English

लकडाउनले जुराएको कौशी खेती



हिजोआज सहरबजारका प्रायः घरका छत तरकारीले हरियाली देखिन्छन् । जसलाई ‘कौशी खेती’ को संज्ञा दिन थालिएको छ । सहरी क्षेत्रका खेतीयोग्य जमिनमा कंक्रिट महलहरु ठडिएसँगै तरकारी खेती कौशीमा सिमित भएको छ भने कतिपयले यसलाई नयाँ विकल्पको रुपमा पनि लिने गरेका छन् । अझै भन्ने हो भने कोरोना महामारीका कारण भएको बन्दाबन्दीले कौशी खेतीलाई बढावा दियो ।

सबै व्यापार व्यवसाय ठप्प भएपछि समय बिताउने बाटोका रुपमा सहरबासीले कौशी खेती रोजे । त्यसो त टोखा नगरपालिका–९ गोंगबुकी गीता शाहीले कौशी खेती गरेको एक वर्ष पुग्यो । १२ वर्षदेखि गोंगबु बस्दै आएकी शाहीको कौशीमा भन्टा, भिन्डी, टमाटर, धनियाँ, खुर्सानी, कर्कलो, करेला, कागति र बोडी फलेका छन् ।

यी तरकारीले ५ जना परिवारको छाक टर्ने गरेको उनी बताउँछिन् । ‘लकडाउन भएपछि समय कटाउन रहरै–रहरमा कौशीमा तरकारी रोपें,’ उनी भन्छिन्, ‘एक वर्ष भयो तरकारी किन्न परेको छैन ।’ सुरुसुरुमा तरकारीमा किरा लाग्यो । तनाव गरायो । त्यसपछि उनले युट्युबमा सर्च गरेर हेर्न थालिन् । युट्युबबाटै हेरेर साबुनपानी, गाईको गौत हालिन् । त्यो गरेपछि तरकारीमा किरा लाग्न छोडेको उनको अनुभव छ ।

गोंगबुकै सन्तोषी श्रेष्ठको लकडाउन पनि कौशी खेतीमै बित्यो । सधैं बुटिकमा व्यस्त हुने श्रेष्ठलाई बन्दाबन्दीमा समय बिताउने कौशी खेतीले काफी काम गर्यो । यतिबेला उनको कौशीमा भिन्डी, करेला, मकै, काँक्रा फलेका छन् । यो सिजनमा उनले मकै किनेर खानु परेन बरू छिमेकीलाई समेत बाँडिन् । ‘मकै मात्र होइन, कुनै बेला तरकारी राम्रो भएमा छिमेकीलाई पनि बाँडेर खान्छु,’ श्रेष्ठ भन्छिन्, ‘आफूले गरेको भएर होला फल नलागे पात मात्रै देख्दा पनि खुशी लाग्छ ।’


उनी भान्साबाट निस्किएका तरकारीका बोक्रालाई मल बनाएर प्रयोग गर्छिन्् । अहिले निषेधाज्ञा केही खुकुलो भएपछि उनी बुटिकमा जान थालेकी छन् । तर, साँझ घर फर्किएपछि केही समय कौशीमा बिताउँछिन् । ‘बिहान साँझ थोरै समय दियो भने पुग्छ,’ उनी भन्छिन्, ‘थोरै मेहनतले धेरै खर्च जोगिएको छ, किनभने तरकारी किन्न बजारमा जाँदा अनावश्यक खर्च हुन्थ्यो ।’

कौशी खेती वर्षामा भन्दा हिउँदमा राम्रो हुने गोंगबुकी राधा लमिछानेको अनुभव छ । लकडाउन भन्दा पहिला उनले कौशीमा फूलहरु रोपेकी थिइन । तर, लकडाउनमा समय बिताउनका गाह्रो भएपछि उनले तरकारी पनि रोप्न थालिन् । अहिले कौशीमा फलेको तरकारीले आफ्नो परिवारको छाक टरेको उनी बताउँछिन् । ‘लकडाउनमा कहाँ जाउँ के गरौं भन्ने छटपटी भएपछि कौशी खेती सुरु गरेको थिएँ्,’ लमिछाने भन्छिन् ‘पोहोर राम्रो तरकारी फलाएको थिएँ तर यसपाली पानीले गर्दा सोचे जस्तो फलेन ।’ यस बीचमा उनले वडा कार्यालयबाट एक दिने कौशी खेतीको तालिम पनि लिइन् । त्यसले उनलाई थप परिपक्व बनाएको छ ।

गोंगबुकै छुनुमाया महर्जनले त कौशी खेती सुरु गरेको ३० वर्ष बितिसक्यो । उनले सिजनअनुसार सबै तरकारी फलाउँछिन् । यतिबेला उनले तितेकारेला, अदुवा, बोडी, सिमी, घिरौंला, कर्कलो लगायतका तरकारी रोपेकी छिन् भनृ विभिन्न प्रजातिका फूलहरु पनि उनको कौशीमा देख्न सकिन्छ । त्यसैले उनको पनि यही कौशी खेतीमा लगाएको तरकारीले ८ जनाको परिवारको छाक टरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested