पूर्वको तीज– हराउँदै गए ढकने र सङ्गिनी



तीज आयो भन्नेबित्तिकै उहिले माइतीघरमा मध्यरातमा आँखा मिच्दै ब्युँझिएर ‘दर’ भन्दै खाएको ढकनेको स्वादले ८५ वर्षीया हेमकुमारी आचार्यको अहिले पनि जिब्रो रसाउँछ । ‘आहा ! दर कति स्वादिलो हुन्थ्यो भने हामी अरु बेला पनि तीजमा पकाएको जस्तै ढकने पकाइदेऊ भनेर आमालाई कचकच गथ्र्यौँ’, मेचीनगर–१०, धुलाबारीमा बसोबास गर्दै आएकी उनी पूर्वी पहाडी जिल्ला खोटाङका दिक्तेलमा ७७ वर्षअघि बालखैमा मनाइएको तीज सम्झिँदै भन्छिन्, ‘अहिले त घरमा कम र बाहिर बेँसी ढर्रा गरेको देख्छु । उहिले घरघरमा सङ्गिनी खेलिन्थ्यो, मिठा–मिठा परिकार पकाएर छोरीचेलीलाई खुवाउने चलन थियो । अहिले त होटल र चोकबजारतिर खान्छन्, नाच्छन् ।’

आठ वर्षको कलिलो उमेरमा विसं २००१ मा दिक्तेलकै जयप्रसाद आचार्यसँग विवाह गरेकी आचार्यका १२ छोराछोरी छन्, दर्जनौँ नाती–नातिना र पनातिनीहरु छन् । तीज आउँदा उनका घरमा निकै ठूलो जमघट हुने गर्छ । रातो सारी र गहनामा सजिएका छोरीबुहारी देख्दा उनलाई भने पुरानो जमानामा आफूले मनाएको तीजको याद ताजा हुँदोरहेछ ।

तीजमा छोरीचेली माइत आउने र घरमा बुहार्तन सम्हाल्दाका दुःख र सास्तीका व्यथा आमालाई सुनाउने चलन उसबेला पनि थियो । सासु, नन्द र देउरानी–जेठानीका कर्कश व्यवहारका बारेमा गीत बनाएर सङ्गिनी गाउने चलन पनि उसबेला थियो ।

बिहे भएपछिको पाँच वर्षसम्म तीजमा लिन बुवा आफैँ आएको उनले सम्झिइन् । ‘बालखैमा अर्काको घर जानुपरेको थियो, घर व्यवहार भनेको बुझेकै थिइनँ’, उनले बाल्यकालमा बुहार्तन व्यहोरेको सुनाउँदै भनिन् , ‘रोएरै बित्थे दिनहरु । तीजमा बुवा लिन आउनुहुन्थ्यो, अनि मात्र मेरा आँखा ओभाउँथे । रातो सारी लगाएर, कुरुसले बुनेको फित्ते झोला टाउकामा भिरेर माइत जाँदा कम्ता खुशी लाग्दैनथ्यो ।’

माइत पुग्नासाथ आमाले ‘के खान्छेस्’ भनेर सोधेको र आफूले त्यही दर खान ढकने पकाइदिन आग्रह गरेको अहिले झल्झली याद आउने उनी बताउँछिन् । तीजका बेला आमाले आलु उसिनेर पक्कु बनाई सेलरोटीसँग खुवाएको, कर्कलोको अचार हालेर घिउसँग भात मुछेर खुवाएको र आँगनमा फन्फनी घुमेर सङ्गिनी गाउँदै नाचेको सम्झना आइरहने उनी सुनाउँछिन् ।

तीजमा छोरीचेली माइत आउने र घरमा बुहार्तन सम्हाल्दाका दुःख र सास्तीका व्यथा आमालाई सुनाउने चलन उसबेला पनि थियो । सासु, नन्द र देउरानी–जेठानीका कर्कश व्यवहारका बारेमा गीत बनाएर सङ्गिनी गाउने चलन पनि उसबेला थियो । त्यसबेला पूर्वी पहाडमा लोकप्रिय सङ्गिनीको एउटा हरफ उनले यसरी सुनाइन्–

