राज गुरुङ : हङकङको गल्लीदेखि एभरेष्टको चुचुरोसम्म
स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका गुरुङ स्कुले जीवनदेखि नै प्रकृति प्रेमी र साहसिक गतिविधिमा रुचि राख्ने विद्यार्थीका रूपमा परिचित थिए । स्कुले उमेरदेखि नै उनी हाइकिङ र क्याम्पिङमा संलग्न हुन्थे । यस्ता साहसिक क्रियाकलापमा सहभागी हुन पाउँदा उनी निक्कै खुसी हुन्थे, जुन उनको बाल्यकालदेखिको रुचि पनि हो ।

देहरादूनबाट उच्च शिक्षा हासिल गरेपछि उनी हङकङको व्यस्त जीवनमा प्रवेश गरे । समयसँगै उनले हङकङलाई आफ्नो कर्मथलो बनाए । करिब दुई दशकमा उनले सङ्घर्षका अनेक मोड पार गर्दै एउटा सफल व्यवसायीको रूपमा परिचय स्थापित गरे । यो दौरान उनले संसारका धेरै देशहरूको भ्रमण पनि गरे, तर जन्मभूमिको माटो टेक्ने अवसर भने कहिल्यै जुरेन ।
जीवनमा जति नै सफलता हासिल गरे पनि मनको गहिराइमा एउटा सपना भने अझै अधुरो थियो । त्यो हो– सगरमाथाको शिखरमा पाइला टेक्ने । कुरा कोभिड महामारीको हो । कोभिड महामारीपछिको फुर्सदिलो समयले उनलाई फेरि प्राकृतिक सौन्दर्यको नजिक ल्यायो । जब परिस्थिति बिस्तारै सामान्य बन्दै गयो, राज गुरुङले लामो समयदेखि मनमा दबाएर राखेको इच्छा जाग्यो– नेपाल घुम्ने । प्रकृति प्रेमी राज अन्ततः जन्मभूमि फर्किए र यहाँको अनुपम प्राकृतिक सौन्दर्य नजिकबाट नियाल्ने अवसर पाए । त्यो सौन्दर्य यति मोहक लाग्यो कि एकै वर्षभित्र उनले तीन पटक नेपाल भ्रमण गरे ।
त्यही यात्राको सिलसिलामा उनले एभरेस्ट बेसक्याम्पसहित थ्री पास ट्रेक पनि सम्पन्न गरे । जसले उनको मनमा ट्रेकिङ र पर्वतारोहणप्रतिको गहिरो अभिरुचि बढायो । त्यसपछि उनले ६,१६५ मिटर अग्लो आइल्याण्ड पिक चढ्ने अठोट गरे । काठमाडौंस्थित एक ट्रेकिङ एजेन्सीमा सोध्दा, ‘तपाईंको लागि यो सम्भव छैन’ भन्ने जवाफ आयो । तर यो भनाइले उनलाई रत्तिभर पनि हतोत्साहित गरेन, उल्टै अझ जोस थप्यो ।

किनभने, उनीभित्र हिमाल चढ्ने आकाङ्क्षा जागिसकेको थियो । आँट गरिसकेपछि पछि हट्ने कुरा त उनको स्वभावमै पर्दैन । अन्ततः उनले गत वर्ष आइल्याण्ड पिकको सफल आरोहण गरे । ‘चुचुरोमा पुगेको क्षण अत्यन्तै अविस्मरणीय थियो,’ उनले उत्साहित हुँदै भने, ‘त्यहाँबाट ३६० डिग्री कोणमा हिमाल देखिन्थ्यो, अनि त्यस क्षणमै मैले अब त झन् अग्लो हिमाल चढ्नुपर्छ भन्ने सोचे ।’
आइल्याण्ड पिकको चुचुरोमा पुग्दा उनले जुन अनुभूति गरे, त्यो नै अर्को प्रेरणाको स्रोत बन्यो । यसै क्रममा उनको भेट भयो, विश्व कीर्तिमानी पर्वतारोही फुर्वा तेन्जिङ शेर्पासँग । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा धेरै कीर्तिमान राखेका फुर्वा ‘ड्रिमर्स डेस्टिनेसन’ नामक पर्वतारोहण कम्पनी सञ्चालन गर्दै आएका छन् । राजको सपना साकार पार्न फुर्वाले मार्ग निर्देशन गरे । सिधै सगरमाथा होइन, फुर्वाले उनलाई ६,८१२ मिटर अग्लो र अत्यन्तै टेक्निकल मानिएको आमादबल्म हिमाल चढ्न सुझाए । राजले त्यसलाई चुनौतीको रूपमा लिए र सफलतापूर्वक आमादबल्म पनि चढे ।
उनी यतिमै रोकिएनन्, हिमालप्रतिको ‘नशा’ लिएर अघि बढिरहेका राजले अन्ततः सगरमाथाको लक्ष्य पूरा गरे । आइतबार बिहान १० बजे उनले विश्वको सर्वोच्च शिखरमा पाइला राखे । यो एक नेपालीको तर्फबाट गौरवको विषय त हो नै, अझ महत्त्वपूर्ण कुरा– उनी हङकङमा बसोबास गर्ने नेपाली समुदायका पहिलो व्यवसायी हुन्, जसले सगरमाथा आरोहण गरेका छन् । उनीसँगै फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पाले पनि आइतबार बिहान १० बजे सगरमाथाको सफल आरोहण गरे । फुर्वा प्रमुख आरोहण गाइड र निमा सरदारको भूमिकामा थिए ।

राज सगरमाथा आरोहण गर्ने हङकङका पहिलो नेपाली व्यवसायी बन्दा फुर्वाको १७ औं र निमाको १२ औं सगरमाथा आरोहण हो । निमाले आठ हजार मिटर विश्वको १४ अग्ला हिमाल चढिसकेका छन् । सगरमाथा चढ्नु अघि टोलीले ६१,१९ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेको थियो ।
राजलाई विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठले आरोहणको शुरुवाती चरणदेखि नै सहयोग गर्दै आएका थिए । यि चारले राजको हौसलाका निम्ति हङकङबाट सगरमाथा आधारशिविरसम्म सगै सहकार्य गरेका थिए ।मौसम अपडेटमा रोजिता बुद्धाचार्य, डेभिड पेलिजु र इन वेलरले सघाएका थिए भने संचारमा अशोक गुरुङको सक्रियता रहेको थियो । आरोहणको संयोजन ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसनले गरेको थियो । हो–यी सबैको होस्टेमा हैँसेले राजको सपना साकार भएको हो ।

सगरमाथा चढेपछि राज त्यतिमै रोकिने वाला छैनन् । अझ धेरै हिमालहरू चढ्ने आत्मविश्वास र जोस जागेको छ । ‘अब मेरो सपना सात वटै महादेशको सबैभन्दा अग्लो शिखर चढ्ने हो’ उनी उत्साहित हुँदै भन्छन् । सगरमाथा आरोहण गर्नु कुनै पनि पर्वतारोहीका लागि अन्तिम सपना जस्तै हो । र राजको लागि पनि यो यात्रा केवल चुचुरोमा पुग्नु मात्रै होइन, यो एक आत्मसन्तुष्टि र सपना साकारको प्रतीक थियो ।
आखिर उनी के का लागि हिमाल चढ्न मरिहत्ते गरिरहेछन् ? ‘कसैलाई रक्सी, कसैलाई चुरोट, कसैलाई ड्रग्सको नशा लागेझै मलाई हिमालको नशा लाग्यो’ प्रश्न भुईँमा खस्न नपाउँदै उनी भन्छन्, ‘म केवल मेरो आत्मसन्तुष्टिका लागि यो सबै गरिरहेको छु ।’ त्यसो त आफूहरूले गर्न नसकेको काम राजले गरिरहेको भनी उनलाई हौस्याउने साथीभाइहरू पनि मनग्य छन् ।
सगरमाथा चढ्ने सपना बुनेका उनले धेरै मेहनत गरेपछि यो सफलता हात पारेका हुन् । यसअघि उनले नियमित जसो ट्रेकिङ र दिनहुँ १५ देखि २० किलोमिटर हिँड्ने गर्थे । महिनौँपिच्छे हुने आम्दानीको केही रकम हिमाल चढ्नै छुट्टयाउने गर्थे । ३६ हजार बढी सदस्य रहेको हङकङ हाइकिङ मिट अप ग्रुपमा पनि आबद्ध छन् उनी ।
हिमाल चढ्न शारीरिक र मानसिक रूपमा मात्र बलियो भएर पुग्दैन, मनग्य धन सँगै पर्याप्त समय पनि चाहिन्छ । ‘मेरो परिवारका सदस्यहरू लाइफलाई जोखिममा पारेर किन समय र पैसा बरबाद गरिरहेछौँ पनि भन्नुहुन्छ,’ उनी भन्छन्, ‘तर यो मेरो लागी बरबादी होइन, जीवनको सार भेट्ने यात्रा हो ।’
राज गुरुङको यात्रा एउटा व्यक्ति विशेषको सपना मात्र होइन । यो एक सन्देश हो की कुनै पनि नेपाली, चाहे जहाँ भए पनि, आफ्नो सपनालाई पछ्याउने साहस राख्छ भने असम्भव केही छैन ।
