English

मकैमा आत्मनिर्भर हुन पाँच लाख ८८ हजार मेट्रिक टन खाँचो



नेपालमा धानपछिको प्रमुख बाली हो– ‘मकै’ । जसको उत्पादन हिमाल, पहाड, तराई तीनै भू–भागमा हुन्छ । तर, निर्वाहमुखी । यही निर्वाहमुखी खेती प्रणालीका कारण नेपालले वर्षेनि अर्बौं रुपियाँको मकै आयात गर्नुपर्ने बाध्यता छ । एक त सरकारले युवावर्गलाई कृषिमा आकर्षण गर्न नसक्नु, उत्पादन कम हुनु, बजार नहुनु, मलको अभाव हुनु, उन्नत जातका बिउको अभाव हुनु लगायतका विविध कारणले नेपालमा मकैको उत्पादन बढ्न सकेको छैन ।

त्यसो त नेपाल मकैका लागि भारत, ब्राजिल, दक्षिण कोरिया, अर्जेन्टिना, थाइल्यान्ड, कोलम्बिया, अस्ट्रेलिया, अफगानिस्तान, बेलायत लगायतका देशसँग निर्भर रहनुपरेको छ । यद्यपि, सरकारले उत्पादन बढाउने, आयात घटाउने योजना बनाएर किसानमुखी नीति ल्याउने हो भने नेपाल मकैमा आत्मनिर्भर बन्ने दिन टाढा नरहेको कीट वैज्ञानिक डा.सरस्वती न्यौपाने बताउँछिन् ।

मकै आयातको ग्राफ

नेपालमा मकैको आयात ग्राफ वर्षेनि उकालो लागिरहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न देशबाट ५८ करोड ८९ लाख ४१ हजार ५ सय ६ केजी मकै आयात भएको छ । जसको मूल्य १६ अर्ब २ करोड ४ लाख ३४ हजार १ सय ६९ रुपियाँ छ ।

नेपाललाई वर्षेनि ३ अर्ब ४२ करोड ४६ लाख १५ हजार ५ सय ६ केजी मकैको आवश्यक पर्छ । तर, गत वर्षको तथ्यांकले नेपालमा २ अर्ब ८३ करोड ५६ लाख ७४ हजार केजी अर्थात् २८ लाख ३५ हजार ६ सय ७४ मेट्रिक टन मात्र मकै उत्पादन भएको छ । त्यसो त नेपाल मकैमा आत्मनिर्भर बन्नका लागि ५८ करोड ८९ लाख ४१ हजार ५ सय ६ केजी अर्थात् ५ लाख ८८ हजार ९ सय ४१ मेट्रिक टन उत्पादन खाँचो रहेको तथ्यांकले देखाउँछ ।

डा. महादेव प्रसाद पौडेल
वरिष्ठ कृषि अर्थ विज्ञ

अहिले नेपालमा जति मकै आयात भइरहेको छ त्यो धेरै होइन,’ उनले भने, ‘यसलाई रोक्न सरकारले उत्पादनमा जोड दियो भने सहजै हामी आत्मनिर्भर बन्न सक्छौं ।

नेपालमा मकैका साथै पीठो र पशुपंछीका लागि दाना पनि ठूलो परिमाणमा आयात भइरहेको केन्द्रको तथ्यांकले देखाउँछ । ०७६/७७ को तथ्यांकअनुसार भारत, टर्की, बेलायतबाट ७३ हजार ९ सय ७ केजी मकैको पीठो आयात भएको छ । जसको मूल्य २८ लाख २३ हजार २ सय ७२ रुपियाँ छ । यसैगरी, भारतबाटै ५ करोड ७१ लाख ५१ हजार ५ सय ११ रुपियाँ बराबरको दाना अर्थात् ढुटो आयात गरिएको छ ।

त्यसैले, मानिसका लागि मात्र भन्दा पनि गाईबस्तु तथा पशुपंछीका लागि पनि वर्षेनि ठूलो परिमाणमा मकै आयात भइरहेको वरिष्ठ कृषि अर्थ विज्ञ डा.महादेव प्रसाद पौडेल बताउँछन् । यो आयातलाई घटाउन उत्पादनमै जोड दिनुपर्ने उनको तर्क छ । ‘अहिले नेपालमा जति मकै आयात भइरहेको छ त्यो धेरै होइन,’ उनले भने, ‘यसलाई रोक्न सरकारले उत्पादनमा जोड दियो भने सहजै हामी आत्मनिर्भर बन्न सक्छौं ।’

अहिले मकैका नाममा बाहिरिएको बजेटबाटै बिउ उत्पादन, यान्त्रिकीकरण, हाइ्ब्रिड बिउ र दक्ष जनशक्तिको व्यवस्थापन गर्न सकियो भने मकैमा आत्मनिर्भर बन्न सहज हुने डा. न्यौपाने बताउँछिन् ।

अहिले आयात भएको मकैमध्ये खानाका लागि ५५ प्रतिशत, पशुपंछीको दानाका लागि २० प्रतिशत, गाईबस्तु पालनको लागि १५ प्रतिशत र १० प्रतिशत औद्योगिक क्षेत्रमा मकै प्रयोग भएको कीट वैज्ञानिक न्यौपानेले जानकारी दिइन् । ‘२० प्रतिशत मकै तराई र ८० प्रतिशत उत्पादन पहाडमा उत्पादन हुन्छ’, कीटवैज्ञानिक डा.न्यौपानेले भनिन्, ‘पहाडमा उत्पादित मकै ७० प्रतिशत, तराईको २० प्रतिशत मात्र खानाका लागि प्रयोग हुन्छ, बाँकी पशुपंछीपालन, औद्योगिक क्षेत्रलगायत प्रयोजनमा प्रयोग हुन्छ ।’

मकै उत्पादन हुने क्षेत्रफल बढ्यो

कृषि तथा पशुपंछी विकास मन्त्रालयका अनुसार ०७४/०७५ मा ९ लाख ५४ हजार १ सय ५८ हेक्टर जमिनमा मकै खेती भएको थियो । ०७५/०७६ मा ९ लाख ५६ हजार ४ सय ४६ हेक्टर र ०७६/०७७ मा ९ लाख ५७ हजार ६ सय ५० हेक्टर क्षेत्रफल जमिनमा मकै खेती भएको छ । तीन वर्षको तथ्यांकअनुसार वर्षेनि खेती गर्ने जमिनको क्षेत्रफल बढेको देखिन्छ । साथै,मकैको उत्पादन पनि बढेको छ । तैपनि, नेपाल मकैमा आत्मनिर्भर बन्न सकेको छैन ।

किन बढ्दैछ मकैको आयात ?

जनसंख्या वृद्धि, जमिन खण्डीकरण, मकैमा लाग्ने रोग, किराका कारण प्रकोपका कारणले जति मात्रामा उत्पादन हुनुपर्ने त्यो नभएर मकैको आयात गर्नुपर्ने बाध्यता रहेको डा.न्यौपानेले बताउँछिन् । ‘मकैमा रोग, किरा र झारपातले १५ देखि २० प्रतिशत उत्पादन घटेको छ,’ डा. न्यौपानेले भनिन् ।

डा.सरस्वती न्यौपाने
कीट वैज्ञानिक

पहाडमा उत्पादित मकै ७० प्रतिशत, तराईको २० प्रतिशत मात्र खानाका लागि प्रयोग हुन्छ, बाँकी पशुपंछीपालन, औद्योगिक क्षेत्रलगायत प्रयोजनमा प्रयोग हुन्छ ।’

यसका अलावा माटोको उर्वराशक्तिमा कमी हुँदै जानु, बाढी, पहिरोले जमिनको क्षति हुनु, जमिन सुक्खा हुनुजस्ता विभिन्न कारणले मकै उत्पादनमा असर पुगेको उनले बताइन् । ‘युवाशक्ति अन्यत्र पलायन हुने क्रम जारी छ, जसले गर्दा खेती गर्ने जनशक्ति छैन,’ न्यौपानेले भनिन्–‘किसानलाई प्राविधिक ज्ञानको पनि कमी छ, सरकारले त्यसमा जोड दिनुपर्छ ।’

प्रतिहेक्टर तीन टन मकै उत्पादन

नेपालमा हाल प्रतिहेक्टर तीन टन मकै उत्पादन हुन्छ । उत्पादन दर बढाउन परम्परागत बिउभन्दा उन्नत जातका बिउको प्रयोग, प्राविधिक टोली किसानको खेतबारीमा पुग्ने व्यवस्था मिलाउनुपर्नेमा डा. न्यौपानेको जोड छ । ‘राज्यसँग कृषिको नीति कमजोर छ, त्यसैले अन्नबालीको उत्पादन बढाउने हो भने विज्ञ र सरोकारवालासँग सल्लाह लिएर किसानमुखी नीति बनाउनुपर्छ,’ उनले भनिन्, ‘किसानलाई मल, बिउ, सिँचाइ, विषादीमा अनुदान दिनुपर्छ ।’

कृषिका लागि सरकारले युवालाई यन्त्र खरिद, मल, बिउ लगायतमा अनुदान दिनुपर्छ, बाहिरी बिउलाई हाबी हुन नदिई बिउबिजन पनि किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउनुपर्छ ।

डा. केशवबाबु कोइराला
प्रमुख
राष्ट्रिय बाली प्रजनन तथा आणुवांशिक अनुसन्धान केन्द्र

त्यस्तै, कृषि प्राविधिक खटाएर किसानलाई बाली लगाउने, मलखाद, बिउको प्रयोग लगायतको विषयमा तालिम दिने व्यवस्था गर्नुपर्छ । नयाँ–नयाँ बिउको सहजै पहुँच र सर्वसुलभ बनाउन आवश्यक रहेको राष्ट्रिय बाली प्रजनन तथा आणुवांशिक अनुसन्धान केन्द्रका प्रमुख डा. केशवबाबु कोइराला बताउँछन् । ‘सरकारले बिउ उत्पादन कम्पनीहरूसँग सहकार्य गरी हाइब्रिड मकैको बिउ उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने ।

साथै, मकै उत्पादनलाई बढाउन युवाशक्तिलाई कृषिमा आकर्षण गराउनुपर्नेमा कोइरालाको जोड छ । ‘कृषिका लागि सरकारले युवालाई यन्त्र खरिद, मल, बिउ लगायतमा अनुदान दिनुपर्छ,’ कोइरालाले भने, ‘बाहिरी बिउलाई हाबी हुन नदिई बिउबिजन पनि किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउनुपर्छ ।’

नेपालको पूर्वी भू–भागहरूमा ‘वसन्ते’ जातको मकैको उत्पादन राम्रो छ । त्यसैले, यो जातको मकैलाई देशका अन्य ठाउँमा पनि पुर्याउनुपर्ने पौडेल बताउँछन् ।

यो पनि…
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
केरामा आत्मनिर्भर बन्दै झापा, वार्षिक यति हुन्छ उत्पादन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

काठमाडौ । संशोधित छापाखाना तथा प्रकाशन ऐन र नियमावली कार्यान्वयनका क्रममा उत्पन्न कानुनी तथा संरचनागत अन्योलका कारण प्रदेश सरकारअन्तर्गत सञ्चार

काठमाडौः गीत, संगीत मानव जीवनको संवेदनशील अभिव्यक्ति हो । गीत, कविता र गजलजस्ता विधाले व्यक्तिको मनभित्र लुकेका भावना, पीडा र

इटहरी/ बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको

Latest










Popular
Suggested