ठाडोभाका संरक्षण गर्न अघि सर्यो युवा पुस्ता



लोपोन्मुख ठाडोभाका संरक्षणमा लमजुङका नयाँ पुस्ता सक्रिय रूपमा लागिपरेका छन् । युवाहरूको यो अभियानलाई स्ठानीय संघसंस्था र सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् ।

नेपाली मौलिकता झल्किने र लमजुङे संस्कृतिसँगै जोडिएको प्रचलित भाका हो ठाडोभाका । यही भाकासँग जोडिएको चर्चित नाम हो, भेडीखर्के साइँला (दीर्घराज अधिकारी) । ठाडोभाकालाई लामो समयसम्म एक्लै प्रचार गर्नमा स्व. भेँडीखर्के साइँलाको योगदान महत्वपूर्ण छ । माया, पिरती, दुःख(सुख, गाउँले जनजीवनका भाव समेटेर सात दशकसम्म साइँला ठाडो भाका संरक्षणमा लागेका थिए । उनी अहिले हामीमाझ छैनन् । तर पनि उनले गाएका ठाडोभाका भने गुन्जिरहेको छ । यसलाई मर्न नदिन जिल्लामा ठाडोभाका लोककला प्रतिष्ठान र भेँडीखर्के साइँला स्मृति प्रतिष्ठानसमेत स्थापना गरिएको छ । लमजुङको मौलिक लोकभाकाका रुपमा पहिचान बनाएको ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षणसमेत सम्पन्न भएको छ ।

प्रशिक्षणमा १२ देखि ६५ वर्षसम्मका प्रशिक्षार्थी सहभागी थिए । दोर्दी गाउँपालिकाको प्रवर्द्धन र ठाडो भाका लोककला प्रतिष्ठान नेपालले प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा ३७ जना सहभागी थिए । सहभागीलाई ठाडोभाकाको गायन, नाच र बाद्यवादनका बारेमा सैद्धान्तिक र प्रयोगात्मक विधिबाट प्रशिक्षण दिएको थियो । आयोजक प्रतिष्ठानका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, वरिष्ठ लोकगायिका सीता दुरा, भाषाविद् मुक्तिनाथ घिमिरे, आयोजक प्रतिष्ठानका आजीवन सदस्य एवं ठाडोभाकाको पहिलो प्रतियोगितामा प्रथम हुने आशबहादुर विक र काशीमाया तामाङले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले लोकसंस्कृतिको संरक्षणका क्षेत्रमा यो प्रशिक्षण उपलब्धिपूर्ण रहेको बताइन् । दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले लमजुङकै पहिचानको रुपमा रहेको ठाडोभाका संरक्षणका लागि गाउँपालिकाले सहयोग गर्दै आएको बताए । उनले भने, ‘ठाडोभाकालाई मर्न नदिन स्थनीय तह, प्रदेश सरकारले संरक्षणमा ध्यान दिनुपर्छ ।’

ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लोककला संस्कृतिको मौलिकता प्रवर्द्धनका लागि स्थानीय र प्रदेश सरकारले समेत निश्चित बजेट छुट्याउनु पर्ने बताए । उनले भने, ‘प्रतिष्ठानको स्थापना दिवसमा आयोजना गर्ने प्रतियोगितामा गुणस्तर टिमको सहभागिताका लागि प्रशिक्षण आयोजना गरिएको हो ।’ ठाडोभाकाको तेस्रो खुल्ला प्रतियोगिता २१ र २२ माघमा मध्यनेपाल नगरपालिका १० को ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्मस्थल हाँडीखोला, बर्धन गाउँमा हुनेछ ।

आजीवन ठाडोभाका संरक्षणमा लागेका साइँलाले नागरिक तहबाट ‘ठाडोभाका शिरोमणि’ को उपाधि पाए । तर, उनी जीवित रहिन्जेल राज्यले खासै सहयोग र सम्मान गर्न नसकेको भेँडीखर्के साइँलाको संगत गरेका सुन्दरबजार नगरपालिका ५, तार्कु खहरेका विष्णुभक्त अधिकारी बताउँछन् । भेँडीखर्के साइँलाको निधनसँगै संकटको संघारमा पुग्नै लागेको ठाडोभाका जोगाउन उनी पनि लागि परेका छन् । ठाडोभाका जोगाउन सके मात्रै साइँलाको आत्माले शान्ति पाउने उनी बताउँछन् । ठाडोभाका हुर्काउन देउबहादुर दुरा, पञ्चेसुब्बा गुरुङको भूमिका पनि उत्तिकै रहेको छ ।

पहिले एकान्तमा मात्रै ठाडोभाका गुनगुनाउने विष्णुभक्त पछिल्लो समय खुलेरै गाउँछन् । ठाडोभाका गाउन मादल, मुजुरा र भाका छोप्ने महिलाको समूह चाहिन्छ । युवापुस्ताहरू पनि पछिल्लो समय ठाडो भाका सुन्न लालयित बन्नेगरेका छन् । ‘तर, गाउनेहरूको संख्या निकै कम छ । ठाडोभाका जेगाउन मेलामहोत्सवमा ठाडोभाका प्रतियोगिता सञ्चालन गर्नुपर्छ,’ उनले भने । इच्छुक युवापुस्तालाई ठाडोभाका गायनबारे प्रशिक्षण दिनुपर्छ । ठाडोभाकाका शिरोमणिको उपाधि पाएका भेँडीखर्के साइँला (दीर्घराज अधिकारी) को २९ भदौ १९९० बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस, दुराडाँडा लमजुङमा जन्मिएका हुन् । साइँलाको २६ भदौ ०७४ मा ८४ वर्षको उमेरमा निधन भएको हो ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 
घरको बार्दलीमा कपडा सुकाए जरिवाना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन्। श्वेतासँगै इभेन्टमा रोहित रोय,

काठमाडौंबाट निस्केर बाहिर जाने हो भने इँटा भट्टाहरू प्रशस्तै भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाउँहरूबाट हिउँदमा काम गर्न श्रमिकहरू

दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८ वर्षपछि उनीहरूले

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका

Suggested