वायु प्रदूषणको असर सर्जिकल मास्कले रोक्दैन



केही साता यता काठमाडौं उपत्यकामा फैलिएको वायु प्रदूषणको असर सर्जिकल मास्कले नरोक्ने चिकित्सकहरू बताउँछन् । यो मास्कले बाक्लो धुलोका कणलाई मात्र रोक्ने तर, मिहिन धुलोका कणलाई नरोक्ने हुँदा यस्तो बेला एन ९५ जस्ता मास्कको प्रयोग गर्नुपर्ने छाती रोग विशेषज्ञ डा. नविन मिश्र बताउँछन् ।

‘अहिले धेरैजसो मानिसले सर्जिकल मास्क प्रयोग गरिरहेको देख्छु । तर, यो मास्कले वायु प्रदूषणलाई रोक्दैन । त्यसैले, यस्तो अवस्थामा एन ९५ मास्क लगाउनुपर्छ,’ उनले भने, ‘सर्जिकल मास्कले १० माइक्रोनभन्दा साना धुलोका कणलाई छेक्दैन । तर, एन ९५ मास्कमा फिल्टर हुने भएकाले ०.३ माइक्रोनसम्मका धुलोका कणलाई रोक्छ ।’

वायु प्रदूषणको मात्रा उच्च रहेको बेलामा मिहिन धुलोका कण पृथ्वीको सतहमै रहेका हुन्छन् । त्यसैले, सुरक्षित मास्कको प्रयोग नगर्दा ती मिहिन धुलोका कण फोक्सोको भित्री तहमा पुगेर टाँसिन्छन् । यस्ता धुलोका कणले स्वास्थ्यमा गम्भीर समस्या पार्ने भएकाले सुरक्षित मास्क लगाउनुपर्ने अर्का छाती रोग विशेषज्ञ डा. राजु पंगेनीको तर्क छ । ‘वायु प्रदूषणका बेला मिहिन धुलोका कण सतहमै रहन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा घरबाहिर हिँड्डुल गर्दा श्वासप्रश्वासको माध्यमबाट ती धुलोका कण शरीरभित्र प्रवेश गर्छन् । त्यसैले, यस्तो अवस्थामा सर्जिकल मास्कको प्रयोग गर्नु हुँदैन ।’ प्रदूषण बढिरहेको अवस्थामा सावधानी नअपनाउँदा फोक्सो क्यान्सर, हृदयघात, मस्तिष्कघात, रक्तक्यान्सर, दम, एलर्जी हुने सम्भावना धेरै हुने डा. मिश्र बताउँछन् ।

काठमाडौंमा बढिरहेको वायू प्रदूषण अझै नियन्त्रणमा आउन सकिरहेको छैन । उच्च वायुमण्डलमा भएको स्थिरताका कारण वायु प्रदूषण फेरि बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठ बताउँछन् । ‘केही दिनअघि छिटपुट वर्षा भएतापनि पश्चिमबाट वायुमा धुलो धुवाँ मिसिएर आउने क्रम अझै रोकिएको छैन,’ उनी भन्छन्, ‘ती धुलो र धुवाँ वायु मण्डलको माथिल्लो तहमा स्थिर भएर बसेको छ । हावा र भारी वर्षा नुहँदा वायु प्रदूषण हटेन ।’

त्यसैले, अहिलेको वायु प्रदूषण हट्नका लागि माथिल्लो वायुमण्डलमा हावा चल्नुपर्ने कि त भारी वर्षा हुनुपर्ने जल तथा मौसमविद ङमिन्द्र दाहाल बताउँछन् । ‘काठमाडौं उपत्यकामा केही सातादेखि बढेको वायू प्रदूषणको मात्रा अझै पनि घटेको छैन,’ उनले भने, ‘यो प्रदूषण हट्नका लागि कि भारी वर्षा हुनुपर्छ कि त ठूलो हावाहुरी चल्नुपर्छ, नभए यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ ।’

अहिले काठमाडौंको वायु गुणस्तर सूचक २९६ छ । यसलाई घातक मानिन्छ । यतिबेला सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको आकाशमा बादल भएपनि अन्य प्रदेशमा भने बादल छैन, जसले मौसम सफा छ भन्न सकिन्छ । तर, धुलो धुवाँले आकाश ढाकेको हुनाले सूर्यको किरण पृथ्वीमा आउन नसकेको मौसमविद् श्रेष्ठ बताउँछन् । यो प्रदूषण हट्न पश्चिमी वायु प्रणालीको राम्रो विकास हुनुपर्ने उनको भनाई छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई