English

प्रचण्ड लचिलो भए फुक्न सक्छ गठबन्धनको गाँठो

गठबन्धन भत्किए कांग्रेसका लागि सत्ता साझेदारको विकल्प एमाले


केपी शर्मा ओली ३ फागुन ०७४ मा दोस्रोपटक मुलुकको प्रधानमन्त्री बनेको केही महिना पनि नबितेका बेला यदि कसैले सबैभन्दा बढी उनलाई ‘अधिनायकवादी’ भन्थ्यो भने ती थिए, कांग्रेस सभापति शेरबहादुर देउवा

तर परिस्थित सधैँ एकनासको रहँदैन । राजनीतिमा त झनै कुन मुहूर्तमा नयाँ समीकरण बन्छ र कुन बेला कित्ताकाट हुन्छ भनेर अनुमान लगाउन सहज हुँदैन । नेपाली राजनीतिको पछिल्लो प्रहरमा यस्तै दृश्यहरू देखिएका छन् ।

ओली नेतृत्वको एमाले घरबाट ‘कट्टी’ भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल देउवाको दैलोमा पुगे । परिणाम सत्ता सिंहासनबाट ओली बाहिरिए । देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो ।

तत्कालीन प्रधानमन्त्री ओलीले ८ जेठमा दोस्रोपटक गरेको संसद् विघटनलाई उल्ट्याउँदै सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो । नतिजा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस संसदीय दलका नेताको हैसियतमा देउवा २९ असारमा प्रधानमन्त्री भए ।

तर, देउवाले सरकारको नेतृत्व गरेको सात महिनामै यो सत्ता गठबन्धन धर्मराएको छ । कुनै पनि बेला यो गठबन्धन तासको घरझैं ढल्न पनि सक्छ । प्रचण्ड–नेपाल लचिलो भएमा गठबन्धन जोगिन पनि सक्छ ।

धुव्रीकरणको यो राजनीतिमा देउवा र ओलीलाई एक ठाउँमा ल्याउने र प्रचण्ड–नेपाललाई गठबन्धनबाट ‘रिङ आउट’ गर्नका लागि भएका अनेक प्रयासहरू सतहमा देखिए । अर्कोतिर गठबन्धन जोगाउनका लागि भएका अनेक दौडधूप पनि भए ।

गठबन्धनमा यसरी भयो गडबडी

देउवा र प्रचण्ड–नेपालबीचको दोस्तीमा दरार आउनुको कारका देखियो, एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) । देउवा कुनै पनि हालतमा एमसीसी पास गर्ने पक्षमा छन् भने गठबन्धनका सहयात्री प्रचण्ड–नेपाललगायत यसको विपक्षमा उभिएका छन् । सरकारमा हुँदाहुँदै पनि सडकमा ओर्लिएर एमसीसीको विरोध गर्नुपर्ने गैरराजनीतिक चरित्र प्रदर्शन गर्न बाध्य भएको छ, प्रचण्ड–नेपालको वाम जोडी ।

अमेरिकाले यही १६ फागुनसम्मको समय सीमा दिएको छ, एमसीसी पास गर्नका लागि । यस्तो परिस्थितिमा अमेरिकी सहयोगको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न यो गठबन्धन एक ठाउँमा नरहने प्रष्टै देखिएको छ । एमसीसी पास गराउन कम्मर कसेर लागेका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासमक्ष प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई फुस्ल्याउनुबाहेक अर्को विकल्प देखिँदैन । गत एकमहिनादेखि देउवाले यसैका लागि भरमग्दुर प्रयास गरिरहेका छन् ।

हो, यदि अन्तिम समयमा आएर ‘बीचको बाटो निकाल्ने’ कुनै उपायमा प्रचण्ड–नेपाल सहमत हुन सके भने देउवाले यही गठबन्धनको नेतृत्व गर्नेछन् ।

देउवालाई थाहा छ, प्रचण्ड–नेपालले अहिलेको आफ्नो अडानबाट टसमस नभएको खण्डमा अहिलेको राजनीतिक गठबन्धन टुट्छ र ओलीसँग नयाँ गठबन्धन बन्न सक्छ । तर, के ओली जतिका चतुर राजनीतिक खेलाडी देउवालाई एमसीसी पास गरिदिनका लागि मात्र प्रयोग होलान् त ? यो प्रश्नको जवाफ हो–हुँदैनन् ।

यस्ता छन् एमालेका शर्त

हो, ओलीको पहिलो राजनीतिक चाहना यो गठबन्धन भत्काउने नै हो । गठबन्धनमा रहेका प्रचण्ड–नेपाललाई सिंहदरबारबाट गलहत्याउने नै हो । एमालेले थाती राखेका मुद्दामा देउवाले सम्बोधन गर्नुपर्ने ग्यारेन्टी पनि खोजेका छन्, ओलीले ।

यसैले अहिले ओली एक तीरले दुई शिकार गर्न चाहन्छन् । पहिलो कांग्रेससँग पिरती लगाएको प्रचण्ड–नेपाललाई कांग्रेसबाट अलग गर्ने र दोस्रो माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटालाई सभामुखको कुर्सीबाट हटाउने ।

माधव नेपालसहित १४ सांसदले पार्टी निर्णय नमानेको, ओली सरकार ढालेको र देउवालाई प्रधानमन्त्री बनाउन सघाएका कारण एमालेले उनीहरूमाथि कारबाहीको माग गर्दै आएको छ ।

ओलीको पार्टी एमाले अहिले संसद्को कामकारबाहीबाट अलग मात्रै छैन, संसद् सुचारु हुनबाट रोक्दै पनि आएको छ । स्वाभाविक हो, यी यावत् आफ्ना मागहरू देउवाले सम्बोधन नगरेसम्म ओली गल्ने छैनन् । किनकि, ओलीले एमसीसी सम्झौतालाई सत्ता गठबन्धनविरुद्ध खेल्न सकिने एउटा महत्वपूर्ण औजार प्राप्त गरेका छन् । त्यसैलाई उनले अहिले प्रयोग गरिरहेका छन् । यसैले ओली अहिले नेपाली राजनीतिको निर्णायक शक्ति बनेका छन् ।

एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयमा पाँचदलीय गठबन्धनभित्र सहमत नभएपछि कांग्रेस र एमालेबीच एक महिनायता पटक–पटक कुराकानी हुँदै आएका छन् । कतिपय कुराकानी देउवा र ओलीबीच भए भने कतिपय छलफल समुहमा भए । कांग्रेस र एमालेबीच भएको वार्ताले दुवैलाई एक–अर्काको नजिक ल्याएको छ ।

आफ्नो नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतबाट मुद्दा जितेर सत्तामा पुगेका साझेदारहरू छिन्नभिन्न हुनु ओलीका लागि सन्तोषको विषय हुँदै हो । तर, ओलीका सबै सर्त स्विकार गरेर यो गठबन्धन भत्काउन देउवाका लागि पनि सहज छैन ।

ओली–प्रचण्ड : नदीका दुई किनारा

ओली प्रधानमन्त्री भएकै बेला संसद् सचिवालयमा एमसीसी सम्झौता दर्ता भएकाले एमालेलाई एमसीसीको विरोधमा जाने सहजता छैन ।

एमसीसीको पक्षमा ओलीले पटक–पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यसकारण पनि एमसीसी विरोधी गठबन्धनका रूपमा ओली फेरि एकपटक प्रचण्ड–नेपालको कित्तामा पुग्ने सम्भावना देखिँदैन ।

माओवादी केन्द्रलाई कहिले एमालेले त कहिले कांग्रेसले बोक्ने गरेकैले प्रचण्डलाई बीचमा खेल्ने अवसर जुरेको थियो । कहिले ओलीले त कहिले देउवाले ‘प्रचण्डले मलाई धोका दिए’ भन्ने क्रम चलिरह्यो । कहिले वल्लो किनार त कहिले पल्लो किनार पुग्ने प्रचण्ड प्रवृत्तिका कारण नेपाली राजनीति पनि प्रचण्डजस्तै अस्थिर बन्न पुगेको छ ।

