English

२०७७ सालमा कुन-कुन वस्तुमा भयो अधिक मूल्य वृद्धि



कोभिड १९ को महामारीमा संसार नै त्रासमा रह्यो । महामारीको समयमा कति त भोकभोकै बस्न बाध्य भए । ब्यापारीहरुले कोरोना महामारीको समयमा बजारमा मूल्य वृद्धि, ठगी, कालोबजारी गर्न छाडेनन् । मूल्यवृद्धिका साथसाथै गुणस्तरहीन समानमा नयाँ लेबल टाँसेको घटना सार्वजनिक भए । २०७७ सालमा अधिक मूल्य वृद्धि भएका वस्तु के-के रहे ?

खानेतेल

खानेतेलमा दुई सयसम्म मूल्यवृद्धि भएको छ । छ महिना अघि भट्मासको तेल प्रतिलिटर १ सय ७० रुपैयाँ रहेकोमा ढेड महिनाअघि प्रतिलिटर २ सय ५ रुपैयाँ पुग्यो । कच्चा पदार्थको मूल्य बढ्नुका साथै उत्पादन लागत बढेकाले मूल्य बढाएको व्यवसायीले बताएका छन् । खानेतेलमा वास्तविक मूल्यभन्दा अत्याधिक मूल्य वृद्धि भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् ।

पेट्रोलियम पदार्थ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पटक–पटक वृद्धि गरेको छ । नेपाल सरकारको नियमअनुसार १५ दिनमा एक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नीति छ । तर १५ दिनमा ४ पटकसम्म मूल्य मूल्यवृद्धि भएको बानियाँ बताउँछन् । यही चैत्र २२ गते पेट्रोल, डिजेल र मट्टितेल प्रति लिटर २ रुपैयाँ वृद्धि भएर पेट्रोल १ सय २० रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ३ रुपैयाँ निर्धारण गरिएको छ ।

फागुन ४ र फागुन १७ तथा माघ ६ र माघ २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको थियो ।

खानेपानी

खानेपानीको महशुल पनि अत्याधिक बढेको बताउँछन् उपभोक्त हित संरक्षण मञ्चका सचिव हरि मैनाली । उनका अनुसार सरकारकै मिलेमतोमा नै पानीको मूल्य वास्तविक मूल्यभन्दा बढी भएको हो । नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत साउनमा जारको प्रशोधित खानेपानीको अधिकतम खुद्रा मूल्य ५० र बोटलमा पाइने प्रशोधित खानेपानीको मूल्य १६ रुपैयाँ निर्धारण गरेको थियो ।

असोज २२ गते पानी फ्याक्ट्रीले नै प्रतिजार ४० रुपैयाँ मूल्य निर्धारण गरेपछि फ्याक्ट्रीबाट प्रतिजार ४० मा किनेको पानी व्यापारीले प्रतिजार ५० रुपैयाँ र घरमा पुर्याएको ६० रुपैयाँ प्रतिजार बिक्री गरेका थिए । त्यसैगरी थोक ब्यापारीले बोटलको पानी डेढ सय रुपैयाँ प्रतिकार्टुन किनेर उपभोक्तासम्म पुग्दा १ सय ७० रुपैयाँ प्रतिकार्टुन पुगेको थियो । जबकि यसअघि बोटलको पानी प्रतिकार्टुन १ सय ३० रुपैयाँ थियो ।

तरकारी

२०७७ सालमा अधिक मूल्य वृद्धि भएको मध्ये तरकारी पनि हो । गत ६ महिनामा मटरको दोब्बर मूल्य वृद्धि भएको छ । ६ महिना अगाडि हरियो मटरको मूल्य प्रतिकिलो ७० र सेतो मटर ६० थियो भने हाल हरियो मटरको १ सय ४० र सेतो मटरको मूल्य १ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । आन्तरिक र भारतीय उत्पादन नभएर तेस्रो मूलुकबाट आयात हुने भएकाले यसको मूल्य दोब्बर वृद्धि भएको व्यापारी बताउँछन् । मटर नेपालमा सबैभन्दा बढी बंगलादेशबाट आयात हुन्छ ।

गएको वर्ष टमाटर, आलु र प्याजको मूल्य अकासिएको थियो । बन्दाबन्दी अगाडि प्रतिकिलो ४५ रुपैयाँ रहेको टमाटरको मूल्य ३० देखि ५० रुपैयाँ वृद्धि भएर १ सय ५० रुपैयाँसम्म प्रति किलो पुगेको थियो । यसैगरी प्रतिकिलो ४५ देखि ५० रुपियाँ पर्ने आलुको मोल दोब्बर वृद्धि भएर १ सय देखि २ सय रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी तथा तरकारी फलफूल बजार विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले बताए ।

धितालका अनुसार भदौमा तेस्रो सातासम्म प्रतिकिलो ४५ देखि ५० रुपैयाँ पर्ने प्याजको मूल्यमा चौथो साता दोब्बर मूल्य वृद्धि भएर १ सय रुपैयाँ पुगेको थियो । असोज १ मै थोक मूल्य १ सय १० वृद्धि भएपछि खुद्रा मूल्य १ सय ५० देखि २ सय पुगेको थियो । यसरी तरकारीको मोल तेब्बरसम्म वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत कात्तिकमा मात्र मूल्यवृद्धि गर्ने सरकारको लक्ष्य रहेपनि राष्ट्र बैंकले मूल्यवृद्धि सीमाभित्र राख्न नसकेपछि बजारमा महँगी बढेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्याङ्कअनुसार मूल्यवृद्धि ६.८२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.५८ प्रतिशत थियो । चालु आर्थिक वर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढेर १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.२५ प्रतिशत मूल्यवृद्धि भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested