English

शिवजीमा त्यस्तो आकर्षण के छ ?

ओमकार परिवारभित्र शिवजी सर्वस्विकार्य छन्


आज महाशिवरात्री । शिवको विशेष दिन । पशुपतिमा अहिले रातीसम्म पनि उत्सव चलिरहँदा ८ बजे मैले पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई सोधेँ–आज पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको संख्या कति पुग्यो होला ? उनले जवाफ दिए– झन्डै १० लाख ।

महाशिवरात्री दिन शास्त्र, पुराणहरूमा उल्लेख गरिएका एक मिथकीय पात्र शिवलाई सम्झिएर यति ठूलो संख्यामा मानिसहरू किन ओइररिन्छन् ? यो संख्या काठमाडौंको एउटा मन्दिरको मात्र हो । संसारमा जहाँ–जहाँ शिवालय छन् त्यहाँ आजका दिन दर्शनार्थीको लस्कर लाग्छ नै ।

शिवलाई कसैले कतै प्रत्यक्ष देख्न सक्दैन । न उनले कतै केही बोल्छन् । न उनले कतै केही लेख्छन् ।

तर, कतै नदेखिने कतै नसुनिने शिवप्रति ठूलो वर्गको यस्तो अनुराग किन ? हाम्रा ठूला दलका कथित ठूला नेताहरूले सार्वजनिक रूपमा दिने भाषण सुनाउनका लागि बस, ट्रक, टिपरमा गाउँ–गाउँबाट पैसा खर्चिएर भिड जुटाउनुपरेको हामीले देखेकै छौँ । आमजनताका लागि जीवन नै समर्पित गरेको दाबी गर्ने हाम्रा ठूला नेताहरूप्रति आमजनता किन आस्था राख्दैनन् । तर, आफ्ना भक्तजनसँग दोहोरो संवाद गर्न पनि नसक्ने र कुनै लोभ, लालच वा वचन पनि नदिने यी ‘भगवान्’ प्रति किन यति आस्था ?

तर, भौतिक रूपमा कतै नदेखिने नसुनिने शिवप्रति संसारभरिका ओमकार परिवारभित्रका व्यक्तिहरू शिव भन्नासाथ किन मरिहत्ते गर्छन् ?

साउनको सोमबार त शिव मन्दिरमा भक्तजनको घुइँचो नै लाग्छ । त्यसबेला शिव भगवान् होइन ‘हिरो’ जस्तो लाग्छन्, शिव मन्दिर पुग्ने भक्तजन फ्यानजस्ता लाग्छन् ।

नेपाली समाजमा शिव किन स्तुतीय मानिदा रहेछन् ? एकपटक साउन महिनालाई सम्झौं ।

नेपाली क्यालेन्डर अनुसार, साउन लाग्दा एक महिनाभरि ओमकार परिवारलाई आफूतिर आकर्षित गर्छन्, ‘भगवान्’ शिव । साउनको सोमबार त शिव मन्दिरमा भक्तजनको घुइँचो नै लाग्छ । त्यसबेला शिव भगवान् होइन ‘हिरो’ जस्तो लाग्छन्, शिव मन्दिर पुग्ने भक्तजन फ्यानजस्ता लाग्छन् । कतिपय युवती सोमबारे व्रत बस्छन् नै । पहिरन, मेहन्दीदेखि पुस्तक र गीत–संगीतसम्म जताततै पोखिन्छ शिवको ग्ल्यामर ।

शिवलाई नै सम्झिएर हातमा हरियो मेहन्दी, हरिया चुरा अनि रातो र केही हरियो मिश्रित शिव–शक्ति रंगका सारी वा कुर्ता सुरुवाल लगाएका महिला यत्रतत्र देखिन्छन् ।
यो त भयो, साउन र शिवको कुरा ।

शिवजी : ‘कुल’ अनि ‘हट’ पनि

शिव नेपाली हिन्दू समाजमा फेरि एकपटक नायकका रूपमा झुल्किन्छन्, त्यो समय हो, तीज, जुन बेला असल श्रीमानका लागि वा पतिको दीर्घायुका लागि व्रत बस्ने, मिठो खाने र नाचगानमा मग्न हुन्छन्, महिला । तीजको केन्द्रमा शिवजी अर्थात् महादेव नै छन् । कता–कता शिवजी पुरुषका लागि ‘कुल’ छन् भने महिलाका लागि ‘हट’ । किनकी उनको ब्यक्तित्वमा विविधता छ । उनको शरीरमा देखिने तेस्रो नेत्र, नाग अनि त्रिशुलदेखि चन्द्रमाले शिवको व्यक्तित्व अन्य हिन्दू मिथमा उल्लेख गरिएका भगवान्को भन्दा निकै भिन्न देखाउँछ । कम्मरमा भिर्ने बाघको छालादेखि आफ्नै शैलीको ‘हेयर स्टायल’ ले शिवजीलाई पृथक देखाउँछ । शिव जोडिएका शास्त्र, पुराणहरू नियाल्ने हो भने अनौठो छ, शिवजीको जीवनशैली ।

शिवजीको चर्चा हुने अर्को महिना हो, माघ । यो महिना श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुन्छ । कथा स्वस्थानीको भए पनि यसको केन्द्रमा छन्, शिवजी ।

शिवजीको चर्चा हुने अर्को महिना हो, माघ । यो महिना श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुन्छ । कथा स्वस्थानीको भए पनि यसको केन्द्रमा छन्, शिवजी । मायालु पति, विद्रोही छवि, रिसाहा व्यक्तित्व, लडाकु स्वभावलगायत अनेक छवि बनेको छ, स्वस्थानीमा शिवको ।

स्वथानी कथामा पनि महादेवका रूपमा उनी नरम स्वभावका देखिन्छन् भने शिवका रूपमा लडाकु पाराका ।

शिवरात्री र शिवको सम्बन्ध नङ र मासुको जस्तो देखिन्छ, नेपाली समाजमा । जहाँ–जहाँ शिवका नाममा स्थापित मन्दिर, त्यहाँ त्यहाँ सनातन हिन्दू धर्मावलम्बीको घुइँचो देखिनु सामान्यजस्तो लाग्छ, शिवरात्रीको छेकोमा । शिवप्रतिको सद्भाव महाशिवरात्रीमा झनै मुखरित भएर आउँछ ।

नेपालमा शिव किन लोकप्रिय छन् ? यसको कारण हो, शिवसँग नेपाली भूगोलको सम्बन्ध जोडिनु ।

शिवजीको नेपाली साइनो

नेपाली समाजमा शिवको लोकप्रियताको कारण हो, शिवजीको साइनो नेपाली भूगोलसँग जोडिनु । शिव पुराणदेखि महाभारतसम्मका धार्मिक शास्त्रमा शिवजीको वासस्थान हिमालय पर्वत शृंखला रहेको उल्लेख गरिएको कुरा यहाँ स्मरणीय छ ।

नेपालको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मका पर्वत शृंखलामा शिवको भूमिका देखिन्छ, शास्त्रहरूमा । त्यसमा पनि हिमवत्खण्डमा शिवको विचरण बढी भएको मानिन्छ । सबै हिमवत्खण्डको धेरैजसो भूगोल नै नेपाली भूमि भएको उल्लेख छ ।

नेपालको प्रामाणिक इतिहासको प्रारम्भ हुने मानिएको लिच्छविकालमा शिव र उनको परिवारका नाममा स्थापित मठ, मन्दिर, मूर्ति र शिवलिंगहरूको अवशेष पशुपतिनाथ क्षेत्रमा अद्यापि छँदैछ ।

सुदूरपश्चिममा पर्ने खप्तड लेकको सेरोफेरो नै शिवको सक्रिय रहेको क्षेत्र मानिन्छ । हिमवत्खण्डलाई तीर्थै तीर्थ र साधु सन्तहरूको आकर्षक स्थान त्यसै मानिएको होइन ।

पुराणहरूमा वाग्मतीको तटवर्ती क्षेत्रलाई शिवपत्नी पार्वतीको तपोभूमि मानिएको छ । शिवपत्नी पार्वतीको वासस्थान र विचरण थलो पनि हिमालय क्षेत्र भनिएको मानिएको छ, जुन नेपालसँग जोडिन आउँछ ।

प्राचीनकालमा कैलाश मानिआएको नेपाली भूमिमा शिव र उनको कैलाश परिवारको उपस्थिति किराँतकालीन विभिन्न मूर्ति तथा शिवलिंगमा पनि देखिँदै आएको छ । यसबाहेक नेपालको प्रामाणिक इतिहासको प्रारम्भ हुने मानिएको लिच्छविकालमा शिव र उनको परिवारका नाममा स्थापित मठ, मन्दिर, मूर्ति र शिवलिंगहरूको अवशेष पशुपतिनाथ क्षेत्रमा अद्यापि छँदैछ । त्यसैले, पनि ओमकार परिवार शिवमा स्थानीयपन देख्छन् ।

पशुपतिनाथ मन्दिरमाथि रहेको मृगस्थली वनमा पार्वतीसँग विहार गरेर केही समय बसेको, ध्यान गरेका जस्ता प्रसंगहरूले पनि शिव र उनको परिवारको लहरो पनि नेपालसँग कहीँ न कहीँ जोडिन्छ । कालकुट विषको प्रभाव घटाउन रसुवाको गोसाईंकुण्ड र सतीदेवीको शव बोकेर धरानको दन्तकालीसम्म पुगेका कथाहरूमा पनि नेपाली भूगोल जोडिएका छन् ।

हिमवत्खण्ड, नेपाल माहात्म्य, शिवपुराण, श्रीस्वस्थानीजस्ता ग्रन्थहरूमा भगवान् शिवलाई करूणा र कल्याणको भावना राख्ने स्थानीय नायकका रूपमा प्रस्तुत गरिएको छ । यो कुरा जनजनमा पुगेका कारणले पनि शिवजीप्रति आकर्षण बढेको हुन सक्छ ।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य–सचिव तथा पशुपति क्षेत्रको ‘सांस्कृतिक अध्ययन’ नामक पुस्तकका लेखक गोविन्द टण्डन सम्पूर्ण हिन्दू धर्मावलम्बीका आराध्यदेवका रूपमा स्वीकारिनुका साथै देशकै इष्टदेवका रूपमा पशुपतिनाथ (शिव)लाई पुजिनुले पनि उनीप्रतिको आकर्षण मापन गर्न सकिने बताउँछन् । टण्डनलाई लाग्छ, ‘हिमवत्खण्ड, नेपाल माहात्म्य, शिवपुराण, श्रीस्वस्थानीजस्ता ग्रन्थहरूमा भगवान् शिवलाई करूणा र कल्याणको भावना राख्ने स्थानीय नायकका रूपमा प्रस्तुत गरिएको छ । यो कुरा जनजनमा पुगेका कारणले पनि शिवजीप्रति आकर्षण बढेको हुन सक्छ ।’

नेपाली समाजका विभिन्न आयामसँग शिवजी जोडिनु पनि अनौठो लाग्छ । राजतन्त्र अस्तित्वमा रहँदासम्म राजाले देशवासीका नाममा गर्ने कुनै पनि सम्बोधनको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ भन्ने वाक्यांश अनिवार्य राखिएकै हुन्थ्यो । राजतन्त्रको समाप्तिपछि पनि पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा दिने लिखित वा मौखिक अभिव्यक्तिहरूको अन्त्यमा उक्त वाक्यांश राखेकै छन् । यति मात्र होइन, पूर्वराजाहरूले आफ्नो प्रशस्तिमा लेखाउने गरेको ‘गिरिराज चक्र चूडामणि…’ भन्ने शब्दावली पनि शिवसँगै जोडिएको छ ।

नेपाली सेनामा पनि शिव कुनै न कुनै रूपमा स्थापित देखिन्छन् । सेनाको चिह्नमा पनि शिवजीको प्रतीक मानिने त्रिशुल र डमरूलाई नै स्थान दिइएको छ । सेनाका विभिन्न पल्टनका नाम शिवका विभिन्न नाममा आधारित छन् । जस्तोः पशुपतिप्रसाद, भैरवनाथ, वीरभद्र, चन्दननाथ आदि । यसबाहेक सेनाका ब्यारेकहरूमा गरिने कतिपय पूजा पनि शिवमाथि नै केन्द्रित छन् । विशेष गरी शिवरात्रिलाई नेपाली सेनाले धुमधामका साथ मनाउँदै आएको छ, विभिन्न दबाबका बाबजुद ।

कतिसम्म भने हाम्रो हुलाक टिकटमा पनि शिव वा उनका कुनै न कुनै रूपले स्थान पाइरहेका छन् । जस्तो ः गौरीशंकर हिमाल, शिवजीको चतुर्मूर्ति, जलेश्वर महादेवदेखि शिवरात्रिसम्मको तस्बिर अंकित हुलाक टिकट जारी भइसकेका छन् ।

नेपाली मुद्रा पनि शिवमय छ । राजा जयदेवदेखि पूर्वराजा ज्ञानेन्द्रको समयसम्म चलनचल्तीमा रहेका सिक्का तथा नोटहरूमा कुनै न कुनै रूपमा शिवलाई स्थान दिइएको छ । पशुपतिनाथको मन्दिर र त्रिशूलदेखि भैरवको दण्डसम्मलाई नेपाली मुद्रामा स्थान दिइएको छ ।

शिवजीको गहना मानिएको नागसमेत नेपाली समाजमा स–सम्मान उपस्थित छ । दूषित वायु ग्रहण गरेर जीविका चलाउने मानिएको नागलाई शिवकै प्रसाधनका रूपमा नेपाली समाजमा पुज्ने परम्परा छ । नागपञ्चमीका दिन देशभरिका नागस्थान तथा मन्दिरहरूमा पूजा गरिन्छ । नागलाई राजसिंहासनदेखि ढुंगेधाराहरूमा समेत स्थान दिइएको छ । नागढुंगादेखि नागदहसम्मका नामकरण यसैको संकेत हो ।

ओमकार परिवारका प्रिय

शिवजीको मिथकीय चरित्र राम र कृष्णजस्तो आकर्षक छैन । यिनमा राम र कृष्णको जस्तो आदर्श छवि पनि छैन । तर, पनि शिव ओमकार परिवारभित्र सर्वस्विकार्य देखिन्छन् ।

शिवलाई शैव धर्मावलम्बीहरूले मात्र होइन, ओमकार परिवारले पनि मान्दै आएको छ । उनका भक्तहरू धेरै हुनुको एउटा कारण यो पनि हो । जस्तो कि, वैदिक सनातन धर्म परिवारका शिवलाई नै इष्ट–आराध्य मान्ने शैवहरू, शिवलाई बोधमय गुरूका रूपमा सम्मान गर्ने वैष्णवजगत् र शक्तिसहगामी ईश्वरका रूपमा शिवलाई मान्ने शाक्तहरूका कारण पनि उनी धेरै सम्प्रदायबाट स्वीकार्य भगवान् मानिन्छन् । ‘ओम मणिपद्मे हुम’ मन्त्र जप्ने बौद्घ हुन् वा ‘नमो अरहिन्ताणम’ मन्त्र बोल्ने जैन र ‘एक ओमकार सत् नाम’ मन्त्र जप्ने सिखहरू नै, सबैलाई शिवले आकर्षित गरेकै छन् ।

किराँत समुदायको पनि शिवजीसँग अन्तरनिहित सम्बन्ध छ । पशुपति क्षेत्रमा रहेको किराँतेश्वर महादेव र किराँत समुदायको सम्बन्ध पौराणिक कालदेखिकै हो ।

किराँत समुदायको पनि शिवजीसँग अन्तरनिहित सम्बन्ध छ । पशुपति क्षेत्रमा रहेको किराँतेश्वर महादेव र किराँत समुदायको सम्बन्ध पौराणिक कालदेखिकै हो ।

बौद्घ महायानीहरूले पनि शिवलाई अष्ट बितरागीको संज्ञा दिएर शिव पूजा गरेको पाइन्छ । हिन्दू परम्परामा वैदिक र तान्त्रिक दुवैलाई बुद्घको मुकुट पहिराउने परम्परा छ ।

स्रस्टा पनि हुन् शिव

शिव ६४ कलाका आदि गुरू मानिन्छन् । उनी नृत्यगुरू पनि हुन् भन्ने शैव मान्यता छ । उनको ताण्डव नृत्य जति चर्चित छ, त्यति नै चर्चित उनको नृत्य गर्दै गरेको नाट्येश्वरको मूर्ति पनि । उनको यो चर्चित मूर्ति बैठक कोठादेखि ठूला होटल र महलहरू सजाउनका लागि उपयोग हुन्छ । शिव आदि योगगुरू पनि हुन् । त्यसैले, उनलाई योगेश्वर पनि भनियो ।

शिवका ८४ आसनका योग सर्वव्यापी छ नै । त्यसबाहेक उनी यौनकलाका पनि आदिगुरू पनि हुन् । शिव र पार्वतीबीच भएको संवादमा आधारित पुस्तक विज्ञान भैरव तन्त्रमा बताइएको यौनकलाकै आधारमा मनुष्यको यौनजीवन घुमिरहेको छ । उनले यौनलाई कला र तन्त्रसँग जोडे । कलात्मक र लयपूर्वक गरिने सम्भोगले युगल जोडीलाई समाधिसम्म पुर्याउन सक्छ भन्ने मान्यता उनले नै स्थापित गरे ।

शिवलाई तन्त्र, मन्त्र, यौनदेखि नृत्य, संगीत, व्याकरण, योग सबै विद्याका आदि गुरू मानिएको छ । शिव सूत्रमा आध्यात्मिक साधनाका बीजहरू दिइएको छ भने विज्ञान भैरव तन्त्र शिवले देवी पार्वतीलाई सिकाएका १ सय १२ ध्यान एवं तन्त्रका विधिको संकलन हो ।

शिवलाई तन्त्र, मन्त्र, यौनदेखि नृत्य, संगीत, व्याकरण, योग सबै विद्याका आदि गुरू मानिएको छ । शिव सूत्रमा आध्यात्मिक साधनाका बीजहरू दिइएको छ भने विज्ञान भैरव तन्त्र शिवले देवी पार्वतीलाई सिकाएका १ सय १२ ध्यान एवं तन्त्रका विधिको संकलन हो । यी विधि यति पूर्ण छन् कि हजारौँ वर्षमा पनि यिनमा तान्त्रिक फेरबदल या परिवर्तन आएको छैन । विज्ञान भैरव तन्त्र विश्वका सर्वाधिक पुराना ग्रन्थमध्ये पर्छ र करिब पाँच हजार वर्षअघि लेखिएको अनुमान छ ।

शिवले मनुष्यलाई आफैँभित्र लुकेको परम सत्य चिन्ने र आन्तरिक एवं बाह्य जीवनलाई शान्त, सुखी एवं सम्पन्न बनाउने विज्ञान दिएका छन् ।

अनि यस्ता गुणहरूले सुसज्जित शिवजी कसैका लागि पनि किन प्रिय नहोऊन् त ! सबै कलाका ज्ञाता बहुमुखी प्रतिभाका रूपमा ओमकार परिवारबीच शिवको छवि नायकको बनेको छ ।

कारण यही हुन सक्छ, शिव भगवान् नभएर कुनै ‘सेलिब्रिटी’ जस्ता लाग्छन् । कतै नदेखिए पनि उनी वरपर भएझैं लाग्छन् । साथमा छैनन् तर साथीजस्तै लाग्छन् ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
शिव को हुन् ? उनका वस्त्रालंकारका अर्थ के–के हुन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested