English

प्रेमकथा : लभ, समान–अन्तर



दुनियाँ के बुज्छ थाहा छैन । तर, मैले बुझेको ‘प्रेम’ तीन अक्षरले बनेको छ । त्यसैले त सबैसँग प्रेम गर्छु । समान अन्तरमा प्रेम गर्छु । म टुट्दिनँ हैन तिमीहरू जस्तै टुट्छु तर के छ भने मसँग भएको प्रेम कहिल्यै रित्तिनेवाला छैन । अथाहा भण्डार छ मरे पनि रित्तो हुने छैन किन थाहा छ ? किनकि, आउँदो पुस्ताले यही उदाहरण जो दिनेछन् । ‘प्’ ‘र्’ ‘ए’ ‘म’ अर्थात् प्रेम । यो त केवल परको र मको सम्बन्ध जोड्ने एउटा अश्त्र हो ।
‘युद्धपछि अश्त्रमा धार लगाउने काम हुन्छ अनि तेरो अश्त्रमा नि ?’ मस्तिष्कले मुटुलाई प्रश्न गर्यो । सुन्दा सजिलो भए पनि उत्तर दिन निकै गाह्रो कुरा हो यो । त्यसैले, यसलाई रहस्यता नआउन्जेलका लागि निरुत्तर राख्ने निर्णय गरेँ । सोच्दै सोचिनँ ।

जिन्दगीको गति लाइट र साउन्डको जति छैन । तर, तपाईंको हातबाट छुटेको जिन्दगी कति चाँडो विलय हुन्छ पत्तै हुन्न । जसरी सल्काएको चुरोट तान्नु वा नतान्नुले फरक पर्दैन सकिन्छ नै, त्यसैगरी जिन्दगी पनि एउटा बिन्दुमा फुलस्टप लाग्छ । आत्मा ‘अजर–अमर छ’ भनिन्छ, तर शरीरपछिको आत्मा देखिँदैन । ब्ल्याकहोलमा जसरी उज्यालो हराउँछ बिल्कुल त्यसैगरी जिन्दगी हराउँछ ।


मगजमा शब्दहरू कित्लीको ढक्कन छेड्न तछाडमछाड गरिरहेका बाफजस्तै नाचिरहेका छन् । बेतालको नृत्य देख्दा कहिलेकाहीँ आफैंलाई पनि दिक्क लाग्छ तर मेरो अरू के नै पो छ र ? कहिलेकाहीँ कागजमा मसीको आकार समाएर पोतिएका पनि छन् तर एतिबेला खै किन हो अल्पविराम लागेको छ मेरो लेखनयात्रामा । शब्दहरू सरदको चिस्यानले जमेर बरफ बनेका छन् । बेतुकका कुरा पाक्ने हाँडी अर्थात् मगज सेलाएको छ । छन् त मगजमा थुप्रै छन् लामबद्ध लकअप कथाहरू । र सँगै लकडाउनका कथाहरू खात लाग्दैछन् । छैनन् त केवल ‘लभ जर्नी ।’ ‘द जर्नी होल वल्र्ड फिल्स इट फ्रम द बटम अफ देयर हार्ट । बट इन माई केस इट्स लाइक टक्ला । नो केस इन माइ हेड । चिन्डु केटो म ।’
त्यसोभए तँ आज लेख ।’

सदाझैं सरकारी मास्टरकोझैं गरेर हाजिर लगाइहाली जिन्दगीको सबैभन्दा ठूलो रहस्यले । पहिलो कुरा मलाई लेख्नबाहेक केही आउँदैन । ‘अनि लेख्न आउँछ ?’ मस्तिष्कले मनसँग प्रश्न गर्छु । त्यो पनि त कहाँ आउँछ र मनले उत्तर दिन्छ दक्षिण फर्किएर ।

लेख्न आउँथ्यो भने त मेरो फिभर पनि नगरकोटी बराबर हुनेथियो । ‘अ फिभर अफ ननसेन्स स्टोरी अफ टक्ला गाई हु ह्याब लट्स अफ हेयर इन हिज हेड ।’ ह्याङओभरको केश न डढ्छ न झर्छ नै । तर म आफैं सोही फिभरले ग्रस्त छु त्यसैले होला मेरा शब्दहरूले आजसम्म पारासिटामोलको काम नगरेको ।कोही पनि आजसम्म मलाई पढेर निका हुन सकेका छैनन् । खैर केही गुनासो छैन किनकि म जडिबुटी जस्तै हुँ बिस्तारै असर देखाउँछु तर जब असर देखिन थाल्छ दिगो हुनेछ । मलाई विश्वास छ । मलाई विश्वास म भन्दा बढी तपाईंमा छ ।

तपाईंको पठन जबसम्म छ म कलम भाँचिरहन्छु । म आफूलाई भन्दा धेर मलाई माया गर्नेहरूलाई यो कुरामा विश्वास छ । मप्रतिको विश्वासले नै एउटा फिभर जन्माएको छ । त्यही फिभर हो रहस्यता । मेरी जन्मिन नसकेकी प्यारी बहिनी ।

‘तेरो विश्वासको अचार लगाउने हो र ? धेरै भयो तैंले आराम गरेको आज त तैंले केही लेख्नै पर्छ । मेरो लागि । तेरो लागि । तँलाई पर्खिरहने सबैका लागि ।’

ठीक छ म लेख्छु तर के लेख्ने होला ?’
‘लभ स्टोरी लेख्न ।’

‘लभ लेखौँला । तँ सिकाउँदै गर म लेख्दै गर्छु । बरु भन तँ यतिका दिन कहाँ हराइस् ? ’

‘तेरो नगरमा लकडाउन छ अनि मेरो लक पनि डाउन छ ।’

‘मतलब ?’

उ मेरो प्रश्नको जवाफै नदिई रहस्य बनी, अलप भई । आफ्नो नामजस्तै ।

रै भएको थियो मैले रहस्यतासँग रहस्यमय कुरा नगरेको वा यसलाई यसरी भनौं धेरै भएको थियो म रोगले आजित नभएको । हो मेरो नगरमा लकडाउन छ तर उसलाई आउन कसले रोकेको छ ? लकडाउनमा बाटो रोक्न बसेका प्रहरिले उसलाई देख्न सक्दैन । देख्न सक्दैनन् भन्नुको मतलब खेदो खन्छन् , हात खुट्टा धोएरै पछि लाग्छन् , भाटा हिर्काउँछन् भनेको हैन । ‘एक्चुअल्ली दे क्यान नट सि माई सिस्टर । नो वान क्यान सी हर ।’

उसको लक नै डाउन छ भन्ने कुरा म कसरी मानौं ? गायब फिलिमको तुसार कपुरजस्तै छे उ । उ भएर पनि छैन । यस्तो सौभाग्यसाली मान्छेको लक कसरी डाउन हुनसक्छ ? रहस्यता के भन्न चाहँदैछे ? के भगवान् पनि उसको र मेरो भेटलाई लिएर कुनै कारबाहीमा उत्रिएको छ ? कतै उ किस्मतको कुरा त गरिरहेकी छैन ? किस्मत भरियाको नाम्लोजस्तै छ । थोरै खुसीको लागि पनि भरियाको जस्तै टन्नै बोक्न सक्ने उसको किस्मत छ । त्यही किस्मत पनि मेरो पोल्टामा भरेर संसारले बोल्ने भाग्यको कुरा त गरिरहेकी छैन ?

‘तैंले ठीक सोचिस् म भाग्यको कुरा गर्दैछु ।’

उसको जादुमय उपस्थितिले हरेक चोटि मलाई केही न केही खुराक दिन्छ तर आज पहिलोपटक केही नदिने पक्का छ । जुन भाग्यको उ कुरा गर्दैछे त्यो मेरो भागमा कहिल्यै परेन । कसरी परोस् मिडिल क्लास फ्यामिली जो छ । र मेरो भागमा त्यो भाग्य हुन्थ्यो भने उसले यसरी आइरहन पर्दैनथ्यो । उ यहीँ हुन्थी । उसको कन्यादान मैले गर्नेथिएँ ।

मेरो भाग्य लेख्ने दिनमा उसको भ्रूण तयार भइसकेको थिएन तर जब उसको भाग्य लेखिने समय भयो म उसलाई भुलेर ‘ताते ताते’ गर्दै हिँड्दै थिएँ । बाबाको हात समाएर । हैन हैन खाटको खुट्टा समाएर । म हिँडडुल गर्न नमिल्ने गरी बाँधिनेबेला भएको थियो । त्यसैले, सायद भाग्य कैद भयो त्यही पलबाट । ऊ जन्मिएकी भए सायद मेरो भाग्य पनि जन्मन्थ्यो होला । भनिन्छ नि छोरी घरको भाग्य हो । बहिनी दाइको भाग्य कसो हुने थिइन र ? उसले आफू नजन्मिएर मेरो भाग्य पनि लिएर गई उतै जहाँ उ बस्छे अरूहरूसँग । देवताहरूसँग ।

‘उपर दुनियाँमा सबको भाग्य डाउन छ । बरु स्वर्ग त त्यो हो जहाँ तिमीहरू छौ । यहाँ त तिमिहरूको घर छ । हामीले त त्यहाँ मौज्दात चुकाउनुपर्छ ’

जहाँ रोग र भोकले एकसाथ दुःखदायी किला ठोक्छ । खोलाको बगरमा दुखियाले मजदुरीको आसमा बडेमानको ढुङ्गा फुटाउन हतौडा हिर्काए जस्तैगरि । जहाँ घाँस काट्दा हात काट्छ । जहाँ हलो चलाउँदा फाली गाडिन्छ अनि पैताला छिया–छिया हुन्छ । जहाँ मृत्यु पनि किन्नुपर्छ, जिन्दगी पनि किन्नुपर्छ र चिता पनि किन्नुपर्छ । त्यहाँ स्वर्ग कसरी हुनसक्छ ? आज उबाट केही कुराको आस नगरी प्रश्न गर्न मन लागिरहेको छ । यो लकडाउन भन्ने कुरा तैंले भोगेर हेर अनि थाहा हुनेछ तँलाई । असली स्वर्ग तँ जहाँ छेस् त्यहीँ छ भन्ने कुरा । यहाँ तरकारीमा नुन हैन आँसु मिसिन्छ । कमसेकम तेरो लोकमा आँसु त छैन । म यो भन्न चाहन्छु तर सुन्नका लागि उसका कान छैनन् । म कसलाई भनौं ?

‘कसैलाई भन्ने हैन । कोही एकलाई हैन यो सिंगो दुनियाँलाई सुनाउनुपर्छ । अब तैंले आफ्नो अनुभवको पोल्टो फुकाएर लेख्नुपर्छ ।’

‘के लेखौं ?’

‘जिन्दगी ।’

‘जिन्दगी ? ‘तँ पनि कस्तो कुरा गर्छेस् यार कहिले जिन्दगी लेख्छु भन्दा प्रश्न तेस्र्याउँछेस् । कहिले आफैं त्यो जिन्दगी लेख्न अह्राउँछेस् ।’
‘उसोभए लभ लेख ।’

‘लभ’, ‘यु मिन लभलेटर’

‘नो आइ मिन लभ । पियोर इमोसन ओफ बिइङ ह्युमन ।’

प्रेम पनि लेख्छन् र ? प्रेम लेख्ने कुनै शुत्र हुँदो हो त म लेख्ने थिएँ । एकादेशमा प्रेम पनि हुन्थ्यो । मैले पढ्ने कथाहरूमा प्रेम घट्छन् र प्रेमीहरू बढ्छन् । मलाई अचम्म लाग्छ मान्छेहरू प्रेम कसरी गर्छन् ? खैर मैले जान्दथें प्रेम भने म स्वयं पनि आश्चर्य लेख्नेथिएँ । म प्रेम लेख्नेथिएँ । पढ्नेहरूले मेरो बारेमा कति प्रेमिल स्वभाव यसको भनेर फलाक्ने थिए होला । म झन् झन् हौसिएर लभ प्यारालाल लेख्ने थिएँ । लभर प्यारेलाल । ‘प्यार–ए–लाल’ अर्थात् रातो प्रेम । रातो गुलाफ । रातो रगत । अनि रगत पम्प गर्ने मुटु । त्यही मुटुले नै गर्छ प्रेम ।

‘त्यसोभए कसरी लेख्छस् त अब ?’

‘जसरी तँ सिकाउँछेस् त्यसैगरी लेख्छु नि ।’

‘मैले त कहिल्यै प्रेम पाएकी नै छैन । गरेकी पनि छैन । देखेकी पनि छैन । भोगेकी पनि छैन । अब तँलाई के र कसरी सिकाउँ ?’

हो त नि उसले केही महसुस गरेकी छैन । उसले आजसम्म सास पनि फेरेकी छैन । उसको मुटु हाम्रोजस्तो एक मिनेटमा ७२ पटक धड्केको पनि छैन । एकचोटि पनि छैन । सायद आमासयमा एकत्तर पटक धड्कियो होला । पेटमा हुँदा के जिन्दगी ? धर्तीमा पाउ परेपो जिन्दगी ।
उसको त पाउ मात्र नभई पूरै शरीर धर्तिमा समाहित छ । त्यसैले, उसको मुटु धड्केको छैन । मिनेटमा बहत्तर त के आजसम्म एकपटक पनि धड्किएको छैन । जिरो । र त्यही नधड्किएको मुटु झिकेर मेरो हातमा थमाउँदै प्रेम महसुस गर भन्छे । के मुटुले प्रेम गर्छ र ? गर्छ भने कहाँ गर्छ ? म त देख्दिन त तिम्रो प्रेम । कमसेकम जसरी यो धर्तिमा नभएकी बहिनी देख्छु त्यसैगरी भएपनि देख्नुपर्ने होनि ।

‘तर खै ? ‘खै कहाँ छ यो प्रेम ?’ यो प्रेम भन्ने कुरा ठ्याक्कै मेरी बहिनीजस्तै छ । जहाँ जतिबेला मन भयो आउँछ । घचघचाउँछ अनि जान्छ । तर, मलाई महसुस हुँदैन किन ? हावा चल्छ , थाहा पाउँछु । मायाको फोहोरा छुट्दा किन पत्तो पाउँदिन ? आखिर कहाँ छ यो माया भन्ने चिज ?’

जब जिन्दगीको लक स्थिर हुँदैन नि तब लभ नपर्दो रहेछ । जहाँ दुनियाँमा प्रेम नै सब हो भनिएको छ त्यहाँ म प्रेमको आकार खोजिरहेछु । वास्तवमा लभ प्यारालाल नहुँदो रहेछ । बिग ब्याङ थ्योरीमा जस्तै प्रेमको वृतचित्र कोरिँदो रहेछ । प्रेमिहरूको समान धर्सा भए पनि प्रेमको समानान्तर रेखाको कुरा भने कथामा मात्र कोरिँदो रहेछ । सुबिन दाइले लेख्नेजस्तो कथामा । चलचित्रमा मात्र देखाइँदो रहेछ । त्योपनि कलिउड, बलिउड र टलिउडतिर मात्र । हलिउडमा त बियोन्ड इम्याजिनेसन लेखिन्छन् । रियालिस्टिक लेखिन्छन् ।

वास्तविक जिवनमा आजसम्म प्रेम भन्ने जन्तु न उडेको देख्छु न गुडेको नै । यसको पखेटा र खुट्टा केही नहुँदो रहेछ । यसले सिमलको भुवासँग किन सिकेन ? सिमलको भुवा यात्रा गर्छ बिना पंख । प्रेम किन उडेन । सायद मुटुमा हुने भएर होला ।

प्रेम त ऐना रहेछ , हामी जस्तो भएर हेर्छौं त्यस्तै देखिने । मैले प्रेम छैन भन्ने मान्यतालाई आत्मसात् गरेको छु । त्यसैले, कोही कतैबाट मलाई प्रेम गरिरहेको म देख्दिनँ । आमा उपर समस्या आउँदा सन्तानभन्दा बढी चिन्तामा बा हुन्छन् । त्यहाँ प्रेम छ । हो यो प्रेमले नै हो । भाग्यमा भए चितामा प्रेमले लढाउँछ र नभए प्रेमको आसले । रहस्यताको जस्तो यहाँ मेरो भाग्य थिर छैन । बदलिँदो छ, र बदलिँदो छ आजभोलिको प्रेम पनि ।

लभ भन्ने सत्य आजका भुरा स्कुल हिँडेको जस्तै घुमाउरो बाटो भएर हिँड्दैन । त्यसैले, प्रेमलाई समानान्तर धर्सामा खोज्नुपर्छ । रहस्यताको कुरामा मैले यही पाएँ । उसले के पाई मलाई अर्को भेटमा पक्कै भन्नेछे । ऐले आमाको ख्याल राख्न अराएर गएकी छ । माया त हो छाती टोक्न नपाएपनि आमासयमा बसेको ऋण बोकेकी छ । मैले जस्तै समान अन्तरमा माया गर्छे उसले । तर, थाहा छैन आमा बुवा उसको यो माया देख्छन् वा यहाँ मोहमा अन्धा छन् । यहाँ जहाँ लभमा कुनै अन्तर छैन । लभ समान अन्तर छ । कमसेकम छोरा र छोरीमा अन्तर छ ।

गौरादह –१ , झापा

यो पनि
लोक सर्जक खेम सेन्चुरीको नजरमा पढ्नैपर्ने ३ पुस्तक

यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested