यी हुन् कोरोना संक्रमण ह्वात्तै बढ्नुका कारण



निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको देखिन्छ ।

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताए । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट सङ्क्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ ।

‘खुकुलो भएसँगै सङ्क्रमण हुने दर बढीरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ’, उनले भने, ‘सङ्क्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।’

सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । उनका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा सङ्क्रमणदर रहेको छ । नेपालमा सुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९.३ प्रतिशत रहेको छ ।

सङ्क्रमणको दोस्रो लहर आएसँगै दैनिक १ हजार ८ सयमा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा २ हजार ७१४ पुगेका छन् ।

जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताए । परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा सङ्क्रमणको जोखिममा अझै रहेको उनी बताउँछन् ।

यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते ९ हजार ६२८ परीक्षण गर्दा १ हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४ सय ४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा ३ हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको सङ्क्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी सङ्क्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले बताए ।

जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताए । परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा सङ्क्रमणको जोखिममा अझै रहेको उनी बताउँछन् । ‘मानिस घरमै बसेर सङ्क्रमणलाई लुकाइरहेका छन् । सङ्क्रमण भए पनि आइसोलेसनमा बसेका छैनन’, उनले भने, ‘जसले गर्दा घरपिच्छै सबै मानिसमा सङ्क्रमण हुने डर छ ।’

उनले खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सार्ने जोखिम उत्तिकै रहेको बताए । ‘खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन’, उनले भने, ‘खोपले सङ्क्रमणलाई नै रोक्ने होइन । सङ्क्रमणको लक्षणलाई मात्र कमी गराउने हो ।’ नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि सङ्क्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । सङ्क्रमणको दोस्रो लहरले फोक्सोमा असर पु¥याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए । जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा सङ्क्रमणको दर बढीरहेकाले नेपालमा अझै जोखिम छ । भारतको खुला सीमाका कारण भारतबाट सङ्क्रमण फैलने डर रहेको उनी बताउँछन् ।

सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ । अस्पतालका निर्देशक डा. बास्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम सुरु भइसकेको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहको बताउँछन् । ‘खोप लगाएको चारदेखि ६ हप्तासम्म काम गर्दछ’, उनले भने, ‘खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ ।’ उनले केही समय अस्पतालमा सङ्क्रमित बिरामी कमी आए पनि अहिले उपचार गर्नेको सङ्ख्या पनि बढेको बताए ।

१० जिल्लामा ५०० भन्दा बढी संक्रमित

अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही रहेका छन् । यही साउन ६ गते मात्र ५०० भन्दा बढी सङ्क्रमति हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी सङ्क्रमति हुने जिल्ला २६ पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।

तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय

सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ । अस्पतालका निर्देशक डा. बास्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम सुरु भइसकेको बताए । उनले डेल्टा प्लस भेरियन्ट निकै सङ्क्रामक रहेकाले बच्नुपर्ने सुझाव दिए ।
मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै सङ्क्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने चेतावनी दिए । उनले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेका छन् ।

नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट ल्याउने भएको छ ।

उनले तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको बताए । ‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ’, उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेको छौँ ।’ उनले तेस्रो लहर बालबालिकाका लागि बढी जोखिम रहेकाले सबै स्वास्थ्य संस्थालाई बालबालिकाका लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिइसकेको जानकारी दिए ।

उपत्यकामा पनि बढ्यो सङ्क्रमण

काठमाडौँ उपत्यकामा पनि सङ्क्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै सङ्क्रमण पनि बढीरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौँमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा सङ्क्रमण देखिएको थियो । साउन ७ गते काठमाडाँैमा ५३६, ललितपुर १३० र भक्तपुर ८५ जनामा सङ्क्रमण देखिएको छ ।

काठमाडौँ जिल्लामा सङ्क्रमित २ लाख १२ हजार १५२ तथा पाँच हजार ९१६ सक्रिय सङ्क्रमित रहेका छन् । त्यसगरी ललितपुरमा ३९ हजार ५९६ सङ्क्रमित र एक हजार ६१ सक्रिय सङ्क्रमित तथा भक्तपुरमा २३ हजार ४४२ सङ्क्रमित र ९३५ सक्रिय सङ्क्रमित रहेका छन् ।

निको हुने पनि स्थिर

सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो । साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

नियमित खोप

नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ । कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन् । अहिलेम्म नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट ल्याउने भएको छ ।

पहिलो मात्रा लगाउने ३३ लाख आठ हजार ७३० र दोस्रो मात्रा लगाउने १२ लाख ८१ हजार २४० जना पुगेका छन् । नेपालमा अहिलेसम्म सात लाख २७ हजार १६९ सङ्क्रमित पुगेका छन् । अहिले सघन उपचारकक्षमा ६३५ र भेन्टिलेटरमा १७२ जना रहेका छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ३७ हजार ६९० पुगेको छ । यस्तै सङ्क्रमणबाट हालसम्म नौ हजार ६६१ जनाको निधन भइसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन