English

कांग्रेस नेता प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रका १५ प्रश्न



विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिहंलाई १५ प्रश्न गरेका छन् ।

कांग्रेस नेता सिंहले हिजो एक कार्यक्रममा मिश्रप्रति व्यङ्ग गरेपछि त्यसको जवाफमा उनले १५ प्रश्न गरेका हुन् । उनले सिंहको नाम नलिई प्रश्न गरेका छन् ।

‘लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘बरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ । उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो,’ मिश्रले भनेका छन् ।

सिंहले हिजो मिश्रको नाम लिएर दल खोल्नु भनेको नाङ्ग्लो पसल खोलेजस्तो नभएको भन्दै व्यङ्ग्य गरेका थिए । मिश्रले आफ्नो पार्टी दुई वर्ष पनि टिकाउन नसकेको आरोप सिंहले लगाएका थिए, जसको जवाफ आज मिश्रले दिएका हुन् ।

मिश्रले कांग्रेस नेता सिंहलाई गरेका १५ प्रश्न यस्ता छन्ः

१. पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो ? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

२. संसद भनेको देशको नीति–नियम बनाउने थलो हो । तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के, के विषयमा कति पटक बोल्नुभयो ? बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो ?

३. तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद । राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्र्याफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो ? फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो !

४. काठमाडौँ सम्पदाको शहर हो । सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि ?

५. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो । अहिले छुन पनि हिचकिचाउनु पर्छ । नदिनाला सफाईका लागि केही काम गर्नुभयो ?

६. त्यो सांसद विकास कोष भन्ने छ नि ? त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो । तपाईंले त्यो लिनु भयो कि भएन ? वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो नि, हगी ?

७. तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि ? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो ? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालावन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो ?

८. इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि ?

९. साँच्ची, नेपाली पुरूषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो ?

१०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्याधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन । त्यो त गम्भिर विषय हो नि । अलि चासो दिनु पर्थेन ?

११. हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ । त्यो त अति भएन र भन्या ?

१२. तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो ?

१३. अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?

१४. झण्डै एउटा कुरा विर्सिएको । गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे ? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ । छ भने बताइदिनोस् न, कृपया ।

१५. तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ । मैले त बीपी, कृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ । तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो । १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन । मौका पाए कोही नबस्ने देश बनाउनु भयो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो । खै के भनुँ ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ । मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?

यो पनि…
रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग
विवेकशील साझा पार्टीमा लफडा, कसले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,