मिठो चिनीको तितो यथार्थ



डा. हेमराज कोइराला

स्वादमा गुलियो भए तापनि स्वास्थ्यका दृष्टिले चिनीलाई अत्यन्त तितो खाद्यान्न मानिन्छ । यसैले होला आधुनिक पोषण शास्त्रीहरूले यसलाई खानेभन्दा पनि छोड्ने वस्तुको सूचीमा राखेका छन् । साथै धेरैले यसलाई छोड्न पनि थालिसकेका छन् तर अधिकांश जङ्कफुड, फास्टफुड र प्रोसेस्ड फुडमा चिनी मिसाइएको हुँदा हामी जानी नजानी चिनी खाइरहेका हुन्छौं ।

चिनी हालेपछि खानेकुराहरूको स्वाद, आकर्षण, आयु र बनावट राम्रो हुने हुँदा धेरैजसो व्यापारिक प्रयोजनको खानेकुरामा चिनी हालिएको हुन्छ । यति मीठो मानेर खाइने चिनीको गुणभन्दा धेरै दोषहरू छन् । तर चिनीको सेवन गर्दा हामीले यी सबै तथ्यहरूको ख्याल राख्ने गर्दैनौं । फलतः हामी जानी नजानी अनेकौं समस्यामा फसिरहेका हुन्छौं । चिनी सेवनको कारणले निम्नलिखित स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् ।

चिनीको सेवनले निम्त्याउने रोगहरू
मुटुरोग

संसारमा प्रत्येक वर्ष एक करोड ७७ लाख मानिस मारेर नम्बर एक हत्यारा कहलिएको मुटु तथा रक्तनलीका रोगहरूको एउटा जोखिम कारक तत्व चिनीको सेवन पनि हो । लामो समयसम्म चिनीको सेवन गरिरहँदा तौल बढ्ने, रक्तनलीका भित्री पत्र सुन्निने, कोलेस्ट्रोल र ट्राइग्लिसिराइड बढ्ने रक्त ग्लुकोज र रक्तचाप बढ्ने, तनाव, चिन्ता, भए र उदासिनता बढ्ने जस्ता मुटु रोगको जोखिम कारक समस्याहरू थपिने हुँदा मुटु तथा रक्तनलीको रोग लाग्छ । यसैगरी उच्च मात्रामा चिनीको सेवन गर्दा वा हाइ–फुक्टोज–डाइट लिँदा नशाहरूमा कोलेस्ट्रोल जमेर नशा सागँुरिने अथेरोस्क्लेरोसिस भनिने रोग लाग्छ । मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीमा अथेरोस्क्लेरोसिर भए यसलाई हामी कारोनरी मुटु रोग भनेर भन्छौं ।

मधुमेह

संसारभर झण्डै ४५ करोड मानिसहरू मधुमेहको समस्याबाट ग्रस्त छन् र यो संख्या पछिल्लो ४० वर्षमा गुणाले वृद्धि भएको हो । यसरी दिन दुई गुणा रात चौगुणाको दरले यो समस्या बढ्नुको प्रमुख कारक तत्वमध्ये चिनी एवं प्रशोधित चिल्लो पदार्थको सेवनलाई नै लिइएको छ । चिनीको सेवन गर्दा यसरी मधुमेह विकसित हुनुमा लामो समयसम्म चिनी सेवनले निम्त्याएको इन्सुलिन प्रतिरोधकता प्रमुख कारण हो भने चिनीको सेवनले निम्तिने मोटोपन र भुँडी लाग्ने समस्यालाई अर्को कारण मानिएको छ ।

इन्सुलिन प्रतिरोधकता

चिनीको सेवन गर्दा हाम्रो रक्त ग्लुकोजमो मात्रा बढ्छ । जसको साथसाथै इन्सुलिनको रक्त मात्रा पनि बढ्छ । यसरी लामो समयसम्म यो क्रिया दोहोरिइरहे यसले इन्सुलिन प्रतिरोधकता विकसित गराउँछ । इन्सुलिन प्रतिरोधकताले मधुमेहलाई जन्म दिन्छ ।

फ्याट्टी लिवर

कलेजोमा बोसो जम्ने समस्या आज हरेक घरको समस्या जस्तै बनिसकेको छ र यो समस्या यसरी भयावह हुनुमा चिनी र उच्च फ्रुक्टोज भएका प्रशोधित कार्बोहाइड्रेटसको सेवन मुख्य कारक तत्वहरू हुन् । चिनीको सेवनले कलेजोमा बोसो जम्ने समस्यालाई बढाउँछ । किनकि चिनीमा उच्च मात्रामा फ्रुक्टोज पाइन्छ । फ्रुक्टोज कलेजोका लागि हानिकारक तत्व हो । किनकि फ्रुक्टोजको उपपाचन केवल कलेजोमा मात्र हुने गर्छ जबकि ग्लुकोजको उपपाचन शरीरका सबै कोषहरूमा हुने गर्छ । उच्च मात्रामा फ्रुक्टोजको सेवन गर्दा कलेजोले फ्रुक्टोजलाई ग्लाइकोजनको रूपमा भण्डारण गरेर राख्छ तर लिमिटभन्दा ज्यादा भएमा यो फ्रुक्टोज बोसोको रूपमा कलेजोमै जमेर बस्छ जसलाई हामी फ्याट्टी लिवर रोग भनेर भन्छौं ।

उच्च तौल र मोटोपन

हाल संसारमा रहेका ७ अरब ८० करोड मानिसहरूमध्ये २ अरब ९२०० करोड० मान्छेहरूको तौल हुनुपर्नेभन्दा उच्च रहेको छ । ती २ अरबमध्ये पनि ६५ करोड मान्छेहरू मोटोपन रोगद्वारा ग्रसित छन् । यसरी अप्रत्यासित रूपमा मोटाउनमा हाम्रो खानपानको मुख्य हात छ र खानपानमा पनि चिनीको सेवनलाई उच्च तौल र मोटोपनको प्रमुख कारक तत्वको रूपमा लिइएको छ । त्यसमा पनि सबैभन्दा ठूलो हात संसारभरि शितल पेयको रूपमा बेचिने गरिएको उच्च मात्रामा चिनी हालिएका कोकाकोला, पेप्सीकोला, फन्टा, मिरिण्डा, ड्यु जस्ता कार्बोनेटेड ड्रिङ्क, सोडा, बजारिया जुस, इनर्जी ड्रिङ्क आदिको ठूलो हात छ । यी शितल पेयहरूमा उच्च मात्रामा चिनी वा हाइ–फुक्टोज–कर्न–सिरप वा हाइ–फुक्टोज–राइस–सिरप हालिएको हुन्छ ।

यी सिरपहरू वा चिनीको पाचनपश्चात् उच्च मात्रामा फुक्टोज बन्छ । फुक्टोजको सेवन गर्दा भोक लागिरहने, र खाएपछि सन्तुष्टि कम हुने हुँदा मान्छेले धेरै खाएर तौल बढाउने गर्छ । यसैगरी चाहिनेभन्दा उच्च मात्रामा फुक्टोजको सेवन गर्नेगर्दा उच्च फुक्टोजले लेप्टिन नामक खानापछि तृप्ति गराउने हार्मोनको प्रतिरोधकता विकसित गराउने हुँदा मान्छे धेरै खान्छ र तौल बढाउँछ । यसैगरी चिनी हालिएका वा उच्च मात्रामा फुक्टोज भएका खानेकुराहरूको सेवन गर्दा शरीरका कोमल अङ्गहरूमा बोसो लाग्ने समस्या देखापर्छ । कोमल अङ्गको बोसोलाई धेरै रोगहरूको कारक तत्व मानिएको छ ।

चाया, पोतो र डण्डीफोर आउने

हुन त चाया पोतो एवं डण्डीफोर अनेकौं कारणले आउने गर्छ । तर चिनी तथा प्रशोधित कार्बोहाइड्रेटसको सेवन डण्डीफोर आउनुको मुख्य कारण हो । यसो हुनुको मुख्य कारण चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको ग्लाइसेमिक इन्डेक्स उच्च हुनाले यी तत्वहरूको सेवन गर्दा रक्त ग्लुकोज वात्त बढ्ने गर्छ । रक्त ग्लुकोजको मात्रा बढेसँगै रक्तइन्सुलिनको मात्रा पनि बढ्छ र इन्सुलिनको मात्रा बढेपछि एन्ड्रोजेनको रक्तमात्रा बढ्ने, अत्यधिक चिल्लो पदार्थ उत्पादित हुने र डण्डीफोर आउने गर्छ ।

क्यान्सरको जोखिम

यसैगरी लामो समयसम्म चिनीको सेवन गर्नाले केही क्यान्सर रोगको जोखिमलाई पनि बढाउँछ । यसो हुनुको मुख्य कारण लामो समयसम्म चिनीको सेवन गरिरहँदा तौल बढ्ने र माटोपन विकसित हुने, शरीरमा अप्रत्यासित रूपले इन्फ्लामेसन भइरहने, इन्सुलिन प्रतिरोधकता विकसित हुने फलतः विभिन्न किसिमका क्यान्सरहरू विकसित हुने गर्छ ।

नैराश्यता

संसारभर साढे २६ करोड जनमानसहरू नैराश्यताको समस्याले ग्रसित छन् । नैराश्यताको समस्या लामो समयसम्म रहिरहेमा मान्छेमा आत्महत्याको चाहना बढ्छ । नैराश्यताका पनि धेरै कारणहरू हुन्छन् । यी कारणहरूमध्ये चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवन नैराश्यताको प्रमुख कारण हो । चीनी हालिएको चिया, शितल पेय, बजारिया जुस, बेकरी उत्पादन, जङ्कफुड, फास्टफुड आदिको सेवन गरिरहँदा यी खानेकुराले हाम्रो मुड खराब गरिरहने हुँदा अन्ततोगत्वा मानिस नैराश्यताको शिकार हुनपुग्छ । यसरी चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवनले नैराश्यता जन्माउनुमा चिनी सेवनपश्चात् बढेको रक्तग्लुकोजलाई निवारण गर्न सँगसँगै बढेको रक्त–इन्सुलिन र उच्च रक्त–इन्सुलिनल सँगसँग बढ्ने एन्ड्रोजेन हार्मोनको मात्रा हो । एन्ड्रोजेनलाई स्ट्रेस हार्मोन पनि भनिन्छ । यसैगरी उच्च मात्रामा चिनीको सेवन गर्नेगर्दा यसले न्युरोट्रान्समिटरको पनि गडबडी गर्ने हुँदा मान्छे निराशाको शिकार हुन पुग्छ ।

असामयिक जरण

जरण अथवा बुढ्यौली सबैको जीवनमा घट्ने घटना हो । तर आजकल धेरै जनामा देखिएको समय नपुग्दै सुरू हुने बुढ्यौली चाहिँ चिनी सेवन र प्रशोधित कार्बोहाइड्रेटसको सेवनसँग सम्बन्धित छ । बुढ्यौली सुरू हुँदा छाला चाउरिने, कपाल फुल्ने, दाँत झर्ने, ज्ञानेन्द्रीयहरूको कार्य क्षमता कम हुनेजस्ता लक्षणहरू देखापर्ने गर्छ र बुढ्यौलीका यी लक्षणहरूलाई बढाउनका लागि चिनी वा प्रशोधित कार्बोहाइड्रेटसको सेवनले मद्धत गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानहरूले दर्शाएका छन् । यसरी चिनीको सेवनले बुढ्यौली निम्त्याउनुमा चिनी सेवन पश्चात् चिनी र प्रोटिनको प्रतिक्रियाबाट उत्पन्न हुने एड्भान्स–ग्लाइकेसन–एण्ड–प्रोडक्ट नामक जैविक रसायन जिम्मेबार छ । एडभान्स–ग्लाइकेसन–एण्ड–प्रोडक्टले विशेषतः छालाको तान, वर्ण र कान्तिलाई जीवन्त राख्ने कोल्याजीन र इलास्टिन प्रोटिनको नाश गर्ने गर्छ र छाला चाउरी परी चाँडै बुढो देखिन्छ ।

कोषकीय जरण

हाम्रो शरीर झण्डै १० नीलकोषहरू छन् । यी कोषहरूको पनि आ–आफ्नै आयु छ र यी कोषहरू पनि जरण (बुढ्यौली) र मरण (मृत्यु) को चपेटामा आउने गर्छन् । यसरी हुने कोषहरूको जरण (बुढ्यौली) का लागि टेलोमरेज नामक कोषकीय संरचना छोट्टिने प्रक्रिया जिम्मेवार छ । टेलेमरेजले विशेषतः क्रोमोजोमहरूको हरेक छेउलाई ढाकेर राखेको हुन्छ र क्रोेमोजोमहरूलाई अन्य तत्वहरूबाट विकृत हुन र क्रोमोजोमहरूलाई आपसमा विलय हुन दिँदैन तर टेलोमरेज छोट्टिएको अवस्थामा क्रोमोजोमहरू चाँडै विकृत हुने र कोषहरू चाँडै बुढो हुने गर्छ । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले दर्शाए अनुरूप लामो समयसम्म चिनीको सेवन गर्दा वा टेलोमरेज छोट्टिएर कोषहरू चाँडै बुढो हुने गर्छ ।

शक्ति क्षीण हुने

उच्च मात्रामा चिनी हालिएका खानेकुराहरूको सेवन गर्दा चिनीले रक्तग्लुकोज र इन्सुलिन दुवैलाई बढाउने गर्छ । यसरी चिनी सेवन पश्चात् केही क्षणको लागि रक्तग्लुकोज बढ्नाले ऊर्जाको स्तर पनि बढ्छ तर यो स्थिति लामो समयसम्म कायम रहँदैन फलतः ग्लुकोज कम भएसँगै तुरून्त ऊर्जाको स्तर पनि कम भइहाल्छ । यसर्थ लामो समयसम्म ऊर्जास्तर बनाइराख्नका लागि चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवन गर्नु हुँदैन । यदि खानुपरेको खण्डमा प्रोटिन र फाइबर युक्त खानेकुरा पनि साथमा खानुपर्छ ।

मृगौलामा खराबी

चिनीको सेवनले मृगौलाको स्वास्थ्यलाई पनि चौपट्ट पार्ने गर्छ । यसो हुनुमा चिनीले रक्तनलीहरूमा इन्फ्लामेसन गराउने र मृगौलाका स–साना रक्तनलीहरूलाई पनि क्षति ग्रस्त बनाइदिने हुँदा मृगौला विकृत हुनपुग्छ ।

दाँतको क्षय

चिनी र प्रशोधित कार्बोहाइड्रेट्सको सेवनले दाँतमा विकृत हुन्छ । यसो हुनुमा चिनी खाँदा चिनीले दाँतका लागि हानिकारक ब्याक्टेरियालाई आकर्षित गर्छन् । यी ब्याक्टेरियाहरूले दाँतलाई सडाइ दिने एसिड उत्पादन गर्छन् र दाँत खराब हुन्छ ।

युरिक एसिड बढ्ने

उच्च मात्रामा चिनीको सेवन गर्ने गर्दा चिनी पाचनपश्चात् ग्लुकोज र फ्रुक्टोजमा टुट्दछ।चिनीको पाचन पश्चात बनेको ग्लुकोज र फ्रुक्टोजमध्ये ग्लुकोजको मेटाबोलिजम सम्पूर्ण कोषहरूमा हुने गर्छ भने फ्रुक्टोजको मेटाबोलिजम केबल कलेजोमा मात्र हुने गर्छ । कलेजोमा फ्रुक्टोज फ्रुक्टोज १ फास्फेटमा परिवर्तन हुन्छ । यस प्रक्रियामा एटीपीको उपयोग भई एडीपी बन्छ र एडीपी पनि पुनः एएमपीमा परिवर्तित हुन्छ र एएमपी पनि आइनोसिनमा परिवर्तित हुँदै युरिक एसिड बन्छ । यसर्थ हामी जति धेरै चिनीको सेवन गर्दछौं त्यति नै धेरै युरिक एसिड बढ्ने समस्याबाट ग्रस्त हुन्छौं ।

विस्मृति र बोध क्षमतामा ह्रास

चिनीको सेवनले रक्त ग्लुकोजको मात्रा बढाउने र रक्तग्लुकोजको मात्रा बढेसँगै इन्सुलिनको मात्रा पनि बढ्ने हुँदा यो स्थितिमा इन्सुलिन प्रतिरोधकता विकसित भएमा मस्तिष्कले ग्लुकोजको उपयोग गर्न नसकेर यसको कार्य क्षमता घट्छ । यसैगरी चिनीको सेवनले मस्तिष्कमा अमाइलाइड प्रोटिन बन्ने क्रिया बढ्ने हुँदा अल्जाइमर रोग पनि लाग्न सक्छ । यसर्थ चिनीको सेवनले विस्मृति र बोध क्षमतामा ह्रास गराउँछ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर १ चितवनका मेडिकल डाइरेक्टर हुन्



...
frieftKar

The mean duration of infertility in years was 2 generic cialis for sale This value is easy to calculate, and may be valid in serum samples from women but is not valid in men 50 because most of the SHBG in men is bound to testosterone

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसहरूलाई स्वस्थ रहन फलफूल खाने सल्लाह दिइन्छ। फलफूलले शरीरलाई पोषण दिन्छ। फलफूलमा भिटामिन, प्रोटिन, मिनरल्स लगायतका पौष्टिक तत्त्वहरू प्रशस्त मात्रामा

तौल बढ्नु अहिलेको समयको सामान्य समस्या हो । यसका धेरै कारण हुन सक्छन् जस्तै जीवनशैली, खानपान वा धेरै अन्तर्निहित स्वास्थ्य

गर्मी मौसम सुरु भइसकेको छ । यस्तो अवस्थामा सबैको वार्डरोबमा हल्का र आरामदायी लुगा आउन थालेको छ । पहिरनका साथसाथै

रक्तचापको स्तर बढ्नु स्वास्थ्यको लागि धेरै हानिकारक छ र एक पटक यो बढ्न थालेपछि यो निरन्तर बढ्दै जान्छ र यसलाई