यसैले, ओली यसपटक वाम गठबन्धनको नाममा प्रचण्ड–नेपाल कित्तामा पुग्ने सम्भावना देखिँदैन । त्यसो त प्रचण्डले ओलीलाई फकाएर भए पनि देउवाको दैलोसम्म पुग्न नदिने अनेक प्रयास जारी राखेका छन् । यसका लागि उनले ओलीसँग पनि भेटे । तर, ओलीले प्रचण्डसँग ‘कम्फरटेबल’ महसुस गरेनन् । यसैले उनले देउवातिरै दोस्तीको हात बढाएको बुझ्न सकिन्छ ।

‘सर्प पनि मर्ने, लौरो पनि नभाँचिने’ उपायको खोजी

के अब देउवा–ओलीबीच नयाँ गठबन्धन बन्छ वा यही गठबन्धनमाथि देखिएको ग्रहण हट्छ ? यसका लागि १५ फागुनमा बोलाइएको प्रतिनिधिसभाको बैठकले केही संकेत गर्न सक्छ ।

गिजोलिएको नेपाली राजनीतिले कुन आकार ग्रहण गर्ने हो भन्ने कुरा प्रतिनिधिसभामा देखिने चित्रले त्यसै दिन एउटा आकार लिन सक्छ । किनकि, अमेरिकाले त्यसको भोलिपल्ट अर्थात् १६ फागुनसम्मको समय सीमा दिएको छ, एमसीसी पास गर्नका लागि ।

छोटो समयमा ठूलो निर्णय गर्नुपर्ने स्थिति छ । यसैले, एउटा कित्ताबाट यो गठबन्धन जोगाउने र एमसीसी पनि पास गर्ने प्रयास भइरहेको छ ।

आज दिनभरिको विकसित घटनाक्रमको निचोड हेर्ने हो भने प्रचण्ड–नेपाल समूहका लागि गठबन्धन जोगाउने कुरा प्राथमिकतामा परेको देखिन्छ । यसले झन्डै झन्डै भत्किसकेको गठबन्धन राजनीतिको नयाँ मोडमा आइपुगेको छ ।

गठबन्धनभित्रको देउवा इतर समूहले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमसीसी पास गराउन परिस्थिति निर्माण गरिदिन सक्नेछन् । प्रचण्डको माओवादी केन्द्र र नेपालको नेकपा एसले प्रतिनिधिसभा बैठकमा एमसीसी निर्णयार्थ पेस हुँदा बैठक बहिस्कार गरेर एमसीसी अनुमोदनको वातावरण बनाउन सकिने गरी अघि सारेको सूत्रले काम गर्यो भने यो गठबन्धन जोगिन सक्छ ।

एमसीसी सम्झौता विकास परियोजना बाहेकका कुरामा दुरुपयोग हुने स्थितिमा नेपालले सम्झौता रद्द गर्न सक्नेगरी संकल्प प्रस्ताव पास गर्ने विकल्प पनि प्रचण्ड–नेपाल पक्षका लागि गठबन्धन जोगाउने आधार बन्न सक्छ । प्रचण्ड–नेपाल लगायतको समूहले एमसीसीभित्र जहाँ–जहाँ संशोधन खोजेका हुन्, त्यहाँ त्यहाँको व्याख्यात्मक घोषणा सम्झाउने–बुझाउने उपायले पनि गठबन्धन जोगिने र एमसीसी पनि पास हुने स्थिति बन्न सक्छ ।

तर, यदि यी सबै उपायले काम गरेन भने देउवा–ओलीबीच दोस्तीको नयाँ अध्याय शुरु हुने त छँदैछ ।

यो पनि…
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागी जनाएको कुराले

गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार

तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त