English

पूर्वलडाकु शोभाको पीडा : पहिले जनयुद्धमा होमियो, अहिले सडकमा छाडिदिए



कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौवन चढिसकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान जान्थ्यो । अर्कोतिर तत्कालीन समय पनि त्यस्तै थियो ।

माओवादी जनयुद्ध उत्कर्षमा पुगेको अवस्था थियो । माओवादीले आफूप्रति लोभ्याउन विशेषगरी विद्यालय उमेरका किशोरकिशोरीलाई निशानामा राख्थे । त्यही निसानामा परिन् काभ्रे दोलालघाटकी शोभा पराजुली । र, १२ वर्षकै उमेरमा थमाइयो कापीकलम बोक्ने हातमा एलएमजी हतियार ।

कापीकलमबाहेक केही नदेखेकी शोभाको हातमा भारी हतियार थमाइएपछि माओवादीले देखाएको सपना उनलाई आफ्नै सपना लाग्थ्यो । त्यही भएर उनले आफ्नो यौवनलाई नै धरापमा राखेर युद्धमा होमिइन् । ‘त्यो बेला त माओवादी के हो ? जनयुद्ध के हो ? भन्ने केही पनि थाहा थिएन । रमाइलोका लागि माओवादीमा लागियो,’ शोभाले भनिन् ।

२०६० सालमा उनी पहिलोपटक माओवादीमा लागेकी उनले युद्ध लड्नका लागि कसरी हतियार चलाउने ? दुश्मनको अगाडि अगाडि कसरी प्रस्तुत हुने ? जस्ता विषयमा १९ दिन मात्र तालिम लिइन्। त्यसपछि बल्ल उनी जनमुक्ति सेनाको पूर्णकालीन लडाकू भइन् ।

‘त्यो बेला त माओवादी के हो ? जनयुद्ध के हो ? भन्ने केही पनि थाहा थिएन । रमाइलोका लागि माओवादीमा लागियो,’ शोभाले भनिन् ।

घरपरिवार, आमाबुबाको काखमा हुर्किनुपर्ने उमेरमा उनी गरिबी, असमानता, बेरोजगारी अन्त्य गर्ने भन्दै अग्रपंक्तिमा उभिएर लड्ने अठोट लिइन् । उनलाई त्यो बेला जोश–जाँगर पनि खुबै चल्थ्यो ।

‘हामीलाई त्यस्तै तरिकाले तालिम दिइन्थ्यो । युद्धमा होमिएपछि त अरूलाई सिध्याउनुपर्छ भन्नेबाहेक केही हुन्नथ्यो,’ शोभाले त्यसबेलाको अवस्था स्मरण गर्दै भनिन् ।

माओवादी नेतृत्वले तालिम दिँदा उनलाई लाग्थ्यो, म एक्लैले संसार जित्छु । हुन पनि किन नहोस् युद्ध लड्ने हतियारले मात्र सम्भव हुँदैन । त्यसका लागि सबैभन्दा ठूलो कुरा हिम्मत र साहस चाहिन्छ । जुन उनीहरूलाई कमान्डरबाट पाउने निर्देशन काफी हुन्थ्यो । देशका लागि केही गर्नुपर्छ भनेर भनिन्थ्यो ।

उनले पाँचवटा लडाइँ लडिन् । पहिलो लडाइँ उनले मकवानपुरको जुरजुरेमा लड्ने मौका पाइन् । लड्नुअघि उनलाई खुबै डर थियो । जब गनबाट फायर खोलिन्, त्यसपछि एकाएक साहस जाग्यो । र, लडाइँ नसकिँदासम्म अग्रपंक्तिमा खटिइरहिन् । ‘लड्ने बेला त आफू मर्छु होला भन्ने पनि मनमा सोच नआउँदो रहेछ । हुन त कि मरिन्छ कि त अरूलाई मारिन्छ भनेर नै लडाइँमा जाने हो,’ शोभाले भनिन् ।

लड्ने क्रममा उनी कयौँपटक मृत्युको मुखबाट जोगिइन् । तत्कालीन शाही सेनाको कब्जाबाट कयौँपटक भाग्न सफल भइन् । आफूसँगै साथीहरू गोली लागेर ढलेको देख्दा त आफ्नो पनि जीवन सकियो जस्तै लाग्थ्यो । उनी थुप्रै आरोह–अवरोह पार गर्दै अगाडि बढिरहिन् ।

लड्ने बेला त आफू मर्छु होला भन्ने पनि मनमा सोच नआउँदो रहेछ । हुन त कि मरिन्छ कि त अरूलाई मारिन्छ भनेर नै लडाइँमा जाने हो

२०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । उनले बल्ल मुक्तिको श्वास फेर्न पाइन् । र, अब क्रान्ति पूरा भएको भान भयो । तर, अहिले आएर उनलाई युद्ध किन लडेको भनेर पछुतो हुन्छ ।

युद्ध लडेर उनी रित्तो हात घर फर्किइन् । ‘आफूसँगै लडेका साथीहरू कोही समायोजनमा गए । कोही राहत प्याकेज लिएर घर फर्किए । तर, मलाई भने बाल लडाकू भनेर त्यो पनि अयोग्यको बिल्ला भिराएर घर पठाइयो,’ शोभाले भनिन् ।

युद्ध लड्दा उनलाई त्यति पीडा भएन, जति पीडा अयोग्य भनेर रित्तो हात घर फर्काइयो । उनलाई त्यसपछि घरपरिवारमा घुलमिल हुन निकै समय लाग्यो । घर फर्किने बेला माओवादी नेतृत्वले राम्रै आश्वासन दियो । एक गेटबाट घर पठाएर अर्को गेटबाट भित्र छिराउने भन्दै उनीहरूलाई तत्काल घर जान भनियो । अहिलेसम्म पनि उनीहरूलाई अयोग्य नै भनिन्छ ।

दिनप्रतिदिन देशको अवस्था बिग्रिँदै गर्दा उनलाई पीडाले छाती चिरिन्छ । जुन उद्देश्यका लागि युद्ध लडेका थिए, आज त्यो सपना साकार हुन सकिरहेको छैन । विगतको जस्तै ठूलाठालु र पावरवालाकै अहिले अहिले पनि हालीमुहाली छ । आफ्नै नेतृत्वले बेवास्ता गर्दा र नचिन्दा युद्धमा होमिनु गलत थियो कि भन्दै यतिबेला उनी आफैँले आफैँलाई प्रश्न गर्छिन् ।

‘त्यो बेला माओवादीमा नगएर, प्रहरीमा गएको भए आज पेन्सन पाकिसकेको हुन्थ्यो । पढाइ नछाडेको भए अहिले के-के हुन्थ्यो । के–के न युद्ध भनेर लडियो, अहिले टाठाबाटा र पावर हुनेवालाको रजाइँ छ,’ शोभाले पीडा पोखिन् । देश परिवर्तन र व्यवस्था परिवर्तनका लागि भन्दै लडे पनि त्यो पूरा नहुँदा पीडाबोध हुनु स्वाभाविक हो ।

एकातिर पढाइ छैन, अर्कोतिर हातमा कुनै सीप छैन । सीप भए त्यसबाटै जीविकोपार्जन गर्न सकिन्थ्यो । शोभाको हातमा पढाइको सर्टिफिकेट हुन्थ्यो भने विदेशै गएर पनि गुजारा चलाउन सक्थिन् ।

‘पढ्ने उमेरमा अवस्था र व्यवस्था परिवर्तन गर्ने भन्दै बन्दुक भिरेर लड्न हिँडियो,’ शोभा भन्छिन्, ‘अहिले आएर आफ्नो भाग्यले नै छल गरेजस्तो लाग्छ ।’ अहिले उनी काँडाघारी मूलपानीमा किराना पसल चलाएर बसेकी छन् । जसले दैनिक गर्जो टार्न पनि धौ-धौ हुन्छ ।

उनले सरकारी जागिर खान खुबै प्रयास गरिन् । तर, पढाइले गर्दा जागिर खान पाइनन् । विदेश जाने सोच पनि बनाइन् । त्यो पनि हुन सकेन । त्यो बेला बुर्जुवा शिक्षा भनेर पढ्न पाइनन् । ‘मेरो त पढाइ नै छैन । योग्यताअनुसारको काम गर्न खोज्दा केही पनि पाइँदैन । विदेश जाउँ भन्दा पनि पाएको छैन । सरकारी जागिर पाउने भन्ने पनि सम्भव छैन । पावरै चलाएर जागिर खान खोज्यो भने पनि सम्भव छैन,’ उनले भनिन् ।

हामी ज्यानको बाजी थापेर युद्धमा होमियौँ । तर, उहाँहरूले मलगायत चार हजार आठजनालाई रोडमा ल्याएर छोड्नुभयो । अहिले आएर अयोग्य बाल लडाकु भनेर विशेषण दिइयो । १२ वर्षको उमेरमा बन्दुक समाउन कसलाई रहर हुन्छ र ?

आफ्नो योग्यताअनुसार केही न केही व्यवस्था मिलाइदिन राज्यसँग पटक–पटक गुहार मागिन् । तत्कालीन जनयुद्धका कमान्डर तथा नेतृत्वसँग पटक–पटक छलफल गरिन् । तर, जतिबेला पनि आश्वासनबाहेक केही पाइनन् ।

‘खाली आश्वासन मात्र दिने । काम केही नगर्ने भएपछि भेट्न किन जानुपर्‍यो ?’ शोभाले प्रश्न गरिन्, ‘हामी ज्यानको बाजी थापेर युद्धमा होमियौँ । तर, उहाँहरूले मलगायत चार हजार आठजनालाई रोडमा ल्याएर छोड्नुभयो । अहिले आएर अयोग्य बाल लडाकु भनेर विशेषण दिइयो । १२ वर्षको उमेरमा बन्दुक समाउन कसलाई रहर हुन्छ र ?’

उनीहरूलाई त अहिले माओवादी पार्टी र माओवादी नेताहरूप्रति वितृष्णा जागेको छ । युद्धबाट बाहिरिएको पनि दशौँ वर्ष भइसक्यो । तर, त्यसका पीडा र घाउँ अझै पनि कम भएको छैन ।

यतिबेला उनीमाथि घरपरिवारसँगै समाजको पनि प्रश्नको थुप्रो छ । अहिले के पायौँ ? के–के न हुन्छ भनेर गएकी थियौं, के भयो ? आफ्नै जिन्दगी बर्बाद गरेर आखिर के पायौँ ? घरपरिवारबाट बारम्बार आउने प्रश्न हो यो ।

समाजले त झन् खुच्चिङ नै भन्छ । के–के न परिवर्तन गर्छु भनेर युद्धमा गएकी थियौँ, अहिले के पायौ ? समाजले उनलाई बारम्बार गर्ने प्रश्न हो यो । जसको उत्तर उनले भेटेकी छैनन् । त्यसैले त उनी भन्छिन्, ‘जनयुद्ध त नेताहरूका लागि लडेका रहेछौं । हामीलाइ त पीडामाथि पीडा मात्रै भयो ।’ उनी त कमसेकम नेपालमै छिन् । तर, उनका तत्कालीन कैयौं सहयोद्धा कमरेडहरू विदेशी भूमिमा पसिना बगाउन विवश छन् । कतिपय साथीहरू त जीवन र मरणको दोसाँधमा छन् ।

यो पनि…
कलाले सत्ता हल्लाउने सामर्थ्य राख्छ
राजनीतिक दललाई पिरोलेका यी गीतहरू




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested