English

पल शाह प्रकरण : कसरी अघि बढ्दैछ कानुनी प्रक्रिया ?



यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । यतिबेला तनहुँमा रहेका उनीविरूद्ध कानुनी प्रक्रियाका लागि अनुसन्धान जारी छ ।

पीडितविरुद्धका ‘प्रमाण’

आफूमाथि जाहेरी दर्ता भएसँगै पलले सामाजिक सञ्जालमा केही अडिओहरू सार्वजनिक गरेका थिए । पीडितलाई केही व्यक्तिहरूले प्रयोग गरेको ती अडिओबाट पुष्टि हुने उनको दाबी छ ।

पलले सार्वजनिक गरेको अडिओमा गायिकालाई दुर्गेश थापा, सरोज वलीलगायतका व्यक्तिहरूले ‘गाइड’ गर्दै विभिन्न छलफल गरिरहेको सुनिएको छ । शारीरिक सम्बन्धको प्रमाण सिर्जना गरेर पीडितसँग विवाह गर्न पललाई बाध्य पार्ने रणनीतिमा त्यो छलफल केन्द्रित देखिन्छ । पलका फ्यानहरूले यसलाई आफ्नै साथीले पललाई पिठ्यूँबाट छुरा घोपेको अर्थमा व्याख्या गरिरहेका छन् ।

तनहुँमा के-के हुँदैछ ?

जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया शुरु हुनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ मा फौजदारी कसुरको आरोपमा प्रहरीमा जाहेरी परेमा के गर्ने भन्नेबारे विस्तृत प्रक्रियाहरू खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले केही दिनअघि नै शाहविरुद्ध जाहेरी दर्ता गरिसकेको छ । अब भने प्रहरीले प्रमाण संकलनको प्रक्रिया शुरु गर्छ ।

आरोपित पल शाह र उनका समर्थकले पीडित किशोरीको सहमतिमा उनीहरूसँगै बस्ने गरेको भनी दाबी गरेका छन् ।

तर, मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा १८ वर्षमुनिको नाबालकको हकमा मञ्जुरी लिएरसमेत करणी गर्न नपाइने उल्लेख छ । उक्त दफमा भनिएको छ, ‘मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।’ यो आरोप पुष्टि भएमा पीडितको उमेरले गणना गर्दा शाहमाथि १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।

सम्बन्धित पक्षको बयान

प्रहरीले शुरुमा पीडित किशोरी र उनका संरक्षक(बाबु) को बयान लिन्छ । फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृत समक्ष गर्ने भनाइलाई महत्वपूर्ण प्रमाण मानिन्छ । त्यसपछि पीडितका संरक्षकसँग प्रहरीले सोध्छ । प्रमाणका लागि पीडित किशोरीले स्वास्थ्य परीक्षणसमेत गरिसकेकी छन् ।

त्यसपछि प्रहरीले अभिनेता पल शाहको बयान लिन्छ । बयानका क्रममा शाहले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने मौका पाउनेछन् । उनले आरोप झुटा रहेको भनी आफ्नो दलिल पेस गर्ने मौकासमेत पाउनेछन् । प्रहरीले अनुसन्धानका क्रममा घटना देख्ने वा त्यससँग सरोकार राख्ने मानिसहरूसँग समेत बुझ्न र बयान लिन सक्नेछ ।

शाहले एउटा कुराकानीका क्रममा ‘आफूहरूबीच सम्बन्ध भए पनि पीडित किशोरी गर्भवती नभएको’ भनी बोलेको अडियो सार्वजनिक भएको छ । प्रहरीले त्यो अडियो रेकर्डसमेत प्रमाणको रूपमा पेस गर्नसक्छ ।

त्यसपछि के हुन्छ ?

सम्बन्धित पक्षको बयान सकिएपछि अनुसन्धान शुरू हुन्छ । अनुसन्धान टुंगिएपछि मुद्दा चल्ने प्रमाण भेटिएमा प्रहरीले शाहविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिन्छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत तनहुँमा पल शाहविरुद्ध मुद्दा दायर गर्नेछ । पीडितका बाबुले जाहेरी दिएको अनि पीडित किशोरीले नै आफूमाथि बलात्कार भएको स्वीकारेकाले शाहविरुद्ध मुद्दा दायर गर्ने करिब-करिब निश्चितजस्तै छ । मुद्दा दायर हुनासाथ जिल्ला अदालतमा शाहको बयान हुनेछ ।

बयान सकिएपछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ । अदालती भाषामा थुनछेक बहस भनिने यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । सामान्यतयाः ३ वर्षभन्दा बढी सजाय तोकिएको अनि प्रारम्भिक रूपमा हेर्दा कुनै न कुनै प्रमाण भेटिएमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने चलन हुन्छ ।

नवलपरासीमा परेको जाहेरीमा के हुन्छ ?

अभिनेता शाहविरुद्ध पीडित किशोरीले नवलपरासीमा समेत किटानी जाहेरी दिएकी छन् । जुन जिल्लामा अपराध भएको हो, त्यही जाहेरी दिनुपर्ने कानुनी व्यवस्था भएकाले नवलपरासीमा समेत आफूमाथि जबर्जस्ती भएको भन्दै किशोरीले जाहेरी दिएकी हुन् । उनले गत ७ चैत २०७७ मा आफूमाथि गैडाकोट रिसोर्टमा जबर्जस्ती भएको आरोप लगाएकी छन् ।

अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा हिरासतमा रहेका पल शाहले अदालतको सामना गरेपछि उनलाई फेरि प्रहरीले नवलपरासीमा ल्याउनेछ । त्यहाँ पनि तनहुँकै झै प्रक्रिया अघि बढ्छ र प्रहरीले प्रमाण देखेमा सरकारी वकिल कार्यालयले शाहविरुद्ध नवलपरासी जिल्ला अदालतमा बलात्कारको दोस्रो मुद्दा चलाउनेछ ।

बलात्कारको मुद्दामा पीडित किशोरी मात्रै होइन, उनको पहिचान खुल्ने अरू विवरणसमेत गोप्य राख्नुपर्ने भएकाले जिल्ला अदालतमा यो मुद्दा बन्द इजलासमा सुनुवाइ गर्नेछ । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीकै कारण पल शाहले नवलपरासीमा परेको जाहेरीबाट उन्मुक्ति पाउँदैनन् ।

यो पनि…
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाह प्रकरण : पक्ष/विपक्षमा विभाजित सिने क्षेत्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई