पतञ्जलीले मनुष्यलाई यसरी बुझेका थिए



यदि तपाईंले पतञ्जलिलाई प्रबुद्ध व्यक्तिको रूपमा हेर्नुभयो भने, उनी अरूभन्दा बढी प्रबुद्ध थिए भन्ने पक्कै होइन, किनकि त्यस्तो कुरा नै हुँदैन । तर, एक व्यक्तिको रूपमा, अझ भनौँ उनको बुद्धिको दृष्टिले हेर्ने हो भने, उनको बुद्धिमत्ताको स्तर यति माथि थियो कि उनको अगाडि अहिलेका महान् वैज्ञानिकहरू पनि प्राथमिक स्कूलका बच्चाहरू जस्तो लाग्छन् । जीवनप्रतिको उनको बुझाइ यति गहिरो र विशाल थियो कि मनुष्यले त्यस हदसम्म जान्न सक्छ भनेर कल्पना नै गर्न सकिँदैन । औषधी, भाषा शास्त्र, व्याकरण, गणित, खगोलशास्त्र, ब्रह्माण्डविज्ञान, सङ्गीत र अन्य विषयहरूमा अत्यन्तै निपुण रहेका पतञ्जलि प्रसिद्ध १८ सिद्धहरू, ऋषिहरू एवं बुद्धिजीविहरूमध्ये एक आत्मज्ञानी महापुरुष थिए । “यी सबै एकजना व्यक्तिको काम होइन, किनकि यी कार्यहरू यति विशाल छन् कि यो एउटा व्यक्तिको बुद्धिमा अटाउन सक्दैन, यी कार्यहरूमा थुप्रै मानिसहरू संलग्न रहेको हुनुपर्छ” भनेर अहिलेका विद्वानहरू विचार–विमर्श गरिरहेका छन् । वास्तवमा भन्नुपर्दा, यो एकजना व्यक्तिकै काम हो । उनी यस धरतीको सबैभन्दा महान् विद्वान् हुन् ।

तर, पतञ्जलि आधुनिक योगको जन्मदाताको रूपमा सर्वाधिक लोकप्रिय रहेका छन्— उनले योग विज्ञानको शुरुवात गरेकोले होइन, बरु यसकारण किनकि उनले योगको सारलाई प्रसिद्ध योग सूत्रहरूको रूपमा मानिसहरूसामु प्रस्तुत गरेका थिए । योग पहिल्यैदेखि रहिरहेको थियो । १५ हजार वर्षभन्दा निकै पहिले आदियोगी शिवले सप्तऋषिहरूलाई योगको विज्ञान सञ्चार गरेका थिए । आफूले जानेका कुराहरू कुनै एक व्यक्तिमा सञ्चार गरिनु असम्भव पाएपछि, आदियोगीले सातजनालाई योगका सातवटा फरक–फरक आयामहरू सञ्चार गरेका थिए । सप्तऋषिले पछि विश्वका विभिन्न भू–भागमा त्यसलाई फैलाउने काम गरेका थिए ।

हजारौँ वर्षअघि, पतञ्जलिको समयमा योग विशेषज्ञताको दृष्टिले प्रधान हुँदै गइरहेको थियो, जसकारण योगका सयौँ विद्यालयहरू स्थापित भएका थिए— आजको चिकित्सा विज्ञानमा जस्तै जहाँ हरेक कुराको लागि फरक–फरक विशेषज्ञ हुने गर्छन् । उदाहरणको लागि मानौँ तीस वर्षअघि तपाईंसँग एकजना पारिवारिक डाक्टर हुने गर्थे । अहिले शरीरको हरेक अङ्गको लागि छुट्टै डाक्टरहरू छन् । सायद अबको ५० वर्षमा यदि तपाईंले स्वास्थ्य परीक्षण गराउन चाहनुभयो भने, १०० जना डाक्टरहरू चाहिने हुन सक्छ । तपाईंले यी १०० जना डाक्टरहरूसँग भेट्न पाउने बेलासम्म तपाईं कि त स्वस्थ बन्नुहुन्छ वा श्वास छोड्नुहुन्छ !

जो व्यक्ति कुनै विशेष अनुभवको अवस्थामा हुन्छ, उसको निम्ति यो धागो असाध्यै महत्त्वपूर्ण हुन्छ । यही धागोको उपयोग गरेर उसले सुन्दर माला बुन्दछ । पतञ्जलिका योग सूत्रहरू कुनै किताब जसरी पढ्नको लागि रचिएको होइन । तपाईं एउटा सूत्र लिनुहोस् अनि यसलाई आफ्नो जीवनको यथार्थ बनाउनुहोस् ।

जब विशेषज्ञताले हद नाघ्छ, तब त्यो व्यवहारिकताको नाममा हास्यस्पद बन्दछ । विस्तारमा अध्ययन गर्नु महत्त्वपूर्ण छ, तर जब मानिसहरूले सिक्ने र प्रयोग गर्ने कुरा आउँछ, तब त्यो उदेक लाग्दो बन्दछ । त्यसबेला, योगको सन्दर्भमा पनि यस्तै भएको थियो— सयौँ योग विद्यालयहरूले योगका विभिन्न आयामहरू प्रदान गरिरहेका थिए । पतञ्जलिलाई यो असाध्यै अव्यवहारिक महसुस भयो । योगका विविध रूपहरूलाई अर्थपूर्ण रूपमा बुझ्नको लागि जो कसैलाई पनि कठिनाइ हुने आभाष भएपछि पतञ्जलिले सम्पूर्ण पक्षहरू समेटेर योग सूत्र रचना गरे ।

आज जो कसैले किताब लेखेर त्यसलाई प्रकाशित गर्न सक्ने भएकोले योग सूत्रका सयौँ व्याख्याहरू पाइन्छन् । तर, योग सूत्र व्याख्या गर्न सकिने दर्शन होइन । न त योग सूत्रहरूमा कुनै अभ्यासहरू नै बताइएका छन् । ती वैज्ञानिक दस्तावेज जस्तै हुन् । योग सूत्रमा कुन कुराले हाम्रो प्रणालीमा के गर्छ भनेर बताइएको छ । तपाईंको अभिप्राय के हो अनि तपाईं यस प्रणालीमा के गर्न चाहनुहुन्छ भन्ने कुरामा आधारित रहेरै तपाईं निश्चित क्रिया–अभ्यास निर्माण गर्न सक्नुहुन्छ ।

‘सूत्र’ को शाब्दिक अर्थ धागो हो । भलै, धागोमा माला उनिने भएपनि तपाईं धागोको लागि माला लगाउनुहुन्न । तपाईं धागोमा कस्तो प्रकारको फूल, मणि, मोति वा हिरा जडित गर्नुहुन्छ भन्ने कुरा माला बनाउने व्यक्तिको कुशलतामा निर्भर गर्दछ । पतञ्जलिले पनि सूत्र मात्र प्रदान गरेका छन्, किनकि सूत्र (धागो) बिना माला बनाउन सकिँदैन । यही सूत्रको प्रयोग गरेर प्रत्येक गुरुहरूले आफ्नै किसिमको माला बनाउने गर्छन् । तपाईं धागोको लागि माला लगाउनुहुन्न, त्यसैले धागोलाई हेरेर कुनै निष्कर्षमा नपुग्नुहोस् । धागो महत्त्वपूर्ण छ, तर यो आफैँमा लक्ष्य भने होइन । सूत्रहरू पढ्नको लागि अनि तार्किक रूपमा बुझ्नको लागि रचिएका होइनन् । यदि तपाईंले यसलाई तर्कको दृष्टिले हेर्नुभयो अनि बुद्धिले बुझ्ने प्रयत्न गर्नुभयो भने, त्यो मूर्खता हुनेछ ।

जो व्यक्ति कुनै विशेष अनुभवको अवस्थामा हुन्छ, उसको निम्ति यो धागो असाध्यै महत्त्वपूर्ण हुन्छ । यही धागोको उपयोग गरेर उसले सुन्दर माला बुन्दछ । पतञ्जलिका योग सूत्रहरू कुनै किताब जसरी पढ्नको लागि रचिएको होइन । तपाईं एउटा सूत्र लिनुहोस् अनि यसलाई आफ्नो जीवनको यथार्थ बनाउनुहोस् । यदि तपाईंको जीवनमा एउटा सूत्र मात्रै पनि जीवित वास्तविकता बन्यो भने, तपाईंले बाँकी सूत्र पढिरहन जरूरी छैन ।

भलै, वेद र उपनिषदहरू भाषागत रूपमा अत्यन्तै उत्कृष्ट र काव्यात्मक रूपमा असाध्यै सुन्दर भए तापनि, यो जीवन र यसभन्दा परको बारेमा उल्लेख गरिएका ग्रन्थहरूमा पतञ्जलिका योग सूत्रहरू सबैभन्दा उत्कृष्ट रहेका छन् । यसमा उनले कुनै अभ्यासहरू सिकाएका छैनन्; भाषागत रूपमा उनी यति निपुण थिए कि उनले यी सूत्रहरू यसरी संयोजन गरे जसमा कुनै विज्ञहरूलाई रुचि नजागोस् । जीवनका आयामहरू खोल्नको लागि यसलाई सूत्र वा फर्मूलाको रूपमा प्रयोग गर्न सकियोस् भन्ने अभिप्रायले नै त्यसो गरिएको थियो ।

जो व्यक्ति एउटा विशेष स्तरको अनुभवमा रहन्छ, उसको लागि मात्र यी सूत्रहरूले अर्थ राख्दछ । अन्यथा, यो शब्दहरूको थुप्रोको रूपमा मात्र रहन्छ, जसले कुनै अर्थ राख्दैन । जो आफ्नो चैतन्यको खोजमा तल्लीन छन्, यदि उनीहरूले केही अनुभव गरिरहेका छन् अनि त्यसबेला उनीहरूले एउटा सूत्र पढे भने, त्यो विस्फोटक हुन सक्छ । तपाईंले पूरै किताब पढ्नै पर्दैन । यदि तपाईंले एउटा सूत्र पढ्नुभयो अनि त्यसलाई आफ्नो जीवनमा साकार बनाउनुभयो भने, त्यो पर्याप्त हुनेछ ।

योग सूत्र जीवनमाथि तयार गरिएको एउटा अद्‌भुत दस्तावेज हो । पतञ्जलिले यसको शुरुवात एकदमै अनौठो शैलीमा गरेका छन् । पतञ्जलिले योग सूत्रको पहिलो अध्याय केवल आधा वाक्यबाट शुरु गरेका छन् । “…र अब योग ।” यदि तपाईंले यसलाई बुझ्न खोज्नुभयो भने, यसले केही पनि अर्थ दिँदैन, तर अनुभवको स्तरमा यसले यो भनिरहेको छ: “यदि तपाईंले अझैपनि नयाँ घर बनाएर, नयाँ गर्लफ्रेन्ड वा श्रीमती पाएर, नयाँ गाडी किनेर, अझ बढी पैसा कमाएर वा आफ्ना छोराछोरीको विवाह गरिदिएर वा यस्तै अरू कुराहरूले जीवनमा तृप्ति पाइन्छ भन्ने सोच्नुभएको छ भने, अझै योगको लागि समय भएको छैन । यदि तपाईंले आफ्नो जीवनमा सम्पत्ति, सत्ता, शक्ति, सुख देखिसक्नु भएको छ वा अनुभव गरिसक्नु भएको छ अनि वास्तवमा यस्ता कुराहरूले कुनै पनि रूपमा जीवनलाई तृप्त बनाउँदैन भन्ने कुराको बोध भएको छ भने, अब योगको लागि समय भएको छ । पूरै संसार जुन प्रकारका वाहियात् कुराहरूमा मग्न छ, त्यसलाई पतञ्जलिले आधा वाक्यले किनारा लगाएका छन् । अत: पहिलो सूत्र नै “…र अब योग” हो ।

पतञ्जलिले मनुष्य हुनु भनेको के हो भन्ने कुरालाई सम्पूर्ण रूपमा जानेका थिए— एक व्यक्तिको रूपमा नभई मानव शरीर, मानव मन, मानव चेतनाले कसरी काम गर्छ भन्ने परिप्रेक्ष्यमा पूर्णतया विस्तारमा जानेका थिए । पहिले कहिल्यै त्यति गहिराइमा भित्री अनुभव भएको साथै भाषागत रूपमा पनि त्यति विद्वता भएको अरू कोही थिएनन् । यसलाई यसरी व्यक्त गरिएको छ कि योभन्दा उत्तम तरिका अर्को कुनै छैन । यो वास्तवमा अनुचित हो, किनकि तपाईं चाहे जेसुकै भन्न चाहनुहोस्, यिनले भनिसकेका छन् ! जीवनको बारेमा उनले अरू कसैलाई केही भन्नको लागि बाँकी राखिदिएनन् ।

पतञ्जलिलाई प्रतीकात्मक रूपमा आधा पुरुष र आधा सर्पको रूपमा प्रस्तुत गरिएको छ, जसले यो दर्शाउँछ कि उनी जीवनको द्वैत प्रकृतिबाट माथि उठेका छन् अनि परम एकत्व (एक हुनुको भाव) लाई अनुभव गरेका छन् । उनको आधा शरीरलाई सर्पको रूपमा देखाइनुको आशय अब उनी केवल मानिस होइनन्, बरु उनी योग प्रणालीको मूल आधार हुन् भन्ने हो ।

अधिकांश मानिसहरूले आफ्नो मनलाई स्मृति र कल्पनाको सन्दर्भमा मात्रै प्रयोग गरिरहेका छन् । स्मृति र कल्पना फरक–फरक कुराहरू होइनन् । स्मृति विगतको सङ्ग्रह हो, जबकि कल्पना भनेको विगतको अतिरञ्जित स्वरूप ।

पतञ्जलिले योगलाई चित्त वृत्ति निरोध भनेका छन्, जसको शाब्दिक अर्थ यो हो कि यदि तपाईंले मनको गतविधिलाई शान्त पार्नुभयो भने, तपाईं योगमा रहनुहुन्छ । मनलाई कुनै वस्तु विशेषतर्फ मोडेर त्यही दिशामा अविचलित लगाइरहनु नै योग हो । त्यसबेला, तपाईंको चैतन्यमा सबैथोक एक भएको हुन्छ । हामी आफ्नो जीवनमा अनेक कुराहरूको पछि भागिरहेका हुन्छौँ अनि जे–जति पाउँछौँ, त्यसलाई उपलब्धिको नाम दिन्छौँ, तर व्यक्तिले आफ्नो जीवनमा पाउन सक्ने सबैभन्दा मूलभूत एवं विशाल उपलब्धि भनेको आफ्नो मनको प्रक्रियाहरूबाट माथि उठ्नु हो, किनकि यसले व्यक्तिलाई सबैथोकबाट मुक्त गर्दछ । यदि व्यक्तिको मन स्थिर भयो भनेमात्र, ऊ चरम सम्भावना बन्दछ । त्यसबेला, मन एउटा सफा ऐना जस्तै हुन्छ, जसले सबैथोक त्यही रूपमा देखाउँछ, जस्तो ती वास्तवमा छन् ।

यतिखेर अधिकांश मानिसहरूले आफ्नो मनलाई स्मृति र कल्पनाको सन्दर्भमा मात्रै प्रयोग गरिरहेका छन् । स्मृति र कल्पना फरक–फरक कुराहरू होइनन् । स्मृति विगतको सङ्ग्रह हो, जबकि कल्पना भनेको विगतको अतिरञ्जित स्वरूप । जब तपाईं आफ्नो मनलाई यस्तो अवस्थामा ल्याउनुहुन्छ, जहाँ तपाईं न त स्मृति (यादहरू) बाट दूषित बन्नुहुन्छ, न त कल्पनामा बहकिनुहुन्छ, तबमात्र यो साँच्चिकै बुद्धिमानी र तीक्ष्ण बन्दछ अनि यसले ती सबैथोक देख्दछ, जुन देखिन सकिन्छ— जीवन र यसको मूल स्रोत नै ! जीविका चलाउनको लागि तपाईंको स्मृति र कल्पना पर्याप्त छन्, तर यदि तपाईं जीवनका अरू आयामहरूलाई गहिराइमा खोज गर्न चाहनुहुन्छ भने, त्यसबेला स्मृति र कल्पना पर्याप्त हुँदैनन्, किनकि तिनले विगतलाई पुनः दोहोऱ्याउने काम मात्र गरिरहेका हुन्छन् ।

जब तपाईं विगतलाई पुनः दोहोऱ्याउने काम गर्नुहुन्छ, तब तपाईंको जीवनमा एउटा ढाँचा निर्माण हुन्छ । यदि तपाईंको मन स्मृति र कल्पनामा मात्रै मग्न भइरह्यो भने, यो ढाँचालाई भत्काउन सकिँदैन— तपाईं यसमै बन्दी बन्नुहुन्छ र यो एक प्रकारको दासत्व हो । मूलत: आफू मनको गतिविधिहरूमै बन्दी भएको र सृष्टिको भव्यतालाई अस्तित्वको स्तरमा अनुभव गर्नबाट बञ्चित रहेको कुरा ज्ञात हुनु नै मुक्तितर्फ पहिलो पाइला हो । अत: तपाईंलाई मुक्ति वा आत्मज्ञानतर्फ डोहोऱ्याउन सक्ने प्रविधि अर्थात् योगलाई पतञ्जलिले चित्त वृत्ति निरोध भनेका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै