English

स्थानीय तह : झिनामसिना काम नै उपलब्धिको सूचीमा



–व्यास नगरलाई सीधै तराईसँग जोड्ने चार लेनको सडक निर्माणलाई अगाडि बढाइनेछ ।
–नगरलाई सरसफाईयुक्त बनाउन फोहरमैला व्यवस्थापन एवम् प्रशोधन गर्ने कार्यक्रम लागु गरिने व्यवस्था गरिनेछ ।
–रिस्ती, कलेस्ती, साँगे, छाब्दी, बुल्दीबर्दन उपत्यका विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
–हाल भइरहेको तीव्र शहरीकरणलाई व्यवस्थित गर्न व्यास नगरका विभिन्न वडाहरूमा जग्गा विकास कार्यक्रम लागु गर्नुका साथै नमुनावस्तीको विकास गरी सुविधायुक्त आवासको निर्माण गरिनेछ ।
–नगरपालिका भित्रका केही उच्च पहाडी क्षेत्रहरू छनौट गरी नमूना पार्क फूल बगैंचा निर्माण गरी आन्तरिक पर्यटनलाई बढवा गरिनेछ ।
–वैदेशिक रोजगारीमा प्राप्त सीप एवं पुँजीलाई लगानी नडुब्ने आयआर्जन हुने ग्यारेन्टीका साथ सदुपयोग गरिने कार्यक्रमहरु ल्याइने छ । युवालाई रोजगारीको अवसरको सिर्जना गरिनेछ ।
–नगर क्षेत्रका श्रमिकलाई श्रमिककार्ड व्यवस्था गर्न आवश्यक कदम चालिनेछ ।

यी प्रतिबद्धता २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन अगाडि व्यास नगरपालिकाका गाउँ–गाउँमा गरियो । नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेद्‌वारी दिएका बैकुण्ठ न्यौपाने र उपमेयरमा उम्मेद्‌वारी दिएकी मिरा जोशीले चुनावी सभामा यस्तै यस्तै महत्वकांक्षी योजना र लोकप्रिय अजेन्डाका फेहरिस्त भाषणमा सुनाए । अन्ततः निर्वाचनमा पनि उनै न्यौपाने र जोशी विजयी भए ।

मेयरमा न्यौपानले १३ हजार ५६ र उपमेयरमा जोशीले १३ हजार २६० मतका साथ विजयी भएर व्यास नगरपालिकाको बागडोर सम्हाल्ने सुनौलो अवसर पाए । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको छ । निर्वाचन आयोग र राजनीतिक दलहरू निर्वाचन केन्द्रित तयारीमा जुटिरहेका छन् ।

पाँच वर्षे कार्यकाल सकिने बेलासम्ममा जिल्ला सदरमुकाममा रहेको व्यास नगरपालिकाका जनप्रतिनिधीले प्रतिबद्धता जनाएका महत्वकांक्षी योजना कुनै पनि सुरु भएको छैन । तराईसँग चार लेनको सडकले जोड्ने, उपत्यका विकास कार्यक्रम, नमुनावस्ती विकास, फूलैफूलको बगैचाँसहितको नमुनापार्क, युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने, श्रमिकलाई श्रमिक कार्डको व्यवस्थापनमा व्यासले सिन्को पनि भाँच्न सकेको छैन ।

क्षेत्राधिकारमै नपर्ने तनहुँ जलविद्युत् आयोजना र दमौली अस्पताललाई पनि प्रतिबद्धतामा समावेश गरेका थिए । फोहोरमैला व्यवस्थापन तथा प्रशोधन कार्यक्रम लागु गर्ने प्रतिबद्धताको खिल्ली उडाइरहेका छन्- जनप्रतिनिधिले । स्थायी डम्पिङ साइटको अभावमा बेलाबखतमा दमौली बजार क्षेत्रको फोहोर उठ्दैन ।

बजार चोकहरूमा थुप्रिने फोहोरको दुर्गन्धमा जनप्रतिनिधिले गरेको चुनावी प्रतिबद्धता सम्झँदै नाक खुम्च्याउँदै हिँड्न बाध्य छन् नगरबासी । जनप्रतिनिधिले कार्यकालको आधा समयम त मादी नदीको किनारमा फोहोरको डुंगुर थुपारेरै बिताए । यी मात्रै हैन, अधिकांश चुनावी प्रतिबद्धता अधुरै छन् । स्रोत साधनको समुचित आकलन गर्न नसक्दा प्रतिबद्धता गरेका महत्वकांक्षी योजना सुरु नभएको मेयर न्यौपानले बताए ।

‘तल्लो र माथिल्लो तहका सरकारबीचमा समन्वय हुन नसकेको कारण पनि हो । कैयौँ संघीय ऐनहरू बन्नुपर्ने बनेन । संघीय ऐनको आधारमा प्रदेशले बनाउन पाएन । जस्तै शिक्षाकै जिम्मा हामीलाई भनेको छ । धेरै कुरा अझै पनि संघीय सरकारसँगै सम्बन्धित छ’, अगाडि थप्दै उनी भन्छन्, ‘हामीसँग दक्ष कर्मचारी पनि भएनन् । कुनै पनि डीपीआर गरेर काम अगाडि बढाउँ भन्यो भने हाम्रा कर्मचारीहरू सक्दैनन् । विशेषज्ञबाट डीपीआर त गर्छौं टेन्डर गर्न समस्या हुन्छ । बेइमानी कर्मचारी त म भन्दिनँ, तर दक्षता नभएपछि इमान्दारिता र निष्ठाले मात्र काममा तीव्रता आउँदो रहनेछ ।’

१५ वर्षसम्म जनप्रतिनिधिबाट ग्याप भएकाको परिस्थिति र विगतका सात गाविसलाई व्याससँग गाभिएकाले विकासको खाडललाई भर्नुपर्ने अवस्था हुँदा अपेक्षित कामहरू नभएको उनी स्वीकार्छन् । मानहुँकोटलाई पर्यटकीय केन्द्रको रूपमा विकास, मादी नदी थुनेर ताल बनाउने डीपीआर, नारेश्वर ताल निर्माणको लागि अध्ययनसँगै प्रक्रिया सुरु, १०८ फिट अग्लो व्यासको मुर्ति निर्माण सुरु गर्नुलाई मुख्य उपलब्धि बताउँछन् मेयर न्यौपाने ।

जनप्रतिनिधिका अधिकांश चुनावी प्रतिबद्धता अधुरै छन् । स्रोतसाधनको समुचित आकलन गर्न नसक्दा प्रतिबद्धता गरेका महत्त्वकांक्षी योजना सुरु नभएको हो ।

नगरको बजार क्षेत्रमा रहेका चोक सुधार, हरेक वडा कार्यालयमा पुग्ने कालोपत्रे पहुँचमार्गको निर्माण अगाडि बढाएको, पीसीआर ल्याब निर्माण, खानेपानी लगायतका कामलाई नै उनले आफ्नो कार्यकालमा गर्व गर्न लायक कामको सूचीमा राखेका छन् । ‘यिनै कामहरूलाई हामीले गर्व गर्न लायक ठान्नुपर्दछ । स–साना काममा पनि राज्यप्रति निर्भर भए जनताहरू । चारपाता टिन हाल्दै, जीर्ण खानेपानीको पाइप ल्याइदे भन्ने । यिनै विषयलाई सम्बोधन गर्दागर्दै कार्यकाल गयो’, उनको प्रष्टोक्ति छ ।

आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालयको भवन निर्माण कार्यकालको उपलब्धि भएको उनी बताउँछन् । दुई वर्ष कोरोनाका कारण पनि अपेक्षित काम गर्न नपाएको मेयर न्यौपानेको भनाइ छ । ‘कोरोनाले गर्दा आम्दानी घटेका छन् । योजनाहरू समयमै सम्पन्न गर्न सकेनौँ । विकासको गति रोकियो’, उनले सुनाए ।

यथास्थितिमा चल्नेबाहेक विकास निर्माणको काम खासै नभएको मेयरका प्रत्यासी शंकरनारायण श्रेष्ठ बताउँछन् । ‘जति सम्भावना थियो, त्योअनुसारको काम भएन । उहाँहरू यथास्थितिमै रमाउनुभो । दिन काट्ने काल पर्खने काम भयो,’ व्यंग गर्दै उनले भने । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले परिणाममुखिभन्दा वितरणमुखि बजेट बढी भएको बताए । ‘आमा समूहलाई दिने क्लबलाई दिने यस्तै यस्तै । आफू नजिकका मान्छेलाई धेरै पैसा बाँडेको कारण ठोस विकास हुन सकेन,’ उनको आरोप छ ।

जनप्रतिनिधिहरू पाँच वर्षे कार्यकालमा घोषणापत्रमा पुग्नै नसकेको श्रेष्ठको भनाइ छ । घोषणा पत्रमा के उल्लेख गरिएको थियो एकपटक पनि पल्टाएर हेर्ने काम नभएको उनी बताउँछन् । व्यक्तिको पुँजी परिचालन गरेर निजी सार्वजनिक सरकारी साझेदारीमा गर्न सकिने सिँचाइ, पर्यटन प्रवर्द्धन, मेडिकल कलेज र विश्वविद्यालय सञ्चालन जस्ता अवसर सदुपयोग नभएको उनले बताए । ‘व्यक्तिलाई मुनाफाको आश देखाएर पूर्वाधारको क्षेत्रमा थुप्रै लगानी गर्न सकिन्थ्यो । उहाँहरूले सक्नुभएन’, उनले भने ।

प्रदेश र संघ सरकारसँग पनि सहकार्य नभएको उनको आरोप छ । पाँच वर्षमा ल्याण्डफिल साइट व्यवस्थापन नहुनु दुःखद् भएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘फोहोर मैलाबाट ऊर्जा उत्पादन गर्न सकिन्थ्यो । त्यसमा पनि निजी क्षेत्रसँग सहकार्य गरेर जान सकिन्थ्यो । त्यो पनि भएन । सोच र नेतृत्व क्षमताको अभावले हुनुपर्ने विकास केही हुन सकेन ।’

वाचा नगरे पनि बन्यो पीसीआर ल्याब
स्थानीय निर्वाचनका बेला विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएला भन्ने अनुमानसमेत थिएन । २०७६ चैतमा नेपालमा कोरोना देखियो । कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि आफ्नै पीसीआर ल्याबको आवश्यकता खड्किएपछि व्यासले पीसीआर ल्याब सञ्चालनमा ल्याएको छ ।

असोज पहिलो सातादेखि व्यास नगरपालिका–१० दुम्सीमा नगरपालिकाले संघ, प्रदेशसँग मिलेर पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । ‘कोरोना नियन्त्रणमा हामीले उल्लेखीय काम गरेका छौँ । पीसीआर ल्याब सञ्चालन गरेका छौँ’, मेयर न्यौपानेले भने । स्थानीय तहले पीसीआर ल्याब सञ्चालन गर्नेमा व्यास सम्भवतः गण्डकी प्रदेशकै पहिलो हो । दुम्सीमै नगर अस्पताल बनाउने काम पनि सुरु भएको छ ।

प्रतिबद्धता गरेका महत्वकांक्षी काम नभए पनि व्यासको १०८ फिट अग्लो मुर्ति निर्माण सुरु भएको छ । सडकको ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने काम पनि भएका छन् । विद्युतीकरण, खानेपानी, सामुदायिक भवन निर्माण, मठमन्दिर निर्माण, किसानलाई आधुनिकयन्त्र उपकरण र अनुदान वितरण, होमस्टे सञ्चालन, पर्यटकीय क्षेत्रको प्रचारप्रसार लगायतका काम पाँच वर्षको अवधिमा भएका छन् ।

यो पनि…
‘योजनाअनुरूप तीव्र गतिमा काम गर्न सकिएन’ (भिडियो पनि)

स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
पोखरामा दर्जनौँ आकांक्षी नेतृत्वको होडमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र