English

भदौ २० गतेबाट सवारी लाइसेन्सको परीक्षा सुरु हुने, यस्तो छ मापदण्ड



कोरोना महामारीको दोस्रो लहरका कारण पाँच महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । यातायात व्यवस्था विभागले यातायात कार्यालयहरूलाई कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर लाइसेन्सको परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

विभागले गत बिहिबार यातायात कार्यालयहरुलाई निर्देशन दिए पनि कार्यालयहरुले कहिलेबाट सञ्चालन गर्ने जानकारी नआएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए । ‘हामीले १० गते नै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्नु भनेर यातायात कार्यालयमा प्रोट्रोकल सहितको पत्र पठाएका छौँ,’ भुसालले भने, ‘लिखित र ट्रायल कहिले सञ्चालन हुने यातायात कार्यालयलाई नै थाहा हुन्छ ।’

३ देखि ४ लाखको हाराहारीमा अनलाइन आवेदन दिएर परीक्षाका लागि पर्खाइमा बसेका छन् । यी परिक्षार्थीहरुको चाप कम भएपछि मात्रै लाइसेन्सको अनलाइन आवेदन खुल्ला गरिने भुसालले बताए । कोभिडका कारण जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र हल उपलब्धताका आधारमा एक सिफ्टमा बढीमा एक सय जनाको परीक्षा गराउने निर्देशिकामा उल्लेख छ । त्यसैगरी कार्यालयले तोकेको सिफ्टमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिनेछ साथै, उसलाई सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी गराइने छैन ।

काठमाडौं उपत्यकामा भदौ २० गतेबाट सुरु हुने

स्वास्थ्य मापदण्ड अपनाएर उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूले भदौ २० गतेबाट परीक्षा सञ्चालन हुने भएका छन् । उपत्यकाका यातायात व्यवस्था कार्यालयय जगाती, एकान्तकुना, ठूलो भर्याङ र चाबहिलमा अर्को साताबाट लाइसेन्सको परीक्षा सञ्चालन हुँदैछ । अर्को हप्ताबाट हुने लाइसेन्स परीक्षामा बायोमेट्रिक भई लिखित परीक्षा सामेल हुन बाँकी, लिखित परीक्षा दिई ट्रायलमा सहभागी हुन बाँकी र पुनः ट्रायल दिन बाँकी रहेकाहरु सहभागी हुन पाउने छन् । कार्यालय भिजिट नगरेका लागि अर्को सूचना जारी गरिने यातायात व्यवस्था कार्यालय ठूलो भर्याङका सूचना अधिकारी उपेन्द्र शाहले जनाए ।

‘बैशाख १५ गते पहिला अघि प्रक्रियामा समावेश गर्नु भएकाहरूका लागि परीक्षा सञ्चालन गरेका छौ,’ कार्यालय चाबहिलका सूचना अधिकारी रोहित पोखरेलले भने, ‘बायोमेट्रिक भई लिखित परीक्षा दिन बाँकी रहेका चाबहिलमा ३ सयका हाराहारीमा रहेका छन् ।’

कुन परीक्षार्थीले कति अंकको दिने ट्रायल ?

यातायात व्यवस्था विभागले लाइसेन्सको परीक्षा प्रणालीलाई व्यवस्थित गर्न नयाँ नियम लागू गर्ने तयारी गरेको छ । अब निषेधाज्ञा पछि भने लाइसेन्सको परीक्षा नयाँ नियमबाट लिइने डा. भुसाल बताउँछन् । तर, लिखित परीक्षा दिइसकेकाले भने पुरानै नियमअनुसार ट्रायल दिनुपर्नेछ । ‘लाइसेन्सको लिखित परीक्षा दिइसकेकाहरुले ट्रायलमा १ सय नम्बर नै ल्याउनुपर्ने छ,’ उनले भने, ‘अब लिखित परीक्षामा सहभागी हुनेले ट्रायलमा ७० अंकमात्र ल्याए पुग्छ ।’

कस्तो छ नयाँ नियम ?

सवारी चालक अनुमति पत्र परीक्षाको लिखित परीक्षाका लागि ५ सय वटा प्रश्न तयार गरिएको छ । जसलाई पहिले नै विभागको वेबसाइटमा राखिएको छ । त्यसैबाट २० प्रश्न परीक्षार्थीलाई सोधिनेछ ।

ट्रायलमा यी कुरा बिगारे कति नम्बर काटिन्छ ?

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ, उभड खाबड (स्पिड ब्रेकर), यु टर्न, ट्राफिक सङ्केत, ¥याम्प (उकालो), ग्यारेज र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कन गरी एक सय अंकबाट ७ चरणमा अंक दिइनेछ । जसबाट ७० अंक आएमा उत्तीर्ण गरिनेछ ।

घुमाउरो आठमा एकपटक अंकित रेखा छोएमा ५ अंक र एकपटक खुट्टाले जमिन टेकेमा ५ अंक गरी १० अंक कटिनेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक कटिनेछ । ट्राफिक सङ्केतको पालना नगरेमा १५ अंक कटिने छ । बम्प्स (उभड खाबड) मा एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ र एक पटक खुट्टा टेकेमा ५ गरी १० अंक काटिने छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनमा सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक, हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अंक काटिने छ ।

लिखित परीक्षा उत्तिर्ण गर्न ८० नम्बर

लाइसेन्सको लिखित परीक्षामा परीक्षार्थीले १०० पूर्णाङ्कमा ८० नम्बर ल्याउनुपर्नेछ । जसका लागि विभागले आफ्नो वेबसाइटमा ५ सय वटा प्रश्न सार्वजनिक गरिसकेको छ । अब यही प्रश्नबाट २० प्रश्न सोधिनेछ । हरेक प्रश्नको अंकभार ५ रहेको छ । त्यसैले परीक्षार्थीले उत्तीर्ण हुनका लागि १६ वटा प्रश्नको उत्तर मिलाउनुपर्ने हुन्छ ।

लाइसेन्सका परीक्षाका लागि यस्तो छ मापदण्ड

– नेपाल सरकारले तोकेको स्वास्थ्यसुरक्षा मापदण्ड लागू गराउन सकिने गरी कार्यालयको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक सिफ्टमा बढीमा एक सय जना परिक्षार्थीको परीक्षा गराइने छ ।

– एउटा कोठामा बढीमा २५ जना परिक्षार्थी रहने गरी परीक्षा व्यवस्था गर्नु पर्ने छ । तर, परीक्षा हल ठूलो भएमा स्वास्थ्य मापदण्ड पालन गर्ने गरी २५ जना भन्दा बढी परिक्षार्थीलाई सामेल गराउन सकिनेछ ।

– परीक्षा हुनुभन्दा १५ मिनेट अघिमात्र परीक्षार्थीहरुलाई भिडभाड नहुने गरी परीक्षा हलमा क्रमसंख्या अनुसार प्रवेश गराइने छ ।

– कार्यालयले खुल्ला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने छ ।

– नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी कार्यालय जनशक्ति र प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालनका लागि आवश्यक स्थानको उपलब्धताका आधारमा परीक्षा सञ्चालन गराउन सक्नेछन् ।

– परीक्षा सुरु हुनु अगावै परिक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ । यसरी तोकिएको समयमा उपस्थिति हुन नसक्ने परिक्षर्थीलाई अनुपस्थित भएको मानिनेछ र निजलाई सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी गराइने छैन ।

– परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा २४ घण्टा अगाडि उपलब्ध गराइनेछ ।

– यसरी परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थीलाई मात्र सहभागी गराइनेछ । परीक्षा सम्पन्न नभएसम्म अन्य परीक्षार्थी र अनाधिकृत व्यक्तिहरुलाई परीक्षास्थलमा प्रवेश निषेध गरिनेछ ।

यो पनि पढ्नुहोस्
लाइसेन्सको लिखित र ट्रायल परीक्षा खुलाउन यस्तो छ विभागको तयारी
सवारी चालक अनुमति पत्रको नयाँ नियम कहिलेबाट ?
लाइसेन्स परीक्षालाई सजिलो बनाउने नियम आउँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,