English

महाकालीको किनारमा बालुवा चाल्नेहरू…



कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–१२ ओदालीकी जानकी कामी दुई नाबालक छोरा घरमा छाडेर प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी महाकाली नदीको बगरमा बालुवा छान्दै गरेको अवस्था भेटिइन् ।

पारिवारिक समस्याले दैनिक गुजारा चलाउन सकस हुन थालेपछि विगत चार वर्षदेखि नदीको बगरमा श्रम गरिरहेकी उनले दुई वर्ष भने कोरोना महामारीका कारण काम गर्न नपाएको बताइन् ।

‘श्रीमान् सहचालकको काममा हुनुहुन्छ, म चाँही दुई नाबालक छोरा आमालाई हेरचाह गर्न लगाएर बालुवा र गिट्टी छान्न यहाँ आउँछु । बगरमा भेटिएकी कामीले भनिन्, ‘यस्तो गर्मीमा बगरमा कष्टपूर्ण काम गर्ने कस्लाई रहर हुन्छ र बाध्यताले यहाँ आएको हूँ ।’

उनले बगरको कमाईले छोराहरूका लागि कापी, कलमका साथै दैनिक रासन किन्ने गरेको बताइन् । जानकी जस्तै यहाँ दलित र विपन्न समुदायका अधिकांश महिला यतिबेला महाकालीमा बालुवा र गिट्टी छान्दै छन् ।

उक्त नदीको तटीय क्षेत्रका साथै कञ्चनपुरको शुक्लाफाँटा, बेल्डाँडी र बेलौरी नगरपालिकालगायत क्षेत्रका वासिन्दा दैनिक गुजारका लागि बालुवा छान्न आएका भेटिन्छन् ।

बेल्डाँडी र बेलौरीबाट आएकाहरू बगरमा झोपडी बनाएर श्रम गरिरहेका छन् । महाकाली नदीमा मजदुरी गर्नेहरूबाट प्रतिट्रली बालुवा एक हजार र गिट्टी दुई हजारमा बिक्री भइरहेको छ ।

‘यो पालि त निर्माण सामग्री महंगो भएर हो कि के हो ? ट्याक्टहरू पनि बालुवा, गिट्टी लिन धेरै आएका छैनन् ।’ भीमदत्त नगरपालिका–१३ बडैपुरका ७० वर्षीय नरी परीले भनिन्, ‘एक हप्ता भयो, सङ्कलन गरेको सामान नै बिक्री भएको छैन ।’

आफन्तले दिएको तटीय क्षेत्रको घडेरीमा झोपडी बनाएर बसेकी बाजुराकी परीले पनि आफ्नो रोजगारीको गन्तव्य नै नदीको बगर भएको बताइन् ।

आफन्तले दिएको तटीय क्षेत्रको घडेरीमा झोपडी बनाएर बसेकी बाजुराकी नरी परीले आफ्नो रोजगारीको गन्तव्य नै नदीको बगर भएको बताइन् ।

‘पहाड बाजुरा घरमा खोलाले छोरा बुहारी नै बगाए पछि म विरक्त भएर यहाँ झरेँ,’ उनले भनिन्, ‘कोरोनाका बेला राहतले भोक टर्‍यो, अहिले नदीमा वालुवा छान्दै छु ।’ असोजदेखि जेठ मसान्तसम्म बगरमा श्रम गर्दै आएकी उनले असोजदेखि भदौसम्म भने गाउँमा ज्याला मजदुरीमा लाग्ने गरेको बताइन् ।

महाकाली नदीमा उत्तर भुजेलादेखि दक्षिणमा बडैपुरसम्म दैनिक चार–पाँच सय मानिसहरू बालुवा/गिट्टी छान्न व्यस्त देखिन्छन् । त्यसैगरी बडैपुरकी ६८ वर्षीया वैशाखी सुनार पनि बगरमा तीन पुस्तासँगै बालुवा छान्दै गरेको अवस्थामा भेटिइन् ।

‘यो पालि महाकाली नदीमा आएको बाढीले धानको दानासम्म देख्न पाएनौँ,’ उनले भनिन्, ‘के गर्ने हजुर, दिनभर बगरमा काम नगरी बेलुकी घरको चुल्हो बल्दैन् ।’ बुहारी र २१ वर्षीय नातिनीसहित बगरमा श्रम गरेको एक दशक नाघेको सुनारको भनाइ थियो ।

‘छोराले बुहारी छाडेर अन्तै विवाह गरेर हिँड्यो, बुहारी र नातिनी लिएर काम गर्दै जीविका चलाउँदैछु,’ उनले भनिन्, ‘नातिनी अञ्जुले पनि घरको अवस्थाले तीन वर्षअघि दश कक्षामै पढाइ छाडिन् ।’ आमा र बज्यैसित बालुवा छान्दै गरेकी अञ्जुले पनि बगरमा काम गर्न आउनु आफ्नो बाध्यता भएको सुनाइन् ।

‘कुनै सीप सिकेर आयमूलक काममा लाग्न पाएको भएको भए हुन्थ्यो भन्ने सोचमा छु’ अञ्जुले भनिन्, ‘तर के गर्नु माथिल्लो तहमा आफ्नो पीडा सुनिदिने कोही भएनन् ।’ उनले बस्तीमा कोरोनाका बेला राहतस्वरुप खाद्यान्न पाए पनि आफ्नो परिवारलाई बेवास्ता गरिएको दुःखेसो गरिन् ।

‘हिजोआज बिहान ६ बजे आएर साँझ ७ बजेसम्म बगरमै बालुवा छान्छौँ,’ अञ्जुले भनिन्, ‘घरका सबै यहाँ आएर काम गर्दा मुस्किलले घर खर्च चलेको छ ।’ त्यस्तै बडैपुरकी जुना लुहार पनि आधा दशकदेखि बगरकै काममा पाएको ज्यालाको भरमा जीविका चलाउँछिन् ।

‘दालचामलदेखि छोराछोरीको कापीकलमका लागि बगरमा काम नगरी हुँदैन,’ उनले भनिन्, ‘बालुवा र गिट्टीको समयसापेक्ष मूल्य भएन ।’ निकै कष्ट गरेर छानेको बालुवा अन्यत्रभन्दा सस्तोमा बिक्री गर्नु परेको लुहारको भनाइ थियो ।

दलित र विपन्न समुदायसँगै तटीय क्षेत्रका अन्य समुदायका महिला तथा पुरुष पनि फुर्सदका बेला बगरमा बालुवा÷गिट्टी छान्न जाने गरेको स्थानीयवासीको भनाइ थियो ।

यो पनि…
भैँसी पालेर नामसँगै दाम कमाउँदै

गोलभेँडा खेतीले आत्मनिर्भर
जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा
दुबोधागो बनाउने पेसाले जीविका धानिदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,