English

प्रधानमन्त्रीको भारत भ्रमणले निर्वाचनलाई कुनै असर गर्दैन : प्रा. लोकराज बराल



प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन् । पाँचौंपटक देशको प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।

स्थानीय निर्वाचनको मुखमा देउवाले गर्ने भारत भ्रमणको समयमा दुई देशबीच केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । यसै सन्दर्भमा भारतका लागि नेपाली पूर्वराजदूत प्रा. लोकराज बरालसँग संक्षिप्त कुराकानी गरेको छ । सोही संक्षिप्त कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ, यो भारत भ्रमण गर्ने उपयुक्त बेला हो ?

समय भनेको आफूले उपयुक्त बनाउने हो । आफूले उपयुक्त वातावरण बनाइयो भने फल पनि राम्रो प्राप्त हुन्छ । त्यसैले, पहिला वातावरणलाई उपयुक्त बनाउनु पर्यो । वातावरणमा अलि चिसिएको छ भने सद्भावना बढाउनुपर्छ । एक–अर्काबीच अविश्वास छन् भने त्यसलाई हटाउन पर्छ । उपयुक्त वातावरण आफैँले बनाउने हो ।

स्थानीय निर्वाचनको मुखमा प्रधानमन्त्री भ्रमणमा जाँदा त्यसले राजनीतिमा असर गर्दैन ?

भ्रमणले निर्वाचनलाई कुनै असर गर्दैन । प्रधानमन्त्री खुसुक्क एक घण्टा भारत भ्रमण गएर आए पनि हुने खालकाे सम्बन्ध छ, दुई देशबीच । तीनदिने भ्रमणले केही हुँदैन । बरु यो भ्रमणलाई बढी सद्भावना कसरी बनाउने, आफ्ना कुरा कसरी राख्ने भन्नेमा केन्द्रित हुनुपर्छ ।

अहिले प्रधानमन्त्रीले गर्न लागेको यो कस्तो भ्रमण हो ?

मैले त यो सद्भावना भ्रमण मात्र हो भन्ने बुझेको छु । यस्तो भ्रमणमा धेरै कुरा हुँदैन । भेटघाट हुँदा अलिअलि जमिरहेको सम्बन्धलाई तरल र चलायमान बनाउन सक्छ ।

यस्तो भ्रमणमा नयाँ एजेन्डामा छलफल हुन सक्दैन ?

नेपाल र भारतबीच छलफल गर्न चाहे एजेन्डाहरू थुप्रै छन् । तीनलाई उठाएर कार्यान्वयन गर्न सके राम्रो हो । तर, अहिले नै उठाउनुपर्ने नयाँ कुरा केही पनि छैन । नयाँ कुरा गर्न खोजे पनि अहिले सम्भव हुँदैन ।

यसपटकको भ्रमणमा प्रधानमन्त्री देउवाले उठाउनै पर्ने एजेन्डा के-के हुन् ?

अहिले नेपालको तर्फबाट प्रधानमन्त्रीले उठाउनुपर्ने केही पनि छैन । भारतसँग सम्बन्ध चिसिएको छ भने त्यसलाई विश्वासमा परिणत गर्ने हो । भारतसँग सहकार्य गर्ने हो । शिक्षा, स्वास्थ्य, रोजगार, उर्जाजस्ता जनतामुखी कार्यक्रममा चासो बढाउनुपर्छ । बाटो बन्न सकेका छैनन् । हाम्रो कजमोरी र भारतले पनि चासो नदिँदा हुलाकी राजमार्ग बन्न सकेको छैन । यस्तै कुरा उठाउने हो । महाकालीमा तीन–चारवटा पुल बनाउन पर्यो । ठूला कुराभन्दा साना साना कुरा महत्त्वपूर्ण हुन्छन् । ठूला कुरा गरेर, नारा लगाएर र राष्ट्रवाद जगाएर मात्र हुनेवाला केही छैन ।

तपाईंको आशय यसपटक महत्त्वपूर्ण सम्झौता हुँदैनन् भन्ने हो ?

महत्त्वपूर्ण सम्झौता यो भ्रमणमा होलान् जस्तो मलाई लाग्दैन । सामान्य कुरा जसले हामीलाई पिरिरहेका छन्, जस्तै– बाढीपहिरो, पुल निर्माण, बाटाघाटा बनाउने, डुबान समस्या, पूर्वाधार विकास, उर्जा यस्ता कुरामा ध्यान दिनुपर्छ र दिए पुग्छ ।

अहिले सम्झौताभन्दा पनि सम्बन्धमा जोड दिनुपर्छ भन्न खोज्नुभएको हो ?

हो, भारतसँग नयाँ सम्झौता गर्नभन्दा सम्बन्ध सुधारमा बढी ध्यान दिनुपर्छ । सम्बन्ध सुधार गरेर विकासका लागि सहकार्य बढाउन पर्यो । ठूला ठूला कुरा गरेर मात्र केही हुँदैन । जनतामुखी विकासको लागि भारतीय सहयोग हुनुपर्छ । अन्य देशको मामिलामा पनि यही लागू हुन्छ । विकासका कुरामा ध्यान दिनुपर्यो, टावर उद्घाटनमा व्यस्त भएर केही हुँदैन । भ्रमण गरेर मात्र पनि केही हुँदैन, विकासतिर ध्यान दिनुपर्छ । भारतसँग विगतमा धेरै सम्झौता भएका छन्, तर तीमध्ये थोरै मात्र कार्यान्वयनमा आएका छन् । नयाँ सम्झौता थप्नेभन्दा पनि गरेका पुराना सम्भौताको कार्यान्वयनमा जोड दिनुपर्छ ।

भारतसँग विगतमा भएका सम्झौता किन समयमै कार्यान्वयन हुन नसकेको होला ?

सम्झौता मात्र गर्ने त्यसपछि दुवै देशले ध्यान नदिएपछि कसरी कार्यान्वयन हुन्छ । म आफैँ कतिपटक यस्ता भ्रमणमा गएको छु, कुराहरू संयुक्त विज्ञप्तिमा पर्छ तर कार्यान्वयन हुँदैन । यसमा हाम्रो पनि कमजोरी छ, भारतले पनि चासो नदिएको हो । सम्झौता गरेपछि त्यसमा लागिरहनुपर्छ, तर हामी लाग्दैनौं । उग्र राष्ट्रवादा जगाउन पर्यो भने हामी प्रतिस्पर्धा गर्छाैं, तर सम्झौता कार्यान्वयनमा ध्यान दिँदैनौँ । कुरा बिगार्छौं अनि सम्वाद गर्ने भनेर दौडादौड गर्छौं ।

पछिल्लो समय सीमा विवाद र ईपीजी प्रतिवेदनले नेपाल–भारत सम्बन्धमा चिसोपना बढाएको हो ?

ईपीजी प्रतिवेदन ठूलो कुरा होइन । भारतले कि त प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गर्न स्वीकार गर्न हुन्थेन, गठन गरेपछि त्यसले बनाएको प्रतिवेदन स्वीकार्न पथ्र्यो । भारतले त्यसलाई यसो हातमा लिएर थन्काइदिए पनि हुने हो र तर तीन–चार वर्ष बित्दा पनि बुझ्दै बुझेन । त्यसैले, ईपीजीको कुरै सकियो । ईपीजी प्रतिवेदन मृत भइसक्यो, अब यसलाई उठाइरहन जरुरी छैन ।

भारतसँगको सीमा विवाद कसरी समाधान हुन्छ त ?

सीमा विवाद सुल्झाउन त्यति सजिलो छैन । हामीले कुरा गरेर केही हुनेवाला छैन । शेरबहादुरजीले गरेर पनि हुँदैन । मोदीले गरेर पनि हुँदैन । यसको लागि प्रक्रिया शुरू गर्नुपर्छ । अहिले प्रक्रिया नै शुरु भएको छैन । यसबारे एउटा बैठक पनि भएको छैन । दुई देशका प्रधानमन्त्रीले गरेर मात्र हुँदैन । भारतका प्रधानमन्त्रीले पनि सुरक्षा निकायलाई सोध्नुपर्छ । हाम्रो प्रधानमन्त्रीले पनि नेपाली जनताको कुरा सुन्नुपर्छ ।

अर्को कुरा हामीले हतारमा नक्सा पास गरेका छौँ । नक्साअनुसार भूमि फिर्ता ल्याउन सकेन, केही गरेन भनेर हल्ला भइरहन्छ । यस्तो चलिरहन्छ । तर, सीमा विवाद समाधानको लागि विस्तारै प्रक्रिया अघि बढाउनु पर्छ । यसलाई कर्मचारीको बीचमा लाने, तहगत रूपमा अघि बढाउन पर्छ । नेपाल–भारत सीमा विवाद दुई देशका प्रधानमन्त्रीले निर्णय गरेर मात्रै सुल्झदैन ।

यो पनि
स्थानीय चुनावका लागि के–के तयारी गर्दैछ निर्वाचन आयोग ?
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम