English

रुपान्तरण हुदैछ रुपन्देही

पूर्वाधार विकास मात्र होइन रुपन्देही उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बन्दै छ


पाँच वर्षअघि भैरहवादेखि लुम्बिनी पुग्न एक घण्टा लाग्थ्यो । गौतमबुद्धको जन्मस्थल जान लालयित पर्यटक साँघुरो र भत्किएको सडकका कारण दिक्क हुन्थे । त्यसमाथि पुराना र थोत्रा बसको यात्राले पर्यटकीयस्थल पुग्ने पर्यटकको यात्रा पट्यारलाग्दो हुन्थ्यो ।

लुम्बिनी प्रवेशद्वारमै परेका खाल्डाखुल्डीले साना सवारी साधन सडकमै फस्ने अवस्था थियो । अहिले बुद्धचोकदेखि लुम्बिनी पुग्ने सडक छ लेनको बनेको छ । सडक फराकिलो भएपछि भैरहवा–लुम्बिनीको दूरी छोटिएको छ । अहिले १५ मिनेटमै भैरहवादेखि लुम्बिनी पुग्न सकिन्छ । फराकिलो सडक, डिभाइडरमा राखिएका गौतम बुद्धका मूर्ति र रङ्गीचङ्गी फूलहरुले सडक सुन्दर देखिएको छ ।

फराकिलो बनेको बुटवल–बेलहिया र भैरहवा–लुम्बिनी सडकले रुपन्देहीको रुप फेरिएको छ । यही सडक छेउमै बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले रुपन्देहीको सान–मान बढाएको छ ।

केही समयअघि उद्योगपति विनोद चौधरीले भैरहवा–बुटवल सडकखण्डको यात्रा गर्दैगर्दा सामाजिक सञ्जालमा आफू युरोप पुगेको अनुभूति भएको भन्दै प्रतिक्रिया दिएका थिए । संसार घुमेका चौधरीले दिएको उक्त प्रतिक्रिया हेरेर रुपन्देहीको विषयमा सकारात्मक धारणा बनाउनेको सङ्ख्या बढ्यो ।

नेपालकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमास्थल भित्रिन र बाहिरिन आवश्यकपर्ने सडक सञ्जालको परिकल्पना आयो । अहिले जिल्लाका १६ वटै पालिकालाई जोडेर सडक सञ्जाल बनेको छ । कतिपय ठाउँमा ढिलासुस्ती भए पनि अधिकांश ठाउँमा काम सम्पन्न भइसकेका छन् ।

तिनाउ र दानव नदी किनारै किनार भारतीय सीमानासम्म पुग्ने करिडोर सडक निर्माण सुरु भएको छ । यसले भारतीय पर्यटकलाई भैरहवा विमानस्थलसम्म अथवा बेथरी बेलवास हुँदै बुटवल–पाल्पा–पोखरासम्म यात्रा गर्ने छोटो र सजिलो सडक बन्नेछ । बीचमा नहर सहितको यो सडक नमूना पर्यटन सडक हो ।

बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे र बुटवल–पोखरा सडक छ लेन, चार लेन र डेडिकेटेड सडकका रुपमा विस्तार हुँदैछन् । प्रादेशिकस्तरको रामापिथेकस जुलोजिकल पार्कको व्यवस्थापन योजना बन्नु, धार्मिक–साँस्कृतिक हिसाबले अन्तर्राष्ट्रिय महत्व राख्ने लुम्बिनीको गुरूयोजनाले पूर्णता पाउदैछ ।

बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि टेण्डर भइसकेको छ । बुटवलको तिनाउ पुलमा सिग्नेचर ब्रिज बन्दैछ । रुपन्देही पूर्वाधार विकास मात्र होइन उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनेको छ ।

पालिका क्षेत्रभित्र रहेका विभिन्न स्थानमा पर्यटन पूर्वाधारको विकास हुँदैछ । हिल स्टेशन, चिडियाखाना, बोटानिकल गार्डेन, धार्मिक एवं साँस्कृतिक स्थलको प्रवद्र्धन र विकास, ऐतिहासिकस्थलको प्रवद्र्धन र विकास, बैठौलियामा जलपर्यटन, पर्यापर्यटन, कृषि फार्मसहितको कृषि पर्यटन, खेल तथा साहसिक खेल पर्यटन, इको पर्यटन आदिको प्रवद्र्धन र विकास गर्ने योजना बुटवल उपमहानगरपालिकाको छ ।

पर्यटन क्षेत्रलाई पालिकाको आर्थिक समृद्धिको प्रमुख मेरूदण्डका रूपमा विकास गर्न यहाँका सबै पालिकाले योजना बनाएका छन् । पर्यटनका लागि आवश्यकपर्ने विभिन्नस्तरका होटल तथा लज, विशेष यातायात सुविधा, पर्यटक बस सेवा, विद्युतीय यातायात, विभिन्न प्रकारका रिसोर्ट, होमस्टे, स्थानीय अर्गानिक र रैथाने उत्पादनका लागि निजी क्षेत्र, सहकारी एवं स्थानीय समुदायसँग सहकार्य गरी पालिकाले कार्यक्रम तय गरेका छन् ।

बुटवलको ड्रिम प्रोजेक्टका रूपमा निर्माण सुरू गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अन्तिम चरणमा पुगेको छ । २०७१ माघ १५ मा सम्मेलन केन्द्रको शिलान्यास गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि रूख कटानमै २७ महिना अल्मलिएपछि ढिलोगरी निर्माण थालिएको थियो ।

आकाशबाट हेर्दा चन्द्र–सूर्य अङ्कित नेपालको झण्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्र डिजाइन गरिएजस्तै आकर्षक देखिएको छ । पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल रामनगरमा सम्मेलन केन्द्र निर्माण गरिएको हो ।

पछिल्लो समय बनिरहेका ठूला पूर्वाधारले रुपन्देही बृहत् सहरका रुपमा विकसित हुँदैछ । तीव्ररूपमा भइरहेको बसाइँसराइले यो क्षेत्र भरिँदै गएको छ । बुटवलदेखि भैरहवासम्मको सडकछेउ सहरीकरण भइसकेको छ । सैनामैनाको सालझण्डीसम्म उस्तै सहर छ । दक्षिणतर्फ फर्साटिकर, अमुवासमेत सहरीकरण भइरहेका छन् ।

बुटवलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले रुपन्देहीलाई अझै चलायमान बनाउनेछ । त्यस्तै सैनामैनाको कर्साघाटमा बन्ने आधुनिक कृषिउपज केन्द्र निर्माण, रङ्गशाला र बुटवल–नुवाकोट र बुटवल–वसन्तपुर केबलकारले बुटवल मेगासिटीको सपनालाई मूर्तरूप दिनेछन् ।

आधुनिक सहरको जनघनत्वलाई थेग्ने गरी खानेपानीको प्रबन्ध गर्न झुम्सा खोला खानेपानी आयोजनाको काम थालिएको छ । बुटवलमा दैनिक तीन करोड लिटरभन्दा धेरै पानी आउने गरी कामको थालनी भइरहेको छ ।

यस्तै सिद्धबाबाको सुरुङमार्ग र कालीगण्डकी तिनाउ डाइभर्सनले पनि यो सहरलाई अझै आकर्षक बनाउनेछन् । सिद्धबाबामा खसिरहने पहिराबाट हुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण छ । माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा सुरुङमार्ग निर्माण हुँदैछ ।

डाइभर्सनपछि तिनाउमा जलपर्यटक भित्र्याउने योजना छ । ती पर्यटक लुम्बिनीबाट बुटवल हुँदै पाल्पाको तानसेनसम्म पुग्नेछन् २१ फागुन ०७७ मा शिलान्यास गरेको मोतीपुर औद्योगिक क्षेत्र पनि निर्माणाधीन अवस्थामा छ । १ चैत २०७२ को मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेशमा एक हजार बिघाका ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेअनुसार मोतीपुरमा औद्योगिक क्षेत्र निर्माण सुरु भएको हो । जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोदन गाउँपालिकाको ८१३ बिघा क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्र बनाइँदैछ ।

बुटवललाई मेघासिटीका रुपमा निर्माण गर्न विभिन्न पूर्वाधार, नमूना अटोभिलेज, नमूना ट्रान्सपोर्ट भिलेज बनिसकेका छन् । यसले सहरमा हुने अनावश्यक भीड र कुरुपतालाई नियन्त्रण गर्ने छ । बुटवलदेखि भैरहवा र लुम्बिनीसम्म विद्युतीय बस सञ्चालनमा आएको छ ।

बुटवल उपमहानगरपालिका–१२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम निर्माण भएको छ । बुटवलको व्यस्त सहरी क्षेत्रमा हेवीलोडका सवारी साधनलाई छिर्न नपर्ने र ट्राफिक व्यवस्थापन गर्न निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले अलग्गै ढुवानी ग्राम निर्माण गरेको हो । तीन बिघा क्षेत्रफलमा सार्वजनिक–निजी साझेदारीको करिब रु ३७ करोड लागतमा ढुवानी ग्राम निर्माण भएको हो । ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट ३ दशमलव ६ किलोमिटर दूरीमा छ ।

स्वास्थ्य र शिक्षामा पनि यो जिल्लाले फड्को मारेको छ । यहाँका निजी तथा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएपछि अध्ययनका लागि काठमाडौँ जानुपर्छ भन्ने मान्यता हटेको छ भने स्वास्थ्य क्षेत्रमा भएको विकासले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ । यहाँ लुम्बिनी प्रादेशिक अस्पताल, भीम अपताल र भैरहवा मेडिकल कलेज छन् । यसका अलावा एक दर्जन बढी निजी अस्पताल सञ्चालनमा छन् ।

गौरवपूर्ण इतिहास र राष्ट्रिय स्वाधीनताको प्रतीक जीतगढी किल्लालाई संरक्षण तथा प्रवद्र्धन गर्ने क्रममा उजिर सिंहको पूर्णकदको शालिक स्थापना हुनु, जीतगढी (बटौली) युद्ध सङ्ग्रहालयको निर्माण कार्यको प्रक्रिया अघि बढ्नु, मोतीपुरमा थारू सङ्ग्रहालय तथा थारू सांस्कृतिक ग्राम र आवास क्षेत्रको योजना कार्यान्वयन गर्न विस्तृत परियोना प्रस्ताव तयार हुनु, अटो भिलेज, ट्रान्सपोर्ट भिलेजजस्ता कार्यले व्यवस्थित र विशिष्टिकृत सहरीकरणको आरम्भ भएको छ ।

यी विभिन्न योजनाका कारण रुपन्देही देशलाई विकास सिकाउने थलोका रुपमा परिणत भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सडकलगायत अन्य पूर्वाधार निर्माणले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको छ ।

तस्वीरहरू : मेरो लाइफस्टाइल

यो पनि…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान (फोटो फिचर)
लुम्बिनी विकास कोष : ४४ वर्षमा ८५ प्रतिशत काम (फोटो फिचरसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली