English

यस्तो छ जनै पूर्णिमामा जनै लगाउनु र क्वाँटी खानुको महत्त्व



श्रावणको शुक्ल पक्षको पूर्णिमाका दिन मनाइने पर्वलाई जनै पूर्णिमा भनिन्छ । जनैलाई ब्रह्माले आफैले अभिमन्त्रण गरेर लगाएकोमा ब्रह्मासूत्र, ब्रह्माकी पत्नी सावित्रीले विधिपूर्वक कपासद्वारा काटेको धागो निर्माण गर्ने भएकाले सावित्री सूत्र पनि भनिन्छ । आजको दिन हिन्दु धर्म र संस्कृतिमा आस्था राख्नेले वर्षको एक पटक विधि पूर्वक पवित्र नदी, तलाउ, पोखरी, कुवामा जान्छन् । गोमय (गोबर), मृत्तिका (माटो), भस्म (खरानी) जस्ता द्रव्यहरू शिरदेखि पाउँमा लेपन गर्दै मन्त्रहरू पढ्दै स्नान गर्छन् ।

वनस्पतिका रूपमा ‘अपमर्ग’ महिलाले पञ्चमीमा प्रयोग गरे जस्तै यस पर्वमा प्रयोग हुन्छ । ‘अपमर्ग’ भन्नाले दुबो वा कुश जलमा चोपेर शिरदेखि पाउसम्म पवित्र पार्ने कामलाई बुझिन्छ । यसरी स्नान गर्दा बर्सभरिको त्रुटिहरू पखालिने हुन्छ । शब्दलाई धर्मसँग तुलना गरिने भएकाले वर्ष भरीको अध्ययनमा उच्चारण भएको शब्द गल्ती भएको र बोली, व्यवहार र कामद्वारा कसैको हानी नोक्सानी गरेको भए त्योबाट मुक्ति पाउनका लागि ‘अपमर्ग’ कर्म गरिन्छ । वर्ष भरी अनजानमा गरिएका त्रुटिहरूलाई प्रायश्चित गरिन्छ । स्नान पछि गुरु शिष्य सहित समाजमा रहेका व्यक्तिहरूको सामूहिक सहभागितामा यज्ञोपवीत तथा रक्षा बन्धनको विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रहरूद्वारा पूजा गर्छन् ।

१५ देखि २० मिटर लामो कपासको एक सुते उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नु पर्ने हुन्छ । यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा ९ डोराको हुन पुग्दछ । त्यसमा नौ देवताको पूजा गरिन्छ । ओमकार, अग्नि, नाग, सोम, पितृ, प्रजापति, वायु, सूर्य र सर्व देव गरी तन्तु देवतालाई पुजिन्छ । जनैको धागोमा तीन वटा गाँठो पारिन्छ ।

त्यसमा हरि, ब्रह्मा र शिवको पूजा गरिन्छ । यसरी धागो सङ्कलन गर्दा हातको चार औँलाको मूल भागमा दुई डोराले ९६ फन्का बेरिन्छ । १५ तिथि, ७ बार, २७ नक्षत्र, २५ तत्त्व, ४ वेद, ३ गुण, ३ काल र १२ महिना गरेर ९६ नामको उच्चारण गर्नु पर्दछ । यसैगरी अर्को तरिकाले पनि व्याख्या गर्न सकिन्छ,४ वेदलाई २४ वटा अक्षरले युद्ध भएको गायत्री नाम गरेको वैदिक छन्द जुन छ, यो गरेर ९६ पुग्ने भएकाले वेद र गायत्रीको प्रतिकात्मक तरिकाले पनि लिएको छ । जनैको लम्बाइका बारेमा बायाँ काँधदेखि नाभि-नाइटो हुँदै कटि–कम्मरसम्मको हुनु पर्दछ । लामोमा कम्मर भन्दा तल र छोटोमा नाभि भन्दा माथि हुनु हुँदैन ।

यसरी माथिका प्रक्रियाहरूलाई आत्मसात् गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ । सबै शक्तिहरूले बास गर्ने परम पवित्र यज्ञोपवीत आफैँमा सिद्ध छ । देवताहरूले पनि धारणा गर्ने सर्व शक्तिमान जनै र डोराको अभिमन्त्रण जनै पूर्णिमाका दिन अरुन्धती सहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, र वशिष्ठ गरिएका सप्त ऋषिहरूको पूजा, रुद्राभिषेक, ऋषिहरूको नाममा श्राद्ध तर्पण पूर्वक वंश विस्तारको क्रममा आएका ऋषिहरूलाई स्मरण गरिन्छ । यसरी सिद्ध भएको जनै देवता, गुरु र स्वपितृहरूलाई दान गर्दै धारण गरिन्छ ।

किन लगाइन्छ जनै ?

यस दिन तागाधारीले जनै लगाउँछन् । जनै लगाउन नमिल्ने समुदायले रक्षा बन्धन वा डोरो बाँध्न सकिन्छ । यसरी डोरो लगाउँदा जनै लगाए बराबरको मान्न सकिन्छ । धागो बाँध्नाले सबैलाई एक सूत्रमा जोड्ने जनविश्वास छ । भौतिक शरीर निमार्णका पृथ्वी, तेज, वायुको व्याख्या गरिएको छ र गोमय, मृत्तिका र भष्म लेपन गर्नु त्यसको प्रतीक मान्न सकिन्छ ।

जनै लगाउँदा स्नानको विधिमा गोमय अर्थात् गोबर लेपनको अर्थ वर्षा मौसममा ताजा जडीबुटीलाई गाईले खाएर प्राप्त हुने गौत र दूधलाई अमृत सम्मान मानिएको छ । शरीर भित्र रहेको विकार वस्तुबाट गौतले प्रतिरक्षा गर्ने कार्य गर्दछ । त्यसैगरी शरीरमा गोबर लेपन गर्नाले औषधीय गुण रहेको हुन्छ र शरीरमा भएको विकार जीवाणुलाई मार्ने कार्य गर्दछ । छाला रोगसँग सम्बन्धित विभिन्न रोगलाई उपचार गर्न सकिन्छ ।

मृत्तिका (शरीरमा माटोको लेपन) र भस्म (खारनी) लिनुको अर्थ पनि यसरी गरेर शरीरमा भएका विकार वस्तुलाई नष्ट पार्दछ । व्रतबन्ध गरेकालाई शिक्षाको सुरुवात गर्ने दिनका रूपमा यस दिनलाई लिन सकिन्छ । नयाँ कर्मको अध्ययन सुरुवात गर्ने अर्थात् श्रीगणेश गर्ने दिनको रूपमा लिइन्छ । सप्त ऋषि र अरुणदतिको महिलाको ऋषि पञ्चमीमा पूजा गरे जस्तै पुरुषले पनि पूजा गर्ने दिन भनेर बुझिन्छ ।

किन खाइन्छ क्वाँटी ?

क्वाँटी भन्ने बित्तिकै टुसा उम्रेका गेडागुडी भन्ने बुझिन्छ । क्वाँटी नेवारी शब्दकोशबाट लिइएको हो । क्वाँटी शब्द नेपाली बृहत् शब्दकोशमा र हाम्रो जिब्रोमा प्रिय छ । क्वाँटीमा नौ थरी गेडागुडीको मिश्रण हुन्छ । क्वाँटी बनाउनु अगाडि गेडागुडीलाई टुसा उम्रिने गरी भिजाउनु पर्छ । वर्षाको समयमा यस्ता खानेकुरा खाँदा शरीरमा आउने थकान, रुघाखोकी लगायतका विभिन्न रोगसँग लड्ने क्षमता बढाउँछ । यसैगरी हालको समयमा कोरोनाबाट बाँच्न वा रोग प्रतिरोधात्मक क्षमता बढाउन डाक्टरले पनि क्वाँटी खान सुझाव दिन्छन् ।

यसबाट शक्ति र स्वाद दुवै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । प्रोटिन मानव शरीरको लागि अति आवश्यक तत्त्व हो । यसले शरीरका कोशिकाको निर्माण र मर्मतमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसका साथै टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । नेपालमा परापूर्व कालदेखि नै जनपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनै पूर्णिमाको दिन अधिकांशको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ ।

(यो लेख विष्णुप्रसाद पोखरेलसँगको कुराकानीमा आधारित छ, उनी वेद विद्याश्रम गौशालाका प्राचार्य हुन् ।)

यो पनि पढ्नुहोस्
असार १५ मा दही चिउरा किन खाइन्छ ?
यसकारण खाइन्छ साउन १५ मा खीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार

तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम