English

दसैं सम्झनाः त्यो पोलिस्टर कट्टु अनि हात्तीछाप चप्पल



सुदर्शन सिग्देल, बरिष्ठ पत्रकार

दसैंमा बुवाले लुगा किनिदिनु हुँदा रमाइलो कति हुन्थ्यो ! मसँग शब्दै छैन । स्कूलका लागि पनि हुने भनेर गाढा निलो रङ्गको हाफ पाइन्ट (कट्टु) र निलै आकाशे सर्ट भागमा पर्थ्यो । कट्टु पोलिस्टर अनि सर्टचाहिँ टेलिकटनको । दर्जीकहाँ सिउन दिइन्थ्यो । दर्जीले सिउन यति ढिलो गर्ने कि अष्टमी/नवमीका बिहान लुगाको पालो कुर्दैमा बित्थ्यो ।

अनि लुगा तयार भएपछि युद्धै जिते जस्तो मख्ख पर्दै, फुर्किँदै एक घण्टाको बाटो दौडिएर आधा घण्टामै घर पुगिन्थ्यो । कट्टु र सर्टलाई नलगाइकनै धेरैपल्ट सुम्सुमाउँथेँ । पोलिस्टर कट्टुको गाढा धर्साहरूतिर आँखा पुग्दा ती सबैले मपट्टि नै फर्किएर हासिरहे झैं लाग्थ्यो । मनले भन्थ्यो– आहा ! कति राम्रो लुगा !! हेर्न ठूलो ऐना थिएन ।

सुहाउने/नसुहाउने मतलब भएन, बस् लुगाचाहिँ नयाँ पाइयो । तर जब लुगा लगाइन्थ्यो, कि कट्टुको एकातिरको जाङ्घ साँघुरो वा छोटो हुन्थ्यो कि त सर्टको बाहुला बिग्रन्थ्यो । एक वर्ष त सर्टको खल्ति (गोजी) नै गायब ! जे जस्तो होस्, दसैंको लुगा लगाउन पाइयो । अनि पाऊमा हात्तीछाप चप्पल पनि । कुनै–कुनै दशैंमा बाटा चप्पल पनि लगाइयो । हात्तीछाप चप्पल बाक्लो तर लगाउन हल्का । बाटा चप्पलचाहिँ निकै गह्रुङ्गो लाग्थ्यो ।

जब दसैंको त्यो लुगासँगै चप्पल लगाइन्थ्यो, अनि हिँडिन्थ्यो टोलभरी डुल्न । टोलका साथीहरूको पनि उस्तैखाले पहिरन अनि चप्पलको पड्काइ पनि उस्तै । एकले अर्कालाई मनमनै दाँज्यो, खुशी भयो । बस् एवं रितले दशैं सकिन्थ्यो । त्यहीँ पहिरनलाई विद्यालय खुलेपछि पोशाकका रूपमा लगाइन्थ्यो । कहिलेकाहिँ झरी दशैं हुँदा हात्तीछाप चप्पल बडो दुश्मन हुन्थ्यो । त्यसले उछिट्याएको हिलोले नयाँ लुगा त के मेरो टुप्पीलाई पनि हिलाम्य बनाउन भ्याउँथ्यो !

पारीपट्टि देउरालीमा सानो पीपलको बोट थियो । घरको झ्याल उघारी हेर्दा जब त्यहाँ पिङ मच्चिन्थ्यो, बल्ल खास दसैं आएछ भन्ठान्थेँ म । खोई के लुगा लगाउथे कुन्नि ! बिहानीको कलिलो घामको किरण ती पिङ मच्चाउनेको ढाडमा ठोक्किँदा त्यसको चमक वारिसम्मै टल्कन्थ्यो । घर्तिको चौरमा नवमीका दिन कोतदेवी मन्दिरबाट ओर्लँदा छुट्टै रोमाञ्चकता थपिन्थ्यो । बालकदेखि बुढासम्म पिङमा मच्चिन तम्सिरहेका देखिन्थे । त्यो विशाल सल्लाको रुख पिङ खेल्नेहरुको ‘सरर चचहुई…’ को आवाजसँगै झनै सुसाउँथ्यो । पिङ थामिदिने देउरालीको त्यो पीपल र घर्तिका चौरको सल्लाको रुख अब इतिहासको भइसकेका छन् । टिकाको दिन बेग्लै अनुभव हुन्थ्यो । आफ्नै टोलमा भन्दा नातेदारकहाँ जान हतारिएका देखिन्थे वल्लाघरे–पल्लाघरे । कोही ससुराली, कोहीचाहिँ मामाघर ।

साना केटाकेटीमा पनि मचाहिँ टोलमै भए’नि टिका थाप्न मजा मान्थेँ । अक्षता र जमराको बास्ना मिसिएर अर्काे नयाँ सुगन्ध आउँथ्यो, त्यो नै मलाई दशैंको खास बास्ना लाग्थ्यो । टिका लगाइदिँदा सानो निधारमा धेरै अक्षता लगाइदिन्थे तर पहिरो लडे झैँ सबै खस्ने ! एउटा’नि नअडिने । कटनको निलो सर्ट एकछिनमै राताम्मे भइहाल्ने । त्यो बालपनको खुशी म यो उमेरमा सम्झनाका शिला–शिलामा खोजिरहेछु– आहा ! त्यो दशैं, सानो प्राप्तिमा पनि धेरै खुशी बनेको त्यो क्षण, त्यो पोलिस्टरको गाढा निलो कट्टु, आकाशे सर्ट, हात्तीछाप चप्पल अनि मलाई हेरेर ’न्यू पिन्च’ गर्ने साथीहरू !!!



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो