English

लगातार दुईपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एक्कासि किन चुक्यो ?



राष्ट्रिय टोलीका अधिकांश र नेपालमा उपलब्ध उत्कृष्ट विदेशी खेलाडी प्रेरित मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रोपटक शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भयो । पाँचौं चरणमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मच्छिन्द्रले एएफसी कप–२०२२ प्लेअफका लागि छनोट हुने लगभग छाँट देखायो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नियमअनुसार यसपटक शीर्ष डिभिजन लिगको सातौँ चरण सकिँदा शीर्षस्थानमा रहने टोलीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने थियो । सातौँ चरण सकिँदा शीर्षस्थानमा रहेको मच्छिन्द्र अन्तिमसम्म आइपुग्दा दुई खेलअघि नै लगातार लिग जित्न सफल भयो ।

एएफसी क्लब लाइसेन्स भएका कारण मच्छिन्द्रले पहिलोपटक एएफसीको प्रतियोगिता खेल्ने अवसर पायो । उसले प्रतिद्वन्द्वी पायो श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार एससी । फिफा वरीयतामा श्रीलंकाभन्दा नेपाल बलियो रहेका कारण मच्छिन्द्रले घरेलु मैदानमा ब्लु स्टारलाई स्वागत गर्‍याे ।

तर, कमजोर मानिएको ब्लु स्टारले मंगलबार भएको पहिलो प्ले अफमा मच्छिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्यो । घरेलु मैदानमा मछिन्द्र २–१ अन्तरले पराजित भयो र समूह चरण खेल्ने सपना साकार पार्न सकेन । खेल शुरु भएको केही मिनेटमै मच्छिन्द्रले आक्रामण बुन्ने प्रयास गर्‍याे । तर, सफल भएन । मछिन्द्रको शुरुवाती ‘पेस’ का कारण ब्लु स्टारले रक्षात्मक खेल खेल्यो । यस्तो अवस्थामा उसले मानसिक गेम खेल्यो र गोल पनि गर्‍याे ।

हुन त मच्छिन्द्र क्लबका गोलरक्षक विशाल श्रेष्ठले आफ्नो जादू नदेखाएका पनि हैनन् । ब्लु स्टारले पेनाल्टीमार्फत अग्रता बनाउने प्रयासलाई असफल पारिदिए । तर, ब्लु स्टारका मोहमेद इसान र सेनाल सन्देशलाई मच्छिन्द्रका रक्षकले रोक्न नसक्दा मच्छिन्द्र घरेलु मैदानमा निराश बन्यो । खेलको अन्त्यतिर कप्तान सुजल श्रेष्ठले गोल गरे पनि त्यो खेल जित्न पर्याप्त थिएन ।

खेलमा मच्छिन्द्रले केही अवसर बनायो पनि । तर, एक दर्जनभन्दा बढी मच्छिन्द्रको आक्रमणको प्रयास सफल भएन । २-३ राम्रा बल पोलमा ठाेक्किन पुगे । मच्छिन्द्र खास फाइनल टचमा पुगेर असफल भयो । टोली पूर्ण रूपमा फिनिसिङमा चुक्यो ।

हुन त समस्या मच्छिन्द्रको यो खेलमा मात्र देखिएको हैन । शीर्ष डिभिजन लिग र मोफसलमा समेत देखियो । लिग दुई खेलअघि नै जिते पनि मच्छिन्द्रले कमै मात्र खेलमा सहज जित पायो । रेलिगेसनमा परेको ब्रिगेड ब्वाइज क्लब (बीबीसी)विरुद्ध मात्रै उसले सहज ४-० अन्तरको जित पायो ।

लिग शुरु हुनुअघि नै मच्छिन्द्रले राष्ट्रिय टोली र केही बाहिर रहेका अग्रपंक्तिमा आधा दर्जन खेलाडी उभ्यायो । तर, सधैँ समस्या फाइनल टचको । जुन समस्या मोफसल र ब्लु स्टारविरुद्ध देखियो ।

मेसौकेलाई यसकारण पाएन मच्छिन्द्रले

यही समस्याको निवारणका लागि उसले मुख्य फरवार्ड नै भित्र्याउने प्रयास गर्‍याे । तर, ब्लु स्टारविरुद्ध सफल भएन । उसले चाहेको थियो, पछिल्लो दुई सिजन घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका क्यामरुन फरवार्ड मेसौके ओलोउमोउ ।

तर, पछिल्लो समय जारी ‘ए’ डिभिजन क्लब र एनएसएल विवादका कारण मच्छिन्द्रले उसलाई पाएन । ‘एनएसएलले गर्दा फरवार्ड पाएनौं । त्यो भएको भएर (विवाद) फरवार्ड ल्याउन गाह्रो भयो,’ ब्लु स्टार क्लबसँग पराजित भएपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले भने ।

यसअघि, लिग जारी रहँदा नवौँ चरणमा विश्राम भयो । यसपछि क्लब आहा-रारा गोल्डकप खेल्न मोफसल गयो । यसक्रममा उसले उही मेसौकेलाई न्युरोड टिम एनआरटीबाट झिकाएको थियो । जहाँ उनको राम्रो तालमेल थियो । गोल पनि गरेका थिए ।

यसपछि क्लब पदाधिकारी प्लेअफ खेलमा मेसौके झिकाउनेमा ढुक्क थिए । तर, लिग सकिएर मोफसल प्रतियोगिता पूरा नहुँदै ए डिभिजन लिग खेल्ने आठ क्लबले एनएसएल आयोजना र अस्तित्व विषयमा कुरा उठाए ।

फुटबल नियमविपरित मार्की खेलाडी छनोट गरेको, अनुबन्धनमा रहेका खेलाडीको अक्सन नगराउन ‘ए’ डिभिजन क्लबले माग राखे । तर, चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल आयोजक ‘नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्ट’ पछि हटेन । यसपछि आठ बाट चार क्लबमा झरेका ए डिभिजन क्लबले पत्रकार सम्मेलन गर्दै एन्फालाई चेतावनी नै दिए ।

शुरुवाती चरणमा एनएसएल विरोधी बनेको मछिन्द्र एक्कासि ‘ए’ डिभिजन क्लबको साथ छोड्दै चौधरी ग्रुपतर्फ मोडियो । ए डिभिजन लिगमा लामो इतिहास बोकेका संकटा क्लब, एनआरटी, थ्रीस्टार र कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङले बारम्बार एनएसएल आयोजना र अस्तित्वको विषयमा कुरा उठाए । जसका कारण प्रतियागिता नै नहुने संघारमा पुगेको छ । आयोजकले प्रतियोगिता अनिश्चितकालीन स्थगित गरेको छ ।

यही विवादका कारण एनआरटीले आफ्ना भरपर्दा फरवार्ड मच्छिन्द्रलाई दिन मानेन । एनआरटीले फुकुवा नगरेपछि मच्छिन्द्र उपलब्ध खेलाडीबाट नै ब्लु स्टारविरुद्ध अन्तिम समयमा उत्रन तयार भयो । ‘गोल गर्ने क्षमता भएका विदेशी खेलाडी नेपालमै दिए । हामीले चाहेको खेलाडी अर्काे क्लब (नाम नखुलाइएको)ले फुकुवा गर्न चाहेन । त्यही समस्या भयो,’ कटुवालले भने ।

पछिल्लो समय घरेलु फुटबलमा मेसौके रुचाइएका फरवार्ड हुन् । संकटा क्लब हुँदै नेपालमा भित्रिएका मेसौकेले एनएसएलमा भने काठमाडौं रेजर्सबाट जादू देखाएका थिए । उनले एक ह्याट्रिकसहित ८ गोल गरे । उनको प्रदर्शन प्रेरित काठमाडौं च्याम्पियनसमेत भयो ।

यसपछि लिग हुने टुंगो नलाग्दै एनआरटीले तामझामसहित मेसौके र उनको जोडी खेलाडी स्टेफनलाई दशरथ रंगशालामा सार्वजनिक गर्दै अनुबन्धन गर्‍याे । तर, लिगको शुरुवाती पाँच खेलमा आफ्नो जादू देखाउन नसकेका मेसौकेले पुनः आफू लयमा रहेको जनाउँदै पछिल्ला आठ खेलमा एक ह्याट्रिकसहित सात गोल गरे ।

यता, नेपालमा राम्रो ‘भाउ’ पाएका मेसौकेको पर्खाइमा रहेको मच्छिन्द्र ब्लु स्टारविरुद्ध पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ ।

यो पनि
आयरल्याण्डसँग नेपाल पराजित
भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,