English

मेलम्ची झैँ बगिरहेछ ङाजुको आँसु…



हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन् । मेलम्ची पहाड यो बर्खा निकै रसायो । थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ । त्यही पहाडको रसायनले कमेरे माटोको लेदोे बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन् । हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसैको बित्याँस पारेको भने छैन । बरु दिनदिनै आफ्नै आँत भने सुकाएको छ ।

करिब सय मिटर तल मेलम्ची बगिरहेको छ । यसो हेर्दा लाग्छ मेलम्ची रिसाएको छ । पहिलेभन्दा फरक रङ तर तेजमा बग्दै छ मेलम्ची । छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्रानको लेदोमात्र होइन मेलम्चीले वरपरका घरबस्ती र मानिसलाई नै आफैसँग लगेर गयो यसले । हेलम्बु पहाड फेदमा रहेको गणेशबगरको सिङ्गो बस्ती मेलम्चीले आफूसँगै कहाँ पु¥यायो कुनै अत्तोपत्तो छैन । करिब ४३ घरको त्यो बस्ती एकै मेसोमा बगर बने । अहिले त्यहाँ एकाध घरका अवशेष देखिन्छन्, तर बस्ती बगरमा परिणत भएको छ ।

आर्थिक रुपले सम्पन्न र सुखी थियो ङाजुको परिवार । असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए । अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो ।

बगरबीचमा ढलेर आधा पुरिएको पहेँलो रङको घर ङाजुको थियो । घर पुरेको महिना दिन बढी बितिसकेको छ तर, उनी त्यो घर ठडिइहाल्छ कि भन्ने आशले हरेक दिन त्यही ढिस्कोमा हेर्न पुग्छिन् । ढलेको घर के उठ्थ्यो ? उठ्दैन । उनको मनले पत्याउन भने मानेको छैन । ङाजुजस्तै आफ्नो घर पहिलेजस्तै उठिदिएहुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहानबेलुकै घरको निशाना रहेको बगरको परिक्रमा गर्छन् । वरपरको वातावरण उस्तै उराठ र सुनसान छ ।

आवाज छ त त्यही मेलम्चीको एकोहोरो सुस्साहटको । कति मेहनतले सिंगारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उनको अझै आँसु थामिएको छैन । ‘सर्वस्व गयो मेरो, जे थियो त्यही घर थियो, अब त यही आँसुमात्र बाँकी छ’ आँसुका धारसँगै बग्छन् उनका शब्द पनि । कोही नयाँ व्यक्ति पुगेर केही सोध्यो कि मनको घाउ बल्झाउन आएजस्तो लाग्छ ङाजुलाई । मन नलागेपनि यसरी आफ्ना व्यथा पोखेको दुई महिनाभन्दा बढी भयो ।

सात जनाको परिवार उनका श्रीमान् कामी तामाङको दाजुभाइको गरेर ६० मुरी धान फल्ने खेत पनि सँगै थियो । घर छेउमै धान कुट्ने मिल थियो । आर्थिक रुपले सम्पन्न र सुखी थियो ङाजुको परिवार । असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए । अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो ।

‘एउटा घर बगाएर कहाँ लग्यो थाहा छैन, अर्काे एउटा बगरमा पल्टिएर बसेको छ । मिलबाट निकालेको थोरै चामलले केही दिन जीवन धानियो, अहिले दाताको भरमा चुलो बल्दै छ,’ आँसु पुछ्दै उनले दुःख सुनाइन् । मुरीकामुरी धान, मकै र चामलका बोरा सबै मेलम्चीले निल्यो । अहिले त अन्नको सग्लो दाना देख्दा पनि उनको आँखा थप रसाउँछन् ।

उनको घर खोलाको छेउमा भएर बगेको पनि थिएन । खोला अतिक्रमण गरेर बनाइएको पनि होइन । खोला निकै तल घरबाट देखिँदैन थियो । एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो की झोलङ्गे पुलको समेत नाम निशान नै मेटेर लग्यो ।

परेको बेला अरुलाई सहयोग गर्ने ङाजु अचेल कसले दुइछाक टारिदेला भन्ने आशमा छिन् । कोही नयाँ मान्छे गाउँमा देखियो भने केही ल्याइदिए कि भन्ने आशले अगाडि पुग्छिन् । घरखेतै लगेका यहाँका धेरै सम्पन्न भनिएका मानिस पनि सुकुम्बासी बनेका छन् । विपद्ले धनी गरिब नभन्ने रहेछ । जसको घर ठिक छ पूरै पनि खोतलेर बस्न लायक बनाउन सकिन्छ । बनाउन थालेका पनि छन् । जसको घर नै बगाएर बगर बनेको छ उसलाई ठूलो चोट छ ।

उनको घर खोलाको छेउमा भएर बगेको पनि थिएन । खोला अतिक्रमण गरेर बनाइएको पनि होइन । खोला निकै तल घरबाट देखिँदैन थियो । एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो की झोलङ्गे पुलको समेत नाम निशान नै मेटेर लग्यो । अघिल्लो दिन चामल अलिकति निकालेका थिए । मिल र घट्ट उप्काएर राखे, त्यही चामलले सुरुको समयमा छाक टा¥यो ।

केही माथि संस्थाले बनाइदिएको अस्थायी टहरामा बसेर उनको परिवार अहिले गुजारा गर्दैछन् । उनले थपिन्, ‘सङ्घ संस्थाले खाना दिएको छ, त्यही खाएर बसिराछौँ, दाताको सहयोग आएन भने भोकै बस्नुपर्छ । ’बाँकी भएको बाँदर खेल्ने पखेरोमा अन्न फल्दैन । अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

घर बगाएको ठाउँबाट तल गहिरोमा थियो खोला । घरबाट खोला हेर्न सकिँदैन थियो । त्यहाँ ठूलो फाँट पनि थियो । सबै बगर बनेको छ । अस्तिसम्मको घरबस्तीबाटै मेलम्ची आफ्नै तालमा मस्त कुदिरहेको छ । बाढी आएको दिन गाउँमा रोपाइँ थियो । ङाजु रोपाइँ सकेर घर फर्कदै थिइन् । उनका अनुसार आउँदाआउँदै उत्तिस लगायतका रुख निकै ठूलो आवाजका साथ गर्लम्मै ढले । कहाँ के भयो ? केही पत्तो भएन । तर, एकैछिनमा हेर्दा त माथिको माछा फार्म बगाइसकेको रहेछ । अनि मान्छेको भागभाग भयो । बल्लतल्ल ज्यान जोगियो उनले सम्झिइन् ।

गणेश बगरका स्थानीय राम तामाङका अनुसार असार १ गते साँझ ७ बजे बाढी आएको थियो । त्यसदिन खोला छेउका केही घर लग्यो । पछि १६ गतेदेखि परेको भिषण वर्षाले १७ गते साँझ एक दुई घर मात्रै बाँकी राखेर अन्य ४३ घर लग्यो । त्यसपछि बनेको यहाँको अस्थायी टहरामा तीन समूहमा बाढीपीडित बस्दै आएका छन् । सबै मेसमा खाना खान्छन् ।

। केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँडले उनीहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।

उनीहरूले सरकारसँग सबै स्थायी बासको माग गरिरहेका छन् । ‘बरु एकीकृत बस्ती बनाइदिए हुन्थ्यो, भाडाको जग्गामा यसरी कति दिन बस्ने,’ राम तामाङले भने । दिनमा बाढी आएकाले मात्रै त्यहाँ मान्छे जोगिएको उनीहरू सुनाउँछन् । केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँडले उनीहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।

यसपाली औषतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा सुरु भएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो । सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो ।

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कूल १ हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाए ।

यसपाली मेलम्चीको माथिल्लो हेलम्बु क्षेत्रमा खोला किनार कटान गर्दै र पहिरो खस्दै गेगरसहितको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको हो । अझै लाखौँ टन गेगर अड्किएर बसेकाले तल्लो क्षेत्रमा जोखिम कायमै छ । उता हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । कूल २ हजार १ सय रोपनी बढी जग्गा लगेको छ । बाढी, पहिरो र डुबानबाट यो वर्ष १ सय ३१ जनाको मृत्यु भएको छ भने ४२ जना हराइरहेका छन् ।

यो पनि पढ्नुहोस्:
विपद् अवस्थाबाट उठ्न चाहन्छ मेलम्ची बजार
मेलम्चीको बाढीले थप तीन घर बगायो

मेलम्चीबासीको माग– अब चामल, चिउरा होइन घर बनाउने सहयोग चाहियो
मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)
ढुक्कले सास फेर्न नसकेको मेलम्ची–हेलम्बु !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested