English

शहरमै छन् अन्धविश्वासका ‘अस्पताल’ (भिडियो पनि)

चेतनाको अभावमा कथित धामी, झाँक्री, माता र बाबाहरू मौलाइरहेका छन्


काठमाडौंस्थित गोंगबु चोकबाट गणेशस्थानतर्फ जाने बाटोमा एउटा होडिङ बोर्ड देखिन्छ । जहाँ ठूला–ठूला अक्षरमा निलो रङले लेखिएको छ, ‘झाँक्री तान्त्रिक सेवा’ । यससँगै बोर्डमा जोखाना हेर्ने, ग्रह शान्ति, चिन्ता मुक्त, शत्रुबाट छुटकारा, मोहनी फिराउने, छुट्टिएको जोडी मिलाउने, दाँतको किरा निकाल्ने, निःसन्तान लगायतका सेवा उपलब्ध हुने कुरा उल्लेख छ ।

सटर नै भाडामा लिएर झाँक्री तान्त्रिक सेवा दिइरहेका छन्, २८ वर्षीय झाँक्री गुरु– प्रकाश तामाङ । गत बुधबार दिउँसो करिब १ बजे तामाङकहाँ पुग्दा उनी तीन वर्षीय छोरासँग रमाउँदै थिए । बुधबार भएकाले उनी यो दिन कुनै तान्त्रिक काम गर्दैनन् । तैपनि, हामी उनको झाँक्री सेवा कक्षमा पस्यौँ । कोठा अगरबत्तीको बास्नाले मगमगाइरहेको थियो ।

पूर्वतिरको भित्ता विभिन्न देवी, देवताका तस्वीर सजाइएका छन् । तस्विर वरिपरि थरीथरी रङका झिलिमिली बत्तीले सिंगारिएको थियो । भुइँमा छ एउटा टेबल । जसको दायाँ–बाँया कलश राखिएका छन् । कलशमा रंगीविरंगी गुलाफका फूल छन् । कलशको बीचमा पानस बत्ती (दियो) बलिरहेको छ । तर, यो दिन काम नहुने भएकाले सेवाग्राही थिएनन् ।

झाँक्री सेवाबारे मेरोलाइफस्टाइलको जिज्ञासामा तामाङले मनोवैज्ञानिक सन्तुष्टि दिने आधार भएको जानकारी दिन्छन् । ‘झाँक्री सेवा लिन विभिन्न थरीका व्यक्ति मकहाँ आउँछन्,’ तामाङ झाँक्री सेवाबारे सविस्तारमा सुनाउँछन्, ‘अस्पताल गएर निको हुने रोगलाई मैले उपचार गर्न सक्दिनँ । तर, रोगको कारणले मर्छु कि ! भन्ने डर भएका व्यक्तिलाई सकारात्मक प्रतिक्रिया दिएर उनीहरूको मनोबल उच्च बनाउने काम गर्छु ।’

प्रकाश तामाङ
झाँक्री गुरु

अस्पताल गएर निको हुने रोगलाई मैले उपचार गर्न सक्दिनँ । तर, रोगको कारणले मर्छु कि ! भन्ने डर भएका व्यक्तिलाई सकारात्मक प्रतिक्रिया दिएर उनीहरूको मनोबल उच्च बनाउने काम गर्छु ।

तामाङले बाल्यकालमा बाजे, बुबाले झाँक्री काम गरेको देखेर सिकेका रहेछन् । उनले झाँक्री उपचारमा धेरैजसो तन्त्रमन्त्र र जडीबुटीको प्रयोग गर्छन् । तामाङले आफूकहाँ आएका ग्राहकलाई खाना नरुच्ने, अपच, छालाको एलर्जी निको गर्नेलगायत आयुर्वेदिक औषधि दिएर पठाउने गरेको सुनाउँछन् ।

तामाङकहाँ विशेष गरेर काम्ने, मुर्छा पर्ने बिरामी आउँछन् । ‘मकहाँ आएका बिरामीलाई धेरै शुल्क लिने गरेको छैन,’ तामाङ सहज हुँदै बोल्छन्– ‘स–साना रोगले मानिसलाई तनाव दिन्छ । उनीहरूको मनोविज्ञान बुझेर सोहीअनुसार झाँक्री काम गर्छु । तर, अस्पताल पठाउनुपर्ने बिरामीलाई अस्पताल जान सुझाउँछु ।’

उनीकहाँ दैनिक २० जना ग्राहक आउँछन् । खर्चबारे धेरै नखुलेका तामाङले सामान्यतया ग्रह कटाएको शुल्क तीन हजार रुपियाँ र टुनामुना निको गरेको थप चार हजार रुपियाँ लिने गरेको बताए ।

तामाङजस्तै वर्षौंदेखि झाँक्री काम गर्दै आएका छन्, खानीखोला गाउँपालिका वडा नं–६ का प्रेम लामा । उनले झाँक्री काम गरेको २२ वर्ष बित्यो । तामाङको जस्तो उनले सटर नै खोलेर भने बसेका छैनन् । उनलाई धेरैजसो भक्तपुर, ललितपुर, चितवनका ग्राहकले फोन गरेरै बोलाउँछन् । ‘मैले प्रायः भूत, प्रेत लागेको, जादु, टुना निको पार्छु,’ उनको ठोकुवा थियो । भूत पनि हुन्छ ? मेरोलाइफस्टाइलको जिज्ञासामा लामा भूतलाई आफूले ठेगान लगाएको दाबी गर्न चुकेनन् ।

यो २१औं शताब्दीमा चिकित्सकीय विज्ञान जगजगी भइरहेका बेला यी दुई झाँक्रीका कुरा एकादेशका कथाजस्ता सुनिन्छन् । तर, यी प्रतिनिधि पात्र मात्र हुन् । यस्तै, भूत, भविष्य र अदृश्य शक्तिको कुरा गर्दै सयौंले संघीय राजधानीमा लुकेर होस् वा खुलेआम गरिखाने बाटो बनाइरहेका छन् । भलै, यिनैको विश्वासमा परेर कतिले अकालमा मृत्युवरणसमेत गरेका उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन ।

घटना–१ : सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी भक्तपुर बस्दै आएकी १४ वर्षीया रोशनी श्रेष्ठ । उनलाई एक्कासि टाउको दुख्ने समस्या देखियो । लामो समयसम्म टाउको दुख्न निको भएपछि उनकी आमा राधिकाले ३ पुस २०७८ मा कथित माताकहाँ पुर्याइन् । ती कथित माता हुन्– उमा ठकुरी । ठकुरीले रानीवनमा आश्रम नै बनाएर झारफुक गर्दै आएकी थिइन् । उमालाई निको बनाएरै छोड्ने भन्दै ती बालिकालाई आश्रममै राख्न भनिन् ।

छोरी निको हुने आशमा राधिकाले रोशनीलाई उमाकै आश्रममा छोडेर घर गइन् । २३ पुस राति रोशनी बेहोस भएको भन्दै परिवारलाई खबर आयो । परिवार आश्रम पुग्दा रोशनी होसमा थिइनन् । तत्काल उनलाई स्वयम्भूस्थित मनमोहन अस्पताल लगियो । यद्यपि, उनको प्राण फर्काउन सकिएन । झारफुकका क्रममा रोशनीलाई मुक्का एवम् त्रिशुलले समेत प्रहार गरेको र निरन्तर कुटाइबाट बालिकाको ज्यान गएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । ती माता भनिइने उमा यतिबेला थुनामा छिन् ।

घटना–२ : १७ चैत २०७३ । पश्चिम रोल्पाकी २० वर्षीया विमला रोका । उनलाई ४ दिनसम्म सुत्केरी व्यथाले च्याप्यो । व्यथा कम गर्न भन्दै परिवारले गाउँकै धामीलाई बोलाएर झारफुक गर्न लगाए । चौथो दिनमा उनी बेहोस भइन् । धामीको केही सीप लागेन । त्यसपछि परिवारले उनलाई जिल्ला अस्पताल रोल्पा लगे । तर, धामीकै भरपर्दा विमला र उनको गर्भमा रहेको शिशुले अकालमा ज्यान गुमाउनुपर्यो ।

घटना–३ : १ असोज २०७५ । हेटौंडा–११ की सावित्री पुडासैनी । ज्यानमा सञ्चो नभएपछि चौधघरेस्थित ओमबाबा आश्रममा गइन् । बिहान करिब १० बजे आश्रम छिरेकी पुडासैनी झारफुककै क्रममा बेहोस् भइन् । बेहोसपछि पनि करिब ४ घण्टा बाबा झारफुकमै लागे । साथै, फुकेरै होस आउँछ भन्दै आफन्तलाई आश्वासन दिए । यद्यपि, सावित्रीको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि दिउँसो करिब ३ बजे चुरेहिल अस्पताल लगियो, जहाँ पुर्याउँदा उनको निधन भइसकेको अस्पतालले पुष्टि गर्यो ।

माथिका यी तीन घटनाले नेपाली समाजमा अन्धविश्वासको जालो कतिसम्म फैलिएको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यस्तै, कथित माता, धामी झाँक्रीको विश्वासमा पर्दा थुप्रैले अकालमै प्राण त्यागिरहेका छन् ।

चेतनाको अभाव, अन्धविश्वासको उपज

विश्वजगत्मा विज्ञान तथा प्रविधिले ठूला फड्को मारिसकेको छ । साथै, आधुनिक चिकित्सा प्रणालीको विकास सोचेभन्दा बढी भएको छ । तैपनि, देशको संघीय राजधानीमै कथित माता, धामी झाँक्री प्रथा मौलाइरहेको छ । आखिर किन ?

समाजशास्त्री दिपक पोखरेल भन्छन्, ‘समाज आधुनिकतातर्फ गएपनि हिजोका परम्परा र अन्धविश्वासलाई छोड्न नसक्दा कथित धामी, झाँक्री, माता र बाबाहरू मौलाइरहेका छन् ।’

यसमा कतिपय मानसिक र मनोविज्ञानका कुराहरू पनि जोडिने पोखरेल बताउँछन् । ‘मानसिकता र मनोविज्ञानलाई आधुनिकताको नाममा छोड्न नसकेसम्म समाजमा झाँक्री परम्पराले निरन्तरता पाइरहन्छ,’ उनले भने, ‘मान्छेको अन्धविश्वासलाई हतियार बनाएर उनीहरूलाई भ्रमित बनाउने चलखेल भइरहेको छ । नेपाली समाजमा चेतनास्तर विकास भइनसकेको कारणले पनि झाँक्री परम्पराको अन्त्य हुन नसकेको हो ।’

दिपक पोखरेल
समाजशास्त्री

मान्छेको अन्धविश्वासलाई हतियार बनाएर उनीहरूलाई भ्रमित बनाउने चलखेल भइरहेको छ । नेपाली समाजमा चेतनास्तर विकास भइनसकेको कारणले पनि झाँक्री परम्पराको अन्त्य हुन नसकेको हो ।

यस्तै, सामाजिक संरचनाको कारणले पनि नेपालमा अझै झाँक्रीकहाँ जाने प्रचलन कायम छ । हाम्रो घर, परिवारमा गरिने अभ्यासले पनि यसलाई बढावा दिइरहेको केही समाजशास्त्रीहरूको तर्क छ । हिजो जुन खालको मूल्य, मान्यता थिए, त्यसबाट बाहिर आउन नसकेको स्थितिमा झाँक्री परम्परा मौलाएको समाजशास्त्री डा. टिकाराम गौतम बताउँछन् ।

‘मेडिकल साइन्सबाट निदान नभएको रोग झाँक्रीले उपचार गरेर निको भयो’ भन्ने मनोवैज्ञानिक सोचले झाँक्री पेसालाई प्रोत्साहन गरिरहेको डा. गौतमको ठम्याइ छ ।

‘मानिसको मनोविज्ञानलाई आधार बनाएर झाँक्रीले उपचारको नाममा आगोले डाम्ने, त्रिशुलले घोच्ने, पोल्ने, जलाउनेजस्ता क्रियाकलापले कसैलाई पनि पीडा दिनुहुँदैन,’ डा. गौतम सुझाउँछन्, ‘मनोवैज्ञानिक रूपले झाँक्रीहरूले उपचार गर्ने कुरा एकतर्फ छ । तर, नाफा कमाउने ध्येयले शारीरिक र मानसिक तनाव दिने कार्यलाई नियन्त्रण र नियमन गर्नतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।’

सामाजिक संरचनाका साथै आधुनिक स्वास्थ्य प्रणालीको पहुँच कमजोर हुनाले पनि दूरदराजमा धामी–झाँक्री पेसा मौलाइरहेको डा. गौतमको बुझाइ छ । ‘कुन रोगको उपचार कहाँ गर्ने ? भन्ने उचित जानकारी नहुँदा धेरैजना झाँक्रीकहाँ जाने गरेका छन्,’ समाजशास्त्री डा. गौतम गम्भीर सुनिए, ‘आधुनिक शिक्षा र स्वास्थ्यको सहज पहुँच नहुँदासम्म यो अन्धविश्वासले नेपाली समाजलाई गिजोलिरहन्छ ।’

गरिबी नै अन्धविश्वासको जड

नेपालमा अझै पनि कतिपय मानिस आधुनिक शिक्षा, स्वास्थ्यसँग जोडिएका चेतना, शिक्षा, स्वास्थ्य, पोषणजस्ता ज्ञानसँग अनभिज्ञ छन् । त्यसो त कतिपयले आफ्ना बाजे, जिजुबाजेले अपनाउँदै आएका स्वास्थ्यसँग जोडिएका अभ्यासलाई निरन्तरता दिँदै आएका छन् । समाजमा रहेका मूल्य, मान्यताहरू पूर्णरूपमा वैज्ञानिक तथा आधुनिकतामा रूपान्तरण नहुँदासम्म समाजमा अन्धविश्वास व्याप्त रहने समाजशास्त्री डा. गौतम बताउँछन् ।

‘२१औं शताब्दीतिर पनि झाँक्रीको परम्परागत उपचार पद्धति पुरानै छ,’ समाजशास्त्री डा. गौतम भन्छन्, ‘रोग निको हुनलाई रोगको निदान हुनुपर्छ । निदान भएपछि मात्र रोगको उपचार के कुराले गर्न सकिन्छ, भन्ने थाहा हुन्छ ।’

तर, नेपाली समाजमा जकडिएको झाँक्री उपचार पद्धति र रोग निदान गर्ने तरिका दुवै कमजोर छन् । उनीहरूले अदृश्य शक्तिप्रतिको विश्वासका आधारमा झारफुक गर्छन् । यस्तो उपचारले बिरामीलाई शारीरिक र मानसिक बाधा पुर्याउने डा. गौतमको ठम्याइ छ । त्यसो त झाँक्रीको उपचारबाट सकारात्मक परिणाम नआउने, अनावश्यक समस्या बल्झिने र रोग बढ्दै जाने उनको तर्क छ ।

हेर्नुहोस भिडियो:

विज्ञापनले सघाउँदै, छैन नियमन

हिजोआज सामाजिक सञ्जालमा उपचारको नाममा विभिन्न विज्ञापन देखिन्छन् । कतिपयले ती विज्ञापनमा आँखा चिम्लेर विश्वास गर्छन् । त्यस्ता विज्ञापन कुन वैज्ञानिक पद्धतिमा टेकेर गरिएको हो ? भन्ने कुरामा सजग र सतर्क हुनुपर्ने समाजशास्त्री डा. गौतमको सुझाव छ ।

‘रोगको उपचार गर्ने आधार के हो ? यथार्थ नबुझी विज्ञापनमा विश्वास गर्नुहुँदैन,’ समाजशास्त्री डा. गौतम नागरिकलाई सजग गराउँछन्, ‘विज्ञापनको आधारमा भ्र्रमित हुनबाट बच्नुपर्छ । आम नागरिकले पनि सरकारले प्रमाणित गरेका स्वास्थ्य सूचनालाई मात्र आधार मान्नुपर्छ ।

विज्ञापन गर्ने संघ, संस्थाले पनि कानुन, नियम, स्वास्थ्य प्रणालीमा रहेर विज्ञापन गर्न आवश्यक छ ।’ समाजशास्त्री डा. गौतमका अनुसार झाँक्री सेवा परम्परागत र आस्थामा आधारित उपचार प्रणाली हो । यसको कुनै वैज्ञानिक आधार छैन । त्यसैले, रोगको उपचार अस्पताल वा आधुनिक स्वास्थ्य प्रणालीमा हुन्छ भन्ने चेतना जागृत हुन आवश्यक छ । सबै प्रदेशका स्थानीय निकायले पनि गाउँ, टोल, समाजमा स्वास्थ्य उपचारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ ।

परम्परागत उपचार पद्धतिजस्तै आधुनिक स्वास्थ्य प्रणालीलाई सहज र सर्वसुलभ बनाउन सकेमा झाँक्री परम्परालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको ठहर छ । समाजमा गडेको सामाजिक कुरीति र अन्धविश्वासलाई हटाउन राज्य, नागरिक स्तरबाट पहल आवश्यक रहेको समाजशास्त्रीहरूको तर्क छ ।

वैज्ञानिक उपचार पद्धति आवश्यक

झाँक्री विधा र मेडिकल विधा फरक पाटो हो । झाडापखाला वा कुनै दुर्घटना भयो भने झाँक्रीले निको गर्न सक्दैनन् । मान्छेलाई रोग लाग्यो भने वैज्ञानिक प्रणालीबाट नै उपचार गर्नुपर्ने फेमिली फिजिसियन डा. विश्वराज दवाडी बताउँछन् ।

‘झाँक्रीमा कसैले विश्वास गर्छन् भने त्यो उनीहरूको स्वेच्छाको विषय भयो । तर, रोग वा जटिल स्वास्थ्य अवस्थामा औषधि र चिकित्सकको आवश्यकता पर्छ,’ झाँक्री विधिप्रति विमति राख्ने डा. दवाडी भन्दै थिए, ‘धेरैजसो देवता, भूतप्रेत, काम्ने भयो भनेर अन्धविश्वासको आडम्बरमा झाँक्री कहाँ जान्छन् ।

तर, गर्भवती महिला, बच्चा पाउन नसक्दा, वान्ता, झाडापखाला, ज्वरो लगायतका स्वास्थ्य समस्या भएमा झाँक्री कहाँ कदापि जानुहुँदैन ।’

डा. दवाडीका अनुसार मान्छेले ढुङ्गा, नाग, पिपललगायत अन्य कुरालाई ढोग्ने, पूजा गरेको देखिन्छ । सोहीअनुसार विश्वासले झाँक्री कहाँ जान्छन् । तर, ‘रोग लागेको छ । उपचार गर्छु,’ भन्ने ध्येयले कसैले पनि झाँक्रीकहाँ जानुहुँदैन । देवता, माता चढ्ने भनेको मानसिक स्थितिसँग जोडिएको हुन्छ ।

यस्ता कुराको लागि मेडिकल विधामा मनोचिकित्सक छन् । वैज्ञानिक युगमा मान्छेलाई कुटेर, पछारेर, आगोले डामेर, थिचेर कुनै पनि रोगको उपचार नहुने उनको तर्क छ ।

‘धेरैजसो झाँक्रीकहाँ मुर्छा पर्ने बिरामीलाई अत्यधिक लगिन्छ,’ डा. दवाडी समस्या सुनाउँछन्, ‘तर छारेरोग, सिजर डिसअर्डर, नसासम्बन्धि तथा शरीरमा अन्य केही कुराको कमीले मुर्छा पर्ने समस्या हुन्छ ।’ यस्ता समस्या भएका बिरामी तुरुन्त चिकित्सक कहाँ लैजानुपर्ने उनी सुझाउँछन् ।

डा. विश्वराज दवाडी
फेमिली फिजिसियन

झाँक्रीमा कसैले विश्वास गर्छन् भने त्यो उनीहरूको स्वेच्छाको विषय भयो । तर, रोग वा जटिल स्वास्थ्य अवस्थामा औषधि र चिकित्सकको आवश्यकता पर्छ

डा. दवाडीका अनुसार आम जनमानसका साथै झाँक्रीलाई पनि शिक्षा दिन आवश्यक छ । झाँक्रीले पनि आफूले उपचार गर्नसक्ने रोगमा मात्र हात हाल्नुपर्छ । अस्पताल जानुपर्ने बिरामीलाई झारफुक गरेर अल्झाउन नहुने डा. दवाडी बताउँछन् ।

‘झाँक्रीहरूले कस्तो बिरामीलाई हेर्ने ? कुन अवस्थाको बिरामीलाई आपतकालीन मेडिकल पठाउने ? भन्ने हेक्का राख्नुपर्छ,’ डा. दवाडी झाँक्रीलाई सुझाव दिँदैछन्, ‘मान्छेको जीवनको सवाल हुन्छ । त्यसैले, आफूले गर्न नजानेको कुरामा हात हाल्नुहुँदैन । यसमा सरकारले पनि जनचेतना फैलाउन आवश्यक छ ।’

लुटलाई नियन्त्रण गर्न झाँक्री संघ

हरेक क्षेत्रका आ–आफ्नै संघ संस्था भएजस्तै झाँक्रीहरूको पनि एउटा संघ छ । त्यो हो– ‘नेपाल झाँक्री संघ’ । जसले झाँक्री पेसालाई मर्यादित बनाउन काम गरिरहेको संघका अध्यक्ष चेतबहादुर थिङको तर्क छ ।

साँच्चै झाँक्रीभन्दा पनि कथित झाँक्रीहरूले यसलाई दूषित बनाइरहेका छन्,’ उनले भने, ‘यस्ताखाले लुट र हिंसालाई रोक्नका लागि हामीले संघ खोलेका हौँ ।’ संघमा काठमाडौं उपत्यकाभित्र मात्रै पाँच सय झाँक्री केन्द्र दर्ता भएका छन् ।

चेतबहादुर थिङ
अध्यक्ष
नेपाल झाँक्री संघ

एक/दुई जना झाँक्री लुटले सबै झाँक्री बदनाम भए । झाँक्रीको नाममा गरिने विभिन्न किसिमका हिंसालाई नियन्त्रण गर्न नै संघ खोलिएको हो ।

थिङका अनुसारका विशेषगरी काम्ने, मुर्छा पर्ने, ढाड दुख्ने लगायतका समस्या भएका मानिसहरूले धामी–झाँक्रीले निको पार्छ भन्ने विश्वास गर्छन् । तर, पिटेर, कुटेर, डामेर उपचार नगर्न झाँक्रीलाई सुझाएको उनले स्पष्ट पारे । ‘धामी, झाँक्री, माता समाजलाई चाहिनेभन्दा बढी छन्,’ अध्यक्ष थिङ भन्छन्, ‘एक/दुई जना झाँक्री लुटले सबै झाँक्री बदनाम भए । झाँक्रीको नाममा गरिने विभिन्न किसिमका हिंसालाई नियन्त्रण गर्न नै संघ खोलिएको हो ।’

अध्यक्ष थिङको दाबी पत्याउने हो भने सच्चा झाँक्रीले बिरामीलाई नछोएरै उपचार गर्छन् । उपचार गर्न नसक्ने अवस्थामा तुरुन्त अस्पताल लैजान सुझाब दिनुपर्छ भन्ने उनको कथन छ । बिरामीले स्वेच्छाले दिएको शुल्क झाँक्रीले लिनुपर्छ भन्ने उनको मान्यता हो । संघले ठगी गर्ने धामी, झाँक्रीलाई कारबाही गर्ने गरेको समेत उनको दाबी थियो ।

यी त भए दाबीका कुरा ।

एकपटक फेरि डा. दवाडीलाई सुनौँ । ‘उपचार गर्ने कुरा मान्छेको जीवन–मरणको कुरा हो । यसैले, आफूले जानेको कुरामा पो हात हाल्नु, जान्दै नजानेको कुरामा पनि जाने जस्तो गरेर किन भ्रम फैलाउनु ।’

त्यसो भए यसरी भ्रममा पारेर बिरामी उपचार गर्छु भन्ने अन्धविश्वासको ‘अस्पताल’ किन जाने त ?
भिडियो – किरण स्याङ्बो
यो पनि…
अब समाजले नसोधोस्–‘रातो सारी, चुरा पोते किन नलाको ?’ (भिडियो पनि)
एसिड पीडित जो आफैं जुटाउँदैछन् हिम्मत



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र