धनकुटापारि त्यो लामीडाँडा चारकुने चौतारी,
छोरीको जन्म के दियौँ देउता सात जुनी औतारी ।

आठ वर्षमै बिहे गरेर घर गरी खान पठाइएकी उनले काम धन्दा गर्न जान्ने भएपछि तीजमा माइत जान नपाएको बताउँछिन् । सासुले माइत जान रोकेको सुनाउँदै उनले भनिन्, ‘मेरा पनि छोरीहरु माइतबाट आउँछन्, उनीहरुलाई तैले पकाइतुल्याई खुवाउनुपर्छ । अबदेखि दशैँमा मात्र जानु है माइत भनेर सासुआमाले भन्नुभयो । एक साल बुवा लिन आएर रित्तै फर्किनुभयो । म बेस्सरी रोएकी थिएँ ।’

झापाको अर्जुनधारास्थित शङ्कराचार्य पीठ साधुटारका प्राचार्य लक्ष्मी खतिवडा तीज पौराणिक शास्त्रमा आधारित परम्परागत चाड भएको हुँदा यसको महत्व धर्म, संस्कृति र आस्थामा आलोकित भएको बताउँछन् ।

‘अहिलेको जस्तो कहाँ थियो र उसबेला’, आचार्य भन्छिन्, ‘राति पनि दर खाइन्थ्यो, भोलिपल्ट पानीसमेत नखाई श्रीमानको नाममा निराहार व्रत बसिन्थ्यो । सबै मिलेर तीजको पूजा लगाइन्थ्यो र सङ्गिनी गीतमा रातभर नाचिन्थ्यो ।’ तीजमा गहना लगाउने चलन पहिले पनि थियो । गहनाको रूपमा सुनको शिरबन्दी, हातमा चाँदीका बाला, गलामा कण्ठ, पुवालोका माला, रेजी र खुट्टामा चाँदीका कल्ली लगाउने चलन थियो ।

झापाको अर्जुनधारास्थित शङ्कराचार्य पीठ साधुटारका प्राचार्य लक्ष्मी खतिवडा तीज पौराणिक शास्त्रमा आधारित परम्परागत चाड भएको हुँदा यसको महत्व धर्म, संस्कृति र आस्थामा आलोकित भएको बताउँछन् । ‘पहिले–पहिलेका मानिस धर्मप्रति निष्ठापूर्वक आस्था राख्दथे, अहिले आस्थालाई देखावटी र फेसनको रूपमा मान्नेहरु बढेका छन्’, तीजको नाममा विकृतिसमेत बढेको सुनाउँदै उनी भन्छन्, ‘मान्छे जति आधुनिक भए तापनि आफ्नो संस्कृति र संस्कार छोड्न र तोड्न हुँदैन । शास्त्रसम्मत आचरणको खँडेरी लाग्दै गएको छ ।’

उनले तीजको व्रतमा पानी पिउनै नहुने भनेर कुनै धार्मिकशास्त्रमा नलेखिएको बताउँदै हरेक ब्रतालुको आहार, विहार, व्यवहार र आचरण पवित्र हुनुपर्नेमा जोड दिए । स्वास्थ्यको ख्याल गर्दै पानी पिएर व्रत बस्न कुनै रोकतोक नभएको उनले स्पष्ट पारे । नयाँ पुस्ताले तीज बिर्सिँदै गएका भने छैनन् तर उनीहरुले आधुनिकता भित्र्याउने क्रममा तीज मनाउने चलन भने निकै फेरिएको देखिन्छ । तीजको नाचगान र दर खाने कार्यक्रम पारिवारिक घेरामा मात्र अब सीमित रहेन । सामाजिक सङ्घसंस्थाले दर खाने भन्दै टोलटोलमा तीज कार्यक्रमको आयोजना गर्न थालेका छन् । कोभिड–१९ को महामारीले गर्दा गत वर्षदेखि सार्वजनिक कार्यक्रम हुन भने पाएका छैनन् ।

घरधन्दा र चुलोचौकामा अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर बाहिर आउने अवसर सिर्जना हुनुलाई नराम्रो ठान्न नहुने बिर्तामोड वडा नं ५ की निर्मला बुढाथोकीको धारणा छ । पहिलेजस्तो परिस्थिति अहिले छैन । धेरै महिला कामको बाध्यताले तीजमा माइत जान पाउँदैनन् । यस्तो अवस्थामा सामूहिकरूपमा आयोजित तीज कार्यक्रम नै महिलाका लागि चाड मनाउने खुशीको क्षण बनिदिने उनी बताउँछिन् ।

नयाँ पुस्ताका बुहारी तीजको व्रत बस्दा भोकै बस्न रुचाउँदैनन् । सासुले ‘यसो गर र उसो गर’ भनेर सिकाएको पनि मन पराउँदैनन् । पढेलेखेका बुहारी भएका घरमा पुरानो संस्कार र आधुनिक संस्कारबीच द्वन्द्व देखिने गरेको छ ।

‘संस्कृति र आधुनिकतामा आवश्यकतानुसार संयोजन गरेर चाड मनाउन सकिन्छ, तर होटलमा भोजभतेर, महङ्गा पहिरन र गहना प्रदर्शन चाहिँ विकृति भएकाले त्यसलाई निरुत्साहित गर्नैपर्दछ,’ वैदेशिक रोजगारीको सिलसिलामा पति विदेश गएपछि विगत पाँच वर्षदेखि बिर्तामोडमा डेरा गरेर छोराछोरी पढाउँदै आएकी उनी भन्छिन्, ‘नारी स्वतन्त्रता र अधिकारका जतिसुकै भाषण र नारा लगाए पनि नेपाली महिलाले आज पनि परिवार, समाज र राज्यबाट विभेद भोग्नु परिरहेकै छ । हकअधिकार खोज्ने महिलालाई बाठी भएकी, नैतिक आचरण नभएकी र उत्ताउली भएकी भनेर अपमान गर्न खोजिन्छ ।’

नयाँ पुस्ताका बुहारी तीजको व्रत बस्दा भोकै बस्न रुचाउँदैनन् । सासुले ‘यसो गर र उसो गर’ भनेर सिकाएको पनि मन पराउँदैनन् । पढेलेखेका बुहारी भएका घरमा पुरानो संस्कार र आधुनिक संस्कारबीच द्वन्द्व देखिने गरेको छ । त्यसको झल्को तीजमा पनि देखिने उनी बताउँछिन् । सबैका घरमा ढकने नपाके पनि मिठो परिकार भने खाने चलन छँदैछ । अचेल माछामासु र मदिरापानले तीजको भान्सामा बढी प्राथमिकता पाउँदै गएको छ । यसो हुँदै गयो भने ढकने जस्ता परम्परागत परिकार नयाँ पुस्ताले देख्न नपाउने जोखिम बढेको छ ।

सङ्गिनी लोकभाकामा आधारित असाध्यै राम्रो पूर्वेली नृत्य हो । तीज, बिहे र व्रतबन्धजस्ता रमाईला सांस्कृतिक चाडहरुमा यो भाका र गीत गुञ्जिने गर्दछ । आमा र हजुरआमा उमेरका महिला यसमा नाच्दै रमाउने गर्छन् । तर, यो परम्परागत नृत्यलाई नयाँ पुस्ताका महिलाले संरक्षण भने गर्न सकेका छैनन् । तीजमा नयाँ पुस्ताका महिलाले तडकभडकयुक्त तीज गीतमा नृत्य गरेको देख्न पाइन्छ । सामाजिक सञ्जाल र सार्वजनिक तीज कार्यक्रममा पनि संस्कृति जोगाउनेभन्दा भत्काउने उत्ताउला गीतले ठाउँ पाउने गरेको महिला नै स्वीकार गर्छन् ।

तीज खासमा हिन्दू महिलाको धार्मिक चाड हो । महादेवलाई पति पाउनका लागि हिमालयपुत्री पार्वतीले तीजको निराहार व्रत बसेको पुराणहरुमा उल्लेख छ । यसैलाई आदर्श मान्दै हिन्दू विवाहित महिला पतिको सौभाग्यका लागि र अविवाहित युवती सुयोग्य पति पाउनका लागि तीजको व्रत र महादेवको आराधाना गर्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन