English

वैशाखकै गर्मीले मध्य तराईको जनजीवन प्रभावित



मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालेपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन थालेका छन् ।

गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ ।

यता बढ्दो गर्मीका कारण किरा फट्याङ्ग्राको बिगबिगी भएको छ । जसले बालीनाली सखाप पार्ने किसानको चिन्ता बढेको छ ।

पछिल्लो केही वर्षयता जाडोयाममा अत्यधिक जाडो र गर्मीयाममा अत्यधिक गर्मीका महोत्तरीलगायत मध्य तराईका जिल्लाको जनजीवन प्रभावित बन्ने गरेको स्थानीय युवा विजय दास सुनाउँछन् ।

उनका अनुसार तापक्रमको अस्वाभाविक घटबढले जनजीवनमा मात्रै परिवर्तन ल्याएको छैन अन्न उत्पादन समेत घटेको छ ।

महोत्तरी किसानगरका अब्दुल रसिदले किरा फट्याङ्ग्रा प्रकोपले बालीनालीमा यति ठूलो ह्रास आउँछ भन्ने सोचेका पनि थिएनन् । तर, किराको प्रकोप, रासायनिक मल तथा औषधि जथाभावी प्रयोगले स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको उनको बुझाइ छ ।

तापक्रममा भइरहेको अस्वाभाविक परिवर्तनले महोत्तरीमा प्राकृतिक विपत्तिको जोखिम पनि बढिरहेको छ । अस्वाभाविक वर्षातकै कारण बाढीपहिरो तथा डुबानको समस्या भइरहेको छ ।

जलवायु परिवर्तनको असर धमाधम सर्वसाधारणमा देखिन थालेपछि विज्ञहरूको सुझावअनुसार हरित अभियान सञ्चालन गरिएको छ । महोत्तरीका जनप्रतिनिधि तथा संघीय संसद गिरिराजमणि पोखरेलले महोत्तरीमा करिब एक लाख बिरुवा रोप्ने अभियान चलाएका छन् ।

बस्ती बढेसँगै अहिले महोत्तरीका हरिया जङ्गल अतिक्रमण हुन थालेका छन् । भू–माफियाको चलखेलले सामुदायिक वन क्षेत्र समेत धमाधम अतिक्रमण गरेर बस्ती बस्न थालेको छ ।

मानवीय क्रियाकलाप कै कारण जलवायु परिवर्तनमा व्यापक हेरफेर भएको र यसलाइ न्यूनीकरणको लागि वृक्षारोपण तथा मानवका नकारात्मक क्रियाकलाप कम हुनुपर्ने वैज्ञानिकहरूको सल्लाह सुझाव रहेको नगरप्रमुख विदुर कार्की बताउँछन् ।

एक तथ्यांकअनुसार महोत्तरीको २० बर्षको तापक्रम हेर्दा अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टिग्रेडको फरक पाइएको छ । वैज्ञानिकहरूले पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १.५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिए पनि संसारमा हाल त्यो सीमाभन्दा निकै बढी (तीन डिग्री सेल्सियस) भइरहेको छ ।

संयुक्त राष्ट्रसंघले जारी गरेको जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनमा पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमै परिवर्तन ल्याउनुपर्ने आवश्यकतालाई जोड दिइएको छ ।

मानवीय क्रियाकलापले जलवायुमा परिवर्तन हुँदा मानव अस्तित्वमा नै गम्भीर असर परिरहेको र त्यसको असर नकारात्मकोन्मुख रहेको छ । जलवायु परिवर्तसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले तयार पारेको प्रतिवेदनअनुसार ऊर्जा खपत, यात्रा, निर्माण सामग्रीको प्रयोग र हामीले खाने खानेकुरा जस्ता क्षेत्रमा नाटकीय परिवर्तन गर्न आवश्यक छ ।

अध्ययन प्रतिवेदनका अनुसार पृथ्वीको ताप क्रमलाई १.५ डिग्रीभन्दा बढी बढ्न नदिने हो भने सुक्खा र बाढी को समस्यालाई रोक्न सकिने वातावरणविद् नागदेव यादवको तर्क छ ।

त्यसैगरी, समुद्रको तापक्रम र अम्लीयपनमा उल्लेख्य प्रभाव पर्नेछ र धान, मकै तथा गहुँजस्ता बालीको उत्पादन पनि ब्यापक प्रभावित हुनेछ।

वैज्ञानिक हरूका अनुसार पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसले बढ्यो भने समुद्रमा रहेको ‘कोरल रिफु’ भनिने मुगाको वासस्थान नै मासिनेछ ।

दुई डिग्रीले तापक्रम बढेमा विश्वव्यापी रूपमै समुद्रको सतह करिब १० सेन्टिमिटरले बढ्नेछ । तर, तापमान वृद्धि १.५ डिग्रीमा सीमित तुल्याउन सकिए एक करोडभन्दा थोरै मानिस बाढीको जोखिमबाट जोगिन सक्नेछन् ।

यो पनि…
सजगता अपनाए पृथ्वी, प्राणी र जैविक विविधताको संरक्षण
जलवायु अनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,