अधिकांश राजनीतिज्ञ जेष्ठ नागरिक, छैन ‘रिटायर्ड’ को सुरसार



‘म ६६–६७ वर्षको भएँ, तर अझै छोड्दिन ।’

२७ फागुनमा माओवादी निकट स्वास्थ्यकर्मीहरुलाई संबोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै उमेरको लेखाजोखा गर्दै अझै राजनीति नछोड्ने बताएका हुन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित उक्त कार्यक्रममा उनले राजनीति नछोड्ने मात्र होइन राजधानी छोडेर क्रान्तीको बाटोमा जानसक्ने समेत बताए ।

जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा ‘६० वर्ष उमेर पूरा गरेको नागरिकलाई जेष्ठ नागरिक सम्झनु पर्छ’ भनिएको छ । अर्थात माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ६ बर्षअघि नै जेष्ठ नागरिक भइसकेका नेता हुन् । तर, उनको सक्रियता उत्तिकै छ । कर्मचारी भएको भएपनि प्रचण्ड ८ वर्ष अघि नै निवृत्त भइसकेका हुन्थे ।

‘प्रचण्ड’ मात्र होइन सबैजसो मुल पार्टीको नेतृत्वमा बसेका नेताहरु जेष्ठ नागरिक नै भइसकेका छन् । कुरा शुरु गरौँ हालको सबैभन्दा ठूलो तथा सत्तारुढ पार्टी नेकपा एमालेका नेताहरुको उमेर प्रसंगबाट । यस पार्टीका अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओली ६९ वर्ष भएका छन् । उनी अझै अर्को कार्यकाल पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री बन्ने दाउमा छन् । यही कारण पार्टी विधानमा रहेको ७० बर्षे उमेर हदलाई ओलीले २८ फागुनमा ‘डिलिट’ हानिसकेका छन् ।

त्यसैगरी एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि ६० प्लस भएका नेता हुन् । उनी हाल ६७ वर्षका भए ।

प्रायः एमाले नेताहरु जेष्ठ नागरिक !

प्रधानन्त्री र उपप्रधानमन्त्री मात्र होइन एमालेका अधिकांश नेता ६० कटेका छन् । जस्तो: संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ जेष्ठ नागरिक भएको ८ वर्ष कट्यो । अर्थमन्त्री विष्णु पौडेल भर्खरै जेष्ठ नागरिक भएका छन् । पौडेल ६१ बर्षका भए ।

बरिष्ठ नेता झलनाथ खनाल ७० का भए । उनीभन्दा दुई वर्ष जेठा छन् उपाध्यक्ष वामदेव गौतम । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि ६८ वर्षको भइसकेका छन् भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ६७ वर्ष पुगिसकेकी छिन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ६५ वर्ष पुगे ।

वैधानिकरुपमा ४० वर्ष उमेर नकटेकासम्मलाई युवा मानिन्छ । तर भनिन्छ, एमालेमा ५० कटेकाहरु सबैै युवा मानिन्छन् । जस्तो प्रदीप ज्ञवाली ५८, शंकर पोखरेल ५७ र योगेश भट्टराई ५४ । यी तीनैजना नेताले युवाको परिचय बनाएका छन् ।

कांग्रेसमा युवा भनिनेहरु नै जेष्ठ !

सभापति शेरबहादुर देउवाको उमेर ७४ वर्ष पुगेको छ । उनी सन् १९४६ मा जन्मेका हुन् । उनकी पत्नी डा. आरजु देउवा समेत ६२ वर्ष पूरा भएकी छन् ।

देउवाभन्दा दुइवर्ष पाका छन् बरिष्ठ नेता रामचन्द्र पौडेल । उनको जन्म सन् १९४४ मा भएको हो । पौडेल हाल ७६ वर्षका भए ।

त्यसैगरी कांग्रेसमा रहेका तीन कोईराला पनि जेष्ठ नागरिक बनिसकेका छन् । जस्तोः शेखर ७०, सुजाता ६७ र शशांक ६२ वर्ष ।

कांग्रेसका अन्य धेरै नेताहरु पनि जेष्ठ भइसकेका छन् । जस्तो: उपाध्यक्षद्वय विमलेन्द्र निधि ६४, विजयकुमार गच्छदार ६७, पूर्व महामन्त्री प्रकाशमान सिंह ६४, रामशरण महत ७० र कृष्णप्रसाद सिटौला ७० भइसकेका छन् ।

नेपाली कांग्रेसमा युवा नेताहरु नभएका होइनन् । तर, कांग्रेसमा ‘६० कटेकाहरुलाई पनि युवा नै भन्ने चलन छ’ भनेर ठट्टा पनि गरिन्छ । चर्चित नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा अपवाद हुन् ।

अन्य चलेका नेताहरु पनि जेष्ठ

राजपाका सबैजसो मुख्य नेताहरु ६० कटेका छन् । जस्तो महन्त ठाकुर ६९, डा. बाबुराम भट्टराई ६६ र राजेन्द्र महतो ६२ रहेका छन् । त्यसैगरी लक्ष्मणलाल कर्ण ७३ पुगेका छन् ।

पुराना वामपन्थी नेता मोहनविक्रम सिंह र चित्रबहादुर केसी ८० कटिसक्दा समेत ‘रिटायर्ड’ भएका छैनन् । माओवादी केन्द्रका युवा भनिएका नेताहरु पनि ५० कटिसकेका छन् भने धेरैजसोले ६० पार गरेका छन् । सभामुख अग्नी सापकोटा ६३ र कृष्णबहादुर महरा ६२ रहेका छन् ।

त्यसैगरी राप्रपाका तीन अध्यक्ष कमल थापा, डा. प्रकाशचन्द्र लोहोनी र पशुपतिशमशेर राणाको उमेर क्रमश: ६५, ७६ र ७९ रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पनि ७३ वर्ष भइसकेका छन् ।

सानै उमेरमा उच्च पद सम्हालेकाहरु

२९ बर्षको उमेरमा जंगबहादुर राणा नेपालको प्रधानमन्त्री बने । विक्रम संवत १८७४ मा जन्मिएका जंगबहादुर विक्रम संबत १९०३ मा नेपालको आठौं प्रधानमन्त्री बनेका थिए । विक्रम संबत १९३३ मा रौतहटको पथ्थरघट्टामा ५९ बर्षमा मृत्यु हुँदासम्म उनले ३० वर्ष कार्यकारी प्रमुखको रुपमा शासन सञ्चालन गरिसकेका थिए ।

जंगबहादुरको कथा निकै पुरानो भइसक्यो । खासगरी २००७ सालमा प्रजातन्त्र आएपछि पनि कम उमेरमा जनताका छोरा–छोरीले उच्च पद सम्हालेका उदाहरण छन् । जस्तो – विक्रम संबत १९८३ मा जन्मेका डा. तुलसी गिरी २०१९ सालमा ३६ वर्षको उमेरमा २३ औं प्रधानमन्त्री बने । विक्रम संबत २०१६ सालमा प्रधानमन्त्री बन्दा बीपी कोईराला ४४ वर्षका मात्र थिए । जननिर्वाचित तर्फ कम उमेरमा प्रधानमन्त्री बन्ने नेता कोईराला नै हुन् ।

बीपी गृहमन्त्री बन्दा पनि कम उमेरकै थिए । उनी राणा–कांग्रेस संयुक्त सरकारमा ३६ वर्षकै उमेरमा मन्त्री बनेका थिए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि विक्रम संबत २०५१ सालमा गृहमन्त्री बन्दा मात्रै ४३ वर्षका थिए ।

गणतन्त्र स्थापना पछि कम उमेरमा मन्त्री बन्नेमा राजपाका नेता मोहम्मद इस्तियाक राई पर्छन् । उनी ३१ बर्षमा श्रम मन्त्री बनेका थिए । उनी पहिलो पटक मन्त्री बनेको वर्ष बि.स.२०६८ साल हो ।

कम उमेरमा सभामुख हुने व्यक्ति चाहिँ कृष्णप्रसाद भट्टराई हुन् । २०१६ सालमा उनी प्रथम सभामुखको सपथ ग्रहण गरिरहँदा मात्रै ३५ वर्षका थिए । पछि उनी नेपालको २९ औँ प्रधानमन्त्री समेत भएका थिए । भट्टराई विक्रम संबत १९८१ मा गोरखामा जन्मिएका थिए ।

पहिलो महिला सभामुख ओनसरी घर्ती पनि सानै उमेरमा सभामुख हुनेमा पर्छिन् । उनी सभामुख हुँदा मात्रै ३७ वर्षकी थिइन् ।

पार्टी तर्फको कुरागर्दा नेकपा मालेको प्रथम महासचिव हुन् सीपी (चन्द्र प्रकाश) मैनाली । उनी महासचिव बन्दा मात्र २७ बर्षका थिए । बिक्रम संबत २००८ सालमा जन्मेका उनी २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी मालेको महासचिव बनेका थिए । उनीपछि ३३ वर्षमा झलनाथ खनाल मालेको महासचिव बनेका थिए । त्यसैगरी कांग्रेसको सभापति बन्दा मात्रिका प्रसाद कोईरालाको उमेर ३४ वर्षको थियो ।

मालेका अर्का महासचिव मदन भण्डारी पनि कम उमेरमा नै महासचिव बनेका थिए । उनी महासचिव बन्दा जम्मा ३७ वर्षका थिए । बिक्रम संबत २०११ साल मंसिर २६ गते जन्मेका ‘प्रचण्ड’ २०४६ सालमा नेकपा मशालका महामन्त्री बनेका थिए । अर्थात उनी ३५ बर्षका थिए । उनी जनयुद्धको मुख्य कमाण्डर बन्दैगर्दा ४२ बर्षका मात्रै थिए ।

आम राजनीतिज्ञहरुप्रति जनताको आशा मरिसकेको देखिन्छ । आधा शताब्दीदेखि नेतृत्व गर्दै आएका नेताहरुले आधुनिक समाजलाई संबोधन गर्न नसकेको समाजशास्त्रीहरु विश्लेषण गर्छन् । अर्थात जनताको चेतनास्तर र अन्तर्राष्ट्रिय ‘ट्रेन्ड’ अनुसार नेतृत्वको थोत्रो सोचले तालमेल गरेको देखिदैन ।

तर, नेपाली राजनीतिज्ञहरुमा ‘रिटायर्ड’ संस्कार छैन । तत्कालीन एमाले नेता मोदनाथ प्रश्रित अपवाद मात्र हुन् ।

जेष्ठ नागरिक बनिसक्दा समेत उनीहरु सक्रिय भइरहेकाले युवाहरुले नेतृत्व पाउन सकिरहेका छैनन् । यसैको पछिल्लो प्रमाण हो, ६६ वर्षमा पनि अझै छोड्दिन भन्ने प्रचण्ड घोषणा ।

र, ६९ बर्ष पुगेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी विधानमा उल्लेख गरिएको ७० वर्षे उमेरहदलाई जबर्जस्ती हटाउनुको अर्थ पनि उनले नेतृत्व छोड्दैनन् भन्ने प्रमाण हो । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा समेत ७४ वर्ष पुगिसक्दा आगामि कार्यकालको सभापति ताकिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पछिल्लो एकवर्ष बढी समयदेखि विश्वनै कोरोना कहरबाट ग्रुजिरहेको छ । जतिसुकै जटिल परिस्थिती किन नहोस् सारा विश्वलाई आतंकित पारेको यो

एकै बाबुआमाका दर्जन छोराछोरी । दोलखाकोे रोल्वालिङ जस्तो दुर्गम गाउँ । त्यहाँ माथि गरिबीले गिजोलेको परिवार । गाउँलेले भन्थे फलानाले

कोरोना भाइरसका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । आम मानिसहरु घरमै बस्न बाध्य छन् । निषेधाज्ञाले कतिपयलाई घरपरिवारसँग समय

किसन राई कोरोना भाइरस (कोभिड–१९)ले विश्व आक्रन्त भएको अवस्थामा हङकङ अछुतो रहेको छैन । कतिपय मुलुक भयावह स्थितिबाट गुज्रिरहेको भएपनि