के हो शिवरात्री, को हुन् शिवजी ?



प्रो. आनन्द नेपाल

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री यी चार प्रमुख रात्रीमध्येको एक हो । हिन्दूहरूको प्रमुख चाड महाशिवरात्री भगवान शिवको प्रमुख पर्व पनि हो ।

सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री भगवान शंकर ब्रह्मबाट रुद्रको रूपमा अवतरण भएका थिए भन्ने शास्त्रीय प्रमाण रहेको छ । शिवपुराणमा यस विषयमा बिस्तारमा बताइएको छ । भगवान शिवले ताण्डव नृत्य गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए । त्यसैले यस दिनलाई महाशिवरात्री वा कालरात्री भनिन्छ । पहिले हरेक महिनामा मनाउँदै वर्षमा १२ वटा शिवरात्री मनाइन्थ्यो ।

यसैदिन शिवले शिवलिङ्गको रूपमा प्रकट भई समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष पान गरेका थिए । त्यहीबेला विषको राप शान्त गर्न उनले गलामा सर्पको माला र शिरमा गंगा र चन्द्रमा धारण गरेका थिए । शिवरात्रीलाई भगवान शिवको रात्रीको रूपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन शिवको ज्योतिर्लिङ्ग उत्पत्ति भएको थियो । शिवरात्रीमा श्रद्धालुहरू रातभर जाग्राम बसेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय मानिस रातभर उपवास बस्छन् ।

महिलाहरूका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् भने विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । तर शिवरात्रीको महिमा यतिमा मात्रै सीमित छैन । शिवजी चतुर्दशीको स्वामी हुन् । यस दिन चन्द्रमा सूर्यको धेरै निकट हुने मानिएको छ । समस्त भूतहरूको अस्तित्व मेटेर परमात्मा शिवसँग आत्मसाधन गर्ने रात हो शिवरात्री । यस दिन जीवरूपी चन्द्रमाको परमात्मारूपी सूर्यको साथ योग रहने गर्दछ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान शिव कल्याणका प्रतिमूर्ति हुन् भनेर शास्त्रमा व्याख्या गरिएको छ ।

भगवान शिवको विवाह

यस दिनलाई भगवान शिवको विवाह माता गौरीसँग भएको दिनका रूपमा पनि चिनिन्छ । महादेवका शरीरमा मसानको भष्म, गलामा सर्पको हार र रुद्राक्ष माला, कण्ठमा विष, जटामा पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला छ ।

समुन्द्र मन्थनको पौराणिक कथा

पौराणिक कथामा नीलकण्ठको कथा सबैभन्दा चर्चित छ । महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरिरहँदा कालकेतु विष निकालिएको थियो । भगवान शिवले सम्पूर्ण ब्रह्माण्डको रक्षाका लागि स्वयम्ले ती सबै विष पिएका थिए । त्यही क्रममा उनको कण्ठ वा गला नीलो भएको थियो । त्यसैले भगवान शिवलाई नीलकण्ठ पनि भनिन्छ ।

भगवान शिवको प्रिय दिन

शिवरात्री त्यो रात्री हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अतिप्रिय रात्रीलाई शिवरात्री भनिन्छ । शिव पुराणको ईशान संहितामा बताइएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रीमा आदिदेव भगवान शिव करोडौँ सूर्य समान प्रभाव भएको लिङ्गको रूपमा प्रकट भएका थिए ।

मानिन्छ कि, महाशिवरात्रीमा भगवान मानवजातिको एकदम निकट आएका थिए । मध्यरात्रीको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ । त्यसैले, श्रद्धालुहरू शिवरात्रीका दिन रातभर जाग्राम बस्छन् ।

शिवका वाहनः साँढे (वृषभ)

वृषभ शिवको वाहन हो । शिवको साथमा वृषभलाई हामीले जहिल्यै देख्न सक्छौँ । वृषभको अर्थ हो धर्म । मनुस्मृतिका अनुसार वृषो हि भगवान धर्मः वेदले धर्मलाई चार खुट्टावाला प्राणी भनेका छन् । त्यसमा चार खुट्टा भनेको धर्म, अर्थ, काम र मोक्ष हो । महादेव यस चार खुट्टावाला वृषभको सवारी गर्दछन् । अर्थात् धर्म, अर्थ, काम तथा मोक्ष उनको अधिनमा रहेको छ । वृषभको एक अर्थ वीर्य तथा शक्ति समेत हो । अथर्ववेदमा वृषभको पृथ्वीमाथि धारक, पोषक, उत्पादक आदि नामले समेत चिन्ने गरिएको छ । यही धातुले वर्षा, सृष्टि आदि शब्द बनेको छ ।

शिव अन्तरिक्षका देवता पनि हुन् । त्यसैले उनको एक नाम व्योमकेश पनि हो । त्यसैले आकाश उनको जटास्वरूप हो । जटामा वायुमण्डलको प्रतीक पाइन्छ । वायु आकाशमा व्याप्त रहेको हुन्छ । सूर्यमण्डलबाट माथि परमेष्ठि मण्डल रहेको छ । यसको अर्थतत्वलाई गंगाको संज्ञा दिइएको छ । त्यसैले गंगा शिवको जटामा प्रवाहित रहेकी छन् । शिव रुद्रस्वरूप उग्र तथा संहारक रूपको धारक समेत मानिएको छ ।

यस उग्रताको निवास मस्तिष्कमा हुन्छ । यसका कारण शान्तिको प्रतीक गंगा तथा अद्र्धचन्द्र शिवको शिरमाथि विराजमान रहेर उनका उग्र वृत्तिलाई शान्त, शितल राखेका हुन्छन् । दोस्रो, विषपानको कारण यी जो नीलकण्ठ बन्न पुगे । जलनलाई शान्त गर्न गंगा तथा चन्द्रमा उत्पत्ति भएका हुन् । चन्द्रमा मनको प्रतीक हो । शिवको मन भोला, निर्मल, पवित्र तथा सशक्त छ । उनका विवेक सदा जाग्रत रहेको छ । उनको मस्तिष्कमा कहिलै पनि अविवेकपूर्ण विचार आउँदैन । शिवलाई चन्द्रजस्तै स्वच्छ तथा उज्वल मान्ने गरिएको छ ।

तीन नेत्रका स्वामी

शिवलाई त्रिलोचन पनि भन्ने गरिएको छ । भनिन्छ, उनको तीन वटा आँखा छ । वेद अनुसार सूर्य तथा चन्द्र विराट पुरुषको नेत्र हो । अग्नि शिवको तेस्रो नेत्र हो, जुन यज्ञाग्निको प्रतीक हो । सूर्य बुद्धिको अधिदेवता हुन् । यही ज्ञान नेत्र वा अग्निबाट नै उनले कामदेवलाई भष्म गराईदिएका छन् । शिवको यो तीन नेत्र सत्व, रज, तम, तीन गुण, भूत, भविष्य, वर्तमान, तीन काल तथा स्वर्ग, मृत्यु, पाताल, तीन लोकको प्रतीकसमेत मानिन्छ ।

को हुन् शिवजी ?

शिव को हुन् भनेर कहिल्यै उनको परिचय दिन मिल्दैन । बरु उनी के हुन् भनेर दिन सकिन्छ । शिव संसारको विलय गर्ने संसारकर्ता हुन् । चाँडै रिसाउने र चाँडै खुशी हुने स्वभाव उनमा रहेकाले उनलाई आशुतोष भनिएको हो ।

शिव शब्द संस्कृतको ‘श इ व’ को मिश्रण हो । श को अर्थ नित्य सुख र आनन्द हो । इ को अर्थ मानव जाति हो, जसलाई पुरुष शब्दले जनाउने गरिएको पाइन्छ । व को अर्थ शक्ति हो । यस अर्थमा जुन पुरुषले नित्य आनन्द र जीवन बाँच्न ऊर्जा दिन्छन्, त्यो नै शिव हो ।

विष्णुका इष्टदेव शिव हुन् भने शिवका विष्णु । परिस्थितिअनुसार कहाँ कसको आवश्यक्ता र विशेषता देखाउनुपर्छ, त्यहाँ पृथक स्वरूपमा दुवै देखा परेका छन् । त्रिपुर दहन, जालन्धर वध गर्न शिव सामथ्र्य भए भने उता वाणासुर वधमा विष्णु । त्यसैले दुवै बराबरी हुन् ।

किन पुजिन्छ शिवलिङ्ग ?

शिवलिङ्ग वा तत्व र शिवशक्ति वा ज्योति प्रकाशलाई शिवलिङ्ग भनिन्छ । लीनं अर्थं गमयति इति लिङ्ग । लिङ्ग भनेको कुनै साधारण र सामान्य लिङ्ग नभएर ज्योति हो, एउटा चिन्ह हो, ज्योति भनेको प्रकाश अर्थात् ज्ञान र ज्ञानलाई चिनाउने तत्व नै लिङ्ग हो । लिङ्ग सृष्टिको विकासक्रमको प्रतीक हो । लिङ्ग शिवकै रुपान्तरण हो । ईश्वरमा शिव र श्रृष्टिमा लिङ्ग प्रधान मान्ने सदाशय हो । लिङ्ग स्वरूपबाट शिवस्वरूपमा पुग्नको लागि वा देखिएको श्रृष्टिबाट परतश्च अनुसरण गर्न लिङ्गको पूजा गरिन्छ ।

(वेदवेदांग संस्कृत विद्यालयका प्राध्यापक आनन्द नेपालसँगको कुराकानीमा आधारित ।)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन