English

बैठक कांग्रेसको, चासो माओवादी र समाजवादीलाई



सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । शुक्रबारबाट बसिरहेको बैठक सोमबार सकिने अपेक्षा गरिएको थियो । तर बैठक फेरि एकदिन लम्बिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भोलि मंगलबार दिउँसो ३ बजे बस्ने बैठक गठबन्धनबारे निर्णयमा पुग्ने जनाएका छन् । कांग्रेसको जारी बैठकमा गठबन्धनको पक्ष र विपक्षमा कांग्रेसका केन्द्रीय नेताहरू विभाजित भएका छन् ।

कांग्रेसको मुख्य प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग हुने प्रारम्भिक अनुमानहरू भइरहँदा सत्ता गठबन्धनका दलहरूबीच चुनावी गठबन्धन गरेर उसलाई ‘साइज’ मा ल्याउनु पर्ने मत पनि बलियो छ ।

कांग्रेसको जारी बैठकमा नेताहरूले गठबन्धनको पक्ष र विपक्षमा विभाजित हुँदा मंगलबारको बैठकबाट कस्तो निर्णय आउँछ भन्ने विषयलाई प्रमुख राजनीतिक दलहरूले चासो पूर्वक हेरिरहेका छन् । कांग्रेसले गर्ने निर्णयले समग्र स्थानीय तहको नतिजामा फरक पर्ने आकलन गरिएको छ ।

देउवालाई छैन सहज

नेकपा मा‌ओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको साथ पाएर गत प्रतिनिधि सभा निर्वाचनमा कमजोर सिट संख्याका बाबजुद पनि प्रधानमन्त्रीको कुर्सी ‘चिट्ठा’ मा पाएका कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय हुँदै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्नु पर्ने पक्षमा छन् ।

तर उनी पक्षकै कतिपय नेता र सभापतिमा उनीसँग पराजित शेखर कोइराला पक्ष भने गठबन्धनको विपक्षमा रहेको छ । यसले गर्दा गठबन्धन गर्ने देउवाको चाहना सहजै बैठकबाट अनुमोदन हुने सम्भावना भने न्यून देखिएको छ । बैठकमा देउवा पक्षका नेताहरू गठबन्धनको पक्षमा देखिएका छन् भने इतरपक्षले गठबन्धनको विरोध गरिरहेको छ ।

नेता शेखर कोइरालाले सोमबारको बैठकमा केन्द्रबाट गठबन्धन लाद्न नमिल्ने तर्क गरे । ‘गठबन्धन माथिबाट गर्ने तर तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छ ? हामीले त्यतातिर ध्यान दिनु जरूरी छ । केन्द्रबाट गठबन्धन लाद्‌ने कुरा नगरौं,’ बैठकमा उनले भनेका थिए । कोइरालाले सभापति देउवामा माओवादी मोह देखिएको र यसले गर्दा गठबन्धन लाद्न खोजिएको आरोप लगाएका थिए ।

कांग्रेस बैठकले गर्ने निर्णयमाथि माओवादी केन्द्र र समाजवादीले चासो राखिरहेका छन् । कांग्रेसले गर्ने निर्णयले स्थानीय तहमा आफूहरूको उपस्थितिको ‘साइज’ मा फरक पर्ने आकल गरेका ती दलले कांग्रेसले गर्ने निर्णयले समग्र मत परिणाममा असर गर्ने जनाइरहेका छन् ।

देउवाले आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र लेखको जिम्मेवारी दिएका गगन थापासमेत गठबन्धनको विपक्षमा उभिएका छन् । थापाले चुनावमा गठबन्धनलाई सैद्धान्तिक रूपमा पुष्टि गर्न नसकिने बताएका छन् । आफू गठबन्धनको विपक्षमा रहेको उनले स्पष्ट पारेका छन् ।

उनले रुखमा मतदान गर्ने कार्यकर्तालाई हँसिया–हथौडा र कलममा मतदान गर्न भन्न नसक्ने बताएका थिए । यसरी रुख बाहेकमा भोट हाल्न कार्यकर्तालाई बाध्य पारिँदा भविष्यमा रुखमै भोट हाल्ने ग्यारेन्टी के हुन्छ भन्दै उनले प्रश्न गरेका थिए । तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

कांग्रेसका सातमध्ये पाँच प्रदेश प्रमुखहरूले समेत मतदाता गठबन्धनको विपक्षमा रहेको ‘ग्राउण्ड रियालिटी’ बारे यसअघि नै ब्रिफिङ गरिसकेका छन् । अधिकांश नेता तथा कार्यकर्ता गठबन्धनको विपक्षमा हुँदा देउवा एक्लैले गठबन्धनको पक्षमा निर्णय गराउँदा यसले कांग्रेसमा मात्र नभइ यदी गठबन्धन भएमा पक्षमा दिइने मतमा समेत प्रभाव पार्ने कतिपयको आकलन छ ।

प्रधानमन्त्री बन्ने बेलैमा गठबन्धनको सहमति ?

सभापति देउवाका ‘किचन क्याबिनेट (गृह)’ समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन गर्नु पर्ने बाध्यताबारे बैठकमा सुनाएका थिए । उनले सत्ता गठबन्धन बन्ने बेलैमा चुनावसम्म गठबन्धन गर्नेबारे सहमति भइसकेको भन्दै गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।

सत्ता गठबन्धन बन्ने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेकाले पनि अहिले त्यसबारेमा झगडा गर्न आवश्यक नभएको उनको भनाइ छ । ‘यो सत्ता गठबन्धन हुने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेको थियो । त्यसैले अहिले गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा नगरौं ।’

उनले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको भन्दै त्यसलाई रोक्न पनि गठबन्धनको विकल्प नभएको बताएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने तर्क गरेका छन् ।

उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मत दिएर भए पनि एमालेलाई ‘साइज’ मा ल्याउनु पर्ने बताएका हुन् । प्रवक्ता महतले भने पार्टीमा फरक मत आए पनि आवश्यकताका आधारमा चुनावी गठबन्धन गरिने दाबी गरे ।

प्रवक्ता महतले भने, ‘आजसम्म सबैले धारणा राख्ने क्रम सकियो । अधिकांश नेताहरूले गठबन्धन गरेरै चुनावमा जानुपर्ने सुझाव दिनुभएको छ । बैठकमा केही फरक मत आएका छन् । तर धेरै जना साथीहरूको धारणालाई ध्यानमा राख्दै आवश्यकताको आधारमा गठबन्धन गरेर जाने निर्णय हुन्छ ।’

माओवादी र समाजवादीलाई चासो

कांग्रेस बैठकले गर्ने निर्णयमाथि माओवादी केन्द्र र समाजवादीले चासो राखिरहेका छन् । कांग्रेसले गर्ने निर्णयले स्थानीय तहमा आफूहरूको उपस्थितिको ‘साइज’ मा फरक पर्ने आकल गरेका ती दलले कांग्रेसले गर्ने निर्णयले समग्र मत परिणाममा असर गर्ने जनाइरहेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावी गठबन्धन प्रतिनिधि सभाको चुनावसम्मै रहने बताइरहेका छन् । एकीकृत समाजवादीका नेताहरूले कांग्रेसले गठबन्धनको पक्षमा निर्णय गर्ने अपेक्षा गरेका छन् । एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले औपचारिक निर्णय नभए पनि पक्षमा नै निर्णय हुने विश्वास व्यक्त गरे ।

यो पनि….
चुनाव बहिष्कार र प्रतिस्पर्धा नगर्ने नेकपाको निर्णय
स्थानीय निर्वाचनको संघारमा वाम एकताको बहस, कांग्रेस तरंगित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र