English

को-को कलाकार मूर्ख बने, क–कसले बनाए ?

विश्व मूर्ख दिवस



आज अप्रिल १ अर्थात् विश्व मूर्ख दिवस । यो दिन विश्वभरका मानिसहरू साथीभाई तथा इष्टमित्रलाई झुक्याउँदै मूर्ख बनाउने चलन छ । अरुलाई मूर्ख बनाएर दुःख दिने, आफूले आनन्द लिने यो दिन कतिपय मानिसले निको मान्दैनन् । तैपनि रमाइलो मान्दै एकअर्कालाई झुक्याउने र मूर्ख बनाउने चलन नेपालमा पनि बढ्दै गएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत झुक्याउने चलन बढेको छ । नेपालमा आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको र लकडाउन हुने भन्ने पुराना समाचारका लिंक सेयर गर्दै धेरैलाई झुक्याउने प्रयास भयो ।

आज विशेषगरी नेपाली कलाकारहरू को–को मूर्ख बने र क–कसले अरुलाई मूर्ख बनाए ? उनीहरूको भनाई जस्ताको त्यस्तै –

दिनेश काफ्ले, हास्य कलाकार

म आज मज्जैले मूर्ख बनें । एकजना केटी साथीले मेसेन्जरमा एउटा कुरा भनौं भनिन् । मैले भन न भनें । उनले त सिधै म त गर्भवती भएँछु के गर्ने होला भनिन् । अनि मैले जोबाट गर्भवती भएको हो, उसैलाई भन्ने, मलाई किन भनेको त ? भनेँ । उसले त तपाईंमाथि नै शंका लागेको छ पो भन्न थालिन् । त्यसपछि मेरो सात्तो गयो । होइन, तिमीले भेटघाट नै नभई यस्तो कुरा गर्दैछेउ । मलाई फँसाउन पो खोजेकी हौ कि क्या हो भनें । अनिमात्र उनले अप्रिल फुल भनिन् । तर, मलाई आज अप्रिल फस्र्ट भन्ने थाहा थिएन । मैले पनि जिस्किँदै लौ ठीकै छ त मेरी गर्लफ्रेन्ड पनि गर्भवती भएकी छिन्, तिमी भइछौ, एकैपटक दुई सन्तानको बाउ बन्न पाइने भैयो भन्दिएँ । उनले ल बधाई छ मैले त अप्रिल फुल मनाएको हुँ । तपाईंको त रियल होला भनिन् । मैले पनि अप्रिल फुल नै मनाएको हो भनिदिएँ । यसरी दोहोरो अप्रिल फुल बनाइयो ।

केदार घिमिरे, हास्यकलाकार

आज अरुले चाहिँ मलाई मूर्ख बनाउन सकेनन् । बुढीले बनाइन् । उनले रेडियो अडियोमा सन्चो बिसन्चो कार्यक्रम चलाउँछिन् । त्यहाँ १० मिनेटका लागि जाउँ भनेर लगिन् । तर, २ घन्टा कुराइन् । त्यसरी कुर्नुपर्दा कहिलेकाहिँ बुढीबाट पनि मूर्ख बन्ने दिन आउँदो रहेछ भन्ने लाग्यो ।

पूजा शर्मा, अभिनेत्री

मेरो एकदमै नजिकको साथी तर नाम भन्दिनँ । उहाँलाई फोन गरेर तिम्रो र मेरो सम्बन्ध आजबाट सकियो भनेँ । त्यसपछि उहाँले निरन्तर फोन गरिराख्नुभयो । २ पटक त रिसिभ गरिनँ । तेस्रो पटक फोन रिसिभ गरेँ । एकछिन त्यही पारामा कुरा गरेंँ । उहाँ निकै आत्तिएको जस्तो लाग्यो । अनि, अप्रिल फुल भनेँ । त्यसपछि उहाँ पनि हाँस्न थाल्नुभयो, लडिबुडि हाँस्न थाल्यौं ।

खुमन अधिकारी, गायक

आज मैले तीनजनालाई मूर्ख बनाएँ । एकजना साथीलाई हिजो राती १२ बजे फोन गरेर ठमेल घुमाइदिएँ । म चाहिँ घरमा सुतिरहेको थिएँ । त्यति नै बेला एकजना साथीसँग दोहोरी साँझ डुल्ने योजना बनाएँ । उसलाई ठमेल बोलाएँ । उ लैनचौरमा बस्थ्यो । त्यहाँबाट ठमेल आएर फोन गर्यो । तैंले ढिला गरिस् म त जमल आइपुगेँ भन्दै त्यहाँबाट जमल बोलाएँ । फेरि जमल आएर फोन गर्यो । म यता दरबारमार्गको शालिकमा छु भनें । उ त्यहीँ पुग्यो मलाई देखेन फोन गर्यो । म ठमेल छिर्ने गेटमा पुगेँ, त्यहाँ आइजो भनें । विचरा त्यहाँसम्म गएपछि ह्याप्पी अप्रिल फुल अब घर गएर सुत् भन्दिएँ । साथी मज्जाले रिसाएको छ । यस्तै, दिउँसो बालाजुमा कार्यक्रम थियो । त्यहाँ एकजना साथीलाई म तेरो घर नजिकै आएको छु आइजो भनें । उ हतारिँदै त्यहाँ आएर फोन गर्यो । म पुलमा छु भनें । त्यहीँ आयो । त्यहाँ आइसकेपछि ह्याप्पी अप्रिल फुल भनेर घर फर्काइदिएँ ।

पुष्प खड्का, अभिनेता

बिहानै मलाई चलचित्र कृष्णलीलाका निर्देशक दीपक ओलीले मूर्ख बनाउनुभयो । नयाँ वर्षको दिनबाट चल्ने भनिएको कृष्णलीला कोभिड–१९ को कारण तत्कालै प्रदर्शनमा नआउने भन्ने कुरा थियो । तर, एक्कासी उहाँले बिहान अब बैशाख १ गते नै फिल्म चल्ने भयो, अब पब्लिसिटीका लागि हिँड्नुपर्छ, तयार हुनुहोला भन्दै म्यासेज पठाउनुभयो । मलाई त झनक्क रिस उठ्यो । तत्कालै फोन गरेर यतिबेला आएर के को पब्लिसिटी भन्दै रिसाएँ, त्यसपछि हाँस्दै आज अप्रिल फूल भन्नुभयो ।

अर्जुन पोखरेल, सङ्गीतकार

आज एकजना साथीले म्यासेन्जरमा मान्छेलाई मूर्ख बनाउने १० तरिका त्यसमा पनि ५ नम्बरको गज्जब रैछ भन्दै पठाउनुभयो । के रहेछ त भनेर खोल्दा त्यो त भिडियोको स्क्रिन सटमात्र पो रहेछ ।

ऋचा शर्मा, अभिनेत्री

आज काममा व्यस्त भएर पनि होला, मूर्ख बन्न र बनाउन पनि भ्याइएको छैन । तर, पछिल्लो समय मानिसहरूलाई अप्रिल फस्टको बारेमा थाहा भएको हुँदा मूर्ख बनाउन सहज त छैन । धेरै पहिला चाहिँ मैले मरो आमालाई आजकै दिन मूर्ख बनाएकी थिएँ । त्यो दिन घर फर्कने बेलामा खुट्टा खोच्याएर रुँदै घरभित्र छिरें । अनि आमाले आत्तिँदै के भन्नुभयो । झन् रुँदै लडेर खुट्टा भाँचियो भनेँ । त्यसपछि आमाले अस्पताल लैजानका लागि रिक्सा पनि तयार गर्नुभयो । आमाको आँखामा आँसु टिलपिल देखेपछि हाँस्दै अप्रिल फुल भन्दै खितिति…हाँस्न थालें । आमा त रिसाएर अब चाहिँ तेरो खुट्टा भाँच्छु भन्दै पिट्न थाल्नुभयो ।

पशुपति शर्मा, गायक

आज त छैन । तर, केही वर्ष पहिला मेरो एकजना साथी विजयलाई अर्को साथी बिरामी भएर अस्पतालमा भर्ना गरिएको छ छिटो आउनुपर्छ भनेर बोलाएँ । त्यो साथी कीर्तिपुरबाट हतार–हतार टिचिङ अस्पताल आइपुगेछ । उसले टिचिङमा आएर फोन गरेपछि आज अप्रिल फुल भन्दिएँ । त्यसपछि घरमा बोलाएर सँगै खाना खाएर छुट्टिएका थियौं । त्यसयता भने कसैलाई मूर्ख बनाएको छैन ।

पुजन घिमिरे, मोडल

म केही दिन अघि चितवन आएको थिएँ । भोलि काठमाडौं आउने तयारीमा छु । तर, एकजना साथीले भोलिबाट लकडाउन, कसरी काठमाडौं जान्छौं भन्दै समाचारको लिंक पनि पठाइन् । मेरो भोलि जसरी पनि काठमाडौं जानुपर्ने काम भएकाले एकछिन त तनाव भयो । अनि त्यो समाचार अप्रिल फुल भनिन् । उसले मलाई पुरानो समाचारको लिंक पठाएको रहेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested