English

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात



नेपालको कुल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजार नेपाली नागरिक रोजगारीको खोजीमा विदेश उड्छन् । कृषि प्रधान मुलुकका रूपमा देश चित्रित छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको विवरणले जनाएको छ ।

विप्रेषणको पैसामा उपभोग्य सामग्री खरिद गरेर जताबाट आयो उतै पठाउने नेपालीको आमप्रवृत्ति पछिल्लोपटक भन्सार विभागले चालू आवको चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणबाट स्पष्ट भएको छ । सो विवरणानुसार नेपालमा अत्यधिक मात्रामा खाद्य पदार्थ आयात भइरहेको देखाएको छ । धान, मकै, कोदो जस्ता नेपालका प्रमुख खाद्यबाली मानिए पनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रु ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार बराबरको आयात भएको छ ।

एकातिर नेपालको जमिन बाँझो रहने अर्कोतर्फ जुनेलोसमेत आयात गरेर खानुपर्ने विषम अवस्थामा नेपाली पुगेका छन् । सरकारले कृषिउपजको उत्पादन बढाउनका लागि अनेकन नीति तथा कार्यक्रम बनाएको छ । तर, लक्षित वर्गसम्म ती कार्यक्रम पुग्न सकेको छैन । गत वर्ष सरकारले केही कृषिउपजमा आत्मनिर्भर भएको घोषणा पनि गर्यो । तर, भन्सार विभागको तथ्याङ्कले भने सो दाबीलाई समेत गलत सावित गरिदिएको छ । जमिन बाँझो राखेर विदेशी मुद्रा खर्चेर, धान, चामल, गहुँ र कोदो आयात भइरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

मुलुक स्थानीय तहको निर्वाचनको सङ्घारमा आइपुगेको छ । प्रमुख राजनीतिक दलले यो विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने दायित्व अझै बढेर गएको छ । तर, हालसम्म सार्वजनिक भएका राजनीतिक दलका घोषणापत्रले खाद्यान्न आयात घटाउने विषयलाई खास अर्थमा प्राथमिकतामा राख्न नसकेको गुनासो पनि उत्तिकै आएको छ । विभागका अनुसार चालु आवको चैत मसान्तसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ । त्यसबाट सरकारले ७५ करोड चार लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै, धानको बीउ मात्रै २४ करोड ८३ लाख ६९ हजार रुपैयाँ बराबरको कुल १६ लाख ९९ हजार ७ सय ८९ केजी आयात भएको छ । चामलको अवस्था पनि उस्तै छ । नेपालीको स्वभावअनुसार भात नै खानुपर्ने आवश्यकताका कारण चामल आयात उल्लेख्यरूपमा वृद्धि भएको छ । विभागका अनुसार चैत मसान्तसम्म १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार रुपैयाँ बराबर मूल्यको ३७ करोड २० लाख ८७ हजार ४ सय ११ केजी सेमी पोलिस चामल आयात भएको विवरण छ ।

यसैगरी, पोलिस नगरिएको चार अर्ब ४९ करोड ६३ लाख ९५ हजार रुपैयाँ बराबरका ६ करोड तीन लाख ५८ हजार ४ सय ५३ केजी चामल आयात भएको तथ्याङ्क छ ।

१५ अर्बको मकै आयात

धान, मकैजस्ता खाद्यबाली नेपालको प्रमुख बालीका रूपमा परिचित छ । पाखापखेरा जताततै मकै रोप्न सकिन्छ । तर, विभागको विवरणानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म १५ अर्ब रुपैयाँ बढीको मकै आयात भएको देखिन्छ । कुल ४० करोड ३१ लाख ३३ हजार ८ सय १३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्य मात्रै १३ अर्ब ९९ करोड ३९ लाख ४१ हजार रुपैयाँ बराबर रहेको छ ।

यसैगरी, सोही अवधिमा एक करोड ४८ लाख ७७ हजार ९ सय ९९ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य एक अर्ब पाँच करोड ६६ लाख ६० हजार रुपैयाँ बराबर छ । मकैको आयातबाट सरकारले ७९ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

पाँच अर्बको गहुँ आयात

विभागको विवरणानुसार गहुँको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै पाँच अर्ब २७ करोड ७९ लाख ७३ हजार रुपैयाँ बराबरको १५ करोड ९८ लाख ८३ हजार ४३८ केजी गहुँ आयात भएको छ । यस्तै बीउका रुपमा सात लाख ९७ हजार ८० केजी गहुँ आयात भएको छ । त्यसको लागत मूल्य २९ लाख ९६ हजार रुपैयाँ बराबर छ । जुनेलोसमेत नेपालीले किनेर खान थालेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नौ महिनाका अवधिमा ६ सय ५२ केजी जुनेलो आयात भएको छ । त्यसको लागत मूल्य ३५ हजार रुपैयाँ बराबर छ । त्यति मात्रै होइन मकैको स्वाद भएका खाद्य उपजको समेत आयात भएको देखिन्छ । त्यस अवधिमा दुई करोड २९ लाख ३८ हजार रुपैयाँ बराबरको पाँच लाख ६० हजार ३ सय ६५ केजी त्यस्तो खाद्य पदार्थ आयात भएको छ । यो विवरणका आधारमा नेपाल क्रमशः परनिर्भर बन्दै गएको देखिन्छ ।

दुई करोडको कोदो

नेपालको जलवायु कोदोखेतीका लागि उपयुक्त छ । तर, कोदोखेती हुने जमिन बाँझो रहँदा नेपालीले दुई करोड ७१ लाख २० हजार रुपैयाँ बराबरको आयात गरेको विवरण विभागले सार्वजनिक गरेको छ ।

चालु आवको चैत मसान्तसम्म कुल आठ लाख पाँच हजार ७ सय ७ केजी कोदो आयात भएको देखिन्छ । त्यसबाट सरकारले १३ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र