सौराहामा मूर्तिकार : जनावर हेर्दै ढुंगामा मूर्ति कुँद्दै



मोरङ मिक्लाजुङका बलबहादुर घिमिरे केही दिनदेखि चितवनको सौराहा राप्ती नदीको डिलमा बसेर ढुंगामा विभिन्न आकृति बनाउन व्यस्त छन् । बिहान ७ बजेदेखि बेलुका आँखाले देखुन्जेलसम्म ढुंगामा विभिन्न जनावरका मूर्ति कुँद्न तल्लिन हुन्छन् ।

राप्ती किनारमा घाम ताप्दै गरेका गोही र नदी पारिको चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने गैंडा लगायतका जनावर । साथै स्थानीय व्यवसायीले सफारीका लागि पालेका हात्ती हेर्दै उनले ढुंगामा ती जनावरको आकृति कुँद्ने गरेका छन् ।

सौराहाको अन्तिम बिन्दुमा पर्ने राप्ती नदीको डिलमा तीनवटा ठूला ढुंगा राखिएको छ । ती ढुंगामा वन्यजन्तुका मूर्ति कुँद्न पाँच जना मूर्तिकार २ मंसिरदेखि खटिएका छन् । ढुंगामा बाघ, हात्ती र गैंडाको टाउको, अजिंगर, गोही र हाँसको पूर्णकदको मूर्ति बनाउन मूर्तिकारहरू पूर्वी नेपालका विभिन्न जिल्लाबाट आएका हुन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा हुँदैछ । त्यसैलाई लक्षित गरि सौराहालाई थप आकर्षक बनाउन ढुंगामा वन्यजन्तुका मूर्ति कुँद्न लागिएको हो । १० मंसिरसम्ममा तीनवटै ढुंगामा वन्यजन्तुका मूर्ति कुँदिसक्ने मूर्तिकारहरूको लक्ष्य छ ।

बलबहादुरले ढुंगामा मूर्ति कुँद्न थालेको १० वर्ष बित्यो । सुरूमा रमाइलोका लागि यो क्षेत्रमा आएका थिए । दाजुभाई र साथीहरूको देखासिकी गरेर मूर्ति बनाउन थालेका उनी हाल यस क्षेत्रमा व्यावसायिक रूपमै लागेका छन् ।

राप्तीको डिलमा बसेर ढुंगामा वन्यजन्तुको चित्र बनाउँदै गर्दा उनीहरूले प्रत्यक्ष रूपमा गोही, गैंडा र हात्ती पनि देख्छन् । कुनै बेला प्रत्यक्ष रूपमा वन्यजन्तु हेर्दै पनि उनीहरूले ढुंगामा चित्र कुँदेका हुन्छन् ।

ढुंगामा मूर्ति कुँद्नका लागि बलौटे ढुंगा हुनुपर्छ । सौराहामा ल्याइएको ढुंगा कडा खालको ढुंगा हो । कडा खालको ढुंगा भएकाले मूर्ति कुँद्न केही कठिन भएको उनी सुनाउँछन् । यद्यपि असम्भव भने नरहेको उनले बताए ।

उनका दाई ढुंगामा बुद्धको मूर्ति बनाउनका लागि जापान गएका छन् । यसअघि इलाम, पाँचथर, मोरङ र झापा लगायतका जिल्लामा ढुंगामा मूर्ति कुँद्ने काम गरेको उनले बताए । ‘यो भन्दा पहिला ढुंगामा धेरैजसो देवी देवताका शालिक बनाउने गरेको थिएँ,’ उनले भने ‘यहाँ चाहिँ जीव जनावरहरूको मूर्ति बनाउँदैछु ।’

मूर्तिकला नै उनले आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् । तीन/चार वर्ष पहिलेसम्म ढुंगामा मूर्ति बनाउने प्रचलन खासै थिएन । पछिल्ला वर्षहरूमा भने विभिन्न ठाउँमा ढुंगामा विभिन्न वस्तुको चित्र बनाउने गतिविधि बढेको उनी सुनाउँछन् ।

‘पहिला त काम पाउनै धरै दुःख थियो । अहिले चाहिँ त्यतिसारो गाह्रो छैन । काम पाइराखेको छ, गरिरहेका छौँ’, उनले भने । आफुहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले ढुंगामा मूर्ति बनाउने कामका लागि बोलाएको उनले बताए ।

राप्तीको डिलमा बसेर ढुंगामा वन्यजन्तुको चित्र बनाउँदै गर्दा उनीहरूले प्रत्यक्ष रूपमा गोही, गैंडा र हात्ती पनि देख्छन् । कुनै बेला प्रत्यक्ष रूपमा वन्यजन्तु हेर्दै पनि उनीहरूले ढुंगामा चित्र कुँदेका हुन्छन् ।

आय आर्जनको बाटो मूर्तिकला

उनीसँगै संखुवासभाका भक्तिराम राई ढुंगामा मूर्ति कुँद्न व्यस्त देखिन्थे । हाल झापाको दमकमा बसेर मूर्तिकलासम्बन्धि काम गर्दै आएका राई सौराहामा २ मंसिरमा आएका हुन् । उनले ढुंगामा व्यावसायिक रूपमा मुर्ति कुँद्न थालेको करिब चार वर्ष भयो ।

‘सुरूमा त रमाइलो लागेर नै सिकेको हो । विस्तारै सिक्दै गएपछि आयआर्जनको बाटो नै यही बन्यो’, उनी भन्छन् । ढुंगामा मूर्ति कुँद्नका लागि उनीहरूले हथौडा, छिनो, ग्रेन्डरजस्ता औजारको प्रयोग गर्छन् ।

मूर्ति बनाउँदा ढुंगाबाट निस्किने धुलोका कणलाई छेक्न उनीहरूले विशेष किसिमको फिल्टर मास्क प्रयोग गर्छन् । धुलो छेक्ने फिल्टर मास्क उनीहरूले जापानबाट ल्याउने गरेका छन् । उनीहरूले अवस्था हेरेर मूर्ति बनाएको एक दिनका चार हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । आफूहरूको पारिश्रमिकको विषयमा सरकारले पनि तोकी नसकेको उनी बताउँछन् ।

कालिकाको जुटपानीबाट तीनवटा ढुंगा सौराहाको राप्ती नदीको ड्याममा ल्याएर मूर्ति कुँद्ने काम भइरहेको छ । सुरूमा ढुंगामा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने वनपाले, गाइड लगायतको अर्धकदको मूर्ति बनाउने उनको योजना थियो ।

सीप र क्षमता भयो भने मूर्ति बनाएरै जीविकोपार्जन गर्न सकिने उनले बताए । ‘विदेश गए पनि नेपाली श्रमिकले ३० देखि ४० हजार नै पाउने हो । त्योभन्दा सीप र क्षमता भयो भने स्वदेशमै बसेर पनि राम्रो कमाउन सकिन्छ’, उनले भने । रत्ननरगर नगरपालिकाको पहल र जिल्ला समन्वय समिति चितवनको बजेटमा सौराहाको राप्ती नदी डिलमा ढुंगामा मूर्ति बनाउन लागिएको हो । रत्ननगर–६ मा पर्छ सौराहा ।

मूर्ति बनाउन १० लाख बजेट

केही महिनाअघि न्युयोर्क पुगेका रत्ननगरका मेयर नारायण वनले स्थानीय घरहरूको आडमा ढुंगामा विभिन्न वस्तुको मूर्ति कोरेर आकर्षक बनाएको देखे । उक्त आकर्षक ढुंगाको नजिक पुगेर नियालेका वनले वास्तवमा त्यो वस्तु ढुंगा नै नभएर प्लाष्टिकको सामाग्रीमा रंग लगाएर ढुंगा जस्तो बनाइएको थाहा पाए ।

‘प्लाष्टिकलाई पनि त्यसरी ढुंगा जस्तो बनाएर आकर्षक बनाउँदा रहेछन् । त्यो देखेपछि हामीले पनि सौराहामा ढुंगामै मूर्ति कुँदेर आकर्षक बनाउनुपर्छ भन्ने सोच आयो । त्यसपछि कालिका नगरपालिकाबाट ढुंगा ल्याएर अहिले मूर्ति कुँद्ने काम भइरहेको छ’, उनले भने ।

कालिकाको जुटपानीबाट तीनवटा ढुंगा सौराहाको राप्ती नदीको ड्याममा ल्याएर मूर्ति कुँद्ने काम भइरहेको छ । सुरूमा ढुंगामा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने वनपाले, गाइड लगायतको अर्धकदको मूर्ति बनाउने उनको योजना थियो ।

तर, मूर्तिकारको सल्लाहविनै ल्याइएका उक्त ढुंगा कडा खालको परे । त्यस्ता ढुंगामा मान्छेको चित्र कुँद्न कठिन हुने बताएपछि अहिले वन्यजन्तुको चित्र बनाउने काम भइरहेको छ । जिल्ला समन्वय समिति चितवनको १० लाख रुपैयाँ सहयोगमा ढुंगामा मूर्ति बनाउने काम भइरहेको उनले जानकारी दिए ।

सौराहाको अन्तिम गन्तव्यमा पर्ने त्यस तटबन्धलाई व्यवस्थित गरेर मार्बल विच्छाइएको छ । त्यसबाट पर्यटकले राप्ती नदीको किनारमा घाम तापिरहेका गोहीदेखि हात्ती र जंगली जनावरहरू अवलोकन पनि गर्न पाउँछन् । मार्बल हालिएको ठाउँमा तीनवटा ठूला ढुंगा लगेर राखिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै