English

कुन देशमा कसरी मनाइन्छ होली ?



त्रेता युगको इतिहाससँग जोडिएको होलीलाई हिन्दू धर्मावलम्बीहरूको महान चाडको रूपमा लिइन्छ । त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफै आगोमा भष्म भएकी थिइन् । र, विष्णुभक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । यो पर्व प्रत्येक वर्षको फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ ।

होली वसन्त ऋतुको आगमनको शंखघोष गर्ने रंगहरूको चाड हो । खासगरी नेपाली तथा भारतीयहरूले मनाउने होलीको पनि अन्य चाडपर्वजस्तै आफ्नै विशेषता छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंग हालेर रंगीन बनाउँछन् ।
यो पर्व नेपाल र भारतमा मात्र नभई अन्य विभिन्न देशहरूमा पनि आ–आफ्नै तरिकाले मनाइन्छ । कुन देशमा कसरी मनाइन्छ होली ?

नेपाल

नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन होली मनाइन्छ । यस दिन काठमाडौंको वसन्तपुरमा विभिन्न रंगीन कपडाहरू मिलाएर बनाइएको चीर ठड्याएपछि होली पर्व सुरू भएको मानिन्छ । र, सोही दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ । त्यस्तै भक्तपुरमा चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागुपर्वको सुरूवात भएको मानिन्छ । र, लिंग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली समाप्त हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ ।
नेपालका गाउँ, सहरमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ ।

भारत

भारतमा होलीलाई फगुवा, फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवको नामले मनाइन्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पञ्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ । साथै भगवान् श्रीकृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाँव र बर्सनाको होली हेर्न पर्यटकको ओइरो नै लाग्छ ।
छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ । त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर…’ पूरै एसियामा लोकप्रिय छ । गुजरातको अहमदाबादमा नौनीले भरिएको माटाको भाँडा फोड्ने प्रतियोगिता र उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई लौरोले प्रहार गर्ने होली पनि निकै लोकप्रिय छ ।

पाकिस्तान

भारतीय संस्कृतिको प्रभाव रहेको तथा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति रहेकाले पाकिस्तानमा पनि होली मनाइन्छ । यहाँ होलीको दिन विशेषगरी घर–आँगन सफा गर्ने, विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई पनि खुवाउने र साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन छ । पाकिस्तानमा प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।

बंगलादेश

बहुसांस्कृतिक मुलुक भनेर चिनिने बंगलादेशमा पनि होली पर्व मनाइन्छ । यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुसलमान समुदायका मानिसहरू बसोबास गर्छन् । बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । यहाँ हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ ।

अमेरिका

अमेरिकामा पनि होली मनाउने आफ्नै परम्परा छ । होलीको अवसरमा यहाँ विशेष फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजना हुन्छन् । यद्यपी विश्वभरका नागरिक बसोबास गर्ने यो मूलुकमा सबैले आ–आफ्नै समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन् । यहाँ विशेषतः आफन्तहरूसँगको भेटघाट एवं खानपिन गरेर होली मनाइन्छ ।

गुयाना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महत्व छ । यहाँ भगवान शिवको नाममा होली मनाउने चलन छ । त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदा समेत दिइन्छ । यहाँ पारिवारिक जमघट गरेर, पानी, रङ छ्यापेर, गीत–संगीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् ।

बेलायत

बेलायतमा होली मनाउने आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मूलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा सांगीतिक कार्यक्रमहरू पनि हुन्छन् । यहाँ विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ ।

मौरिसस

अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा होलीको दिन सार्वजनिक बिदा नै दिइन्छ । करिब ६३ प्रतिशत नागरिक भारतीय मूलको भएकै कारण यहाँ होलीले महानता पाएको हो । यहाँ पनि होलिका दहन गरेर, एकापसमा मिठाई बाँडेर, पानी र रङको प्रयोग गरेर र साथीभाइसँग खानपिन र रमाइलो गरेर होली खेलिन्छ ।

फिजी

फिजीमा पनि धुमधामसँग होली मनाइन्छ । सांगीतिक रमझम गरेर, राधाकृष्णको प्रेमभावका गीतहरू गाएर र विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसम भरि नै होलीका गीतहरू गाइन्छ ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा पनि साथीभाइहरूसँग जमघट र नाचगान गरेर होली खेल्ने चलन छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको विशेष वातावरण देखिन्छ । यहाँ दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ ।

सुरिनाम

भारतको उत्तर प्रदेश र तथा विहारबाट गएका ३५ देखि ४० प्रतिशत हिन्दूको बसोबास भएको सुरिनाममा पनि साथीभाइ एवं परिवारसँग जमघट गरेर, होलीका गीतहरू गाएर, विभिन्न प्रकारका मिठाई बाँडेर र रङ खेलेर होली मनाउने चलन छ ।

अन्य देशहरू

इटालीमा बोलियाकोनोन्सको नामले र चीनमा च्वेजका नामले होली मनाइन्छ । यसैगरी जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आ–आफ्नै तरीकाले यो पर्व मनाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली