फलामको बाकसमा फेला परेको इतिहास



२०७२ सालको भूकम्पमा निकै प्रभावित क्षेत्रमध्ये एक हो, हनुमानढोका दरवार परिसर । धेरैले अनुमान गरेका थिए, यो ऐतिहासिक क्षेत्र अब खण्डहर हुने भयो । तर, अनुमान विपरित हनुमानढोका दरवारले पुनर्जीवन पाएको छ । जीर्णोद्वारसँगै दरवारको ढुकुटी भवनमा प्राचीन एवम् मौलिक स्वरूपको गरगहना प्रदर्शनी शुरू भएको छ ।

२०६८ असार १३ गते हनुमानढोका दरवारस्थित न्हुच्छे चोक र फरासखानाबीचको भवन जीर्णोद्वार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्री फलामको बाकसमा पुरिएको अवस्थामा फेला परेका थिए ।

ती फेला परेका पुराना सामग्रीलाई सरसफाई गरी २०७२ सालको भूकम्पभन्दा अघि प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो । प्रदर्शनीका लागि सोकेसहरू पनि तयार पारिएको थियो । तर २०७२ सालको भूकम्पमा हनुमानढोका क्षेत्रका भवनहरू क्षतिग्रस्त भए । सोकेसहरू राखिएको ठाँउ पनि क्षतिग्रस्त भएकोले त्यस सामग्री प्रदर्शनी गर्ने काम पनि रोकिएको हनुमानढोका दरबार हेरचाह अड्डाको सूचना अधिकृत मायादेवी अर्यालले बताइन् ।

ढुकुटी भवन नै किन रोजियो ?

हेरचाह अड्डाको सूचना अधिकृत अर्यालका अनुसार ढुकुटी भवन राणाकालमा बनेको भवन हो, जसलाई राणाहरूले ढुकुटीको रूपमा प्रयोग गर्थे । तर राजसंस्थाको अन्त्यपछि त्यो भवन खाली थियो । यो भवन स्वयम् पनि एक खुल्ला संग्रहालय जस्तो छ । यो भवनको तलको भागमा चिसो सोस्न हवासहरू राखिएको छतको भागहरू पनि अन्य भवनभन्दा अलि बेग्लै ओबल सेभको रहेको छ । भवन नै पनि एक आकर्षणको केन्द्र भएकोले यी पुराना सामग्रीको प्रदर्शनको लागि ढुकुटी भवन नै चयन गरियो ।

सतीप्रथासँग कसरी जोडियो संग्राहलय ?

पुराना गरगहना प्रदर्शनकै लागि खोलिएको संग्रहालय सम्भवतः नेपालभरमा यो नै एउटा हो । यसमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सतीप्रथामा उल्लेख भएका कुराहरूको प्रमाण यस संग्रहालयमा हेर्न पाइन्छ । राजराजेश्वरी देवी सती जाने बेलामा उनले वायु देवता र आकाश देवतालाई चढाएका गरगहना यस प्रदर्शनमा राखिएको छ । बहुमूल्य हीराको मुकुट, बनमाला, तुलसी पत्र माला, सुन तथा चाँदीको मुद्रा, देवताहरूलाई चढाइने गहनाहरू तथा अन्य विभिन्न सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।

१९७७ सालमा अन्त्य भएको सती प्रथाको बारेमा धेरैले पढेका र सुनेका छौँ, तर पछिल्लो पुस्ताका धेरैका लागि यो कुरा कथा जस्तो मात्र छ । यस्तोमा संग्रहालयमा राखिएको सती प्रथाको बेलामा चढाएका गहना भौतिक रूपले नै हेर्ने अवसर भावी पुस्ताले पनि प्राप्त गर्नेछन् । सती प्रथाको बारेमा प्रमाण दिने आधारको रूपमा ती गहनाहरू हुनेछन् ।

ऐतिहासिक महत्वका अन्य सामग्री

प्रदर्शनीमा अन्य विभिन्न महत्वपूर्ण ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्रीहरू पनि छन् । जस्तै–भगवानको चाँद, सिरफूल, भगवानको पाखुरामा लगाउने बाजु, कमरबन्द, सुनको मुकुट, कोहिनुर हीराको मुकुट, विभिन्न देववी देवताको मूर्ति, ढक तराजु, पुरानो पैसा तथा घडी पनि देख्न पाइन्छ ।

हनुमानढोका क्षेत्र विश्व सम्पदा सूचीमा परेको ठाउँ भएको हुनाले यहाँ स्वदेश तथा विदेशबाट विभिन्न दर्शकहरू घुम्न आउँछन् । अझ इतिहासको जानकारी राख्न चाहनेहरूको लागि हनुमानढोका दरबार क्षेत्र तथा यहाँ भएको भवनहरू नै पनि अध्ययनको लागि एउटा खुल्ला संग्राहलय हो ।
यहाँको भवनहरूमा गरिएको काष्ठकला, मूर्तिकला, तथा तेरकोटा आर्टको अध्ययनको लागि यो क्षेत्र एकदमै महत्वपूर्ण हुन सक्छ ।

२०६७ साल पुस १२ गते हनुमानढोका दरबार संग्रहालयमा परिणत गरियो । त्यसपछि आम दर्शकहरूले पनि हेर्न मिल्ने बनाइयो । यहाँको दुई चोकहरू मोहनकाली चोक र सुन्दरी चोकमा प्रताप मल्लको पालामा राखिएको शिलालेख छ, जहाँ प्रताप मल्ल राजा हुँदा नेपाल घुम्न आएका पादरी र हेनरी नाम गरेका विदेशी नेपाल घुम्न आएका थिए । उनीहरूसँग भेटवार्ताको प्रसंगका साथै अन्य देशहरूसँगको सम्बन्धको कुरा शिलालेखमा उल्लेख गरिएको छ ।

त्यहाँ एउटा सुनको धारा पनि छ । काठको चौकोसहरूमा पञ्चरक्षा र विष्णु धर्मका कथाहरू कुँदिएका छन् र स–सना मूर्तिहरू पनि छन् । सबैभन्दा महत्वूर्ण तथा एशियाकै नमूना भन्ने गरिएको एकदमै सजीव देखिने कालीया दमनको मूर्ति पनि छ । चार वटा टुक्राहरू जोडिएर बनेको त्यो मूर्तिमा हरिवंश पुराणमा उल्लेख गरिएअनुसार काली नागले भगवान कृष्णलाई काली नागले दमन तथा आक्रमण गर्न आएको दृश्य देखाइएको छ । हाल ती चोकहरू भने बन्द रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको

भनिन्छ,कूटनीतिमा खानपिन तथा पहिरनले धेरै कुराको संकेत गर्छ । कूटनीति यस्तो क्षेत्र हो जहाँ लुगा लगाउने र खाना खाने,बोल्ने शैलीले

पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ । महिनाबारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे

विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार