजार हेक्टर क्षेत्रफल जमिनमा फलफूल खेती गरिएको थियो । जसमा १० लाख ८७ हजार मेट्रिक टन उत्पादन भएको थियो । यसैगरी, ०७५–०७६ मा १ लाख २० हजार हेक्टर जमिनमा ११ लाख ७८ हजार मेट्रिक टन फलफूल उत्पादन भएको थियो । ०७६–०७७ मा १ लाख १९ हजार हेक्टर जमिनमा १२ लाख ५० हजार मेट्रिक टन फलफूल उत्पादन भएको थियो ।

यसरी बन्न सकिन्छ आत्मनिर्भर

ओखर, केरा, अम्बा, सुन्तला, सिस्ट्रस, कागती, स्याउ आदि वर्षेनि भारत, चीन, अमेरिका, थाइल्यान्ड लगायतका राष्ट्रबाट भारी मात्रामा भित्र्याइन्छ । तर, यी फलफूलको उत्पादन नेपालमै सम्भव नभएको होइन ।

आयात हुने जति फलफूल सिजनमा यहीँ उपभोग्य मात्रामा उत्पादन भइरहेको श्रेष्ठ बताउँछन् । ‘सिजनमा हामीलाई पुग्ने फलफूल उत्पादन भएको छ, तर ती फलफूललाई भण्डारण गर्ने व्यवस्था नभएर सिजनमा निर्यात गरी अफ सिजनमा सोही फलफूल महँगो मूल्य तिरेर उपभोग गर्न बाध्य छौँ,’ श्रेष्ठले भने– ‘सिजनमा उत्पादित फलफूललाई भण्डारण गर्न सकेमा अफ सिजनमा आयात गर्नुपर्दैन ।’

मोहनबहादुर थापा
बागवानी विज्ञ

केरा, आँप, लिची उत्पादनका लागि तराई क्षेत्र, सुन्तला, जुनार र अमिलो जातका फलफूलका लागि मध्य पहाड र ओखर, स्याउ उत्पादनका लागि हिमाली भेगलाई प्राथमिकतामा राखी योजना बनाउनु पर्छ ।

फलफूल सीमित क्षेत्र र परम्परागत खेती गरिएको छ । यसले गर्दा आवश्यक मात्रामा उत्पादन नभएको श्रेष्ठले बताए । आयातित फलफूलको मूल्यमा प्रतिस्पर्धाका लागि क्षेत्र विस्तार गरी व्यावसायिक रूपमा खेती गर्न आवश्यक रहेको श्रेष्ठको भनाइ छ । ‘ठूलो क्षेत्रफलमा फलफूल उत्पादन गर्दा लागत कम लाग्छ, मूल्य कम पर्छ । यसका साथै फलफूल निर्यात रोकी आत्मनिर्भर बन्नका लागि फलफूलको अनुसन्धान पक्ष सक्षम हुनु जरुरी छ, उन्नत जातका बिरुवा तयार गर्नुपर्छ,’ उनले भने– ‘नेपालमा तयार उन्नत जातको बेर्ना तयार गर्न नसके बाहिरबाट ती बोटहरू आयात गरी उत्पादनमा जोड दिनुपर्छ ।’



विभिन्न योजना र कार्यक्रमहरू नआएका होइनन् । तर, ३ देखि ५ वर्षमा उत्पादन दिने फलफूलमा वर्ष दिनको योजना विफल रहेको बागवानी विज्ञ भैरव राज कैनी बताउँछन् । फलफूलको उत्पादन लिनका लागि कम्तिमा तीन वर्ष पर्र्खनुपर्ने हुन्छ । वर्षदिनसम्म उत्पादन लिन नपाउँदा साना किसान समस्यामा परेकाले यसप्रति आकर्षण नरहेको कैनीले जनाए । ‘फलफूलका लागि कम्तीमा पाँच वर्षे योजना बनाउनुपर्छ,’ कैनीले भने–‘व्यावसायिक फलफूल खेती गर्न चाहने किसानलाई उत्पादन नहुँदासम्म रोजगारी, आर्थिक सहयोग वा अन्य कुनै विकल्पको बाटो सिर्जना गर्नुपर्छ ।’

जुसको लागि आयात हुने फलफूल नेपालमै उत्पादन गर्न सकिन्छ

गोपाल प्रसाद श्रेष्ठ
बागवानी विज्ञ

भौगोलिक क्षेत्रअनुसार नेपालमा बाह्रै महिना विभिन्न फलफूल उत्पादन गर्न सकिन्छ । प्रविधि र अनुसन्धान पक्ष सबल, व्यवस्थित बजार र दक्ष जनशक्ति नभएकाले उत्पादन गर्न नसकिएको थापा बताउँछन् । केरा, आँप, लिची उत्पादनका लागि तराई क्षेत्र, सुन्तला, जुनार र अमिलो जातका फलफूलका लागि मध्य पहाड र ओखर, स्याउ उत्पादनका लागि हिमाली भेगलाई प्राथमिकतामा राखी योजना बनाउनुपर्ने थापाको सुझाव छ ।

यो पनि…
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,