English

सङ्ग्रहालय खुलेलगत्तै पर्यटकको भीड



कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल देखिन थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ ।

सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

सङ्ग्रहालय खुलेसँगै आन्तरिक एवं बाह्य पर्यटकको संख्या पनि दैनिक बढ्न थालेको छ ।

फागुन १ गते १८६ नेपाली र १० जना विदेशी नागरिकले सङ्ग्रहालय अवलोकन गरेको तथा २ गते १८५ जना नेपाली र ८ जना विदेशी नागरिकले सङ्ग्रहालयको अवलोकन गरेको कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । उनले भने, ‘सङ्ग्रहालय खुलेसँगै आन्तरिक एवं बाह्य पर्यटकको संख्या पनि दैनिक बढ्न थालेको छ ।’

राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालयलगायत पनि खुलेका छन् । सबै सङ्ग्रहालयमा स्वास्थ्य मापदण्ड तथा भौतिक दूरी कायम गर्दै २५ जनाभन्दा कम पर्यटकलाई प्रवेश गराइएको छ भने मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा ६ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारकमा मङ्गलबार भने आधा दिन मात्र खुला गरिन्छ । हनुमानढोका दरबार हप्तामा सातै दिन खुला गरिन्छ । सार्वजनिक बिदाका दिन पनि हनुमानढोका दरबार क्षेत्र खुला हुने गरेको छ ।

दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा पनि अवलोकनका लागि खुला गरिएको छ ।

महानगरले तिरेन हनुमानढोका दरबार हेरचाह अड्डालाई शुल्क

हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढ वर्षदेखि काठमाडौं महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशकसमेत रहेका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख खनालले जानकारी दिए ।

महानगरले पैसा नदिएपछि सङ्ग्रहालयले पनि गत भदौदेखि टिकट काट्न शुरु गरेको छ । सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ । विद्यार्थीलाई भने सहुलियतस्वरूप रु १५ मा प्रवेश गराइन्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको एक हजार शुल्क विदेशीसँग लिने गरेको छ ।

गद्दी बैठकमा प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला गरिने

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै महिनादेखि गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी गर्ने भएको छ । यसअघि, माघ दोस्रो साता शुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो ।

नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनस्र्थापनाका विभिन्न घटना क्रमका तस्वीरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि माघ पहिलो साता सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै माघ दोस्रो साता खुला गर्न लागिएको गद्दी बैठक पनि रोकिएको थियो । यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी छ ।

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो ।

भूकम्पसँगै बन्द रहेको गद्दी बैठक यसपटक खोल्न कार्यालय तयारी पूरा गरेको छ । पृथ्वी वीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो ।

गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रूपमा प्रयोग गरिँदै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गर्न लागिएको हो ।

गद्दी बैठकसँगै फोटोग्राफर दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका सय वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ । गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना कालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिने जनाइएको छ ।

यो पनि…
पशुपतिमा देशोद्धार पूजा एवं वत्सलेश्वरी जात्रा
पशुपतिनाथ दर्शन गर्न आइपुगे माधव नारायण व्रतालु (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र