English

बगान : एकल महिलाको एक्लोपन र समाधानको कथा



‘हरेक मानिस एक पटक जन्मिन्छ र मर्छ । तर, एकल महिला कयौँ पटक मरेर बाँच्छन् । एक पटक छोरी भएर जन्मिएर, अर्को पटक बुहारी भएर अन्मिएर र तेस्रो पटक एकल भएर ।’ यस प्रकारको एउटा युक्ति नै छ, हो पनि त्यस्तै । एकल महिलालाई समाजले हेर्ने नजर अझै पनि फराकिलो हुन सकेको छैन । ग्रामीण एवं दूर दराजको महिलाहरू अझै पनि दिनानुदिन विभेदको सिकार हुनु परेको छ । सहरको अवस्था पनि सुखद छ भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन ।

चाहे पर्साकी उमादेवी ठाकुरलाई आफ्नै देवरलगायतले चरित्रहीन र बोक्सीको आरोपमा कपाल काटेर अर्धनङ्गन पारी कालो मोसो दल्दै पुरै गाउँ घुमाएको घटना होस् वा जादु र टुना–मुना गरी बिरामी पारेको भन्दै निर्घात कुटपिटबाट घाइते भएकी महोत्तरीकी महिलाको कथा होस् । त्यी दुवै एकल महिला नै थिए । मानव अधिकारका लागि एकल महिला समूहको तथ्याङ्कले नेपालमा लगभग १५ लाखको हाराहारीमा एकल महिलाहरू रहेको जनाएको छ । त्यी मध्ये अधिकांश एकल महिला समाजमा कहीँ कतै केही न केही विभेदबाट अछुत छैनन् ।

saroj khanal
सरोज खनाल
अभिनेता तथा निर्देशक

मनोरञ्जन दिने खालको सिनेमा त थुप्रै बन्छन्, तर म पहिलेदेखि नै समाजलाई रूपान्तरण गर्नुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ । फिल्मको माध्यमबाट सन्देश दिन सक्यौँ भने, दर्शकहरूले यस विषयमा सोच्न बाध्य हुनुहुनेछ ।

के एकल महिलाको चाहना नै हुँदैन होला र ? के उनीहरूमा संवेदना नै हुँदैन होला र ? कसले बुझिदिने एकल महिलाको एक्लोपन ? डेब्यू निर्देशनमा नै यस्तै प्रश्न र समाधान सहितको चलचित्र ‘बगान’ बनाएका छन् अभिनेता सरोज खनालले ।

बगान एकल आमाहरूको बेथा, सन्तानप्रतिको अगाध प्रेम र एक्लोपनको कथा हो । अल्पायुमा नै श्रीमान् बितेका महिलाहरू प्रति समाजले हेर्ने दृष्टिकोणलाई चलचित्र बगान मार्फत देखाउन खोजिएको छ । त्यसका साथसाथै एकल महिलाले भोग्नु परेको पीडालाई कसरी समाधान गर्न सकिन्छ भनेर यस चलचित्रमा देखाउन खोजिएको निर्देशक खनालले बताए । ‘मनोरञ्जन दिने खालको सिनेमा त थुप्रै बन्छन्, तर म पहिलेदेखि नै समाजलाई रूपान्तरण गर्नुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ ।’ निर्देशक खनाल गम्भीर सुनिन्छन्, ‘अडियो भिडियो माध्यम भनेको सूचना तथा सन्देश सम्प्रेषणका लागि सशक्त माध्यम हो, यसले मान्छेको सोचमा धेरै फरक पार्छ । त्यसैले यो सन्देश फिल्मको माध्यमबाट दिन सक्यौँ भने, दर्शकहरूले यस विषयमा सोच्न बाध्य हुनुहुनेछ ।’ मनोरञ्जनको साथसाथै श्रव्य दृश्य माध्यमबाट सन्देश पनि दिने उद्देश्यले बगान बनाइएको खनालले बताए ।

म चलचित्रको एउटा हिरोइन भएर आएको छु भन्दा पनि मैले गरेको क्यारेक्टरमा के सन्देश लिएर आउँदै छु भन्ने विषयमा बढी उत्साहित छु ।

Pramila Karki
प्रमिला कार्की
अभिनेत्री

‘बगानको कथा बिधुवा महिलाको कथामा आधारित छ । एउटी बिधुवा महिलाले चाहेको खण्डमा दोस्रो विवाह गर्न पाउनु पर्छ, त्यसलाई रोक्नु हुँदैन भन्ने क्रान्तिकारी सोच राख्ने क्यारेक्टरमा मेरो भूमिका छ ।’ यही चलचित्रबाट चलचित्र अभिनयमा प्रवेश गरेकी नवअभिनेत्री प्रमीला कार्की भन्छिन्, ‘मान्छे फक्रिन, फुल्न पाउनुपर्छ, आफ्नो व्यक्तित्व विकास गर्न पाउनुपर्छ । पुरुष र महिलाभन्दा पनि मान्छे भएर जिउन पाउनुपर्छ भन्ने उद्देश्य मेरो क्यारेक्टरले बोकेको छ ।’ उनी उत्साहित सुनिन्छिन्, ‘म चलचित्रको एउटा हिरोइन भएर आएको छु भन्दा पनि मैले गरेको क्यारेक्टरमा के सन्देश लिएर आउँदै छु भन्ने विषयमा बढी उत्साहित छु ।’ त्यसो त उनी रियलमा पनि त्यही नेचरको भएकोले यस चलचित्रले उनको जीवनमा ठूलो अर्थ राख्ने बताइन् । पहिलो चलचित्रमा नै यस्तो विषयमा काम गर्न पाएकोमा खुसी समेत व्यक्त गरिन् ।

बगानलाई सुरुमा सर्ट फिल्म बनाउने भनेर बनाइएको थियो, कमर्सियल आक्सपेक्ट केही पनि थिएन । नेपाली समाजमा एकल महिलाको अवस्थालाई चित्रण गर्दै सर्ट फिल्म कम्पिटिसनमा पठाउनको लागि निर्माण गरिएको थियो । बनाउँदै जाँदा चलचित्र राम्रो बन्दै गयो । त्यस पछि केही निर्देशक साथीहरूलाई देखाउँदा उनीहरूले पनि यो फिल्मलाई ठूलो पर्दामा देखाउनु पर्छ भन्ने सल्लाह दिए पछि अलिकति कमर्सियल कुराहरू र गीतहरू पनि राखेर फिल्म बनाइएको खनालले जानकारी दिए ।

निर्देशक भइसके पछि आठ महिना भयो फुल टाइम मैले यसैमा दिएका छु । एडिटिङ, मिक्सिङ, क्लरिङ देखि गीत रेकर्डिङ सबै काममा म आफै बसिराखेको छु ।

पहिलो पटक फिल्म निर्देशन गर्दाको अनुभव कस्तो रह्यो भन्ने प्रश्नमा खनाल भन्छन्, ‘अहिले सम्म मैले करिब ७० वटा सिनेमामा अभिनय गरेको छु । आफूलाई दिइएको क्यारेक्टर गर्थे, पारिश्रमिक लिन्थे र घर आउँथेँ ।’ उनी पाका सुनिन्छन् ‘निर्देशक भइसके पछि आठ महिना भयो फुल टाइम मैले यसैमा दिएका छु । एडिटिङ, मिक्सिङ, क्लरिङ देखि गीत रेकर्डिङ सबै काममा म आफै बसिराखेको छु । मैले अहिले जति पनि डाइरेक्टरलाई भेट्छु वहाँहरूलाई झुकेरै नमस्कार गर्छु, किनभने यो धेरै जटिल पेसा हो ।’

मैले अपेक्षा गरे भन्दा राम्रो गर्नु भयो । सायदै अर्को अर्को व्यक्तिसँग काम गरेको भए मैले पहिलो पटकमै त्यति राम्रो काम गर्न सक्दिन थिए होला ।

त्यसो त, खनाल लामो समयदेखि कलाकारिता क्षेत्रमा काम गरेकाले कलाकारको मर्मलाई नजिकबाट महसुस गरेको नायिका कार्की बताउँछिन् । ‘मैले अपेक्षा गरे भन्दा राम्रो गर्नु भयो । सायदै अर्को अर्को व्यक्तिसँग काम गरेको भए मैले पहिलो पटकमै त्यति राम्रो काम गर्न सक्दिन थिए होला ।’

निर्देशक खनाल लामो समयदेखि कलाकारिता क्षेत्रमा योगदान दिँदै आएका छन् । उनको कलाकारिताको सबैले कदर गरेकाले पहिलो पटक क्यामरा पछि रहेर काम गरेको चलचित्र एक पटक हेर्न आइदिन उनले दर्शकसामु अनुरोध समेत गरेका छन् । साथै उनले यस चलचित्र सरल तरिकाले बनाएको र त्यस्तो अतिरञ्जित कुराहरू केही पनि नराखेको बताए ।

सरोज खनाल, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठलगायतको अभिनय रहेको चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिङ मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्यान्डका शिव मुखियाको रहेको छ ।

फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । अभिनेता खनालको डेब्यू निर्देशित चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ ।

यो पनि…
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)
बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार

तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम