English

वन्दना–बिर्सना : अलग भुगोल, भिन्न भोगाई अनि सपना फरक

गाउँ र सहरमा बस्ने आमनेपालीको दैनिक जीवनमै अन्तर


बिर्सना शाही । बझाङस्थित जयपृथ्वी नगरपालिका–१ कैलाशमा छ, बिर्सनाको घर । सदरमुकाम चैनपुरदेखि पैदल बाटो जाँदा करिब तीन घण्टामा बिर्सनाको घर पुगिन्छ ।

कैलाशमै जन्मे–हुर्केकी बिर्सना हरेक बिहान ५ बजे उठ्छिन् । हातमुख धोएर बिहानको नास्ताको सुरसार गर्छिन् । नास्तामा बिर्सनाले दिन बिराएर कोदो, गहुँको रोटीसँगै मही तथा दही पस्किन्छिन् । नास्ता गरिसकेपछि परिवारका सदस्यहरू आ–आफ्नो दैनिकीतिर लाग्छन् । बिर्सनाले पनि नास्ता गरिसकेपछि घरभित्र, बाहिर सरसफाइ गर्ततिर लाग्छिन् । उनको दैनिकीको शुरुवात नै घरको सामान्य कामबाट हुन्छ । उनले सुत्ने कोठा, आगँन गरी घर वरिपरि बढार्छिन् । त्यसपछि, दैलो लिपपोत गरिसकेपछि मात्रै घाँस काट्न खेततिर लाग्छिन् ।

बिर्सना शाही, बझाङ

१८ वर्षीया बिर्सना कैलाशस्थित श्री नारायण उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छिन् । उनले सोही विद्यालयबाट कखरा सिकेकी थिइन् । बिर्सनाले कखरा सिक्दै सोही विद्यालयमा पढेको पनि १२ वर्ष भइसक्यो । बिर्सनालाई बालापनदेखि पढेको विद्यालयको माया लाग्छ ।

बर्खायाममा चारैतिर हरियाली हुन्छ । धान गोडमेलदेखि कोदो, धान रोप्दा कामको चाप बढी हुन्छ । खाना खाने समय निकाल्नै धौधौ हुन्छ, त्यो बेला ।

उसो त, बिर्सनालाई गाउँले परिवेश साह्रै मनपर्छ । उनले बोल्ने हरेक शब्दमा गाउँप्रतिको उनको लगाव झल्किन्छ । बिर्सना गाउँभन्दा बाहिर जानुपर्दा झिँजो मान्छिन् । बिर्सनासहित उनको परिवारमा सात जना छन् । उनी घरकी कान्छी छोरी हुन् । उनका आमाबुवाले जीवनभर कृषि कर्म गरेर परिवारको जिम्मेवारी पूरा गरे । अहिले बिर्सनाका दाजुले परिवारको आर्थिक भार थेगिरहेका छन् । एकजना दाजु र दिदीपछिकी बिर्सनाले सानै उमेरदेखि घरको काम गर्न सिकेकी हुन् । उनले घरभित्रको स–साना कामदेखि घाँस काट्ने, गाईवस्तु हेर्ने, मेलापात जाने गर्छिन् ।

पहाडी भेगमा हिउँदमा खासै केही काम हुँदैन । तर, बर्खायाममा भने कामको चटारो हुने बिर्सना सुनाउँछन् । ‘हिउँदे मौसममा चारैतिर सुक्खा हुन्छ । घाँस काट्नदेखि अन्य काम पनि कम हुन्छ,’ कार्यअनुभव साट्छिन् बिर्सना, ‘तर बर्खायाममा चारैतिर हरियाली हुन्छ । धान गोडमेलदेखि कोदो, धान रोप्दा कामको चाप बढी हुन्छ । खाना खाने समय निकाल्नै धौधौ हुन्छ, त्यो बेला ।’ गाउँघरमा प्रायः जेठ–असारदेखि असोज–कात्तिकसम्म खेतबारीको कामै व्यस्त रहने बिर्सनाको भोगाइ छ ।

काम मात्रै होइन पढाइ पनि

बिर्सनाले आमाबुबालाई हरेक काममा सघाउँछिन् । पहाडको बाटो, उकाली–ओराली, चिसो हावासँग सुसेल्दै विद्यालय जान औधी मनपराउँछिन्, बिर्सना । उनले बिहान १० देखि ४ बजेसम्म विद्यालयमा बिताउँछिन् । उनको घरबाट विद्यालय पुग्न करिब ३० मिनेट लाग्छ ।

‘विद्यालयबाट आएर खाजा खान्छु,’ बिर्सना सुनाउँछिन्, ‘सानी भदैनी छ । दाजु–भाउजू पसलतिर व्यस्त हुँदा भदैनीसँग समय बिताउँछु । केही समय भदैनीसँग बिताएपछि साझँको भान्सा तयार गर्छु ।’ साँझको खाना खाइसकेपछि बचेको समयमा किताब पढ्ने गरेको उनले बताइन् ।

मलाई गाउँमै बस्न मन पर्छ, आमाबुबा गाउँमै बस्नुहुन्छ । त्यसैले, मलाई उहाँहरूलाई छोडेर जान मन लाग्दैन ।

बिर्सनालाई आफू जन्मे–हुर्केको ठाउँ नै प्रिय लाग्छ । त्यसैले, उनलाई सहर गएर अध्ययन गर्ने रहर कहिले लागेन । ‘मलाई गाउँमै बस्न मन पर्छ,’ बिर्सना हर्षित सुनिइन्, ‘आमाबुबा गाउँमै बस्नुहुन्छ । त्यसैले, मलाई उहाँहरूलाई छोडेर जान मन लाग्दैन ।’ तर, बुवाआमाले बेला–बेला सहर गएर पढ्न सुझाइरहन्छन्, बिर्सनालाई ।

बालापन गाउँघरमै बितेकाले भविष्यमा के गर्ने? भन्ने कहिले सोचिनन्, बिर्सनाले । उनको बालापन घाँस, दाउरा, धान कुट्नमै बित्यो । उमेर बढ्दै जाँदा एसईईपछि ओभरसियर पढ्ने रहर जाग्यो, बिर्सनालाई । उनले मेहनत गरिन् र ओभरसियरमा नाम पनि निकालिन् । तर, गाउँबाट पर सहर गएर पढ्न उनलाई पारिवारिक वातावरण मिलेन । ‘कैलालीमा डेरा गरी पढ्नुपर्ने भएपछि ओभरसियर नपढ्ने निर्णय गरे’ उनी निराश सुनिइन्, ‘आमाबुबाले पनि बिरानो सहर भएकाले घरबाट टाढा पठाउने आँट गर्नुभएन ।’ त्यसैले, गाउँकै विद्यालयमा अध्ययन गरिरहेकी छिन्, उनी ।

गाउँमै उत्पादित जैविक खानेकुराको स्वाद मन पराउँछिन् बिर्सनाले । उनले प्रायः घरमै बनेको साधारणका खाना रुचाउँछिन् । ‘मलाई बजारकोभन्दा घरको खाना धेरै मनपर्छ,’ बिर्सना भन्छिन्, ‘त्यसमा पनि आमाको हातबाट बनाएको खाना धेरै मनपर्छ ।’ बिर्सनाले बिहानको खानामा नेपालीको साझा भनिएको दाल, भात, तरकारी खान्छिन् । त्यसैगरी, खाजाका रूपमा उनले मकै, भटमास, गहुँ भुटेर खान्छिन् । उनको बेलुकीको खानामा मकै, कोदो, गहुँको रोटीसँगै तरकारी र दूध समावेश हुन्छ ।

गाउँमा नेटवर्कको धेरै समस्या छ, बेला–बेला बिजुली जाने, मोबाइलमा नेटवर्क नआउने समस्या भने कायमै छ । सूचनाको सहज पहुँच छैन । जसले गर्दा महत्वपूर्ण सूचना पनि केही दिनपछि पाउँछौँ ।

गाउँमा पहिलेको तुलनामा धेरै विकास भएको छ । तर, बेलाबेला नेटवर्किङ समस्या भइरहने बिर्सना सुनाउँछिन् । ‘गाउँमा नेटवर्कको धेरै समस्या छ,’ बिर्सना समस्याको गाँठो खोल्छिन्, ‘पहिले त सडक थिएन । तर, अहिले घरसम्मै बाटो पुगे पनि भनेको बेला गाडी पाइँदैन । पहिलेको तुलनामा आजभोलि धेरै सहज छ । तर, बेला–बेला बिजुली जाने, मोबाइलमा नेटवर्क नआउने समस्या भने कायमै छ । सूचनाको सहज पहुँच छैन । जसले गर्दा महत्वपूर्ण सूचना पनि केही दिनपछि पाउँछौँ ।’ सूचना आदान–प्रदानमा समस्या हुँदा अझै पनि धेरै कुरा सिक्नबाट वञ्चित रहेको महशुस हुन्छ, बिर्सनालाई ।

बिर्सनाको सामान्य जीवनशैली झैँ छन्, उनका चाहना पनि । ‘धेरै केही इच्छा छैन,’ बिर्सना भन्छिन्, ‘१२ कक्षा पास गरेपछि धनगढी गएर पढ्ने मन छ । आमाबुबाले पनि सहर गएपछि धेरै कुरा जानिन्छ, भन्नुहुन्छ । त्यसैले, धनगढी गएर पढाइसँगै जागिर गर्ने सोच छ ।’ स–साना कुरामा खुसी खोजेर सन्तुष्टिका साथ जीवनयापन गर्ने बिर्सनाको चाहना छ ।

बझाङपछि काठमाडौंको तस्वीर

वन्दना अछामी । भर्खर १९ वर्ष टेकेकी वन्दना लजालु र सरल स्वभावकी छिन् । काठमाडौंमै जन्मिएर सुखसयलमा हुर्केकी वन्दनाको दैनिकी बिहान ७ बजेबाट शुरु हुन्छ । वन्दना उठ्दासम्म उनको सुत्ने कोठामा घामका किरण छरपस्ट देखिन्छन् ।

घरको काम गर्न रमाइलो लाग्छ तर खासै केही गर्न आउँदैनन, खाना बनाउन त मैले १७ वर्षमा सिकेकी हुँ । कोरोना भाइरस संक्रमणको कारण देशमा लकडाउन थियो । त्यहीँ समयमा घरको सामान्य काम गर्न सिकेँ । बुबाले अझै पनि खाना बनाउन, भाँडा माझ्न दिनुहुन्न ।

‘जाडोयाममा त झन् १० बजेसम्म सुत्छु,’ वन्दना लजालु सुनिइन्, ‘घरको काम खासै गर्न नजान्ने भएर मम्मीले पनि काम अह्राउनुहुन्न ।’ बिहान चाँडै उठेको दिन परिवारका सदस्यका लागि चिया, नास्ता बनाउँछिन्, वन्दनाले । उनले नास्तामा दूध चियासँगै बजारमा पाइने पाउरोटी, पफ, बे्रडजस्ता खानेकुरा खान्छिन् ।

वन्दना अछामी, काठमाडौं

‘घरको काम गर्न रमाइलो लाग्छ तर खासै केही गर्न आउँदैनन,’ सहज हुँदै भन्छिन् वन्दना, ‘खाना बनाउन त मैले १७ वर्षमा सिकेकी हुँ । कोरोना भाइरस संक्रमणको कारण देशमा लकडाउन थियो । त्यहीँ समयमा घरको सामान्य काम गर्न सिकेँ । बुबाले अझै पनि खाना बनाउन, भाँडा माझ्न दिनुहुन्न । तर, मम्मीले सिकेको कुरा कहिले खेर जाँदैन भनेर काम सिकाउनुहुन्छ ।’ दाउराको आगोमा खाना पकाएको अनुभव छैन वन्दनासँग ।

वन्दनाको परिवार काडमाडौंको शान्तिनगरस्थित ओमशान्ति चोकमा बस्दै आएको छ । उनको परिवारमा ६ जना छन् । परिवार सानै भएकाले कामको धेरै चाप छैन वन्दनामाथि । साथीहरूसँग रमाउँदै किताब पढेर वन्दनाको दैनिकी बित्छ ।

हुर्काइमै विभेद

धनबहादुर अछामी र आमा लक्ष्मीदेवी अछामीको दोस्रो सन्तान हुन्, वन्दना । वन्दनाभन्दा अघि उनका एक दाइ छन् । वन्दनाका बुबा समाजसेवीका साथै राजनीतिज्ञ पनि हुन् । उनकी आमाले शान्तिनगरमै कस्मेटिक पसल चलाएर बसेकी छन् । परिवारको आर्थिक स्थिति सबल भएकाले वन्दनालाई कहिले पनि केही कुराकोे अभाव महशुस भएन ।

बाल्यकाल एकदमै रमाइलोमा बित्यो, काठमाडौंमै घर भएकाले दु:खको अनुभव गर्नुपरेन । पारिवारिक स्थिति पनि राम्रो हुँदा मम्मी बुबाले मैले चाहेको, मागेको सबै कुरा पूरा गरिदिनुहुन्थ्यो ।

‘बाल्यकाल एकदमै रमाइलोमा बित्यो’ उनले बाल्यअवस्था कोट्याइन्, ‘काठमाडौंमै घर भएकाले दु:खको अनुभव गर्नुपरेन । पारिवारिक स्थिति पनि राम्रो हुँदा मम्मी बुबाले मैले चाहेको, मागेको सबै कुरा पूरा गरिदिनुहुन्थ्यो ।’

‘नर्सरीदेखि एलकेजीसम्म एमिल एकेडेमीमा पढेकी थिएँ,’ उनले आफूले अध्ययन गरेको विद्यालय सम्झिइन्, ‘कक्षा एकदेखि १० सम्म एभरेस्ट फ्लोरिडा माध्यमिक विद्यालयमा पढेँ ।’ ग्यासियर इन्टरनेसनल कलेज शान्तिनगरबाट कक्षा १२ उत्तीर्ण गरेकी अछामी विगत केही महिनायतादेखि आइएलटीएस कक्षा लिइरहेकी छन् ।

भर्खरै कक्षा १२ उत्तीर्ण गरेकी वन्दना विदेश जाने तरखर गर्दैछिन् । पढाइमा मेहनती भएकाले विदेश गएर सफल व्यवसायी बन्ने उनको सोच छ ।

बालापानमा देखेका सपना कति पूरा भए, भएनन् त्यसको हेक्का छैन वन्दनालाई । तर, अब अगामी दिनहरु सुनौलो बनाउने अठोट लिएकी छन्, उनले । कक्षा ९ मा पढ्दै गर्दै भविष्यमा के बन्ने ? भनेर वन्दनाको मनमा कुरा खेल्न थाले । धेरै सोचपछि उनले एसईई उत्तीर्णपश्चात् एयर होस्टेज बन्ने सपना बुन्न थालिन् । ‘एसईईपछि एयर होस्टज बन्ने सपना थियो, तर बुबामम्मीले मान्नु भएन,’ सपनाको गाँठो फुकाउँछिन् वन्दना, ‘प्रायः हवाईजहाज बिग्रिने, दुर्घटना हुनेजस्ता कुराबाट मम्मीबुबा डराउनुभयो । उहाँहरूले एयर होस्टेजबाहेक अन्य पढाइ रोज्न सुझाउनुभयो ।’ परिवारको आफूप्रतिको चिन्तालाई मध्यनजर गरेर एयर होस्टेज बन्ने सपना त्यागेकी बताउँछिन्, वन्दना ।

क्यानडा गएर बिजनेसमा डिप्लोमा गर्ने सोच बनाएकी छु, कलेज, शहर सबै हेरिसकेँ, आइएलटीएसमा राम्रो अंक ल्याएर चाँडै विदेश जान्छु ।

‘क्यानडा गएर बिजनेसमा डिप्लोमा गर्ने सोच बनाएकी छु,’ आगामी योजना सुनाइन् वन्दनाले, ‘कलेज, शहर सबै हेरिसकेँ, आइएलटीएसमा राम्रो अंक ल्याएर चाँडै विदेश जान्छु । बुबाले यता बस्यो भने केही पनि सिकिँदैन देशबाहिर गएपछि धेरै कुरा सिक्ने मौका पाइन्छ भनेर क्यानडा जान सुझाउनु भएको हो ।’ देशबाहिर गएर मेहनत गरेर अघि बढोस् भन्ने वन्दनाका बुवाको चाहना छ ।

आजभोलि धेरै जना घरबाहिर रेस्टुँरा, क्याफे, होटलमा खाना खान रुचाउँछन् । तर, वन्दनालाई बाहिरको भन्दा घरको खानामा रुचि छ । उनलाई प्रायः माछा, मासु, चकलेट, केक खान बढी मनपर्छ । उमेरले सानै भए पनि विदेश गएर मेहनत गरी सुनौलो भविष्य निमार्णको कल्पनामा छिन्, वन्दना । काठमाडौं देशको राजधानी भएकाले सहजै स्वास्थ्य सेवा, शिक्षाको पहुँच हुनु स्वभाविक हो । त्यसैले, वन्दनालाई स्वास्थ्य, शिक्षा, सञ्चारबाट कहिले वञ्चित हुनु परेन ।

तर, गाउँमै रहेकी बिर्सनाको बाल्यकाल किन कठिन रह्यो ? स्वभाविक हो, यो प्रश्न उठ्छ नै ।

सहर र गाउँबीच खाडल

एउटै देश भएता पनि वन्दना र बिर्सनाको जीवनशैलीमा आकाश–जमिनको फरक पाइन्छ । गाउँ र शहरबीचको खाडल उनीहरूको जीवनशैलीबाट प्रस्ट हुन्छ । उनीहरूको रहनसहनमा पनि भिन्नता छ ।

एउटै देश, भूगोल भए पनि व्यक्तिपिच्छे पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था, भोगौलिक विकटता, शिक्षा, स्वास्थ्य र सुचनामा अन्तर छ । देश विकासका ठूला–ठूला नारा लगाउँछन्, नेताहरु । तर, स्वदेशमा भविष्य नदेखेर पराई भूमिमा सुनौलो भविष्यको खोजीमा भौँतारिरहने युवाको जमात पनि ठूलै छ ।

डा. टिकाराम गौतम
समाजशास्त्री

राज्यले हिमाल, पहाड, तराईमा बसोबास गर्ने व्यक्तिका लागि काठमाडौंस्तरमै पाइने सेवाको व्यवस्था गर्नुपर्छ ।

आधारभूत आवश्यकता सहजै परिपूर्ति हुने स्थानलाई सहर भन्छौँ । यस्तै, सहरमा सहजै पाइने सेवा, सुविधा अन्यत्र उपलब्ध नहुने स्थानलाई ग्रामीण भन्छौँ । सहर बन्नको लागि आधारभूत आवश्यकता सहजै परिपूर्ति हुनुपर्ने बताउँछन्, समाजशास्त्री डा. टिकाराम गौतम ।

‘सरकारले दिने सेवा सुविधा नागरिक समक्ष पुग्न आवश्यक छ,’ डा. गौतम भन्छन्, ‘सहरमा पाइने सेवा, सुविधा विस्तारै स्थानीयस्तरको हुनुपर्छ । सहरको संख्या बढ्दै छ । सहरमा पाइने सेवा, सुविधा गाउँमै उपलब्ध भएमा शहरोन्मुख प्रवत्तिमा कमी आउँछ ।’ समान किसिमको सेवा र अवसरको पहुँच वृद्धिमा सरकारले ध्यान दिन आवश्यक रहेको उनको तर्क छ ।

उनका अनुसार राज्यबाट प्रदान हुने सेवा, सुविधाबाट भोगौलिक हिसाबले कोही पनि वञ्चित हुुनुहुँदैन । भूगोलअनुसार राज्यले सुविधाको पहुँचमा सहजता प्रदान गर्नुपर्छ । ‘राज्यले हिमाल, पहाड, तराईमा बसोबास गर्ने व्यक्तिका लागि काठमाडौंस्तरमै पाइने सेवाको व्यवस्था गर्नुपर्छ,’ डा. गौतम सुनाउँछन्, ‘सहर र गाउँको तुलना गर्दा सहज शिक्षा, स्वास्थ्य, रोजगारीका लागि धेरैजना गाउँदेखि सहर, सहरदेखि विदेश गइरहेका छन् । आधुनिक सुविधाको खोजीमा युवाहरू विदेश पलायन हुनु दुःखद कुरा हो ।’ सरकारले युवालक्षित योजना अगाडि ल्याएर स्वदेशमा सहजै सेवा, सुविधा पाउने व्यवस्था गर्नुपर्ने उनी सुझाउँछन् ।

सेवा–सुविधा गाउँ नपुगे यस्तै हो

मान्छेको स्वभाव नै अवसरको खोजी गर्ने हुन्छ । गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर कम हुँदा सहरतिर बसाइ सर्छन् । नेपालको हकमा अवसरको खोजीमा धेरैजना काठमाडौं उपत्यका भित्रिने गरेको बताउँछन्, अर्थविद् डा. दिलनाथ दंगाल ।

गाउँमा बस्नेलाई सहरको दाँजोमा बढी सेवा सुविधा दिने व्यवस्था मिलाउनुपर्छ । भोगौलिक विकटता भएको क्षेत्र पनि पछिल्लो पाँच वर्षयता सुगम हुँदै गएको छ ।

डा. दिलनाथ दंगाल
अर्थविद्

उनका अनुसार गाउँ, सहर हुँदै विदेश जाने प्रचलन बढिरहेको छ । कतिपय मानिस देखासिकीतिर लाग्छन् । नेपालमा राम्रै कमाइरहेका व्यक्ति पनि विदेश जान लालायित देखिन्छन् । ‘शान्तीको दृष्टिकोणले पनि समाज दिनप्रति दिन जटिल बन्दै गएको छ,’ उनी सुनाउँछन्, ‘धेरैजना मेहनत नगरी कसरी धनी बन्ने ? भन्नेतिर अग्रसर भएको देखिन्छ । अरूको सम्पत्तिमा रमाउन खोज्ने प्रवत्तिले समाजमा शान्तिसँग बस्ने वातावरणमा ह्रास ल्याएको छ ।’ सरकार संघीयतामा गएकाले केही हदसम्म सहजता भएता पनि राज्यले स्थानीय स्तरमै उद्योगधन्दा खोलेर रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने उनको तर्क छ ।

‘राज्यले जो जहाँ छ, त्यहीँ गरी खाने अवसर सिर्जना गर्नुपर्छ,’ अर्थविद् डा. दंगाल भन्छन्, ‘गाउँमा बस्नेलाई सहरको दाँजोमा बढी सेवा सुविधा दिने व्यवस्था मिलाउनुपर्छ । भोगौलिक विकटता भएको क्षेत्र पनि पछिल्लो पाँच वर्षयता सुगम हुँदै गएको छ । यसका बाबजुद पनि जुन सेवा, सुविधा सहरमा पाइन्छ, त्यो गाउँमा पाइँदैन।’

‘राजनीतिज्ञले विकासको नाममा राजनीति गर्नुभएन,’ अर्थविद् डा. दंगाल सुझाउँछन्, ‘स्थानीय स्तरमा उत्पादन गरिने खाद्यपदार्थको बजार व्यवस्थापनमा सबैले ध्यान दिन आवश्यक छ ।

यससँगै सबै नागरिकलाई शिक्षा, स्वास्थ्यको दायरामा समेट्न राजनीतिज्ञले पहल गर्नुपर्छ ।’ जसकारण गाउँ, सहरमा समान सेवा उपलब्ध हुने सम्भावना बढ्ने उनको ठम्याइ छ ।

धेरैले देखेका सपना अधुरा रहन्छन् । कयौँले देखेका सपना साकार हुने, नहुने टुङ्गो हुँदैन । एउटालाई सामान्य लागेको कुरा अर्कोलाई महत्वपूर्ण लाग्छ । ग्रामीण र शहरीया जीवनका आ–आफ्नै फाइदा र समस्या छन् । अनेकौं समस्याबीच पनि जीवन भौगाई निरन्तर चलिरहन्छ । तर, गाउँमै बसेका कारण अवसरबाट वञ्चित हुनुपर्ने र शहर पसेकै आधारमा लाभान्वित हुन पाइने विभेदले हाम्रो राज्य प्रणालीको नीतिगत भूललाई भने सम्झाइ रहन्छ ।

यो पनि…
गर्भमै छैनन् शिशु सुरक्षित ! (भिडियो पनि)
डिजिटल लतबाट बालबालिकालाई कसरी जोगाउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश

बाढी–पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । जसका कारण सामान ढुवानीमा समेत ठूलो असर परेको छ । अविरल वर्षा

Latest










Popular
Suggested