आध्यात्ममा ५ अभिनेत्री– कोही रिसाउन छोडे, कसैले एन्जाइटी तोडे



नेपाली सिने क्षेत्रका अभिनेत्रीहरुलाई फूर्सद कमै हुन्छ । सधैंको दौडादौड, भ्याइनभ्याईले उनीहरु आफ्ना लागि समय छुट्याउन सक्दैनन् । तर, कोभिडका कारण यतिबेला चलचित्र क्षेत्र ठप्प छ । चलचित्र छायाँकनदेखि प्रदर्शनसम्म सबै काम रोकिएका छन् । त्यसो त यस क्षेत्रका कलाकारदेखि प्राविधिकसम्मले लामो थकाई मारिरहेका छन् । यद्यपि, केही अभिनेत्रीले भने यो समय आध्यात्ममा बिताएका छन् । जसमा आशा, विश्वास र आत्मिक शान्ति पाउन सकिन्छ । यसले शरीर, दिमाग र आत्मालाई एकअर्कासँग जोड्ने गर्छ । तपोवन र विपाश्यना गएका अभिनेत्रीहरुको अनुभव जस्ताको तस्तै :

माफी दिन सक्ने भएकी छु– केकी अधिकारी

म केही महिना अघि विपश्यना गएको थिएँ । सधैंको व्यस्तताले १० दिन समय निकाल्न मुस्किल परिरहेको थियो । तर, यसपाली लकडाउनले मलाई विपश्यना पुर्यायो । स्कुल पढ्दा तीन दिन विपश्यना गएको थिएँ । तर, त्यतिबेला धेरै अनुभव हासिल गर्न पाइएको थिएन । फेरि विपश्यना गएर आएका धेरैले आफूमा यस्तो भयो उस्तो भयो भन्ने सुनाउँथे । यद्यपि, त्यस्तो होला भन्ने लागेन । त्यसैले मैले कसैलाई केही सोधिनँ र केही आशा पनि राखिनँ ।

जब विपश्यना गएँ । त्यसपछि १० दिन त्यहाँकै अनुशासनमा बाधिएँ । बिहान ४ बजे उठ्ने बेलुका ९ बजे सुतिसक्नु पर्ने त्यहाँको नियम थियो । कोही कसैसँग सम्पर्क गर्न पाइँदैन थियो । आफैंसँग पनि कुनैप्रकारको वार्तालाभ गर्दैनौं भन्ने सिकाइएको हुन्छ । त्यसैले नकारात्मक विचार नआउने रहेछ । मानिसमा पीडा, रिस, डाह भन्ने कुराहरु थोरै समयका लागि मात्र हुन्छ । यसको मोहमा पर्न सकिएन भने जीवनलाई सुन्दर बनाउन सकिन्छ भन्ने विपश्यनाले सिकाउँछ । त्यसैले एकैपटक जाँदैमा चमत्कार हुँदैन तर, प्रयास गरियो भने त्यसलाई बानी पार्न सकिँदो रहेछ ।

विपश्यनाबाट फर्किएपछि मैले मेरा आदतहरु धेरै परिवर्तन पाइसकेँ । हिजो एउटै कुरा लामो समयसम्म दिमागमा खेलिरहन्थ्यो । त्यसबाट छुटकारा पाएकी छु । अरु अथवा आफैंलाई पनि छिट्टै माफी दिन सक्ने भएको छु । हामीभित्र एकखालको इमोसन हुन्छ । त्यो निस्कन्छ । तर, त्यसलाई कसरी कम गर्ने भन्ने कुरा विपश्यनाले सिकाएको छ । त्यसैले एकपटक जादैमा त्यो पूर्ण हुँदैन । अब केही महिनापछि फेरि जाने योजना बनाइरहेको छु ।

तपोवन गएर एन्जाइटीबाट छुटकारा पाएँ– बेनिशा हमाल

व्यस्त जीवनशैलीका कारण ४ वर्ष अघि मलाई एन्जाइटी भएको थियो । ध्यानले एन्जाइटी कम हुन्छ भनेर धेरै साथीहरुले सुझाव दिए । त्यसपछि म एक हप्ताको लागि तपोवन गएको थिएँ । ओशो तपोबन पुगेपछि मैले आफूलाई शान्त राख्न सकेँ । बिहानदेखि बेलुकासम्म मोबाइल चलाउन पाइँदैनथ्यो । बिहान ६ बजेबाट बेलुकी १० बजेसम्म ध्यान गर्नुपथ्र्यो । त्यहाँबाट फर्किएपछि म शान्त भएँ । मलाई छिटो–छिटो रिस उठ्थ्यो । त्यो पनि कम भयोे ।

एक साता क्याम्पमा बसेपछि मैले आफूलाई महशुस गर्न थालेँ । मनमा के हुँदैछ, मस्तिष्कमा के हुँदैछ भन्ने थाहा पाएँ । मनदेखि गरिने कुराहरू थाहा हुने रहेछ । भावना र उत्तेजना महसुस हुने रहेछ । त्यसैले तपोवन गएपछि मेरा कतिपय स्वभावमा काफी परिवर्तन आए । क्याम्पबाट फर्किएपछि पनि मैले त्यहाँको दिनचर्यालाई नै अनुशरण गरें । त्यसले गर्दा मेरो जीवन पहिलेभन्दा अनुशासित भएको छ । त्यहाँ विभिन्न प्रवचनहरू पनि सुनियो जसले धेरै कुरा परिवर्तन गर्न सफल भएँ ।

ध्यानले आफैँलाई चिन्न सहयोग गर्ने रहेछ । हरेक कुरा हाम्रो श्वाससँग जोडिएको हुन्छ । हामी रिसाउँदा हाम्रो श्वासमा परिर्वतन आउँछ, र खुशी हुँदा पनि हाम्रो श्वासमा परिवर्तन आउँछ । त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने ध्यानबाट सिक्न सक्छौँ । त्यसैले धेरै समय दिन सकिँदैन भने १० देखि १५ मिनेट भए पनि ध्यान गर्ने बानी बसाउनुपर्छ ।

आफूलाई गहिरोसँग नियाल्ने मौका पाएँ – रिमा विश्वकर्मा

सधैं काममा व्यस्त हुने भएकाले आफ्ना लागि समय छुट्याउन गाह्रो भइरहेको थियो । तर, लकडाउनको समयमा केकी अधिकारीको सल्लाहमा म विपश्यना पुगेँ । सुरुको १/२ दिन गाह्रो भयो तर, ३ दिन पछि विस्तारै मन शान्त हुँदै गयो । विपश्यना पुगेपछि आफूलाई गहिरो तरिकाले नियाल्ने मौका पाएँ । हामी त निकै हतारको जिन्दगी बाँचिरहेका रहेछौँ भन्ने अनुभव भयो । दिमागलाई एकाग्र बनाएर ध्यान गर्दा आफ्ना हरेक पललाई सुक्ष्म तरिकाले नियाल्न सकिने रहेछ । जीवन दौडाउने क्रममा के–कस्ता गल्ती भए भनेर नियाल्न सकिँदो रहे छ ।

साथै, मन र दिमागलाई कसरी नियन्त्रण गर्ने र कसरी अनुसासनमा राख्ने भन्ने कुरा भन्ने कुरा ध्यान र अध्यात्मबाट सिक्न सकिन्छ । मैले भोग्ने हरेक घटनालाई ग्रहण गर्ने र त्यसमा दिने प्रतिक्रिया बदलिएको छ । मस्तिष्कलाई आफ्नो बसमा राख्नसक्ने हो भने जीवन आनन्दमय छ ।

आध्यात्म आफू भित्रको खोजी रहेछ– सोभिता सिम्खडा

मेरो परिवारका प्राय सबैजना ओशोको सन्यासी भएका कारण ध्यान र अध्यात्म तिर मेरो सानैदेखि रुचि थियो । अहिले तपोवनमै बस्न थालेको साढे २ वर्ष भइसक्यो । अध्यात्म भनेको आफूलाई नियाल्ने कुरा रहेछ । बाहिरको संसार सँगसँगै अध्यात्मलाई जोडियो भने जीवन साह्रै सहज हुन्छ । बाहिरबाट सांसारिक जीवन जिउने तर भित्रबाट बुद्धको खोज गर्ने र रुपान्तरणको खोज गर्ने कुरा ओशोले सिकाउनु भएको छ ।

अध्यात्मले जीवनलाई सुन्दर, कलात्मक र आनन्दित बनाउन सिकाउँछ । भौतिक संसारमा हामी हरेक कुरा बाहिर खोज्छौ । तर, त्यो सबै कुरा भ्रम हो भन्ने अध्यात्ममा लागेपछि मात्र थाहा हुन्छ । जुन कुराहरु पाएर मानिसहरु खुशी भएका हुँदैनन् । त्यसको आधा कुरा पाएर पनि अध्यात्ममा लागेका मान्छे खुशी हुन्छन् । अध्यात्मले सन्तुष्टिको कला र जीवनलाई परिवर्तन समेत गराउँछ ।

मानिसको धेरै इच्छा चाहना हुन्छ जसको परिपूर्ति भएन भने निरास हुन्छन् । आफूभित्रको खुशीलाई चिन्न सक्दैनन् । अध्यात्मसँग जोडिएका मानिसलाई यी सबै भौतिक सुख भ्रम हुन् भन्ने थाहा हुन्छ । तर, भौतिक सुख सुविधा सबै त्याग्नु पर्छ भनेको होइन । त्यो सुविधा पनि चाहिन्छ र ती भौतीक कुराहरुमा खुशी हुने कला ध्यानले दिन्छ । त्यसैले मलाई आध्यात्मले तानिरह्यो ।

जीवन जीउने कला सिकेँ– दीपिका प्रसाईं

श्रीमान् दिवाकर भट्टराई र म दुवै जना विपश्यना गएका थियौं । १४ देखि १५ घन्टा ध्यान गर्दा सुरुको ५ दिन साह्रै गाह्रो भयो । हाम्रो दिमाग ५/१० मिनेट पनि केही नसोचि बस्न सक्दैन । १४ देखि १५ घन्टा दिमागमा केही कुरा पनि नसोची बस्न गाह्रो हुँदो रहेछ । पहिल्यै देखि ध्यान गर्ने भएकोले श्रीमान ज्यूलाई त्यति गाह्रो भएन । विपश्यना जाने इच्छा पनि उहाँकै थियो ।

१० दिनसम्म मौन साधना कोहीसँग बोल्न पाइँदैन थियो । आफ्नो भावनाहरु अरुलाई शेयर गर्न पाइँदैन र मोबाइलको प्रयोग पनि गर्न पाइँदैन । सबैकुराबाट बञ्चित भएर भिक्षुको जीवन बिताउँदा कस्तो हुन्छ भन्ने अनुभव विपश्यनामा गर्न पाइयो । ध्यानमा मन लाग्न थालेपछि दिमाग एकदमै शान्त हुँदै गयो । नराम्रो सोचहरु निस्कदै गयो र ध्यानबाट हामीले धेरै कुराहरु सुधार गर्दै जान सक्छौं भन्ने लाग्यो । अनुशासन र जीवन जिउने कला पनि ध्यानबाट सिकें ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धेरै मानिसहरुलाई यौन दुर्बलताका कारण तनाव सिर्जना भइरहेको हुन्छ । यौन दुर्बलताका विभिन्न कारणहरु हुन्छन् । त्यसैमध्येको एक हो– खानपानमा

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो । संसद्मा विश्वासको मत माग्ने

गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द रहेको उक्त गीत

हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व ः मानवको दायित्व’