English

पत्थर कुँदेर जीवन चलाउने कुशवडिया



बुटवलका २६ वर्षीय घनश्याम कुशवडिया, विगत आठ वर्षदेखि सिलौटाको व्यापार गर्दै आएका छन् । बाबु बाजेको पालादेखि गर्दै आएको यो काम आफ्नो पुर्ख्याैली पेशा रहेको उनी बताउँछन् ।

काठमाडौंमा व्यापार गर्दै आएका घनश्यामले सिलौटा बनाउन १२ वर्षको उमेरमा नै सिकेका हुन् । उनकी आमाले पनि उनलाई काममा सघाउँछिन् । उनको थर कुशवडिया भए पनि पत्थर अर्थात् ढुङ्गा काट्ने काम गर्दागर्दै नामको पछाडी ‘पत्थरकट्टा’ जोडिएको बताउँछन् ।

उनका अनुसार सिलौटा बनाउन बुटवलको तिनाउ खोलाबाट कालो ढुङ्गा ल्याउँछन् । एक लटमा ३ देखि ४ सय सिलौटा बन्ने ढुङ्गा ल्याइन्छ । नदीबाट ढुङ्गा ल्याउँदा गुणस्तर र साइजअनुसार पैसा तिर्नुपर्ने उनी बताउँछन् ।

सिलौटाको प्रकारअनुसार मूल्य

चाबहिलको सडक किनारमा बसेर घनश्यामले चारपाते सिलौटा, चारपाते खल, अण्डाकर खल, ओखल, सिलौटाको लोरी, जाँतो बनाउँछन् ।

उनले बनाएको चारपाते सिलौटाको १ हजारदेखि १५ सय, अण्डाकार खलको ५ सयदेखि १५ सयसम्म पर्छ । यसैगरी ओखलको मूल्य ८ सयदेखि २५ सयसम्म पर्ने गरेको छ । उनले बनाएको फुलबुट्टे जाँतो २५ सयदेखि १० हजार रुपैयाँसम्म पर्छ ।

यसरी चाबहिलको सडक किनारमा बसेर ढुंगाको सिलौटा, जाँतो बिक्री गरेर उनी मासिक १५ हजार भन्दा बढी आम्दानी गर्छन् । ४५ वर्षीय महेन्द्र कुशवडियाले घनश्यामले आफ्नो कमाइबारे भन्न लजाएको बताए । पुर्ख्याैली पेशा भएकाले बच्चैबाट यो पेशामा संलग्न रहेका महेन्द्रले दैनिक तीनदेखि चार हजारको व्यापार गर्छन् । उपत्यकामा १६ वर्षदेखि यही सिलौटाको व्यापार गर्दै आएका उनी कमाइ राम्रो भएको बताउँछन् ।

गाह्रो छ सिलौटा बनाउन

घनश्यामका अनुसार सिलौटा बनाउन गाह्रो छ । एकछिन पनि खाली नबसेर उनलाई फुलबुट्टाले भरिएको ओखल र जाँतो बनाउन २ देखि ३ दिन समय लाग्छ । त्यसो त चारपाते सिलौटा, लोरी र खल बनाउन भने एक घण्टामै सक्छन् ।

उनी सिलौटा बनाउन छेनी, हथौडा लगायत ७ किसिमका फलामका औजार प्रयोग गर्छन् । ठूलो पत्थर फुटाउन प्रयोग हुने छेनीलाई गोट्टा भनिने उनले बताए ।

भारतबाट पनि ल्याइन्छ ढुङ्गा

चाबहिल क्षेत्रमा मात्रै एक दर्जन बढीले यो व्यापार गर्छन् । यसैगरी वनस्थली, नयाँ बसपार्क, जडीबुटी लगायतका क्षेत्रमा पनि यसको व्यापार हुने गरेको छ ।

सिलौटा बन्ने पत्थर बुटवलबाट मात्र नभई भारतको गोरखपुरबाट पनि ल्याइने महेन्द्र बताउँछन् । बहिरबाट ल्याएको पत्थरको सिलौटा चिल्लो, रातो र राम्रो हुने भएकाले केही महंगो पर्ने उनी जनाउँछन् । त्यसैगरी सादा सिलौटाभन्दा बुट्टा भरेको सिलौटा महँगो पर्छ ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