चैतमा हाइकिङका लागि सही गन्तव्य चिसापानी



कामको तनाव, थकान र बोझ हल्का गर्ने थुप्रै उपाय छन्, जसमध्ये मनोरम स्थलको भ्रमण अथवा घरबाहिर एक दुई रातको बसाइ पनि हुन सक्छ ।

साताको अन्तिम दिन परिवार, साथीभाई र प्रेमील जोडी कतै बाहिर गएर टेन्सन र बोझ हल्का गर्न चाहन्छन् । तर कतिपयले उचित स्थान चयन गर्न नसक्दा हप्तामा एक दिन पाएको बिदा पनि खल्लो हुन्छ । चैत त्यसै पनि गर्मीको मौसम । यस्तोमा काठमाडौंवासीका लागि चिसापानी घुमघामको उचित गन्तव्य बन्न सक्छ ।

कसरी जाने चिसापानी ?

चिसापानी जानका लागि बिहान ८ बजे नै सुन्दरीजलमा पुगिसक्नुपर्दछ । सुन्दरीजल बसपार्कबाट करीब २० मिनेट उकालो लागेपछि निकुञ्जको द्वारमा पुगिन्छ । द्वारमा नेपाली नागरिकको लागि ५० रुपैयाँको टिकट शुल्क तिर्नुपर्छ । टिकट काटेर पुनः उकालो लाग्दै निकुञ्जको हरियाली वातावरणमा प्रकृतिको आनन्द लिंदै सुन्दरीजल ड्याम र मूलखर्कको पुराना बस्ती छिचोलिन्छ । मूलखर्कको माथिल्लो गाउँको अन्त्यमा एक होटल छ । सो स्थान पुग्दा करीब १० बजिसकेको हुन्छ । निकै चहलपहल हुने त्यहाँ आराम गर्न, खाना खान सकिन्छ ।

जङ्गल र खोला हेर्दै ओर्ले पछि बल्ल देखिन्छ चिसापानी गाउँ । अपेक्षा अनुसारकै सुन्दर गाउँ देख्नासाथ शरीरको थकानहरू सबै मेटिएर जान्छ । र नयाँ उत्साह बढेर आउँछ ।

घना जङ्गलको यात्रा

अब सुरु हुन्छ घना जङ्गलको यात्रा । ठूला-ठूला बुढा रुख, खनेर बनाइएका पैदल मार्ग, ठूला-ठूला पात भएका जङ्गली विरुवा, अँध्यारो र सुनसान वातावरण । हिँड्दै जाँदा दिउसै रात परेको महसुस हुने स्थान पनि आउँछन् । यो पैदल मार्गमा सिमेन्ट र ढुङ्गाको सिढीले यात्रालाई सहज त बनाउँछ नै, ठाउँ ठाउँमा आर्मीको क्याम्प देख्दा सुरक्षित महसुस पनि हुन्छ ।

जङ्गलको गहिराईमा चिर्दै उकालो लाग्दा बौद्ध धर्मावलम्बीहरूले झुन्ड्याएको तोरणहरू, साना साना मन्दिरहरू, थकान मेट्ने छहारीहरू र सफा पानी बग्ने धाराहरूले पनि यात्रा रमणीय बनाउँछन् । साथै जङ्गली चरा, किरा, वास्ना र खोलाको गर्जनको आवाजले पनि एक किसिमको मेडिटेसन नै हुन्छ । अझै भनौ दिमागमा सकारात्मक उर्जाको सिर्जना हुन्छ ।

यसरी उकालो लाग्दै जाँदा करीब १ बजे पश्चात निकुन्जको उचाइम पुगिन्छ । अब ओरालो लाग्ने पालो । स्मरण रहोस्, चिसापानीसम्मै सिढीहरू छन् । ओरालो लाग्ने क्रममा भने बल्ल गाउँलेहरू डोकोमा दाउरा बोकेर फर्किदै गरेको देखिन्छ । अब भने चिसापानी पुगियो कि क्या हो ? जस्तो भावना आउँछ ।

तर होइन । अझै करिब १ घण्टा जङ्गल र खोला हेर्दै ओर्लेपछि बल्ल देखिन्छ चिसापानी गाउँ । अपेक्षा अनुसारकै सुन्दर गाउँ देख्नासाथ शरीरको सबै थकानहरू मेटिएर जान्छ । र, नयाँ उत्साह बढेर आउँछ ।

गाउँको विद्यालय, साना साना होटल, पसल हुँदै बल्ल चिसापानी गाउँ छिरिन्छ । यतिबेलासम्म करिब ३ देखि ४ बजिसकेको हुन्छ । धेरै आराम गर्दै हिँड्दै हो भने त ५ पनि बज्न सक्छ ।

ठूला-ठूला बुढा रुख, खनेर बनाइएका पैदल मार्ग, ठूला-ठूला पात भएका जङ्गली विरुवा, अध्यारो र सुनसान वातावरण । हिँड्दै जाँदा दिउँसै रात परेको महसुस हुने स्थान पनि आउँछन् ।

चिसापानी बजारमा रिसोर्ट र लजहरू पनि छन् । २०७२ सालअघि यो स्थानमा सानादेखि ठूला (सस्तादेखि एकदमै महङ्गा) होटलहरू पनि थिए । तर भूकम्पले ठूलै क्षति भएको यस स्थानमा हाल भूकम्प प्रतिरोधी होटल, बेम्बो रिसोर्ट र लजहरू उपलब्ध छन् । आफ्नो इच्छाअनुसार बुकिङ गर्न सकिने व्यवस्था पनि चिसापानीमा छ ।

नामैले चिसो यस गाउँमा रातको समयमा अलि बढी नै जाडो हुन्छ । उत्तर र पूर्वतर्फ नजिकैबाट देखिने हिमालका ताँतीहरूले त झन आङ नै सिरिङ्ग बनाइदिन्छन् ।

होटलमा लोकल खाना, आरामदायी कोठा र रातको लागि क्याम्प फायरको बुकिङ गरेर तातो चिया खाँदै हिमाल, हरिया डाँडा र चिसापानी गाउँको दृश्यावलोकन गर्न सकिन्छ । समय र मौसमले साथ दियो भने सूर्यास्तको पनि अवलोकन गर्न सकिन्छ । बेलुकी लोकल खाना खाएर, क्याम्प फायर र नाचगान गर्दै होटलको पारिवारिक वातावरणमा आफ्नो परिवार, साथीभाई वा प्रेमिल जोडीसँग मनमोहक समय बिताउन सकिन्छ ।

सकेसम्म घरबाटै सरसामानको व्यवस्था गर्दा यात्रा छिटो हुन्छ । तर सुन्दरीजलमा पनि राम्रो र सुपथ बजार छ, जहाँ हाइकिङ गर्दा आवश्यक पर्ने सामग्रीहरू व्यवस्थापन गर्न सकिन्छ ।

अर्को बिहान ७ बजे ब्रेकफास्ट गरेर सुन्दरीजलको लागि हिँड्नुपर्छ । फर्किदा भने अर्कै बाटो अर्थात् मोटर चल्ने बाटोको चयन गर्न पनि सकिन्छ । तर यो बाटो पनि पैदल यात्रा नै गर्ने हो । फर्किदा चिसापानीबाट नगरकोट जाने विदेशी पर्यटकहरू भेटिन्छन् । उनीहरूसँग अनुभव साटासाट गर्दै हिँड्दा समय बितेको पत्तै हुँदैन । तर, उनीहरूसँगको साथ चिसापानी नगरकोट मार्गमा आएर छुट्टिन्छ । हामी भने सुन्दरीजलतर्फ लाग्नुपर्छ ।
फर्किदा अर्को बाटो चयन गर्नुको उद्धेश्य नयाँ अनुभव नै हो । यसरी नयाँ बाटोमा उकाली ओराली गर्दै, खोला जङ्गल चहार्दै, हाँसखेल गर्दै, विस्तारै फर्किदा पनि दिनको २ बजे सम्ममा सुन्दरीजल पुगिन्छ । सुन्दरीजल आई पुगेपछि चिया नास्ता वा खाना खान पनि सकिन्छ । र, बसपार्कबाट बसमा आरामसँग घर फर्कन सकिन्छ ।

के-के बोक्ने ?

सकेसम्म घरबाटै सर सामानको व्यवस्था गर्दा यात्रा छिटो हुन्छ । तर सुन्दरीजलमा पनि राम्रो र सुपथ बजार छ, जहाँ हाइकिङ गर्दा आवश्यक पर्ने सामाग्रीहरू व्यवस्थापन गर्न सकिन्छ ।

पैसा

काठमाडौँबाट सुन्दरीजल जान ब्रेकफास्ट गर्न, पानी, ड्राई फुड, औषधी, ब्यान्डेज, स्प्रे, लगायत आवस्यक सामग्री खरिद गर्न, निकुन्जमा टिकट काट्न, चिसापानीमा पुगेपछि नास्ता गर्न, होटलको खाना र बसाइँको पैसा तिर्न, बिहान सुन्दरीजल फर्कदा पानी लगायत ड्राई फुडको व्यवस्था गर्न, सुन्दरीजल फर्किएपछि खाजा वा खाना खान, र बसमा घर फर्कन प्रतिव्यक्ति ४ हजार बोक्ने हो भने पर्याप्त हुन्छ ।

जुत्ता

जान र आउन गरी करिब ८ देखि १० घण्टा हिँड्नुपर्ने भएकोले सामान्य स्पोर्टस् जुत्ता नलगाउदा राम्रो । हाइकिङ वा ट्रेकिङ बुट नै प्रयोग गर्दा खुट्टा दुख्ने, मर्किने जस्ता समस्याबाट बच्न सकिन्छ ।

हाइकिङ स्टीक

उकालो ओरालो गर्दै हिँड्नुपर्ने भएकाले र सुरक्षाको लागि पनि हाइकिङ स्टीकको प्रयोग गर्दा राम्रो ।

कपडा

चिसापानी नामैले चिसो ठाउँ हो । बाटो पनि जङ्गल हुदै हिँड्नु पर्छ । त्यसैले पुरा बाहुले अथवा मौसम उपयुक्त कपडा लगाउनु उचित हुन्छ । कमसेकम थोरै तर आवश्यक कपडा बोक्नुहोस् ।

पर्याप्त पानी र खानेकुराहरू

जङ्गलको बाटो हुँदै उकालो लाग्नु पर्ने हुँदा पानीको धेरै मात्रामा आवश्यकता हुन सक्छ । साथै बाटोमा कुनै किसिमका पसल र होटेल नभएको कारणले पनि ब्यागमा टन्नै खानेकुराहरू बोक्न कन्जुस्याई गर्नु हुँदैन । यद्यपि ब्याग भारी भने बनाउनु हुँदैन ।

पेनकिलर स्प्रे र ब्यान्डेज

हाइकिङ गर्दा कहिलेकाहिँ हात वा खुट्टा मर्किन र दुख्न पनि सक्छ । त्यसैले यस्ता आपतकालीन अवस्थाबाट बच्न पेनकिलर स्प्रे र ब्यान्डेजहरू बोक्न नभुल्नुहोला ।

काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको संगमको रुपमा रहेको चिसापानी काठमाडौँको सुन्दरीजलबाट करिब १५ किलोमिटर उत्तर मात्र टाढा छ ।

यो स्थान काठमाडौं उपत्यकाबाट नजिकको प्राकृतिक पैदल यात्रा गन्तव्य हो जुन लगभग २१७५ मिटर उचाइमा रहेको छ ।

‘चिसापानी’ शब्दको शाब्दिक अर्थ चिसो पानी हो । यो स्थान समुद्र सतहबाट लगभग २१७५ मिटर उचाइमा रहेको छ । चिसापानीमा थरिथरिका जात जातिका बस्ती भएकोले यहाँको बसाइँको समयमा जीवन्त संस्कृति, परम्परा देख्न पाइन्छ । शरद र वसन्त ऋतुमा मुख्य आकर्षण रहने चिसापानीको लागि यस समय उत्तम मान्न सकिन्छ । नेपालका गाउँ, राष्ट्रिय निकुन्ज, तामाङ बस्तीहरू, गणेश, लाङ्टाङ, गौरीशङ्कर, एभे्रष्ट र अन्य हिमालहरू, आश्चर्यजनक सूर्योदय र सूर्यास्तको दृश्य लगायत अन्य प्राकृतिक दृष्यावलोकनमा रुचि छ भने त झन चिसापानीको यात्रा नछुटाउने पदमार्ग हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका चलचित्र हलहरु बन्द भए । करिव ५ महिना बन्द भएका हलहरु काठमाडौं

सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा

डा.वासुदेव कृष्ण शास्त्री हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक