English

‘म भित्रको प्रवल इच्छाशक्तिका कारण तिलोत्तमाको रुपान्तरण सम्भव छ’



त्यो वैशाख १९ को दिन थियो, मुलुक स्थानीय निर्वाचनको रापतापमा थियो । तपाइको उम्मेदवारी किन ? तपाईको विजयले आममानिसको जीवनशैलीमा के–कस्ता परिवर्तन ल्याउला ? यही प्रश्नको सेरोफेरोमा रहेर मेरोलाइफस्टायलले देशभरिका केही उम्मेदवारहरुसँग कुराकानी गर्दै थियो । यही मेसोमा तिलोत्तमा नगरपालिकाका लागि प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणसंग लामो संवाद भयो ।

लुम्बिनी प्रदेश, रुपन्देहीका दुई ठुला शहर भैरहवा र बुटवलकोबीचमा रहेको ‘स्याण्डविच’ शहर बन्दै गरेको तिलोत्तमा नगरपालिकामा यसपटकको स्थानीय निर्वाचनमा मतदाताको मन जिते, उनै खाणले । नगरबासीले तिलोत्तमा नगरपालिकाको मेयरमा जिताएर उनलाई यस नगरको ‘नगरपिता’ को जिम्मेवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले हराए ।

नेपाली कांग्रेस रूपन्देहीका सभापति पनि रहेका खाणले २४ हजारस ३ सय ९६ मत ल्याएर विजयी हुँदा चापागाईंले २३ हजार ६ सय ३१ मत ल्याए ।

यसअघि अर्थात २०७४ को निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरमा तिलोत्तमाका मतदाताले एमालेका बासुदेव घिमिरेलाई मन दिएका थिए । अघिल्लो निर्वाचनमा पनि खाण नै कांग्रेसको तर्फबाट यही नगरपालिकामा मेयर पदका उम्मेदवार थिए । तर त्यसबेला उनी एमालेका घिमिरेसँग पराजित भए । ट्राफिक सिद्धान्तले भनेजस्तै मतदाताको सन्देश पनि खाणलाई प्रष्ट थियो, ‘पर्ख र हेर’ ।

भनिन्छ, राजनीतिमा धैर्यले ठूलो अर्थ राख्छ । आखिर भयो पनि त्यही । उनले पाँच बर्ष पर्खिए । पाँच बर्ष हेरे । यसले रङ देखायो । मतदाताको मन जिते । चुनाव जिते । तिलोत्तमा नगरपालिको कमाण्ड सम्हाल्ने अवसर प्राप्त गरे । १७ वडा रहेको तिलोत्तमामा एमालेले ८ र कांग्रेसले ९ वटा वडा जितेको छ । कुल मतदाता ८५ हजार ७ सय ४७ रहेकामा निर्वाचनमा ६३ हजार ५ सय ८८ मत खसेको थियो ।

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाण र एमाले नेता घनश्याम भुसालको गृह थलो पनि हो । नगरप्रमुखमा निर्वाचित खाण गृहमन्त्री खाणका सहोदर भाइ हुन् । यसैले पनि यो नगरपालिकालाई विशेष चासोका साथ हेरिएको थियो ।

तिलोत्तमा नगरपालिकाको अहिलेको प्रशासकीय भवनलाई नगर अस्पताल बनाउँछु । यहाँबाट विरामीलाई सेवा दिन शुरु गर्छु । नगरपालिकाको प्रशासकीय काम सामान्य ट्रस्ट शैलीको घरबाट हुनेछ । जनतालाई यहीँबाट सेवा दिने हो । मैले जितेपछि यो नै मेरो पहिलो काम हुनेछ ।

यो विजयसंगै खाणले तिलोत्तमालाई लिएर देखेको सपना साकार गर्न चुनौती मोल्ने अवसर छोपेका छन् ।

त्यसो भए तिलोत्तमा नगरपालिकाको प्रमुखको हैसियतले उनको प्राथमिकतामा पहिलो कुन काम पर्ला ? हामीले यो जिज्ञासा उनीसमक्ष राखेका थियौं, त्यतिबेला उनी उम्मेदवारमात्र थिए ।

उनलाई हामीले सोधेका थियौं–मेयर पदमा यसपटक जित्नुभयो भने तपाईले गर्ने पहिलो काम के हुन्छ ?

उनको जवाफ थियो–’तिलोत्तमा नगरपालिकाको अहिलेको प्रशासकीय भवनलाई नगर अस्पताल बनाउँछु । यहाँबाट विरामीलाई सेवा दिन शुरु गर्छु । नगरपालिकाको प्रशासकीय काम सामान्य ट्रस्ट शैलीको घरबाट हुनेछ । जनतालाई यहीँबाट सेवा दिने हो । मैले जितेपछि यो नै मेरो पहिलो काम हुनेछ ।’

नगरपालिकाको रुपमा तिलोत्तमा जन्मिएको तीन बर्ष अघिमात्र हो । तिलोत्तमा नदीबाट सिञ्चित भूमिलाई साविकका सात गाविस (आनन्दवन, शंकरनगर, करहिया, मक्रहर, मधवलिया, टिकुलीगढ र गंगोलिया) जोडेर तीन बर्ष अघिमात्र यो नगरको नाम तिलोत्तमा राखिएको थियो । ०७१ मा नगरपालिका घोषणा भएको दुईबर्षमै यो क्षेत्रले नगरपालिका पायो ।

बिहे, ब्रतबन्ध, पूजाआजा, मर्दा पर्दा र पिरमर्कामा पुग्ने गरेकै छु । स्थानीय जनतासँग भिजेको छु । मसँग यो नगरको विकासको स्पष्ट योजना पनि छ । यही कुरालाई मतदाताले मलाई मत दिने आधार बनाए ।

१२६.२ वर्ग किलोमिटर क्षेत्रको यो नगरपालिकाको जनसंख्या एक लाख २३ हजार हाराहारीमात्र हो ।

सचेत नागरिकहरुको बसोबास रहेको तिलोत्तमा खाणले किन जिते ? उनले भने, ‘म नगरका १७ वटा वडामै सामाजिक गतिविधीमा सक्रिय छु । बिहे, ब्रतबन्ध, पूजाआजा, मर्दा पर्दा र पिरमर्कामा पुग्ने गरेकै छु । स्थानीय जनतासँग भिजेको छु । मसँग यो नगरको विकासको स्पष्ट योजना पनि छ । यही कुरालाई मतदाताले मलाई मत दिने आधार बनाए ।’

कांग्रेसको रुपन्देही जिल्ला सभापति समेत रहेका खाण आगामी पाँच बर्षमा तिलोत्तमा नगरको विकास र यहाँका बासिन्दाको जीवनशैली उन्नत बनाउन सकिने बताउँछन् । ‘पाँच वर्षको समय भनेको धेरै नै हो, केवल काम गर्ने प्रवल इच्छाशक्ति हुनुपर्छ–मभित्र त्यो इच्छाशक्ति छ,’ टेलिफोनमा कुरा गर्दा मेयरका उम्मेदवार खाण उत्साही सुनिए ।

बुवा, आमा र दाईहरुको प्रेरणा र जीवनलाई आफ्नो स्वार्थका लागि होइन समस्त मानवकल्याणका लागि समर्पित गर्नुपर्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै आएपछि मलाई निरन्तर राजनीतिमा लाग्न बल मिल्यो ।

तिलोत्तमा कृषिमा आधारित क्षेत्र हो । सातवटा गाविस मिलेर तिलोत्तमा नगरपालिका बनेको हो । त्यसैले कृषिलाई रुपान्तरण गर्ने, किसानलाई आधुनिकीकरणतर्फ अघि बढाउने र किसानलाई आर्थिक रुपमा बलियो बनाउन सकिने आधार यहाँ छ । केवल नेतृत्वको इच्छा शक्ति कत्तिको प्रवल छ भन्ने हो ।

चार दशकभन्दा लामो समयदेखि निरन्तर कांग्रेस राजनीतिमा होमिएका कांग्रेसका युवा नेता खाणलाई आखिर त्यस्तो कुन रसायनले आकर्षित गर्यो, राजनीतिको जटिल, कठिन मैदानमा हाम फाल्न ?

हो, यो प्रश्न खाणलाई नै थियो । उनले दार्शनिक शैलीमा जवाफ पनि सुनाए, ‘बुवा, आमा र दाईहरुको प्रेरणा र जीवनलाई आफ्नो स्वार्थका लागि होइन समस्त मानवकल्याणका लागि समर्पित गर्नुपर्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै आएपछि मलाई निरन्तर राजनीतिमा लाग्न बल मिल्यो ।’

रुपन्देहीको राजनीतिमा सशक्त र जुझारु छवि बनाएका ५७ बर्षिय खाँण जति स्पष्ट वक्ता छन् उत्तिकै उनमा लडाकु स्वभाव पनि छ । यसैले उनी बेलाबखत विवादमा पनि आइरहन्छन् ।

खाँणको शिक्षा दिक्षा मणिग्राम र बुुटवलको सेरोफेरोमा घुम्यो । क्याम्पस पढ्न थालेपछि कांग्रेसको नर्सरी पनि भनिइने नेविसंघमा आबद्ध भएर विद्यार्थी आन्दोलनमा सक्रिय रहे ।

गृहमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ भएपनि उनले रुपन्देहीमा आफ्नै बलबुता र क्षमताका आधारमा परिचय बनाएका छन् । एकै पार्टीमा रहेको भाइलाई दाइको साथ, सहयोग र समर्थन हुनु आफैमा अस्वाभाविक पनि भएन ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
दुई दशकपछि नेपाली कांग्रेसको नेतृत्व फर्काए खेलराजले



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।