बाघ संरक्षणमा नेपालको छलाङ



१२ बर्षको अवधिमा नेपालमा बाघको संख्या दोब्बरभन्दा बढीे,बाघ जोगाउन र संख्या अझै बढाउन कठिन चुनौती

३५५ । यो केवल सामान्य अंकमात्र रहेन । खुसीको खबर ! गर्वले शिर ठाडो पार्न सकिने यो अंकको समाचार नेपालबाटै आएको हो । हो,सन् २००९ मा १२१ वटा बाघ रहेकोमा नेपालमा सन् २०२२ मा बाघको संख्या ३५५ पुगेको छ ।

आज अन्तराष्ट्रिय बाघ दिवस । बिरालो प्रजातीमा संसारकै दुर्लभ मानिने बाघ संरक्षणमा नेपालले पछिल्लो १२ वर्षमा हासिल गरेको यो उत्साहजनक उपलब्धि देखेर डब्लूडब्लूएफ नेपाल आज फुरुङ्ग छ । डब्लूडब्लूएफ नेपालले आज बिहान फेसबुकको भित्तामा आफ्नो भावना पोखेको छ, ‘हामीले गर्यौँ ! १२ वर्ष पहिले नेपालले सन् २०२२ सम्ममा हाम्रो बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता अन्य देशहरूसँग गरेको थियो । आज, हामी गर्वका साथ घोषणा गर्न सक्छौं–सरकार, संरक्षणवादी,सिएसओ र स्थानीय समुदायको सहयोगी प्रयासमा हामीले यो लक्ष्य र त्यसभन्दामाथि हासिल गरेका छौं ! अब, डब्लूडब्लूएफ नेपाल भविष्यतिर हेरेको छ जहाँ हामीले यो उपलब्धिलाई कायम राख्छौं र नयाँ चुनौतीहरू सामना गर्छौं ।’

घाँसे मैदान,पानी र वासस्थानको सुधारसँगै पछिल्ला वर्षहरूमा बाघको संख्या बढ्दै गएको छ ।

२००८/००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त संख्या २३५ पुग्यो र पछिल्लो गणना अनुसार बाघको संख्या ३५५ पुगेको छ । यो संख्या किन पनि गर्व गर्न लायक हो भने लक्ष्यभन्दा यो संख्या १०५ ले बढी हो ।

हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ ।

विश्व वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) का अनुसार हाल विश्वभरि झन्डै ४ हजार बाघ छन् ।

नेपालमा बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिएपनि बाघको संख्या बढ्नु त के उल्टै घट्दै जान थाल्यो ।

यस्तो स्थितीमा बाघ संरक्षणको चिन्ता नगरेर भयो त ?

हो,यसपछि नै बाघका बासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने रणनीति अघि सारियो । बाघका बासस्थान भएका १३ मुलुकको आपसी सहकार्यले नै बाघ संरक्षणमा टेवामात्र दिएन संख्या पनि बढ्यो । नेपाल त्यसकै उदाहरण हो ।

राष्ट्रपति पनि उत्साही

राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको बताएकी छन् ।

विश्व बाघ दिवसका अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै उनले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय रहेको बताएकी हुन् ।

बाघको चोरी शिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्वव्यापी बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको छ।

‘हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघको चोरी शिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्वव्यापी बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको छ,’ उनले भनेकी छन् ।

वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानूनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न अङ्गका रूपमा कार्यान्वयन गर्न सबैको दिगो सक्रियता आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार,बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनु पर्ने बताएकी छन् ।

जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु।

बाघको संरक्षण र संख्या वृद्धि नेपालको पर्यटन प्रवर्धन एवम् आर्थिक विकासका लागि समेत महत्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन उनले आह्वान पनि गरेकी छन् ।

‘जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु,’ भण्डारीले भनेकी छन् ।

अनि एकजुट भए १३ देश

राष्ट्रपति भण्डारीले भनेजस्तै नेपालमा बाघ संरक्षणमा देखिएको यो उपलब्धिले विश्वमै दुर्लभ मानिएको बाघको संरक्षण र भविष्यलाई लिएर आशावादी हुने ठाउँ प्रशस्तै छन् । तर बाघ संरक्षणकालागि १२ बर्षअघि भएको थालनीलाई पनि बिर्सन सकिदैन् । संरक्षणमा त्यो थालनी कोशेढुङ्गा थियो ।

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘विश्व बाघ दिवस’ का रुपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो ।

भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारियो ।

त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणका लागि बासस्थलको संरक्षण, बाघको संख्यामा आएको कमीबारे जनचेतना अभियानका साथै संरक्षणमा भएका प्रयासहरूको निरन्तरताको प्रतिबद्घता र यो अभियानमा सहभागीहरुलाई प्रोत्साहन गरी बाघ दिवस मनाइन्छ ।

नेपालको बाघ संरक्षणमा सरकार,राजनीतिक दल,नेपाली सेना,नेपाल प्रहरीदेखि स्थानीय बासिन्दा हुदैं हामीजस्तो अन्तराष्ट्रिय संस्थाहरुको सामुहिक प्रयास र लक्ष्यप्रतिको प्रतिबद्घता कारण हामीले बाघको संख्या लक्ष्यभन्दा झण्डै–झण्डै तेब्बर पुर्याउन सम्भव भएको हो ।

कुनै समय जताततै पाइने बाघ संरक्षण अभाव र बस्ती बिस्तारसँगै लोपोन्मुख प्राणी बन्न पुग्यो । बाघको संख्या घट्नुको पछाडि जंगल फँडानीले हुन गएको बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो । विकासका नाममा बाघको बासस्थानलाई बेवास्ता गर्न थालिएपछि बाघ लोपोन्मुख जन्तुमा पर्न गयो ।

यसपछि संरक्षणविद्हरु जुर्मुराए । यो १२ बर्षमा कसैले नसोचेको परिणाम आयो । बाघको संख्या दोब्बरभन्दा बढ्यो ।

यो कसरी सम्भव भयो ?

बाघचोरी सिकारी शून्य अभियान चल्यो,जसले बाघ जोगाउन सकियो । बाघको वासस्थानको व्यवस्थापनमा विशेष ध्यान पुरयाइयो । विज्ञहरुको सल्लाह अनुसार बाघको जीवनशैलीलाई सहज हुने वातावरण निर्माण गरियो । बाघ संरक्षणमा जनजेतना बढाएपछि धेरैले बुझे–बाघ किन जोगाउनुपर्छ !

यी यावत प्रयास र सरकार र संरक्षणमा जुटेका सरोकारवालाहरु बाघ संरक्षणमा निकै गम्भिर देखिए । परिणाम,हाम्रो सामु छ । पछिल्लो १२ बर्षमा बाघ संरक्षण र यसको संख्या बढाउन नेपालले खेलेको भूमिकालाई संसारमै बाघ संरक्षणको एउटा नमुनाको रुपमा स्थापित भयो ।

बाघ संरक्षण कसरी गर्ने ? नेपाल बाघ पाइने अन्य मुलुकलाई सिकाउने तहमा पुग्नु आफैमा गर्वको बिषय हो । तर यो सफलता भने कुनै ब्यक्ति,संस्था वा सरकार एक्लैको प्रयासले भएको होइन । सामुहिक प्रयास र लक्ष्य प्राप्तिप्रति गम्भिरता नै यसको कारक हो ।

डा. घनश्याम गुरुङ
राष्ट्रिय प्रतिनिधि, डब्लूडब्लूएफ नेपाल

अबको लक्ष्य भनेको बाघको संख्या बढाउनेभन्दा पनि भएका बाघको संरक्षणका लागि उनीहरुको बासस्थान जोगाउनतिर हाम्रो ध्यान केन्द्रित हुनेछ ।

‘नेपालको बाघ संरक्षणमा सरकार,राजनीतिक दल,नेपाली सेना,नेपाल प्रहरीदेखि स्थानीय बासिन्दा हुदैं हामीजस्तो अन्तराष्ट्रिय संस्थाहरुको सामुहिक प्रयास र लक्ष्यप्रतिको प्रतिबद्घता कारण हामीले बाघको संख्या लक्ष्यभन्दा झण्डै–झण्डै तेब्बर पुर्याउन सम्भव भएको हो,’ डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले मेरोलाइफस्टाइलसँग भने, ‘अबको लक्ष्य भनेको बाघको संख्या बढाउनेभन्दा पनि भएका बाघको संरक्षणका लागि उनीहरुको बासस्थान जोगाउनतिर हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

डब्ल्युडब्ल्युएफ नेपालका राष्ट्रिय प्रतिनिधि गुरुङ आगामी दिनमा वातावरणमैत्री पूर्वाधार र बाघका लागि पानीको उचित प्रवन्ध तथा मानव–बाघ द्घन्द न्युनिकरणमा केन्द्रित हुनुपर्ने बताउँछन् । भन्छन्,‘बाघ संरक्षण गर्न सकियो भने नेपाल विश्वमै बाघ हेर्ने मुलुकको रुपमा परिचित हुनेछ ।’

मान्छे जोगाउने कि बाघ बढाउने ?

नेपालमा विकासका नाममा वनजङ्गल मास्ने काम भइरहेकाले आगामी दिनमा बाघको वासस्थान जोगाउनु सबैभन्दा ठूलो चुनौती देखिएको छ । नेपालमा खास गरी तराईमा अवस्थित संरक्षण क्षेत्रमा ठूला राजमार्ग र उद्योगहरू रहनुले जङ्गली जनावरहरू समय–समयमा दुर्घटनाको सिकार बन्ने गरेका छन् ।

नेपालमा अझै सडक वा रेलमार्ग जस्ता ठूला परियोजनाको बहस भइरहेको छ । तर, यस्ता बहसहरुमा बाघ लगायत जीवजन्तुको संरक्षणको मुद्घालाई केन्द्रमा राखिएको छैन ।

तर यदि बाघ संरक्षणमा सबै निकाय गम्भिर बन्ने हो भने यो बर्ष नेपालले बाघको संख्या दोब्बर बनाउने लक्ष्य भेटेजस्तै आगामी बर्ष तेब्बर नपुग्ला भन्न सकिन्न । आखिर गरे के हुँदैन ! परिणाम हाम्रै सामु छ ।

तर, बहसको एउटा पाटो पनि छ । बाघ संरक्षणमा जुटिरहेकाहरुले पटक–पटक आलोचना खेप्नुपर्ने बिषय हो–बाघ जोगाउने कि मान्छे ? बाघको संख्या बढ्दै गएकोमा गर्व गर्ने कि बाघको आक्रमणले मानिसले ज्यान गुमाउनुलाई पहिलो चिन्ता मान्ने ? यसको जवाफ हो– बाघको प्राकृतिक बासस्थानमा मान्छे पुगेको हो कि मान्छेको बासस्थानमा बाघ आएको हो ?

यो पनि…
राष्ट्रिय बाघ सर्वेक्षण सुरु (फोटो फिचर)
नारायणी नदीको स्वास्थ्य परीक्षण



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

हङकङमा तुलसीकुमार गुरुङद्वारा लिखित र वि विल राइज फाउन्डेसनद्वारा प्रकाशित आत्मकथा ‘तुलसी’को लोकार्पण गरिएको छ। गुरुङ वि विल राइज फाउन्डेसन,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्कासन गर्ने पारित गरेको छ । आइतबार छायादेवी कम्प्लेक्समा सम्पन्न भएको

मधुमेह एक गम्भीर रोग हो, जसलाई नियन्त्रण गर्न बिरामीले आफ्नो खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । चिनीको मात्रा बढेमा

काजु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । सबैलाई मन पर्छ। तर यो मुद्रास्फीतिको युगमा यसलाई किन्न त्यति सजिलो छैन। किनकि

Suggested