English

गाँजा खोल्ने कि नखोल्ने ?



नेपालमा गाँजा प्रतिबन्धित लागूऔषधमा पर्छ । यसको वैधानिक मान्यता माग गर्दै गत वर्ष प्रतिनिधि सभाका ४६ जना सांसदले संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । योसँगै नेपालमा गाँजालाई वैधानिक मान्यता दिने कि नदिने अथवा कसरी दिने भन्ने विषयमा विभिन्न बहस भइरहेका छन् । आखिर, नेपालमा गाँजालाई वैधानिक मान्यता दिनु उचित हो कि होइन ?

गाँजालाई वैधानिकता दिनुपर्छ । यसको वैध र अवैधको मुद्धामा जानुभन्दा पहिला विश्वमा यसको चलन के छ, त्यो हेर्न जरुरी छ ।

विरोध खतिवडा, सांसद, प्रतिनिधि सभा

गाँजालाई वैधानिकता दिनुपर्छ । यसको वैध र अवैधको मुद्धामा जानुभन्दा पहिला विश्वमा यसको चलन के छ, त्यो हेर्न जरुरी छ । विश्व यतिबेला सानो भइसकेको छ । यसका सामूहिक संघसंस्था बनिसकेका छन् । २०३३ सालमा संयुक्त राष्ट्र संघ र अमेरिकासमेतको पहलमा नेपालमा गाँजालाई लागूऔषधमा राख्ने काम गरियो । नेपालमा मात्र नभएर त्यतिबेला विश्वका कैयौं देशका कानूनमा गाँजालाई प्रतिबन्धित लागूऔषधको रूपमा राखियो । तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठनदेखि संयुक्त राष्ट्र संघसम्मका संघसंस्थाको अनुसन्धानमा गाँजा परापूर्वकालदेखि औषधिजन्य काममा प्रयोग हुँदै आएको देखिन्छ । यसमा सामान्य लागूऔषधका संकेत देखिएपनि यो औषधिजन्य बिरुवा हो भनेर मान्यता दिइसकेको अवस्था छ । त्यसो त राष्ट्रसंघले पनि गाँजालाई लागूऔषधबाट हटाएर औषधिजन्य वोट विरुवामा राखेकाले नेपाल यसमा अलग्गै बस्नुपर्ने आवश्यकता छैन ।

अर्को कुरा विश्वका मानवअधिकार र लागूऔषधका विषयमा अभियान चाल्ने युरोप, अमेरिका, जर्मनी, क्यानडा लगायतका थुप्रै देशहरूले पनि आफ्नो मुलुकको कानूनअनुसार गाँजालाई वैधता दिएर विधिसम्बत तरिकाले उत्पादन सुरु गरिसकेका छन् । गाँजालाई जनताको राम्रो आम्दानीको स्रोत बनाएका छन् । नेपालले हिजो जसको लहलहैमा लागेर गाँजालाई प्रतिबन्ध लगाएका थियो, आज तीे देशमा गाँजा खुला भइसकेपछि नेपाल भने पुरानै कानूनलाई टेकेर बसिरहनुपर्दैन । त्यसैले नेपालमा पनि गाँजा खुला गर्नुपर्छ ।

नेपालको मेचीदेखि महाकालीसम्म हिमालदेखि तराईसम्मको हावापानी गाँजाका लागि उपयुक्त छ । गाँजा प्राकृतिक रूपमा मौसमअनुसार आफैं उत्पादन हुन्छ ।

तेस्रो कुरा नेपालको मेचीदेखि महाकालीसम्म हिमालदेखि तराईसम्मको हावापानी गाँजाका लागि उपयुक्त छ । गाँजा प्राकृतिक रूपमा मौसमअनुसार आफैं उत्पादन हुन्छ । अझ यसलाई वैज्ञानिक तरिकाले मलजल गरेर आधुनिक औषधि प्रयोग गर्ने हो भने नेपाल जस्तो अविकसित देशका किसानका लागि नगदेबालीको रूपमा विकास हुन सक्छ । किसानको हातमा सिधै पैसा जान्छ । यस्तै, नेपालमा गाँजाले वैधानिकता पाएको अवस्थामा यससँग सम्बन्धित अवैध चलखेल पनि बन्द हुन्छन् । हजारौं मानिसहरू लागूऔषधका कारण जेलमा छन् । तिनीहरूलाई सरकारले व्यर्थमा पालिरहनु परेको अवस्था छ । त्यसैले ती मानिसहरू पनि छुट्छन् र कुनै न कुनै उत्पादन कार्यमा लागेर देशलाई नै टेवा पुग्ने हुँदा गाँजालाई फुकुवा गर्ने बित्तिकै नेपाललाई चौतर्फी फाइदा हुन्छ । नेपालमा गाँजालाई वैधता दिन ढिलो भइसक्यो ।

गाँजाको सम्बन्ध औषधि र सांस्कृतिक कुरासँग जोडिएको छ । गाँजामा धेरै प्रकारका केमिकलहरू हुन्छन् । केही केमिकलले मान्छेको मानसिक स्वास्थ्य र मन मस्तिष्कको सोच विचार र व्यवहारमा परिवर्तन ल्याउँछ ।

डा. अनन्तप्रसाद अधिकारी, मनोचिकित्सक

गाँजाको सम्बन्ध औषधि र सांस्कृतिक कुरासँग जोडिएको छ । गाँजामा धेरै प्रकारका केमिकलहरू हुन्छन् । केही केमिकलले मान्छेको मानसिक स्वास्थ्य र मन मस्तिष्कको सोच विचार र व्यवहारमा परिवर्तन ल्याउँछ । गाँजामा टेट्रा हाइड्रा क्यानाबिनल, क्यानाबिडिओल लगायतका केमिकलहरू हुन्छन् । गाँजामा हुने केमिकलले स्वास्थ्यमा आएका केही समस्याहरूलाई रोक्न मद्धत पुर्‍याउँछ । त्यसैले, गाँजाको पक्षमा बहस गर्नेहरूले यिनै फाइदाहरू देखाउँदै यसलाई वैधानिकता दिनुपर्छ भन्दै हिँडिरहेका छन् । तर, गाँजाको प्रयोगले मानसिक स्वास्थ्यमा समस्या ल्याउँछ र त्यसलाई कसरी रोक्ने भन्नेतर्फ उनीहरूको ध्यान गएको पाइदैन । मानसिक अस्पताल जहाँ ५० बेड छ, त्यहाँ अहिले गाँजा खाएकै कारण मानसिक समस्या आएका १० जना बिरामी भर्ना भएका हुन्छन् । गाँजा सेवनका कारण उनीहरूमा साइकोसिस, मुड डिसअर्डर, एन्जाइटी डिसअर्डर, एमोटिभेसनल सिन्ड्रोम लगायतका समस्या निम्त्याएको छ ।

यदि गाँजा खेती गरेर देश धनी हुने हो भने अफगानिस्तानले विश्वलाई चकित पार्नुपर्थ्यो । किनभने त्यहाँ त अफिम खेती हुन्छ । देशलाई समृद्ध बनाउने उपाय अरु पनि हुन्छन् ।

कतिपयले गाँजालाई वैधानिकता दिई यसको खेती गरेर देशलाई आर्थिक रूपमा समृद्ध बनाउने भनेर लागिरहेका छन् । गाँजाबाट कपडा बनाउने, औषधि बनाउने, यसमा अनुसन्धान गर्ने कुराहरू त होलान् । तर, जनताको मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने कुरामा भने नजरअन्दाज गर्नु हुँदैन । यदि गाँजा खेती गरेर देश धनी हुने हो भने अफगानिस्तानले विश्वलाई चकित पार्नुपर्थ्यो । किनभने त्यहाँ त अफिम खेती हुन्छ । देशलाई समृद्ध बनाउने उपाय अरु पनि हुन्छन् । तर, पछिल्लो समय सामाजिक सञ्जालमा छाउने केही ठूलाबडाहरूले गाँजा सम्पूर्ण रोगको औषधि हो भन्ने गरेको सुन्छु ।

गाँजाले मान्छेलाई उर्जावान, ध्यान केन्द्रित बनाउँछ र मानसिक रोगको लागि त अचुक औषधि हो पनि भन्छन्, यो कुरा सरासर गलत हो । यदि उहाँहरूलाई अझै पनि भ्रम छ भने गाँजाका कारण कति मानिस मानसिक रोगी भएका छन् भन्ने कुरा मानसिक अस्पतालमा आएर हेर्दा हुन्छ । साथै, डब्लुएचओले पनि गाँजाका कारण निम्तिन सक्ने रोगको सूची सार्वजनिक गरेको छ । गाँजालाई वैधानिकता दिनुपर्छ भन्नेहरूका लागि त्यो सूची हेर्न सुझाव दिन्छु । नेपाललाई समृद्ध बनाउन थुप्रै पक्षहरू छँदाछँदै तिनलाई छोडेर गाँजा खेती गर्नुपर्छ र यसले वैधानिकता पाउनैपर्छ भन्ने कुरा हास्यास्पद हो ।

भीम उपाध्याय, पूर्व सचिव

गाँजाको महत्वपूर्ण पक्ष भनेकै औषधिजन्य र पौष्टिकजन्य हो । विभिन्न चिकित्सा प्रणालीबाट ठीक नभएको रोग गाँजाबाट बनेका औषधि सेवन गरेपछि ठीक भएको थुप्रै प्रमाण छन् । साथै, गाँजा यस्तो वनस्पति हो, जसबाट बनाउन नमिल्ने वस्तु केही छैन ।

नेपालमा उत्पादन हुने गाँजा अन्य देशको तुलनामा धेरै राम्रो छ । त्यसैले यसलाई ब्राण्डिङ गरेर नेपालले राम्रो आम्दानीको स्रोत बनाउन सक्छ । अर्को कुरा नेपालमा गाँजा खेतीका लागि किसानले पनि धेरै मिहिनेत र खर्च गर्नुपर्दैन ।

हाम्रो शरीर नै गाँजा प्रणालीले चलेको छ । यसको थोरैमात्रा सेवनले शरीरमा आनन्द दिने, ठीक ढंगले शरीर चल्ने, स्वस्थ खुशी, प्रफुल्ल देखिन्छ । साथै, गाँजा सेवन गर्ने मानिसहरू कमै रिसाउँछन् र यिनीहरूमा झगडा गर्ने स्वभाव पनि हुँदैनन् । त्यसैले समग्रमा हेर्दा गाँजाको औषधिजन्य, औद्योगिक र मनोरञ्जनका पक्षलाई हेर्दा गाँजालाई खुला गरिनुपर्छ भन्ने मेरो मत छ । विश्वका कतिपय देशले गाँजालाई वैधता दिएर यसको कानून बनाएर उत्पादन तथा खरिद बिक्री नै सुरु गरिसकेका छन् । सन् २०२० मा अमेरिकामा साढे १७ अर्व डलर अर्थात नेपाली साढे २० खर्ब रूपैयाँको गाँजा किनबेच भयो । अमेरिकाजस्तै थुप्रै देशहरूले गाँजालाई निर्यात गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

अझ नेपालमा उत्पादन हुने गाँजा अन्य देशको तुलनामा धेरै राम्रो छ । त्यसैले यसलाई ब्राण्डिङ गरेर नेपालले राम्रो आम्दानीको स्रोत बनाउन सक्छ । अर्को कुरा नेपालमा गाँजा खेतीका लागि किसानले पनि धेरै मिहिनेत र खर्च गर्नुपर्दैन । साथै, अन्य खेतीको बजार मूल्यभन्दा गाँजाको १५ गुणाभन्दा बढी छ । त्यसैले गाँजालाई वैधानिकता दिनुको अर्को विकल्प छैन । यसलाई वैधानिकता दिने बित्तिकै देशको आर्थिक स्रोत बढ्छ, गाउँका बाँझा जग्गाहरूको सदुपयोग हुन्छ र रोजगारीका बाटाहरू पनि खुल्छन् ।

गाँजालाई प्रतिबन्ध लगाएपनि नेपालबाट अनुमानित ३० देखि ४० अर्ब रूपैयाँको गाँजा लुकिछिपी विदेशमा निर्यात भइरहेका छन् । यसबाट राज्यलाई राजस्व नोक्सान भइरहेको छ । त्यो पैसा ‘ब्ल्याक मनी’को रूपमा चलिरहेका छन् । त्यसैले यस्ता विकृतिहरू रोक्न र गरिब किसानलाई संरक्षण गर्न प्रतिबन्धित गाँजालाई फुकुवा गर्नुपर्छ ।

दीपक पोखरेल, समाजशास्त्री

गाँजालाई फुकुवा गर्नुभन्दा पहिला यसको सामाजिक र सांस्कृतिक वस्तुस्थितिलाई हेर्नुपर्छ । सामाजिक मनोविज्ञान र नेपाली समाजको चेतनास्तरलाई नबुझी यस्ता कुरामा जाँदा दूरगामी नकारात्मक प्रभाव पर्न सक्छ । त्यसो त गाँजालाई नेपाली समाजले कसरी लिन्छ ? यसप्रति समाजको बुझाई के हो ? हाम्रो सामाजिक संरचनाले यसलाई कसरी ग्रहण गरेको छ ? भन्ने कुरा नबुझी हामीले अन्य समाजको अभ्याससँग तुलनात्मक रूपबाट हेरेर निर्णय गर्‍यौं भने यसको प्रभाव हामीले सोचेजस्तो सकारात्मक नहुन सक्छ ।

विशेषगरी लागूऔषधका रूपमा गाँजालाई लिइए पनि मानव शरीरमा यसले राम्रो भूमिका खेल्छ र क्यान्सरजस्तो रोगको उपचारका लागि यसलाई प्रयोगमा ल्याइन्छ भन्ने छ । यस्तै, राजनीतिक हिसाबबाट पनि कतिपयले गाँजालाई स्वतन्त्र गर्नुपर्छ भन्ने धारणा राखेको पाइन्छ । तर, आम मानिससम्म यसको प्रभाव कस्तो पर्छ भन्ने आँकलन नगरी गाँजा खुलाउनु हुँदैन ।

नेपाली समाज गरिबी, अशिक्षा, बेरोजगारी, विभेद लगायतका कुरिती र कुसंकारले जकडिएको छ । त्यसैले गाँजालाई खुला गरेर यसको विक्री वितरण गर्दा आर्थिकस्तर राम्रो होला । तर, यसले गर्दा समाजमा देखिने विकृति र दुर्व्यसनीलाई हामीले थेग्न सक्दैनौं ।

त्यसैले अर्थतन्त्रमा राम्रो प्रभाव पार्नु यसको सकारात्मक पक्ष हो । तर, हरेक क्षेत्रमा यसको प्रभावकारिता रहन्छ कि रहँदैन भन्ने कुराको गहन विश्लेषण हुनु आवश्यक छ । तसर्थ, यसलाई समाजशास्त्रीय, मानवशास्त्रीय र अन्य विभिन्न अन्तरसम्बन्धित विषयहरूसँग जोडेर बहस गरेरमात्र खोल्नुपर्छ । यदि सतही रूपमा निर्णय गरेर यसलाई खुला गरियो भने यसको प्रभावका बारेमा हामीले अहिले नै आँकलन गर्न सक्दैनौं ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा

काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं

जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजनको डिलमा छ । आफ्नै मन्त्रीहरूलाई सरकारबाट हटाएर जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना गुटकालाई मन्त्री

वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको