English

स्थानीय सरकारको पाँच वर्ष : आश्वासन धेरै, उपलब्धि न्यून

भ्यूटावरजस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना


२०७४ साल असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा एमालेकातर्फबाट मेयरका उम्मेदवार दिपनारायण रिजाल र उपमेयरमा बिणादेवी राई निर्वाचित भए । पहिलोपल्ट कार्यान्वयनमा ल्याइएको संघीयता र चुनावमा बाँडिएको आश्वासनले नगरपालिकाप्रति सर्वसाधारणको अपेक्षा उच्च थियो ।

नगरको नारा नै ‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगरः दिक्तेल रुमवासीको रहर’ तय भयो । तर नगरपालिकाको पाँच वर्षे कार्यकाल बित्न लाग्दा नागरिकको थोरै अपेक्षा पूरा भए, धेरै अपेक्षा अधुरै छन् । १५ वडा रहेको नगरपालिकामा अहिले अपेक्षित ‘विकास भए’ भन्ने र ‘विकास भएनन्’ भन्ने पक्षको दोहोरी चल्ने गरेको छ ।

विशेषगरी पाँच वर्षमा उत्पादनमुखी काम नभएको, जनताको जनजीविकासँग सरोकार राख्ने विकास नभएको, भ्यूटावरजस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेको नगरपालिकाको आलोचना गर्ने गरिएको देखिन्छ ।

यस्तै, कंक्रिट मात्रको योजना सञ्चालन गरिएको, योजना कार्यकर्तामुखी भएको, जनतालाई मागेर योजना लिने अवस्थामा पुर्‍याएको, दिगो र दीर्घकालीन भन्दा पनि सस्तो लोकप्रियताका लागि काम गरेको, उत्पादन र रोजगारलाई जोड्न नसकेको, नागरिकको आर्थिक स्तर उकास्न नसकेको टिप्पणी छ । नगरपालिकाले कतिपय अनावश्यक ठाउँमा खर्च गरेको छाया सरकार प्रमुख कांग्रेस नेता तीर्थराज भट्टराईले बताए ।

निर्वाचनका बेला रिजाल मेयर र उपमेयर राईले ८ पृष्ठको प्रतिबद्धता पत्र बोकेर जनताको घरदैलोमा भोट माग्न पुगेका थिए । रातो कलरको प्रतिबद्धता पत्रमा सबै वडामा टोल टोल, नदी किनारा तथा सडकको दायाँ–बायाँ वृक्षारोपण गरी नगरलाई हरित नगरको रूपमा विकास गर्ने, सबै वडामा कृषि सडक स्तरोन्नति गर्दै एक घर एक कृषि र पशु बिमा कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमा आधारित कृषक सम्मान र कृषक पेन्सन व्यवस्थित गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने भनिएको छ ।

यस्तै, भ्रष्टाचारमुक्त नगर बनाउने, नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने, प्रत्येक वडामा गुणस्तरयुक्त उच्च शिक्षालय, सुकुम्वासी विहीन नगर, गरिबीको रेखामुनि रहेका नागरिकलाई सहुलियत रासन कार्डको व्यवस्था, नगरका राष्ट्रियस्तरका खेलाडीलाई जीवनवृत्तिको विकास हुनेगरी सुविधा उपलब्ध गराउने, महिला विभेद र हिंसामुक्त नगर, श्रमको सम्मान र श्रमिक मजदुर कल्याणकारी कोषको स्थापना गर्ने लगायतका बुँदा उल्लेख छ । तर प्रतिबद्धता–पत्र अनुसार काम कम भएको नागरिक समाजका अगुवा हरि राजभण्डारी बताउँछन् ।

विशेषगरी पाँच वर्षमा उत्पादनमुखी काम नभएको, जनताको जनजीविकासँग सरोकार राख्ने विकास नभएको, भ्यूटावरजस्ता अनुत्पादक क्षेत्रमा नगरपालिकाले लगानी गरेको भन्दै आलोचना गर्ने गरिएको देखिन्छ ।

खोटाङमा १० स्थानीय तह छन् । त्यसमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भौगोलिक रूपमा सबभन्दा ठूलो स्थानीय तह हो । अपेक्षित परिवर्तन ल्याउन सकेको भन्दै टिप्पणी भइरहँदा नगरपालिकाले भने नागरिकको अपेक्षा पूरा हुनेगरी जग बसालिएको बताइरहेको छ ।

पाँच वर्षमा कृषि र बजारको माध्यमबाट जनतालाई रोजगारी दिलाउने काम गरेको दाबी छ । अपेक्षाकृत काम गर्न नसकिए पनि सुरुवात गरिएको र कतिपय योजनाको रिजल्ट तत्काल नभएर भविष्यमा हात पर्ने मेयर दिपनारायण रिजालले बताए ।

कांग्रेसका उम्मेदवार राजनसेर राईले ४ हजार ७१८ मत ल्याउँदा रिजालले ५ हजार ३४३ मत ल्याएर नगरपालिकाको मेयरमा चुनिएका थिए । यस्तै, माओवादी केन्द्रका उम्मेदवार होमकाजी आचार्यले ४ हजार ६२७ मत ल्याउँदा राईले ५ हजार ३६७ मत ल्याएर उपमेयर निर्वाचित भएकी थिइन् । कुल मतदाता २६ हजार २८३ रहेको नगरमा १७ हजार ४२ मत खस्दा ३३४ मत बदर भएको थियो ।

भौतिक संरचना निर्माणमा बढी खर्च
नगरपालिकाले आवधिक योजना निर्माण, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा दिक्तेल कम्पोस्ट मल प्लान्ट तथा नमुना कृषि श्रोत केन्द्र, दिक्तेल बजारको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क, बगरे भन्ज्याङमा रुरु ताल, पेन टावर र पिकनिक स्थल, भुलभुले पर्यटन प्रवर्द्धन, साप्सुधाप पर्यटन प्रवर्द्धन, पञ्चरदोबाटो बजार पूर्वाधार, प्रशासनिक भवन, दिक्तेल बजारको त्रिवेणीचोकबाट लोकसेवा आयोगसम्मको सडक ढलानलाई प्रमुख उपलब्धिका रूपमा लिएको छ ।

यस्तै, ११ वडामा वडा कार्यालय भवन निर्माण, २० वटा विद्यालय भवन निर्माण, स्वास्थ्य संस्था भवन, बहुमुखी क्याम्पसको प्रशासनिक भवन र सरस्वती मावि दिक्तेलको भवन निर्माण, खोप केन्द्र, प्रयोगशाला स्थापना, प्रसूति केन्द्र स्थापना, रक्त सञ्चार भवन निर्माण तथा सञ्चालन, बुईपा राजाबास खेलमैदान, कवर्ड हल लगायत विभिन्न वडामा खेलमैदान निर्माण तथा स्तरोन्नति लगायतका काम नगरपालिकाको उपलब्धिको सूचीमा समावेश छन् ।

बुईपामा यलम्बरको प्रतिमा सहितको पार्क निर्माण, दिक्तेलको माटिकोरेस्थित फुटबल स्टेडियम, अस्पताल चोकमा गेट निर्माण लगायतका योजना भने पूरा गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।


यो पनि…
स्थानीय तह : झिनामसिना काम नै उपलब्धिको सूचीमा

‘योजनाअनुरूप तीव्र गतिमा काम गर्न सकिएन’ (भिडियो पनि)
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested