‘भर्जिन ल्यान्ड’ यात्रा गर्न ‘करसोङ’ पदमार्ग (फोटो फिचर)



इलाम, सलकपुरको सुन्तलाको चर्चा नेपाली बजारमा मात्रै होइन, भारतको कोलकात्तासम्म पनि हुन्छ । ‘गोल्डेन भ्याली’ को नामले चिनिने सलकपुरको सुन्तलाको नाम लिनेबित्तिकै सबैको मुख रसाउँछ ।

भारतमा हुने महोत्सवमा सलकपुरको सुन्तला छुट्दैन । सुन्तला मात्रै होइन सलकपुरको आधुनिक कृषि हेर्न र अनुकरण गर्न लायक छ । सुन्तलाभन्दा अग्लो बोटमा झुप्पा लाग्ने सुपारी, मझौले बोटमा पहेँलपुर भएर पाक्ने रसिलो सुन्तला र सुन्तलाको छहारीमा लहलह भएर बारी ढाकेको अलैँची । कस्तो लोभलाग्दो आधुनिक कृषिको नमुना । त्यसमा ठाउँ–ठाउँमा राखिएको मौरीको आधुनिक घार, व्यवस्थित पशुपालनले सलकपुरको सुन्दरता बढाएको छ ।

सलकपुरबाट केही माथि उक्लिएपछि पुगिने झण्डीडाँडा छिमेकी जिल्ला झापाबाट सबैभन्दा छोटो उक्लिएपछि सूर्याेदयको मनोरम दृश्यावलोकन गर्न पाइने ठाउँ हो । झण्डीडाँडाबाट झुल्के घाम मात्रै देखिने होइन, कञ्चनजंघाको काखमा परेको कलिलो घामको किरणको दृश्यले पनि मोहित बनाउँछ । झुल्के घामको किरणसँगै नेपाल र भारतको क्षीतिजसम्म देखिने समथर फाँटमा आँखाको तिर्खा मेटुञ्जेल नियाल्न सकिन्छ । अर्काेतिर कन्यामको चियाबारी जौबारी र सन्दकपुरसम्मको भूभाग कलिलो घामको किरणमा उस्तै हेरिरहुँ लाग्छ ।

झण्डीडाँडा हुँदै भर्खरै बनाइएको पदमार्ग लम्किँदा गिद्धेभीर उक्लिएको पत्तै हुँदैन । गिद्धेभीर नाम मात्रको गिद्धेभीर होइन । प्रकृतिको कुचीकारको रूपमा चिनिने गिद्धको हुल देख्न पाइने भएकाले नै गिद्धेभीर भएको हो ।

अनेक नदीहरूले चिराचिरा परेजस्तो देखिने तराईको समथर भूमि अर्काेतिर कञ्चनजंघा हिमालको काखमा हरियो कार्पेट ओच्छ्याएजस्तो चियाका बगान नियाल्दै हिँड्न सकिने ‘केरसोङ पदमार्ग’ कम्ति आनन्ददायक छैन । २९ किलोमिटरमध्ये सात किलोमिटर पूरा भएको पदमार्गको नाम रोङ गाउँपालिकाले लोपोन्मुख ‘लेप्चा’ जातिको भाषाबाट नामाकरण गरेको हो । गाउँपालिकाको नाम पनि ‘लेप्चा’ जातिको भाषाबाटै राखिएको हो । गाउँपालिकाले नामाकरण गरेको ‘करसोङ’ भनेको नेपालीमा सुनाखरी पदमार्ग हो । नामै सुनाखरी पदमार्ग भएपछि सुनाखरी छुट्ने कुरा भएन ।

सूर्याेदय र रोङ गाउँपालिकामा फैलिएको हाँसपोखरी अर्किडको अध्ययन अवलोकनका लागि अदभूत क्षेत्र मानिन्छ । सुनाखरी ‘अर्किड’ साइटिस ‘अन्तर्राष्ट्रिय व्यापार महासन्धि’ सूचीको अनुसूची -२ मा सूचीकृत वनस्पति हो । यो क्षेत्रमा मात्रै ४१ प्रजातिका अर्किड पाइन्छ । तीमध्ये २५ प्रजाति रूखमा, १३ प्रजाति जमिनमा र तीनवटा प्रजाति रूख र जमिन दुवैमा पाइने गरेको छ ।

अरू देशमा नपाइने १४ प्रजातिका अर्किड नेपालमा मात्रै पाइन्छ । त्यसमध्ये केही प्रजातिका अर्किड हाँसपोखरी क्षेत्रमा मात्रै पाइने अध्ययनले पुष्टि गरेको छ । अनेक रंगविरंगका सुनाखरीले पदमार्गको यात्रामा मोहित बनाउँछ ।

यो पदमार्गमा यात्रामा सिजनअनुसारको जंगली फलफूल कन्दमूल, जंगली पशुपन्छी, लोपोन्मुख वनस्पति हेर्ने रहर पनि पूरा हुन्छ । पदमार्गले डोर्याउँदै पुर्याउने पाथिभरा, अलि छड्किएपछि पुगिने कन्याम, तारगाउँ पोखरी र त्यहाँको व्यावसायिक तरकारी खेती नियाल्दा फर्किन मन लाग्दैन ।

पदमार्गको अर्काे आकर्षण ‘गुगल पोइन्ट’ हो । गुगल पोइन्टले सूर्याेदय दृश्यावलोकनमा उत्तिकै पनि चर्र्चा कमाउँदैछ । मेची राजमार्गबाट छोटो दूरीमा पुगिने गुगल पोइन्ट पदमार्गको महत्वपूर्ण आकर्षण हो । पदमार्गलाई सजाउन २५ हजार गुराँसको बिरुवा लगाइएको छ । गुराँस फूल्न थालेपछि पदमार्गको रौनकता थप बढ्नेछ । तराईसँगै जोडिएको पदमार्गको यात्रा अनेक रसास्वादन गर्न पाइने छ । पर्यटकका लागि ‘भर्जिन ल्यान्ड’ हरूलाई समेटेर बनाइएको पूर्वकै लामो पदमार्ग पर्यटक आकर्षणको केन्द्र बन्नेछ ।

कोरोना महामारीको बेला विकास निर्माणको काम प्राय ठप्प हुँदा रोङ गाउँपालिकाले पर्यटकीय पोइन्टहरूलाई जोड्न पदमार्ग बनाएको हो । पदमार्ग निर्माणमा लागि गाउँपालिकाको मात्रै होइन, प्रदेश १ सरकार र संघीय सरकारको समेत बजेट खर्च भएको छ । गएको आर्थिक वर्षमा रोङ गाउँपालिकाको १५ लाख रुपियाँ, संघीय सरकारको १५ लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १२ लाख रुपियाँ खर्चियो । बाँकी काम पूरा गर्न संघीय सरकारले ६२ लाख रुपियाँ विनियोजन गरेको छ । त्यसमा रोङ गाउँपालिकाको ३० लाख रुपियाँ र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको २० लाख रुपियाँ खर्च गरेर पदमार्ग बनाइँदैछ ।

पदमार्गले पर्यटनमार्फत स्थानीयको आर्थिक हैसियत पनि उकासिने रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–५ का अध्यक्ष सुवास स्याङबो बताउँछन् । ‘पदमार्गले यो क्षेत्रको आर्थिक विकासमा ठूलो योगदान गर्छ, स्याङबोले भने– ‘हामीले यो कार्यकालमा देखाउन लायक काम गरेका छौँ भन्ने लागेको छ ।’

रोङ गाउँपालिका–३ हाँसपोखरीबाट शुरु भएको पदमार्ग रोङ ५, ६ हुँदै सिमानाको मेची नदी, निन्दा सिरान हुँदै मेचीनगर नगरपालिकासम्म जोडिएको छ । २९ किलोमिटर दूरीमध्ये १६ किलोमिटरमा पदमार्ग निर्माण भइसकेको छ । पदमार्गमा १५ वटा पर्यटकीय पोइन्टहरू पर्छन् । पदमार्गमा यात्रा गर्ने पर्यटक लक्षित गरेर ६ ठाउँमा होमस्टे पोइन्टको विकास गरिएको गाउँपालिकाका प्रवक्ता सुवास स्याङबोले बताए ।

‘हामीले विभिन्न संघसंस्थाको पहलमा होमस्टे पोइन्टहरू पनि विकास गरेका छौँ’, उनले भने–‘होमस्टेको बसाइ पर्यटकका निम्ति अर्काे आकर्षण बन्छ ।’ पदमार्ग बनिएपछि भारतीय पर्यटकहरूलाई पाथिभरासम्मको यात्रामा समेत सहज भएको छ ।

पालिकाले बनाएको पदमार्गमा साइक्लिङको सम्भावना उस्तै छ । हाँसपोखरीबाट अलि उकालो उक्लिएपछि ‘गुगल पोइन्ट’मा पुगिन्छ । त्यसका उताको दम्साइलो बाटोमा आरामका साथ साइक्लिङ गर्न सकिन्छ । पदमार्गमा साइक्लिङको समेत सम्भाव्यता अध्ययन भएको छ । पालिकाले पदमार्गको प्रचार–प्रसारका लागि साइक्लिङ रेस, फुड फेस्टिभललगायतका कार्यक्रम आयोजना हुँदै छन् ।

?



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा) देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक

धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कन्छन् । विगत

यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । जटिल बनिरहेको उपत्यकाको फोहर

त्यसो त फोहरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ । तीन तहका

Suggested