English

यसकारण गरे शताब्दी पुरुषले शरीरदान (भिडियो सहित)



शरीरदान । यो शब्द सानो छ, तर यसको अर्थ भने धेरै लामो छ । शब्द सानो भएपनि यो निर्णय भने आफैँमा कठोर हो । सामान्य मानिसले यति ठूलो घोषणा गर्न पनि डराउँछ । तर यी सबका बीच संस्कृतिविद् तथा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले गत माघ ३० गते मृत्युपछि शरीर दानको घोषणा गरे । उनीसँगै उनकी धर्मपत्नी राधादेवी जोशीले पनि मृत्युपछि शरीर दानको घोषणा गरिन् । जोशी दम्पत्तीले ललितपुर महानगरको कार्यालयमा भएको एक कार्यक्रममा यस्तो घोषणा गरेका थिए । १०१ वर्षका जोशी र ९६ वर्षकी राधादेवीले गरेको यो घोषणाले केही हदसम्म धेरै मानिसहरूमा आत्मविश्वास थपिदिएको छ ।

प्रस्तुत छ, शरीर दान गर्ने उनै शताब्दी पुरुष जोशीसँग गरिएको कुराकानीको छोटो अंश – सं

शरीरदान गर्नुभएको कुरा आएको छ, खास कुरा के हो ?

कुरा के हो भने, त्यो किष्ट कलेज त्यहाँका डाइरेक्टर आएका थिए । उनीसँग कुरा गर्दा उनले भने, तपाई अब देशको ज्येष्ठ नागरिक, उमेरको हिसावले । त्यसैले तपाईलाई चीफ गेस्टको रूपमा निम्ता दिनुप-यो भनेर आएको हुँ । पछि त्यो अस्पतालमा जाँदा, जान त पहिला पनि गएको थिएँ, तर अहिले जाँदा धेरै राम्रो, बिल्डिङ्ग पनि ज्यादै राम्रो, छात्रावासहरू पनि अत्याधिक राम्रो, ट्रिटमेण्ट गर्ने ठाउँ पनि हरेक किसिमले राम्रो, त्यो स्थान खुल्ला पनि रहेछ र विद्यार्थीको चहलपहल पनि धेरै रहेछ ।


विद्यालयको कार्यक्रममा बोल्दा बोल्दै उपकारकै काम गर्ने अस्पताल, पैसा कमाउने मात्रै होइन, उपकारमा पनि त्यत्तिकै सक्रिय रहेको देखेँ । र, मलाई धेरै प्रभाव परेको हो । आइ वाज इन चाइना, चीनमा बस्दाखेरि मलाई असाध्यै मन परेको उनीहरूको जनजीवनमा प्रभावित भएँ । त्यो बेला माओत्सेतुंगदेखि लिएर अन्य चीनका व्यक्तिहरूबाट धेरै प्रभावित भएको थिएँ । उनीहरूमा मैले आफ्नो देशको निम्ति र आफ्नो जनताको निम्ति साथै अन्तर्राष्ट्रिय रूपमा पनि सहयोग गर्नुपर्छ भन्ने भावना देखेपछि म प्रभावित भएको थिएँ । त्यहीँबाट मैले यो मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको हुँ ।


यसको प्रयोग कसले गर्न सक्छ ?

किस्ट कलेजमा त्यो कार्यक्रममा जाँदा त्यहाँ धेरै विद्यार्थी रहेछन् । त्यहीबेला मैले भनेँ, मलाई शताब्दी पुरुष भन्छन्, यो मैले खोजेको त होइन, कसैले बनाइदिए । हुन त मलाई ९५ वर्षमै शताब्दी पुरुष बनाइयो तर अहिले १०१ वर्षको भएको छु, सबैले मलाई के खानुभयो र ? यति लामो आयु भयो भन्छन्, अब के खानु, । सधैँ मासुभात खाने पनि होइन, त्यही सामान्य त हो, दाल भात तरकारी, तर यो भन्दा पनि तपाईका विद्यार्थीलाई यसको रिसर्च गर्न लगाइदिनुुस् न । दुई, तीन जना लगाए भइहाल्छ भनेँ । उनीहरूमा अलिकति प्रभाव चाँहि पर्‍याे । यस्तै किसिमले दुईचार वटा कथा सुनाएको आधारमा, कुराकानी गर्दाखेरी अनि मलाई के आयो भने, यी विद्यार्थीहरूको निमित्त, के कहाँ छ, कस्तो छ, के भएको छ ? भन्ने बारेमा अध्ययन गरुन् भनेर मृत्युुपछि शरीर दान गर्ने निर्णय गरेको हो । यो विद्यार्थीहरूले अध्ययन गर्नका लागि प्रयोग गर्न सक्छन् ।
आजकै दिन (चैत २ मा) मात्र गोरखापत्र कि कुन पत्रिकाको फ्रन्ट पेजमै ट्रान्सप्लान्टकै विषयमा लेखेको रहेछ । ११ महिनाको बच्चाको मिर्गौला ट्रान्सप्लान्ट गरेको रहेछ, १२ घण्टा लगाएर, जसलाई ६० जना डाक्टरहरूको टोलीले गरेको रहेछ, आजकै न्यूूज । अनि बाउ चाँहिले, ३५ वर्षको बाउले छोरोलाई, आफ्नो लिभर दिएको छ । त्यो अहिले दुवै जना ठीक छु भनेको छ ।

यसले त मलाई पनि प्रभाव पारिराख्यो । किनभने मेरो पनि प्लान मरेपछि पनि मेरो कुनै अङ्ग प्रत्यङ्गले कसैलाई काम दिन्छ, आँखाले काम दिन्छ, के दिन्छ, कसो दिन्छ भने त्यो पनि काम लागोस् । नभए मेरो चाँहि चिरफार गरेर यो मान्छे कसरी लङ्गलाइफ बाँच्यो, यसको फोक्सोमा कस्तो थियो, किड्नीको के थियो, किन किड्नी बिग्रेन यसको ? हार्ट कस्तो छ, दायाँबायाँ के छ, कस्तो छ भनेर अध्ययन गर्नलाई त काम लाग्छ । त्यही अध्ययन गर्नको लागि, स्पेशली मेडिकल साइन्सका विद्यार्थीहरूका निम्ति, उनीहरूले पनि नयाँ कुरा पत्ता लगाओस् न । अरुको सय वर्ष बाँचेको र मेरो सय वर्ष बाँचेको के फरक छ ? कोही रोगी होला, कोही के होला, मेरो त्यस्तो रोगसोग पनि केही छैन । राम्रै छ, बाँचिराखिएकै छ भनेँ मेरो जीवनको लामो आयुको रहस्य पनि केही त होला । त्यसैले, यसको रहस्य अध्ययन गर्न पाएमा पनि कमसेकम उनीहरूको मेडिकल साइन्सकै निमित्त, उनीहरूले नयाँ कुरा केही पत्ता लगाएर केही गरे भने त, विश्वका लागि जान्छ नि, मेडिकल साइन्समा जान्छ । त्यही होस्, विश्वका लागि केही होस् भनेर गरेको हो । त्यो इच्छाले गरेको हो ।


धार्मिक र सांस्कृतिक केही कारण छन् कि ?

धर्म संस्कृतिको निम्ति, देवी देवताको निम्ति, पुण्य कमाउनको निम्ति, संस्कारको निम्ति, समाजले के भन्ला, अरुले के भन्ला, यो चाँहि अब ठूलो हुन खोजेको, यताउति केही पनि होइन । त्यसको बारेमा सोचेको पनि छैन मैले । म मेरो आफ्नो संस्कार मान्ने मान्छे, आफ्नो रितिस्थितीको धर्म गरेर, पूजाआजा गरेर, जेजे गर्नुपर्छ गरेर आइरहेको मान्छे । मेरो निम्ति त्यस्तो केही छैन, त्यो नराम्रो काम गरेको दृष्टिले गरेको होइन, त्यो आफ्नो ठाउँमा छ, यथावत स्थानमा छ । अब यो चाँहि शरीर चाँहि त्यसै खरानी भएर जाने हुँदा तिनीहरूको अध्ययनको एउटा विषय, च्याप्टर अन हुन्छ । केही कुरा पत्ता लाग्यो भने एउटा नयाँ कुराको च्याप्टर हुन्छ । त्यसैले दिएको हो, यो एउटा च्यारिटेबल हो । यसमा कुनै धर्म दर्शनको बारेमा नराम्रो गर्न खोजेको होइन ।

आम मानिसलाई शरीर दानका विषयमा के सल्लाह दिन चाहनुहुन्छ ?

त्यो मैले दिने सल्लाह नै होइन, मैले यस्तै सल्लाह दिन लागेँ भने अल कन्सेप्टसन बिग्रिन्छ । प्रपोगाण्डा गरेको जस्तो हुन्छ । म किन यो प्रपोगाण्डा गर्नु । उदाहरण त बनिहालेँ, मैले आफैँले दिएपछि, दिइहालेँ, यो नै एउटा उदाहरण बनिहाल्यो । अब यसो गर्, उसो गर् भनेर किन भन्नु । अब तपाईले सोध्नुभयो भनेँ नत्र, अरुले यस्तो गर्, उस्तो गर् भन्दा, त्यो गर्‍याे भने त बिग्रिन्छ नि त । अर्काको कति परम्परादेखि गरिरहेको कुरामा शरीर दान दिने रे ठूलो मान्छे हुन खाजेको भन्ला, कसैले के भन्ला, त्यो भावना नै छैन, प्रपोगाण्डा जस्तो हुन्छ । यो भावना भयो भने इस पाइस्, त्यसले बिगार्छ । शरीर दान गर्ने मान्छे म, त्यो भन्दा म के कम, भन्ने अहम् भावना आउँछ । त्यसैले म चुप लागेर बसेको छु । तपाईले सोधेर मात्रै भनेको हो ।


शरीरको सदुपयोग कसरी हुन्छ भन्ने ठान्नुभएको छ ?

अब मरेकै छैन, मर्छु अब । अनि, थाहा होला । मरेपछि खबर गर्छ, खबर गरेपछि उनीहरू लिन आउँछ, उनीहरूले लगेपछि, उनीहरूको शवदाह गृह कता छ ? कहाँ राख्छ, त्यसपछि चाहिने बेलामा चिरफार गर्लान्, त्यसपछि आवश्यक अङ्ग, प्रत्यङ्ग कोही मान्छेलाई त्यहिबेला चाहिएको छ भने, दान गर्ला, प्रत्यारोपण गर्ला । नभए रहिरहन्छ । त्यो उनीहरूको काम हो । अहिले त बाँची राखिएको छ ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन