के हो जितिया पर्व ? किन मनाइन्छ ?



नेपालका तराईवासी महिलाहरुले मनाउने पर्व हो – ‘जितिया’ । यो पर्वलाई सन्तानको सुख आनन्द र प्रगतिको कामनाका लागि मनाइन्छ । हरेक वर्षको आश्विन कृष्ण अष्टमीका दिन यो पर्व मनाउने प्रचलन छ ।

विशेषगरी आमाले आफ्ना सन्तानको सुख शान्ति र समृद्धिको कामना गर्दै पानीसमेत नखाई २४ घण्टासम्म भगवान जितबाहन गोँसाईको पूजा आराधना गरी व्रत बस्ने परम्परा छ । जितिया व्रत कुनै धनधान्य र आरोग्यको लागि नभई नितान्त आमाको माया सन्तान प्रति कस्तो हुन्छ त ? भन्ने कुरा यस व्रतको कथामा उल्लेख गरिएको छ । यो पर्व आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म तीन दिन लगातार खुल्ला आकाश मुनि विभिन्न नाचगान गरी मनाईन्छ ।

को हुन जितबाहन ?

भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्री राजकुमारी मसवास थिइन् । उनले विवाह नगरी बस्ने निधो गरिन् । सूर्यदय हुनु अगावै नदीमा नुहाएर पूजापाठ गर्ने दैनिकी थियो । एकदिन उनलाई उठ्न अलि ढिलो भयोे । नुहाएर नदीबाट फर्किदा सूर्यदय भयो । सूर्यको शक्तिले गर्भवती भइन् । छोरालाई जन्म दिइन् । छोरा ठुलो भएपछि साथीहरुले बुवा नभएको भनेर जिस्काउने गर्थे ।

एक दिन ‘घर भित्र पस्दा आमाको नाम लिने र बाहिर निस्किदा बुवाको नाम लिने’ खेल खेले । बुवाको नाम थाहा नभएर उनी घरबाट बाहिर निस्किन सकेनन् । पछि आमा ‘मसवास’ ले सूर्य उनको पिता भएको सुनाइन् । तर, उनी आफ्नो बुवाको खोजीमा जाने निधो गरे । उनले बुवालाई खोजेको देखेर सूर्यले मानिसको रुप धारण गरी प्रकट भए र छोरासँग भेटे । तर ‘अरुले कसरी विश्वास गर्ने ?’ जितवाले प्रश्न गरेपछि उनको नाम ‘जितबाहन’ राखेको र कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म तीन दिन व्रत बसेमा सन्तानको सुख प्राप्ति हुने बरदान पाए । यसरी नै जितिया व्रत बस्न थलिएको किम्बदन्ती छ ।

कसरी बस्ने व्रत ?

पहिलो दिन स्नान गरेर चोखो खाई व्रतको आरम्भ गरिन्छ । दोस्रो दिनलाई खर दिन भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो । यसलाई पानीमा राखेर नुहाइन्छ । तेस्रो दिनलाई पारण भनिन्छ । जुन दिन व्रतको समापन हुन्छ । यो पर्वमा विशेष गरेर भगवान विष्णु, शिव र सुर्यको पूजा आराधना गरिन्छ ।

व्रत बसेको दिनमा वर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ । सो डालीमा फलपूmल, मिठाई र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ ।

उपवासको दिन वर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जितबाहनको पूजा गर्छन् ।

जितिया पर्वको कथा

भविष्यपुराणमा वर्णन गरिएअनुसार, कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा एक पाकरीको रुख थियो । सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्थे । यी दुवैको घनिष्ट मित्रता थियो । एकदिन जितिया पर्व मनाउने वर्तालु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथावाचन गरेका थिए ।

पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चीलले जितिया पर्व मनाउनका लागि उपवासमा बस्ने निर्णय गरे । सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकको आफन्त शवको अधिकांश भाग जलेपछि, घर फर्के । स्यालनीलाई मृतकको मासु खाने इच्छा भयो । चीललाई थाहै नदिइ स्यालनीले मासु खाए र केही लुकाएर पनि राखे । यी घटना चीलले हेरिरहेको थियो । स्यालनी र चीलको मृत्यु भएपछि दुबैको भाष्कर नामक ब्राह्मणको घरमा कन्याको रुपमा जन्म भयो । चिलको शीलावती र स्यालनीको कर्पुरावतीको रुपमा जन्मभयो ।

जेठी शीलावतीको धनवानको घरमा र कर्पुरावतीको राजपरिवारमा विवाह भयो । जेठी शीलावतीलाई सात छोरा भयो तर, कान्छी कर्पुरावतीलाई छोरा भए पनि क्रमिक रुपमा मृत्युवरण हुँदै गयो ।

सोही कारणले कर्पुरावतीको जेठी शीलावतीसँग सम्बन्ध चिसिँदै गयो । केही समयपछि, जेठी शीलावतीले पूर्वजन्मको घटना कर्पुरावतीलाई सुनाउँदै वर्त भङ्ग गरेको कारणले छोरा जीवित नरहेको जानकारी गराइन् । सोही कारणले यो पर्व मनाउने बाचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियमनिष्ठाका साथ मनाउने गर्छन् ।

समाजिक महत्व

जितिया पर्वमा विवाहित महिला माइती आउने गर्छन् । माइती आएकी छोरीलाई मिठो भोजन गराउने, काम गर्न नदिई विश्राम गराउने गरिन्छ । पूजा सकिएपछि भान्जा भान्जी र छोरी लाई नयाँ लत्ताकपडा दिएर बिदा गरिन्छ । यसो गर्दा कर्वा दिन घरमा काम गरेकी छोरीलाई आराम हुने र समाजिक सद्भाव बढ्ने हुन्छ ।

(भुलाई चौधरीसँगको कुराकानीमा आधारित, उनी थारू भाषा साहित्य केन्द्र नेपालका अध्यक्ष हुन् । )



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एमाले १०औं महाधिवेशन बन्द सत्र स्थल परिसरमा भेला भएका महाधिवेशन प्रतिनिधि र नेता ।

भनिन्छ,कूटनीतिमा खानपिन तथा पहिरनले धेरै कुराको संकेत गर्छ । कूटनीति यस्तो क्षेत्र हो जहाँ लुगा लगाउने र खाना खाने,बोल्ने शैलीले

विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार

आजभन्दा ४२ वर्षअघि हो, कमला श्रेष्ठले व्यवसायमा हात हालेको । जतिबेला महिलाहरु चुलो–चौको र घर–व्यवहारमामात्र सीमित थिए । व्यवसाय त