‘सिंगल थिएटर धेरै भत्किदैछन्’ – प्रदीपकुमार उदय



पोहोर साल (२०७६ चैत ६ गते) आजकै दिनदेखि बन्द भएका देशभरीका चलचित्र हल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । अर्थात् चलचित्र हल बन्द भएको ठ्याक्कै एक वर्ष पुगेको छ ।

हल बन्द भएको एक वर्षसम्म प्रदर्शकहरू कसरी बसेका छन् ? निर्माताहरू के तयारीमा छन् ? आम कलाकर्मीको अवस्था कस्तो छ ? समग्रमा यो क्षेत्रलाई कसरी पहिलाकै अवस्थामा पुर्याउन सकिएला ? हलसम्म दर्शक तान्ने उपाय के हो ? चलचित्र क्षेत्रका मूल प्रश्न हुन् यी । चलचित्रकर्मी प्रदीपकुमार उदयलाई हामीले यिनै आम प्रश्नको सेरोफेरोमा रहेर कुराकानी गरेका छौं ।

चलचित्र घर सञ्चालन, चलचित्र निर्माण, वितरण आदि विधामार्फत चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय प्रदीप उदयसँग चलचित्र संघको अध्यक्ष भएको अनुभव पनि छ । सञ्चार उद्यमीसमेत रहेका उनी चलचित्र क्षेत्रमा तार्किक ब्यक्तित्वका रूपमा समेत परिचित छन् । प्रस्तुत छ, उनै वरिष्ठ चलचित्रकर्मी प्रदीप उदयसँग मेरो लाइफस्टाइलका लागि दिवस गुरागाईंले गरेको कुराकानी –

चलचित्र क्षेत्रको अहिलेको अवस्था के हो ? कहाँ छ, चलचित्र क्षेत्र ?

कोभिड १९ पछि सवैभन्दा प्रभावित नै चलचित्र क्षेत्र भएको छ । हुन त सरकारले धेरैपछि आएर चलचित्र भवन खोल्ने अनुमति दिए पनि फिल्म रिलिज हुन सकेनन् । तथापी छायाङ्कन सुरु भएको छ । संभवत आउँदो चैत २७ वाट नयाँ फिल्म रिलिज हुन थाल्लान् । त्यसपछि बल्ल थाहा हुन्छ, वास्तविक फिल्म क्षेत्रको अवस्था ।

अहिलेको अवस्था भन्नुपर्दा चाहिँ यो क्षेत्र नै नरहनेको हो कि जस्तो लाग्छ ।

तपाईंले ब्यक्तिगत रूपमा पनि धेरै आवाज उठाउनु भयो, हल खोलेन सरकारले भनेर । सरकारले अनुमति दिएपछि भने रिलिज गर्ने हिम्मत कसैले गरेको देखिएन ?

हो, सरकारले हल खोल्ने अनुमति दिन किन ढिलो गरेको भनेर धेरै पटक स्टाटस लेखेँ र बोलेँ पनि । त्यसपछि सरकारले जसरी होस् हल खोलेपछि हामी चलचित्रकर्मीले तदारुकता चाहिँ देखाएनौं । जस्तो हामी हलवाला, वितरक, निर्माताहरूले त्यो हिम्मत चाहिँ गर्न नसकेकै हो । यो हाम्रो विडम्वना हो ।

चलचित्र हल खोलेपनि निर्माताहरूले आफ्नो चलचित्र रिलिज गर्न चासो दिएनन् । र, चलचित्र घरहरूले पनि निर्माताहरूलाई आकर्षित गर्न सकेनन् । वास्तवमा के हो भने हामी कोही पनि चलचित्र ब्यवसायीहरू यतातिर गम्भिर भएनौं ।

यस्तो अवस्था किन आयो ? कसको कारणले आयो ?

म कसैलाई दोष दिन चाहन्न । तर, हामी प्रदर्शक, वितरक र निर्माताहरू बसेर गहन छलफल नै गरेनौं । तीन पक्षको कारणले यो अवस्था आयो । मन्थनको वातावरण नै कसैले चाहेन ।

यो अवस्थाले के चाहिँ देखायो भने चलचित्र क्षेत्र अझै ब्यवसायिक भइसकेको रहेनछ । यत्तिका हलहरू छन् । ठूलो संख्यामा चलचित्र रिलिज हुन बाँकी छन् । तर चलाउने तदारुकता कसैले देखाएन । यही हो, चलचित्र क्षेत्रको दुर्भाग्य ।

हामी ब्यवसायिक भएको भए सवै बसेर अगाडि जाने कुरा आउँथ्यो होला नि । एक पटक गर्न खोजेजस्तो गर्ने अनि फेरि चुप रहने । निरन्तरता नदिने । तैं चुप मैं चुपको अवस्था छ । नेतृत्वमा रहेकाहरूले कुरा भइरहेको भन्छन् तर मलाई थाहा छैन ।

यस क्षेत्रमा सवैभन्दा पीडित चाहिँ को छ ?

सवै नै पीडित छन् । हल नचलेपछि रिलिज हुँदैन । रिलिज नभएपछि छायाङ्कन हुँदैन । छायाङ्कन नभएपछि प्राविधिक र कलाकारले काम पाउँदैनन् । तर सवैभन्दा पीडित हल सञ्चालक छन् ।

मल्टिप्लेक्स् हलको मासिक खर्च बन्दको वेलापनि ५ लाख जति छ । सिंगल थिएटरहरूको पनि खर्च मासिक डेढ लाखसम्म हुन्छ नै । उनीहरूले लिएको कर्जाको ब्याजको त कुरै छैन ।

हलवालावाहेक अरुको आम्दानी रोकिएको हो । तर हलको आम्दानी रोकिएको मात्र होइन, खर्चपनि भइरहेको छ । भाडा तिर्नै परो । सरसफाइ, कर्मचारी, विद्युतको डिमाण्ड शुल्क लगायतका शीर्षकमा ठूलो खर्च निस्कन्छ । चलचित्र तयार भएर रिलिज नभएका निर्माता पनि पीडित छन् ।

हलवालाको अवस्था ठ्याक्कै भन्नुपर्दा कस्तो छ ?

नाजुक । ठ्याक्कै आजकै दिनदेखि (२०७६ चैत ६ गते) बन्द भएको थियो । एक वर्ष भयो । धेरैजसो हलवालाहरू उठ्न सक्ने अवस्थामा छैनन् । हरेक हलले यो एक वर्षमा ब्याज वाहेक ५०–६० लाख घाटा बेहोरोका छन् । धेरै हल बन्द हुने अवस्थामा छन् ।

कति हलहरू फेरि सञ्चालनमा आउलान् ? कति बन्द होलान् ?

हलहरूको संख्या दुई सयको हाराहारीमा छ । ती मध्ये ७० प्रतिसत मल्टिप्लेक्स छन् । ती त जसोतसो खुल्लान् । तर सिंगल थिएटरहरू धेरैजसो भत्किने देखेको छु । काठमाडौंको कुरा गर्दा गोपीकृष्ण भत्किदैछ, पृथ्वी हल भत्किसक्यो ।

मैले घाटा न्यून गर्नेवारे एउटा सुत्र बताउँदै आएको छु । जस्तो अहिले मेरो हल बचाउन मासिक ५ लाख खर्च छ भने फिल्म चल्न थालेपछि कम्तिमा ३ लाख त कभर होला । अर्थात ५ लाख घाटा २ लाखमा झर्छ । यसले पनि केही न केही राहत नै होला ।

अव यो क्षेत्र उकास्ने कसरी ?

मन्थन । यो नै सवैभन्दा उपयुक्त माध्यम हो । प्रदर्शक, वितरक र निर्माता बसेर ठूलो चित्त बनाएर बृहत् छलफल गर्नुपर्छ । निकास निस्कन्छ ।

दुई साताको दरले रिलिज गर्न ६ फिल्म छानौं । यसरी तीन महिनामा त फेरि दर्शकलाई बानी पार्न सकिन्छ नि, भन्ने मेरो तर्क हो ।

भारतको मात्र कुरेर बस्ने हो भने त जे पनि हुन सक्छ । त्यसकारण त्यताको भर गर्ने होइन । नेपाली चलचित्र नै चलाउनु पर्छ । त्यसका लागि प्रदर्शकले अग्रसरता देखाउनु पर्छ ।

अहिलेजस्तो चुप लागेर बस्दा बसेको बस्यै होइन्छ ।

अहिले बनिसकेका फिल्महरूले दर्शक तान्न सक्लान् ?

सक्छन् । राम्रा फिल्म छन् । त्यो विश्वास गर्नुपर्छ । धेरै फिल्म रिलिज हुने पर्खाइमा छन् । खाली विरालोको घाँटीमा कसले घण्टी झुण्ड्याउने भन्ने हो । हिम्मत गर्नुपर्छ सवैले आ–आफ्नो ठाउँवाट ।

तपाईं निर्माता पनि हुनुहुन्छ, हलमात्र हो त फिल्म हेर्ने र देखाउने माध्यम ?

हो । हलको मजा युट्युवमा हुन सक्दैन । अरु कुनै पनि त्यस्ता च्यानलहरूमा मजा हुन्न । घरमा थिएटर बनाउने वर्ग कत्रो छ र ? अहिलेको प्रविधिका कारण चलचित्र पाइरेसी पनि भएका छन् । अर्थात् सुरक्षित बनाउन सकेका छैनौं । त्यसकारण तत्काल हलको विकल्प छैन ।

फेरि लकडाउन गर्नुपर्ने अवस्था आउला भन्ने डर पनि छ कि ? जस्तो युरोप र छिमेकी मुलुकका केही प्रान्तहरूको अवस्था हेरेर ?

त्यस्तो डर हामीलाई छैन । संक्रमित र मृत्युदर हेर्दा आश्वस्त हुन सकिन्छ । फेरि भ्याक्सिन पनि आइसकेको छ ।

फिल्म क्षेत्रको माहोल फेरि पहिलाकै जस्तोगरी फर्किन्छ भन्न खोज्नु भएको हो ?

हो । निश्चय नै फर्किन्छ । मनोरञ्जन क्षेत्रका अन्य ठाउँमा मान्छेको जमघट हेर्दा झनै माहोल बन्छ जस्तो लाग्छ । लकडाउन पछि वैदेशिक रोजगारीवाट फर्केका धेरै छन् । ती नेपाली फिल्मका वास्तविक दर्शक हुन् । यदि हामीले राम्रा फिल्मवाट ओपनिङ गर्न सक्यौं भने निश्चय नै त्यो अवस्था आउँछ ।

तिनै थोत्रा फिल्महरूले माहोल ल्याउँछ भन्दै हुनुहुन्छ, होइन ?

थोत्रा नभनौं । संसारमा नै ६–७ प्रतिसत फिल्म सफल हुन्छन् । हामीकहाँ त १० प्रतिसत सफल छन् । र, हाम्रा फिल्महरूको स्तर पहिलाभन्दा फेरिएको छ । विकृति सवैतिर हुन्छ, छ । हामीकहाँ पनि पोहोर साल निर्माता भएको मान्छे यस पटक निर्देशक भएको छ । अभिनयमा आएको मान्छे निर्देशक भएको छ । यसले गर्दा हुनुपर्ने जस्तो भएको छैन । तर, निरास हुनुपर्ने अवस्था पनि छैन । किनभने दर्शकलाई फिल्म छान्न आउँछ ।

सरकारप्रति चलचित्र क्षेत्रको अपेक्षा के हो ?

सरकारले दुई वर्षसम्म करमुक्त क्षेत्र बनाइदिनु परो । अर्थमन्त्रीलाई संस्थागत र ब्यक्तिगत पनि भनेका छौं । यसवाट हल र निर्माता दुवै पक्ष लाभान्वित हुनेछन् ।
करको रूपमा ४०–५० करोड बुझाउँछ होला, चलचित्र क्षेत्रले । यही मिनाहा भए हुन्छ । त्यो पनि सधैंभरीलाई होइन । दुई वर्षको लागि ।

यतिगर्दा एउटा क्षेत्र बच्छ भने सरकारले कन्ज्यूस्याई गर्नु हुँदैन । चलचित्रमा हजारौं आश्रित छन् । अरबौं रूपैयाँ लगानी छ । यसको जोखिमलाई हेरे बस्न सुहाउँदैन सरकारले ।

भनेपछि आशावादी पनि हुनुुहुन्छ सरकारसँग ?

धेरै आशावादी त छैन । तर, आशा मार्नु पनि भएन ।
चलचित्र घर खोल्न भनेर हामीले धेरै करायौं । संघ–संस्थाहरू डेलिगेशन गयौं । तर सरकारले सुनेन । अभिनेता शिव श्रेष्ठले गएर प्रधानमन्त्रीलाई अनुरोध गरेपछि भने क्याबिनेटले खोल्ने निर्णय गर्यो । यसको मतलव के हो भने सरकार संस्थागत कुरा सुन्दैन, बरु ब्यक्तिगत सुन्छ । अर्थात् सरकारको प्राथमिकतामा यो क्षेत्र पर्दैन ।

यसका बाबजुद पनि अर्थमन्त्रीले केही न केही गर्छु भन्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोना भाइरसका कारण गत वर्ष नौ महिनासम्म लकडाउन भयो । सो समयमा शिक्षा, यातायात, व्यापार व्यवसाय, चलचित्र लगायत मानिसको दैनिकीलाई

कोरोनाको दोस्रो लहरका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । यसको प्रत्यक्ष असर पोखराको फेवा तालले पनि भोगेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि

कोरोना संक्रमण पुष्टि भएका र सामान्य ज्वरो आएका संक्रमितलाई चिकित्सकले सिटामोल खान सुझाव दिन्छन् । तर, यतिबेला राजधानीलगायत देशका अधिकांश